नेपालका खस जाति –डा. विपिन अधिकारी
(सबैलाई बहुतै चासो छ, वास्तवमा खस जाति भनेका को हुन् ? उनीहरुलाई किन खस भनिएको हो ? यो जातिको प्राचीन इतिहास कस्तो छ ? उनीहरुको जातीय पहिचान कुन रुपमा स्थापित हुँदै आएको छ ? राष्ट्र निर्माणमा उनीहरुको लगानी कति छ ? यस प्रक्रियामा भएका कमी कमजोरीहरु के के हुन् भन्ने प्रश्नहरु महत्वपूर्ण छन् ।
यसै पृष्ठभूमिमा डा विपिन अधिकारीले तयार पारेको ‘नेपालका खस जाति’ वारेको पुस्तिका रोचक, पठनीय र ज्ञानवद्र्धक छ । यसै पुस्तिकामा प्रकाशित सामाग्री आमपाठकलाई जानकारी दिने उद्धेश्यले लेखकको स्वीकृतिमा ५ भागमा विभाजन गर्दै सदृश्य डटकमले प्रस्तुत गरिरहेको छ ।–संपादक )
खस जातिको सामान्य परिचय
नेपालमा खस जाति भन्नाले मूलत छेत्री, बाहुन, कामी, ठकुरी, सार्की, सन्यासी, बादी, दमाइ, गाइने, घर्ती इत्यादि जातका समुदायलाई बुझिन्छ । जाति ब्यबस्थाको प्रभाब धेरै नपरेका खसहरुले आफुलाई ‘पावई’ खस पनि भन्ने गर्दछन । अन्यले उनीहरुलाई खस क्षेत्री भन्ने गरेका छन् । आज पनि ‘पावई’ खसहरुमा जनजाति सस्कृति नेपालका बहुसंख्यक जनजातिहरु भन्दा बढी नै ब्याप्त छ । नेपालका अधिकांश खसहरु कम्तिमा दसौ शताब्दीसम्म पनि जनजाति प्रबृतिका थिए । त्यस्ता प्रवृतिगत विशेषताहरु आज पनि उनीहरुमा देख्न सकिन्छ । तर समग्रमा खस जाति आधुनिक नेपालमा पहाडी हिन्दू सभ्यताको प्रतीक भइसकेको छ ।
खस शब्दको उत्पति
‘खस’ शब्दको उत्पति कसरी भयो भन्ने बिषयमा कुनै ठोस प्रामाणिक ब्याख्या उपलब्ध छैन । यस’bout विभिन्न अनुमान मात्र गर्न सकिन्छ ।
आधुनिक नेपाल, यसको पश्चिमोत्तर क्षेत्र वा बृहत् हिमवत खण्ड बाहिर ‘खस’ शब्द प्रचलनमा रहेको देखिँदैन । ‘खस’ शब्द हिमवत् खण्डमा बोलिने नेपाली तथा हिन्दूकुश क्षेत्रका अन्य पहाडी भाषाको ब्युत्पत्ति नै हो । यी सबै पहाडी भाषाहरुमा खस शब्द आज पनि प्रचलित छ । खसहरुको बैदिक नाम ‘करस्कर’ हो भन्ने मानिन्छ । बेदभंन्दा पछि लेखिएका सस्कृत साहित्यमा ‘करस्कर’ र ‘खस’ दुवै शब्दको प्रयोग भएकाले यी शब्दहरु पर्यायवाची हुन् कि भन्ने तर्फ पनि सोच्न सकिन्छ । ‘खस’ भन्ने शब्द पछि मात्र प्रयोगमा आएको देखिँदा बैदिक पुस्तकहरुमा लेखिएको ‘कस्स्कर’ भन्ने शब्द नै अपभ्रंश हुँदै ‘खस’ शब्द बनेको हुन सक्ने धेरैको धारणा छ । कतिपय ठाउँमा खसलाई ‘खसिया’ समेत भनिएको पाइन्छ । खसहरु बसोबास गरेका क्षेत्रहरु जस्तो कश्कर, काशगर,र खस शब्दहरु एकै अर्थमा प्रयोग भएका छन् ।
मध्य–एसियाको ‘ककेसस’ वा ‘ककस’ भने पर्वतीय क्षेत्र खस जतिको उद्गम स्थल मानिन्छ । त्यहाँबाट ऐतिहासिक कालमा पश्क्षिम चीन तथा भोटेली सिमावर्ती क्षेत्र हुँदै खसहरु हिमवत् खण्ड तथा नेपाल प्रवेश गरी यस क्षेत्रमा बसोबास गर्दै आएका छन् । उक्त समयमा पश्चिम एसियाको बेबिलोनियामा खसहरुलाई ‘कस’ भनिन्थ्यो । यसै क्षेत्रको कश्यप सागर अंग्रेजीमा क्यास्पियन सि पनि कस जाति संगै संबन्धित छ । उनीहरुले बेबिलोनीयामा लगभग साढे पाँच शताब्दीसम्म शासन गरेको पाइन्छ । खससँग सम्बन्धित यही ‘ककेसस’, ‘ककस’ वा कस शब्द अपभ्रंश हुँदै जाँदा ‘खस’ भन्ने शब्द बन्न गएको धेरै विद्वानहरुको विश्लेषण देखिन्छ । यस बाहेक ‘खस’ शब्दको अर्को ब्याख्या पाइएको छैन ।
खसहरुलाई राईहरुले ‘खासा’ वा ‘लिच्चु’ वा ‘बाज्यु’ पनि भनेको पाइन्छ । लिम्बुहरुले ‘पेन’ वा ‘पेनेवा’ भन्दछन् । कोदो खाने भएकाले त्यस्तो भनिएको हो कि ! निम्न हिमाली क्षेत्रमा रहने भएकाले तामाङहरुले खसहरुलाई ‘ज्यार्दी’ वा ‘रोङ्बा’ भनेको पाइन्छ । केदार, कत्युर, गोनार, कोदारी, कार्तिक, कोतार आदि खस शब्दका पर्याय मानिन्छन् ।
अधिकांश पौराणिक तथा ऐतिहासिक स्रोतहरुमा ‘खस’ शब्दको ‘स’ मा तालव्य ‘श’ को प्रयोग भएको देखिन्छ । तालव्य ‘श’ संस्कृत उच्चारण हो । बोलीचालीको नेपाली उच्चारण ‘खस’ नै हो । कतिपयले कर्म वा आर्थिक हैसियतबाट झरेको हुनाले खस भएको भन्ने गलत अर्थ लगाइदिएका कारणले धेरैजसो खसहरुले आफूलाई छुट्टाछुट्टै जातका आधारमा चिनाउन थालेका हुन् । तर जातीय रुपमा सबै खसहरु– छेत्री, बाहुन, कामी, ठकुरी, सार्की, सन्यासी, बादी, दमाइ, गाइने, घर्ती इत्यादि – एउटै हुन् । उनीहरुको इतिहास, धर्म, संकृति तथा बसोबास क्षेत्र पनि एउटै छ । त्यसैले खसहरुलाई सामूहिक पहिचानका दृष्टिले खस भनेर नै चिनिन्छ ।
बसोबास क्षेत्र
प्राचीन खसहरुको बसोबास क्षेत्र धेरै बिस्तारित रहेको देखिन्छ । खसहरुको प्राचीन थलो हिन्दूकुश पर्वतीय क्षेत्र, कुनार उपत्यका (काशगर), कास्कर, खसिस्तान, पश्चिम कश्मीर, खसाली, काश्त्वार, खसधर (सिम्ला पर्वतीय खण्ड), कुमाउँ, गढवाल, नेपाल, भोटाङ लगायतका हिमवत् क्षेत्र हुन् । उनीहरु कम्तिमा ३,५०० बर्षदेखि यस क्षेत्रमा छन् । खस जातिसँग सम्बन्धित ‘काश्कर’ वा ‘कास्कर’ क्षेत्रलाइ बौद्धयानको धर्मसुत्रमा आरत्त (प्राचीन पन्जावको उत्तरपूर्वी क्षेत्र) को छिमेक भनिएको छ । कारश्करहरुका ’boutमा बौद्धयानकै श्राउत सूत्र, उपस्तम्ब सूत्र तथा हिरण्यकेशी शाउत सूत्रमा पनि उल्लेख भएको देखिन्छ । त्यसैगरी हाल पाकिस्तानको सुदूर उत्तरमा रहेको चित्राल क्षेत्रको काश्करमा पनि खसहरु रहेको देखिएको छ । यो ठाउँ हिन्दूकुश पर्वत मालाको तिरिचमीरक शिखरको फेदमा छ । चित्रालको काश्कर पनि कास्कर र करस्करसँग जोडिएको प्रतिक हुन्छ । यिनीहरु वैदिक साहित्यमा पनि उल्लेख गरिएका जाति हुन् ।
सन् १८०२–०३ को अवधिमा गरेका नेपाल भ्रमण तथा सन् १८७४ को नेपाल अंग्रेज युद्ध पछिको आफ्नो अनुभवलाई आधार बनाइ डा. फ्रान्सिस् हेमिल्टनले नेपालदेखि कास्मिरसम्मको क्षेत्रका बासिन्दालाई खस भनी उल्लेख गरेका छन् । उनीहरु खराब र अनिश्वरवादी भएको भन्ने उनको विचार छ ।
हेमिल्टनका अनुसार:
(T)he country between Nepal and Kasmir, over which the present rulers …have far extended their dominion, in the ancient Hindu writings is called Khas, and its inhabitants Khasiyas. I am told, that, wherever mentioned in ancient records, like the Kirats, their neighbours to the west, the Khasiyas are considered as abominable and impure infidels.
खसहरु वर्तमान नेपालका सम्पूर्ण भागहरुमा छरिएर रहेका छन् । उनीहरुको नेपालस्थित मूल थलो चाहिं त्रिशुली नदीदेखि सिन्धु नदी बीचको क्षेत्र नै हो । राजनैतिक रुपमा स्थापित खस क्षेत्रलाई कर्णाली प्रदेश पनि भनिएको छ । यसले सम्पूर्ण पश्चिमान्चल तथा यस ’roundका क्षेत्रलाई जनाउँछ । सामान्यत खसहरुको मात्र बसोबास रहेका कारण कर्णाली प्रदेशलाई ‘खसान’ भन्ने चलन पनि छ । तर खसहरुले राजधानी बनाएको क्षेत्र ताक्क्लाकोट (भोट), दुल्लु र सिन्जा हो । हाल ताक्लाकोट भोटमा पर्दछ ।
मेची नदीपूर्व सिक्किम, भोटाङ् (भुटान), आसाम, मेघालय तथा पश्चिम म्यानमारसम्म पनि खसहरुको बस्ती देखिन्छ । अन्य क्षेत्रमा खसहरुको बस्ती पातलो र छरिएको भए पनि नेपालमा यो सघन त समस्त भूभागमा फैलिएको देखिन्छ । खस जातिका नामबाट स्थापित प्रशस्त गाउँठाउँहरु अफगानिस्तान, पाकिस्तान, भारतको कास्मिर लगायतका पहाडी क्षेत्र हुँदै नेपाल र बर्मासम्म पनि रहेको भेट्न सकिन्छ । नेपालको महाकाली नदीभन्दा पश्चिमी क्षेत्रका खस जति बाहिरी समूहहरुका बिचमा लगभग लोप भइसकेका छन् । खस धर्म, संस्कृति मासिँदै जाँदा यस्तो हुन गएको हो । तथापी आज पनि कुमाउँ तथा गढवाल इलाकाको सानो जनसंख्या ‘खस’ वा ‘खसिया’ जातिको भएको देख्न सकिन्छ । तर नेपालमा झैँ खस जातिको ठूलो संख्या, स्पष्ट संस्कृति र समृद्ध सभ्यता अन्यत्र भेट्न सकिँदैन ।
भाषा
सबैतिरका खसहरु पहाडी भाषा नै बोल्दछन् । नेपालमा पहाडी भाषालाई ‘खस कुरा ’ वा ‘नेपाली’, कुमाउँमा ‘कुमाउनी’, गढवालमा ‘गढवाली’, जउन्सार–भावर, सिमला, कुल–मनाली, सुकेत, चम्बा र पश्चिमी कस्मीरमा ‘पहाडी’ भन्ने चलन छ । मध्यकालीन नेपालको खसहरुको राजधानी सिन्जाका नामबाट यसलाई ‘सिन्जाली’ पनि भनिएको पाइन्छ । ‘खस’ कुरालाई नेवारीमा ‘खँय भाय’ वा ‘पर्वते’ पनि भन्ने चलन छ ।
‘खस कुरा’को सर्वप्राचीन नमुना खस राजा अशोक चल्ल (सन् १२५५–१२७८) को पालामा अभिलेखमा देख्न सकिन्छ । यो खस साम्राज्यको सरकारी भाषा थियो । यो पश्चिम नेपालको साझा संपर्क भाषा पनि थियो । यसको ऐतिहासिक साहित्यिक स्वरुप भने भेटिएको छैन । केवल पुराना अभिलेखमा मात्र यो भाषा लेखिएको पाइन्छ ।
संस्कृत साहित्यकार भरतमुनिको नाट्यशास्त्रमा खस भाषालाई ‘बाल्हिकी’ भन्ने अभिब्यक्तिबाट यो अर्थ लाग्दछ । खसहरु बाल्हिक प्रदेशमा बस्ने भएकाले उनीहरुको भाषालाई ‘बाल्हिकी’ भनिएको हुन सक्छ ।
धर्म तथा संस्कृति
खस जाति बितेका दुई हजार वर्षको अधिकांश कालखण्ड जनजातिका रुपमा रहेका थिए । उनीहरुमा कुनै प्रकारको जातिगत कट्टरता भएको इतिहासले देखाउदैन । नेपाल प्रवेश पछि समयक्रम र प्रभाव अनुसार खसहरु बौद्ध तथा हिन्दू धर्मव्यवस्थामा प्रवेश गरेको देखिन्छ । गत दुई हजार वर्षको अविधिको शूरुको तेस्रो शताब्दिसम्ममा हिमवत् खण्डमा हिन्दू र बौद्ध दुर्व धर्म उत्कर्षमा पुगिसकेका थिए ।
सन् ६३४ तिर आएका चिनिया यात्री युवान् चाङ् (उनलाई ह्वेन साङ् पनि भनिन्छ) ले नेपाल उपत्यकामा हिन्दू र बौद्ध दुवै धर्म मान्ने समुदाय भएको उल्लेख गरेका छन् । महाकाली नदीभन्दा पश्चिमको कुमाउँका ’boutमा पनि उनको त्यस्तै वृत्तान्त पाइन्छ ।
नेपालका खस राजाहरु धेरै अघिदेखि नै बौद्ध धर्ममा दीक्षित भएको पाइन्छ । भोटेली वंशावलीमा नागराज र देवराज नामका दुई दाजुभाइ बौद्ध भिक्षु भएको उल्लेख गरिको छ । त्यसमा उल्लेखित नागराज बाह्रौं शताब्दी पूर्वाद्र्धका खस राजा नागराज नै हुन् । खस साम्राज्यका कतिपय अभिलेखका शिरमा भोटेली लिपिमा बौद्ध मन्त्र ‘ऊँ मणि पद्मे हुं’ लेखिएकोबाट पनि त्यो समयमा खस जाति माथि बौद्ध धर्मको प्रभाव रहेको अन्दाज गर्न सकिन्छ । खस राज्यहरुमा हिन्दू पण्डित र लामाहरु दुबैलाई संगसंगै बडागुरुज्यू राख्ने प्रचलन पनि थियो ।
अर्का प्रतापी खस राजा अशोक चल्लले ‘हेवज्रचरणारविन्द मकरन्द मधुकर’ तथा आदित्य मल्लले ‘हेवज्रचाद पद्म परिचर्या परायण’ अर्थात ‘हे वज्रका पाउका सेवक’ भनी आफूलाई भनेवाट बौद्ध धर्मको बज्रयान सम्प्रदायको खसहरुमाथि प्रभाव थियो भन्ने स्पष्ट हुन्छ । खस राजा आफैं भिक्षु भइ हिँडेका र उत्तराधिकारी निसन्तान भएकामा फर्की आइ राज्य जिम्मेवारी पुन लिएको पनि प्रमाण पाइएको छ ।
तर पन्ध्रौं शताब्दीको अन्त्यसम्ममा खस शासकहरुले हिन्दू धर्मलाई प्रमुख धर्मका रुपमा अपनाइ सकेको देखिन्छ । जुम्ला राज्यको स्थापनापछि हिन्दू धर्म पहाडतिर उक्लिँदै गर्दा बौद्ध धर्मको प्रभाव पातलिँदै गएको भन्दा अत्युक्ति नहोला । तर खसहरुमाझ हिन्दू धर्मको पकड ठाउँ र परिस्थिति अनुसार फरक फरक छ । यो जातिमा हिन्दू धर्म नरम संस्कृतिका रुपमा रहेको पाइन्छ । यसको प्रयोगमा बहुलता पनि छ ।
वर्तमान समयमा खसहरुले मूल रुपमा हिन्दू धर्म अपनाए तापनि खस संस्कृतिमा बुद्धप्रति अपार श्रद्धा रहेको छ । यसै दृष्टिकोणले नेपालमा धार्मिक सहष्णिुताको जग बसालेको हो ।
खसहरु काठमाण्डौं उपत्यकाको संसर्गमा आएपछि उनीहरुले क्रमश काठमाण्डौं उपत्यकाको कला, वास्तुकला तथा शिल्पलाई अपनाउँदै गएको देखिन्छ । त्यसभन्दा अघिका खसहरुका कलागत विशेषता अन्य हिमाली जातिसँगै मिल्दाजुल्दा छन् ।
हिमाली जातिहरुमाझ मखुण्डोको प्रयोगलाई उल्लेख गर्दै किश्चियन लेकिन्द्र तथा मार्क पेटिटले यस्तो लेखका छन्:
Black masks with facial expressions that are solemn, or occasionally grotesque, wild, or fantastic, but usually serene and strangely profound, incarnating the entire memory of the world yet rendered untamable by the spirit of the forests: statues both humble and haughty, their form reduced to essentials, furrowed by time, frozen in a pose of prayer and meditation: slighter objects such as boxes, cases, and butter-churn handles whose refined decoration apparently contrasts with the coarseness of the statues and the rawness of the masks, but in fact harmonizes in the way female does with male; all of these are part of the tribal arts of the Himalayas.
खसहरुले हिन्दू धर्म अपनाउनु भन्दा पहिलेको कला, वास्तुकला तथा संस्कृतिका वारेमा विशेष अध्ययन हुनु जरुरी छ । उपलब्ध ऐतिहासिक स्रोतहरुमा खसहरुको यो पक्ष ’bout थोरै मात्र अध्ययन वा चर्चा भएको पाइन्छ ।
जातीय संस्कार
वतएमान शताब्दीमा खस जातिका अधिकांश धार्मिक संस्कार हिन्दू मूल्य र मान्यतामा आधारित छन् । तर बाहुन, क्षेत्री वा अन्य साना जात भनिएका नेपाली खसहरुको सामाजिक संस्कार, धार्मिक परंपरा र मूल्यमान्यताहरु अन्यत्रका हिन्दूहरुका भन्दा अलत छन् । उनीहरु माझ ‘बोन’ संस्कृतिको प्रभाव निकै कम भइसकेको छ तर हराएको भने छैन ।
सामान्यतया खसहरु बीच बिहेवारी आफ्नो जातिमै हुन्छ । बिहेवारीका प्रचलनहरुमा खसहरुको आफ्नै संस्कार छ । त्यस्तो जाति पहाडी जाति नै हुनुपर्छ । गैरपहाडी जातिसँग उनीहरुको बिहेवारी हुुँदैन । खस बाहुनले समतलका ब्राम्हणसँग बिहेवारी गर्ने, छोरी दिने वा बुहारी ल्याउने गर्दैनन् । यी दुबै समूहले एक अर्कालाई सजातीय मान्दैनन् ।
तथाकथित सानो जात बनाइएका खसहरु पनि आफूलाई अन्यत्रका दलित भन्दा अलग समुदायकै रुपमा हेर्दछन् । जस्तो पहाडी सार्कीले अन्यत्रका चमारसँग जातीय रुपमा समानान्तर भएका कारणले मात्र बिहेवारी गरेको वा सामाजिक संस्कारमा भाग लिएको पाउनु दुर्लभ होला । सबै खस जातिमा जौ र तिलको संस्कार जन्मदेखि मरणसम्म उस्तै हुन्छ । केही खस क्षेत्रीहरुले शासकीय कारणले अन्यत्रका क्षेत्रीहरुसंग बिहेवारी गरेको पाइए तापनि सामान्यत आम क्षेत्रीहरुमा यो प्रचलन छैन । यो जातीय महिचानले धेरै कुराको अर्थ राख्दछ ।
खस जातिमा टीकाटालो गर्दा दही र अक्षता मुछेर लगाउने चलन छ । यिनीहरुले माटाका देउतालाई पूजा गर्दैनन् । इश्वर या त प्रकृतिपरक हुन्छन् वा ढुंगाका । टीकोटाले गर्दा टोपी लगाउने र खानपिन गर्दा खोलेर खाने चलन छ । भातमा घ्यूको फुरन हालेपछि चोखो बिटुलोको अवधारणा खुकुलो हुन जान्छ । सबैसंग मिलेर खान पाइन्छ । यो खसहरुको आदि प्रचलन हो । त्यस्तै बाबु, छोरा र नातिले एकै थालमा खाने चलन हुँदैन । खस परम्परामा दिउँसो नुहाइँदैन । दिउसो नुहाउनुलाई अशुभ आत्मा भैंसीको आराधनाका रुपमा लिने मान्यता छ ।
खस समुदायमा विधवा विवाह स्वीकार गरिन्छ । अन्तर्जातीय विवाह यहाँको परम्परामा निषेधित छैन । खस जातिमा केटालाई तिलक दिने वा छोराको मोलतोल गर्ने प्रचलन छैन तर दाइजो पेवाको प्रचलन छ । त्यसलाई स्त्री अंश धन मानिन्छ, केटा पक्षसँग गरिएको विनिमय होइन । खस छोरीहरुले बाबुआमा लगायतका गोडामा छुँदैनन् । जन्ती जाँदा लवेदा, सुरुवाल र टोपी लगाइन्छ । बेहुलाले खुकुरी भिर्ने र छाता बोक्ने प्रचलन अझै कायमै छ । खस प्रचलनमा जन्तीले हतियार बोक्दछन् । जन्ती जाँदा ग्वर्र वाने तथा झुम्पेन (भोटमा आक्रमण गर्ने मंगोल रणनायकहरु) झैं लडाई जित्दै आउँछौं भन्ने लोकगीत गाउने प्रचलन छ ।
यसको अन्त्य बेहुली भित्र्याउनु भन्दा पहिले जन्ते बाख्रो खाएपछि मात्र हुन्छ । यो पद्धति पनि खसहरुकै परम्परा हो । छोरी–ना’emलाई ढोगेर दक्षिणा दिने चलन हुन्छ । भान्जाभान्जीलाई झोलीका देउता मानिन्छ । उनीहरुलाई कुट्नु, पिट्नु वा गाली गर्नु खस समुदायमा असभ्य मानिन्छ । त्यसैले पण्डित नपाउँदा ज्वाइँ वा भान्जाभान्जीलाई टीको लगाई संस्कार चलाइन्छ । साना नानीहरुले दुख दिँला ‘सोक्पा बोलाई दिन्छु’ भनी डर देखाउने प्रचलन कतिपय ठाउँमा आज पनि देख्न सुन्न पाइन्छ । भोटेली भाषाको ‘सोग–पो’ (राक्षस) को नेपाली अपम्रंश हुँदा ‘सोक्पा’ भएको हो । खसहरुमा शुभकार्य गर्दा प्रायजसो शत्रुको नाममा खाँडो जगाउने प्रचलन छ ।
जन्मदेखि मरणसम्मका नेपाली हिन्दू खस संस्कारहरु अन्य क्षेत्रका हिन्दूभन्दा फरक भएकाले यो जाति आज पनि जातीय रुपमा फरक नै छ । दशैं तिहारको लिंगे पिंङ्, बिहेबटुलोमा गर्ने रत्यौली, मेलापातको दोहोरी गीत, सासू–बुहारी बीच पानी छल्ने परम्परा श्रमसम्बन्धी बैठबेगार, पहिलो पटक नछुने हुँदा गुफा बस्ने जस्ता प्रचलनले खस समुदायका अगल पहिचान स्थापित गर्दछन् । त्यस्तै खानपिनका कुरामा सिन्की, गुन्द्रुक, तितौरा, मस्यौरा, फुलौरा, सेलरोटी, बटारेको कसार, अनर्सा अद्वितीय छन् । आफ्नो पारम्पारिक कलामा नरसिंगा, कर्नाल, सहनाई, दमाहा, ठोल्की, ट्याम्के, म्यान्टो, तुरही, बाँसरी लगायतका नौमती बाजाको प्रचलन खस समुदायसँग संबन्धित छन् ।
परम्परागत रुपमा चलिआएको पूजाआजामा सबैभन्दा महत्वपूर्ण देवाली नै हो । यसका साथै उँभौली, उँधौली, गोठपूजा, माघेसंक्रान्ति, असारको पन्ध्र, साउने संक्रान्ति लगायतका चाडहरु मौलिक प्रचलन हुन् । भेषभूषामा लोग्नेमान्छेका हकमा कछाड भोटो र ढाका टोपी र स्वास्नी मान्छेको हकमा गुन्युचोलो धेरै प्रचलनमा छ । स्वास्नीमान्छेले बुलाकी, तिलहरी, टीका, चुरापोते, धागो परम्परागत रुपमा लगाउँदछन् । पहाडी समुदायमा दमाई र कामी जस्तो लुगा सिउने र गहना बनाउने ब्यवशायी खस समुदायमा मात्र देखिन्छन् । चाडपर्वको बेला र माइत–ससुराली जाँदा राम्रो लुगा लगाउने चलन पनि छ ।
घर ज्वाई राख्नु खस समाजमा बेइज्जतीपूर्ण मानिदैन । अंशबण्डा, सम्पत्ति बाँडफाँड, सुक्रिबिक्री, लेनदेन वा दाजुभाइबीचको झगडामा मामामाइजुहरुको भूमिका महत्वपूर्ण मानिन्छ । झैझगडा हुँदा उनीहरुले नै मिलाउने चलन हुन्छ । भान्जाभाज्नीको बिहेको टुंगो मावलीले लगाउछन् । त्यसैले मामामाइजूको स्थान हरेक अवसरमा प्रतिष्ठापूर्ण हुन्छ ।
पारिवारिक संस्कृति संम्बन्धमा पनि खस परम्परामा आफ्नोपन छ । जस्तो अंशवण्डा, पारपाचुके, माना चामल, अपुताली जस्ता परम्पराहरु अन्यत्र देखिदैनन् । नासो, धरौटीको ब्यवस्था पनि आफनै प्रकारको छ । खस क्षेत्रीहरुमा, खास गरी शासक समुदायमा श्राद्धमा मासुभात खाने प्रचलन पनि छ । सबै समूहका खसहरुमा दशैं र तिहार छोरीचेलीका सम्बन्धमा अत्यन्त महत्वपूर्ण चाडवाड मानिन्छन् । तिज माइत गएर मनाइन्छ भने दाजुभाइलाई बहिनीका घरमा बोलाई तिहार मनाउने गरिन्छ । देउसी खेल्नु खसहरुको सांस्कृतिक पहिचान हो । देउसी खेल्ने समूह अन्तर्जातीय हुन सक्छ । मागेर सेल रोटी र मिठो खान पाइने एउटा मात्र चाड यही हो । यस्तो प्रचलन अन्त पाइँदैन ।
त्यस्तै भूतप्रेत पन्छाउन जोगीले राति विशेष मन्त्र पढेर शंख बजाउँदै प्रत्येक घर घुम्ने चलन पनि छ । यो मन्त्र प्राग्वैदिक मन्त्र हो । नांग्लो ठटाएर लुतो फाल्ने संस्कृतिदेखि गाँउगाँउमा डांग्रे पाल्ने प्रचलन पनि खसहरुमा मात्र छ । गाईभैंसी ब्याउँदा मकैको खोस्टामा सातपोके बनाई मस्टो लगायत देउतालाई विगौती चढाउने, गोठपूजा गर्ने र चोख्याउने परम्परा हुन्छ । खसहरुमा देउता कसको हो भन्ने प्रश्नले महत्व राख्दैन ।
अर्काका देउताको पनि पूजा गरिदिने चलन हुन्छ । मासु वा शिकार खान मन पराउने भए पनि खस संस्कृतिमा स्त्रीलिंगी चौपायाको बध गरिँदैन । खस जातिमा जुनसुकै जातका मान्छेको मलामी भएर जुनसुकै जातका मान्छे जाने गर्छन् । मलामी जाँदा घरको परिवारले मृत शरीर बोक्छन् भने अरुले अबीर–लावाको जात्रा गर्छन् । यस्तो प्रचलन अन्यत्रका आर्य हिन्दूहरुमा पाइँदैन ।
हरेक खस बस्तीमा दमाई, कामी, सार्की आदि जातका मानिसहरु समाजका अभिन्न अंग मानिन्छन् । उनीहरु नभई कुनै पनि खस परम्पराहरु निर्वाह हुँदैनन् । दमाई बाजा नबजाइ शुभ कार्य गरिँदैन । सानो जात भनेर कालान्तरमा दवाइए पनि उनीहरु हरेक धार्मिक अनुष्ठानका अनिवार्य पक्ष हुन्छन् । भोव भतेर तथा बिहे बटुलो एक ढिक्का भएर मनाउँछन् । जातभात बार्ने चलन हुँदैन । यी प्रचलनहरुले खस जातिको धार्मिक संस्कारलार्ई स्वतन्त्र संस्कारका रुपमा प्रमाणित गर्दछन् ।
माटाका भाँडामा पकाउने वा खाने चलन खसहरुमा हुँदैन । माटाका भाँडाको प्रयोग गरिएका खण्डमा (जस्तो पितृकार्यमा गरिन्छ) प्रयोगपछि जुठो मानी फाल्दछन् । बासी भात चोखो मानिँदैन । महिनावारी हुँदा महिलाहरुले पूजाआजा वा भान्साको कार्य गर्दैनन् ।
खसहरु माझ राणाकालदेखि भारतीय तीर्थस्थल जाने परम्परा ह्वात्तै बढेको पाइन्छ । तर शासक तथा घरानीयाँ क्षेत्री कूलबाट पनि भारतीय धार्मिक एवं सांस्कृतिक परम्परालाई काँधमा बोकेको देखिदैन । पहाडी हिन्दू तथा अन्य हिन्दूमाझ धार्मिक तथा सांस्कृतिक विषमता प्रशस्त छन् । पूजाआजा तथा आचार–विचारमा भएको भिन्नताका कारण राणा कालमा धेरै भारतीय तीर्थस्थलहरुमा नेपालीका लागि छुट्टै धर्मशाला बनाई खस बाहुन पण्डितहरुको ब्यवस्था गराईदिएको आज पनि देखिन्छ । ती धर्मशालाहरुमा खाने, बस्ने र पूजाआजाका सामग्री मात्र नभई बिहान बेलुकीको जपध्यान गर्ने प्रावधान समेत राखिएका देखिन्छन् । नेपाली बाहुनबाटै कर्म चलाउने भएकाले राणाहरुले राजनैतिक कारणले भारतीयलाई छोरी दिँदा एउटा पण्डित, मान्से र सुसारे दिएर पठाउने परम्पराको पृष्ठभूमि बसेको हुुनुपर्छ । नेपाली मात्रो बेग्लै निस्कनुको कारण पनि यही हो । यी सबै प्रचलनहरु खस जातिका विशिष्टता हुन् । यस्ता मौलिक प्रथा र प्रचलनहरुले खस समुदायको पहिचान स्थापित गरेका छन् ।
नेपालका आदिवासीहरुलाई कतिपयद्वारा काशी गोत्र र ल्हासा गोत्रमा विभाजन गर्ने गरिएको छ । यसको अर्थ के हो भने ऐतिहासिक कालदेखिका नेपालीहरु दुई थरीका छन् । एकथरी भोट–बर्मा क्षेत्रबाट नेपाल प्रवेश गरेका हुन् । अर्कोथरी काशी क्षेत्रबाट यो मुलुकमा प्रवेश गरेको मानिन्छ । तर काशी भनेको ऋग्वेददेखि स्कन्द पुराण सम्ममा उल्लेख भएको हाल भारत उत्तर प्रदेशस्थित काशी होइन । यो काशी भनेको पश्चिम दक्षिण चीनको मरुभूमि बीच रहेको काशगर क्षेत्रलाई भनिएको हो । चिनीया भाषामा काशगरलाई काशी भनिन्छ । यसलाई एउटा मरुउद्यान (ओएसिस) पनि भन्न सकिन्छ । खसहरुको अतित यसै क्षेत्रसँग जोडिएको छ ।