गरिवको कथा र ‘स्वप्नदर्शी’ नेतृत्वको सफलता !

 

एकादेशमा एउटा गरिव राज्य थियो । देश नै गरिव भएपछि जनता गरीब हुने नै भए । गरिवहरुमा पनि एकजोडी एकदमै हरितन्नम थियो । तर सन्तान जन्माउन भने गरीव परिवार धेरै नै उन्नत थियो । यो परिवारको संख्या दश भाइ छोरा र चार बहिनी छोरी जोड्दा सोह्रजनाको थियो । तर जति मेहनत गरे पनि बिहान–बेलुका सन्तानलाई पेटभर खुवाउन पनि हरितन्नम परिवारले सक्दैनथ्यो । बल्लतल्ल खेती लगायो कहिले असिना पानी त कहिले खडेरी, कहिले आँधीहुरीले सखाप पारिदिने ।

 

गरिव परिवार आफ्नो गरिवीको कारण दैवले ठगेकोले हो भन्ठान्थ्यो । बुढाबुढी नै भन्थे, हाम्रो कर्मै खोटो छ । हामीलाई दैवले ठगेको छ । हामी अभागी हौं । त्यसैले हाम्रै परिवारको भाग्य सबैभन्दा धेरै खोसियो । अब यो जुनीमा पाउने भनेको दुःख हो । बुढाबुढीहरु छोराछोरीका अगाडि यस्तै दुःख मनाउ गर्दै दिन काटिरहेका थिए ।

 

हिंउदको दिन थियो । झमक्क साँझ परेपछि छिमेकी देशको एक युवा उनीहरुको घरमा बास खोज्दै ढोका ढकढक्याउन आइपुगे । राती आधापेट खोले खाएर सुते । विहान सबेरै उठेर बाटो लाग्नु अघि गरीव परिवारको अबस्थाप्रति दया देखाउदै गरीव परिवारका सबैजनाका अगाडि भन्नथाल्यो, हेर भाइबहिनीहरु हो, तिमीहरुको परिश्रम हरेक वर्ष प्राकृतिक विपत्तीले गर्दा खेर जाँदो रहेछ । म तिमीहरुको त्यो परिश्रमको फल यी बृद्धबृद्धा बा आमाहरुले जिउँदै उपभोग गरेको हेर्न पाउने उपाय बताई दिन्छु, सुन ।

 

युवक भन्नथाल्यो, अबदेखि तिमीहरु दस दाजुभाइ र चार दिदीबहिनी रातभर जाग्राम बस्नु, धुनि जगाएर । आगो ताप्दै नयाँ नयाँ योजना बनाउँनु र भोलिपल्ट दिनभरि राती बनाएको योजना अनुसार काम गर्नु ।

 

चौधजनै केटाकेटी आश्चर्य मान्दै पाहुनाको कुरा सुन्न थाले । एकले सोधिहाल्यो, रातभर नसुतेपछि दिउसो निद्रा लाग्दैन ? युवकले हाँस्दै भन्यो, आलोपालो गरेर दिउसो थोरैबेर सुत्नु । निरन्तर यसो ग¥यौ भने तिम्रा बा–आमाले जिउँदै तिमीहरुले दरिद्रताबाट मुक्ति पाएको देख्न पाउनेछन् । तिमीहरु पनि संबृद्ध हुनेछौ !
पाहुना बाटो लागे । चौधैजना दाजुभाई दिदीबहिनीले राती धुनी बालेर जाग्राम बस्ने निधो गरे । बज्रानुशासनमा बसे, उलंघन गरेनन् । त्यो वर्षको बालीनाली पनि राम्रो भएछ । उनीहरुका सम्बृद्धिका दिन शुरु भए । उनीहरुले अर्कोवर्ष पनि नियमित अभ्यास पाहुनाले भनेजस्तै छोडेनन् । फलस्वरुप, बृद्धबृद्धाहरुको बाँकि जीवन छोराछोरीको नियमित कामले दरिद्र रहेन ।

 

दशै बर्षमा सम्बृद्धि

 

पाठकहरुलाई लाग्ला, जाग्राम बसेर दरिद्रता कसरी संमृद्धिमा बदलीयो ? यसभित्र धेरै कुराछन् । कथा यहीं सकिंदैन । थप कथा पछिका आलेखमा उल्लेख गरौंला । अहिले यतीमात्रै जानकारी दिऊँ, गरीबका छोराछोरीले रातभर जाग्राम बसेर हरेक दिन, हप्ता, महिना र बर्षको योजना बनाए । दिनभर समय, श्रोत र साधनको उच्चतम व्यवस्थापन गरेर सम्बृद्धि हासिल गर्न सफल बने ।

 

आज चर्चा गर्न लागिएको विषय पनि समृद्धिको हो । तर व्यक्तिको होइन, हाम्रो देशकै समृद्धिको । सत्तरी बर्षसम्म गरीबीको पराकाष्टा भोगेका कथाका बृद्धबृद्धाले दश बर्षमा जसरी संबृद्धि प्राप्त गरे, हाम्रो देशले पनि जनताको शासन कायम गराउन सत्तरी वर्ष नै खर्चियो । अब संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वय गर्न जनप्रतिनिधि चुनिएपछि संसारकै गरिवतम देशमा गनिने नेपालीले पनि स्थायी सरकार प्राप्त गरी देशमा स्थिरता र समृद्धि प्राप्त होला ? आफ्नै देशवारे समसामयिक प्रश्न उठाउने जमर्को गर्नखोजिएको हो ।

 

सफलता व्यवस्थापनः

 

कुनै पनि सफलता व्यवस्थापन गर्नु आफैंमा एउटा व्यवस्थापकीय कौशल हो । सफलता पाएपछि उपलब्धीको व्यवस्थापन गर्नु कम ठूलो चुनौति होइन । जस्तो एउटा लेखक वा कविले जीवनभर परिश्रम गरेको श्रृजनाले जब ठूलो पुरस्कार प्राप्तगक्छ, त्यसपछि उसका रचनाहरुलाई सोहि स्तरमा कायम गर्न जुन तहको परिश्रम गर्नु पर्छ, त्यो नै उसको उपलब्धी व्यवस्थापन हो ।

 

अर्को उदाहरण पनि हेरौं, भारतीय टेलिभिजनको ‘कौन बनेगा करोड पति’ मा सबै प्रश्नहरुको उत्तर मिलाएर जसले एक करोड जित्छ, उसलाई अमिताभ बच्चनले सोध्ने एउटै प्रश्न हुन्छ, अब यो सफलतालाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

 

भन्न के खोजीएको हो भने, उपलब्धी वा सफलता हासिल गरे पछिको पहिलो काम भनेकै त्यो सफलता वा उपलब्धिको सही व्यवस्थापन गर्नु हो ! हरेक व्यक्तिको निजी जीवनमा पनि जब उपलब्धी हासिल हुन्छ, त्यसलाई सही व्यवस्थापन गर्न सकेन भने त्यो सफलता नष्ट भएर जान्छ । यही कुरो परिवार, राजनीतिक दल वा संगठन, समाज वा राष्ट्रको जीवनमा पनि हुबहु लागु हुन्छ । सफलतालाई सही तरीकाले व्यवस्थापन गर्न नसक्दा उपलब्धि नारायणहरि भएका अनेक उदाहरण छन् !

 

सफलता व्यवस्थापन कौशलता

 

व्यक्ति होस् वा परिवार वा समाज वा संगठन जो भए पनि प्राप्त गरेको सफलतालाई व्यवस्थापन गर्ने सीप नै व्यवस्थापन कौशलता हो । सफलता व्यवस्थापन गर्ने कौशलता भएन भने व्यक्ति, परिवार, संगठन र समाजले थप सफलता हासिल गर्न सक्दैन । जसका पाँच आधारभुत चरण छन्, तिनको पालना नै नै सफलता व्यवस्थापनको कौशलता हो ।

 

पहिलो चरणः

 

कुनै पनि सफलता हासिल गर्दा एक अबस्थाबाट अर्को अबस्थामा वा अर्को तहमा पुगिन्छ । पहिलो खुड्किलोबाट दोस्रो खुड्किलोमा पुग्नु सफलता हो । सफलता व्यवस्थापनको कौशलताको पहिलो चरणमा हामी कुन अबस्थाबाट कुन अबस्थामा आईपुग्यौं, पूर्वको अबस्था पश्चातको बर्तमान अबस्थालाई स्वीकार्नु हो ।

 

सफलता पश्चातको अबस्थामा व्यक्ति वा संगठनको चिन्तन, सिप, कला, प्रक्रिया, पद्धतिमा नै परिवर्तन हुन्छ । तसर्थ, त्यो तहको सोचले मात्रै सफलता व्यवस्थापन गर्न सक्छ । सफलता पूर्वको सोच र कौशलताले सफलता व्यवस्थापन गर्न सक्दैन । नयाँ सोच, चिन्तन र व्यवहारबाट मात्रै सफलता व्यवस्थापन गरी थप सफलताहरु हाँसिल गर्न सकिन्छ ।

 

भर्खरै सकिएको निर्वाचनको सन्दर्भलाई आधार बनाएर हेर्ने हो भने, निर्वाचनपूर्व र परिणाम पश्चातको अबस्था फरक हुन्छ । यसलाई नयाँ किसिमले आत्मसात गरे पश्चात नै उपलब्धीलाई व्यवस्थापन गर्न सकिन्छ । परिवर्तन आत्मसात÷स्वीकार गर्नु नै पहिलो चरणको कर्म हो ।

 

दोश्रो चरणः

 

पहिलो चरणबाट हामी अर्को चरणमा पुग्नमा के कस्ता कारण थिए ? तिनको पहिचान नै सफलताको दोस्रो चरण हो । के के कारणबाट उपलब्धी वा सफलता हासिल गर्न सकिएको हो भन्ने कुरा नै यो चरणमा गरिन्छ ।

 

जस्तो, निर्वाचनमा हासिल भएको सफलतालाई केन्द्रविन्दूमा राखेर हेर्ने हो भने, पार्टीहरु बीचको गठबन्धन, राष्ट्रियता, स्वप्नदर्शी नेतृत्व, संयुक्त घोषणापत्र, सम्बृद्धिका सपना र प्रतिवद्धताहरु नै हुन् । सफलता व्यवस्थापन गर्दा पहिचान गर्नुपर्ने मुलभुत आधार भनेकै यी विषय हुन् ।

 

यो चरणमा ती प्रतिवद्धताहरु पूरा गर्न गर्नु पर्ने पुनरप्रतिवद्धता र निश्चितता नै हो । यतिखेरको संवेग र हौसलाको जग भनेकै सफलता प्राप्त गर्नका लागि प्रयोग भएका साधन नै हुन् ।

 

ती कुरा प्राप्त गर्न पहिलो चरणमा उपलब्ध सफलताप्रति कृतज्ञता र हृदयदेखि नै मतदातामा आभार व्यक्त गर्दै आफ्ना प्रतिवद्धता जीवन्त रहेको प्रण गर्नु हो । तब मात्र सफलता व्यवस्थापन गर्न सकिन्छ । व्यवस्थानको आधार यही पुनरप्रतिवद्धता कायम गर्नु हो, उर्जाको रुपमा यसलाई लिनु र निरन्तर सञ्चार गर्नु हो । स्वप्नदर्शी भीजनलाई उजिल्याउनु वा अझै प्रष्ट पार्नु हो । यो चरणमा अविच्छीन्न रुपमा ती कुराहरु दोहो¥याई रहनु पर्छ ।

 

तेश्रो चरण ः

 

अघिल्लो चरणमा गरेका पुनरप्रतिवद्धताहरुलाई जीबन्त राख्दै यो चरणमा प्रतिवद्धता कार्यान्वयन गर्ने योजना, नीति तथा कार्यक्रम र कार्ययोजना तयार गर्नु पर्छ ।

 

यस तहमा त्यत्तीकै घनिभुत रुपमा गृहकार्य गर्नु जरुरी हुन्छ जत्तिकै निर्वाचन पूर्व घोषणपत्र, योजना र निर्वाचन अभियानका कार्यक्रमहरु तयार गरिएका थिए ।

 

यो चरणमा अघिल्लो समयमा भन्दा धेरै गुणा बढि मिहेनत र परिश्रमका साथ नयाँ उचाईमा पुग्नेगरि काम गर्नुपर्छ । यो व्यवस्थापनको अत्यन्तै जटिल चरण पनि हो ।

 

जसरी हासिल गरेका उपलब्धीले हाम्रो जीवनशैलीमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । प्रत्येक व्यक्तिको दैनिकीमा नै परिवर्तन भईसकेको हुन्छ । सफल व्यवस्थापनको यो चरण अत्यन्तै जोखिमको चरण पनि हो । उपलब्धी हासिल भए पछि व्यक्तिले आफ्नो भेषभाषा, लवाइखवाई र जीवनशैली परिवर्तन गरिरहेको हुन्छ । जसलाई स्वभाविक पनि मानिन्छ ।

 

तर यहाँनेर विर्सन नहुने कुरा के हो भने व्यवस्थापनको यो चरणमा जीवनशैलीलाई सरल किसिमले व्यवस्थित गर्नुपर्छ । ‘अष्टिनिटि मिजर’ अर्थात के गर्ने, के नगर्ने भन्ने कुराको निक्र्यौल गर्ने भनिएको यसै चरणको व्यवहारलाई हो । किनकि सफल व्यवस्थापनको कार्यान्वयनको ढाँचा नै यही चरणमा तयार गरिन्छ ।

 

त्यस्तो जीवनशैली र व्यवहारको माध्यमबाट मात्रै सफल व्यवस्थापनको योजना र त्यसको कार्यान्वयनको मार्गचित्र, रोडम्याप तयार गरिन्छ । विषय विज्ञहरुको समूह र श्रृजनशील व्यक्तिहरुको सहयोग लिनु अपरिहार्य हुन्छ ।

 

चौथो चरणः

 

सफल व्यवस्थापनको चौथो चरण हो–नयाँ विचार, दर्शन, योजना र सपनाको सञ्चार । सफलता हासिल पश्चात व्यक्ति, संगठन र समाजमा नयाँ अपेक्षा र नयाँ उर्जा सञ्चार भईसकेको हुन्छ । यो आफैमा एउटा नवीन दृष्टि र लक्ष प्राप्तिको लागि सृजनशील योजना कार्यन्वयनको चरण हो ।

 

यो चरणमा गरिने कार्यहरु नै सफल व्यवस्थापनको प्रमुख आयाम हो । नेतृत्वले सफल व्यवस्थापनका योजनाहरुको कार्यान्वयन गर्ने संयन्त्र, कार्ययोजना र कार्यविधि बनाउनु पहिल्यै थुप्रैको संख्यामा विषयविज्ञ र श्रृजनशील ‘थिड्ढ ट्यांक’ हरुको पहिचान गरि काम दिनु पर्दछ ।

 

यो चरणको व्याख्या गर्दा नयाँ विचार र कार्यक्रम कसरी कार्यान्वयन हुन्छ ? अध्ययन–अनुसन्धान गर्ने अमेरिकी अभियन्ता लायन बर्जरको अनुसन्धानको नतिजाको हवाला दिँदै सकारात्मक सोधखोजका नेपाली अभियन्ता डा.गणपति ओझा भन्छन्, लायन अध्यनले के देखाएको छ भने, समाज वा संगठनमा जम्मा २ दशमलब ५ प्रतिशत व्यक्तिहरुबाट मात्रै नवीन सोच वा योजनाहरु तयार हुन्छन् ।

 

गणपतिले भने, ती आईडियालाई १३ दशमलव ५ प्रतिशतले मात्र शुरुमा स्वीकार, ग्रहण र कार्यान्वयन गर्छन् । त्यसपछि थप ३४ प्रतिशतले अनुशरण गर्छन लायनले भनेका छन् । त्यसपछि मात्र अरु ३४ प्रतिशतले स्वीकार्छन् । यसरी ८४ प्रतिशतले मात्रै नविन कार्यक्रमहरुलाई स्वीकार गर्छन् भने बाँकी १६ प्रतिशतले कहिल्यै स्वीकादैनन् र ग्रहण पनि गर्दैनन् ।

 

व्यक्तिगत तहमा पनि सोहि कुरा लागु हुन्छ । सफलताको नवीनपन स्वअनुभूति गरी कार्यान्वयन गर्ने चरणमा व्यक्तिमा पनि त्यस्तो भाव झल्कन्छ । सफलता व्यवस्थापनको योजना नै श्रृजनशीलता हो ।

 

भन्न खोजिएको के मात्र हो भने, सफलताको कार्यान्वयनको लागि एकदमै थोरै मात्रामा वा दुर्लभ रुपमा प्राप्तहुने श्रृजनशील व्यक्तिहरुको समुह हो । जुन संगठनहरुमा समेत ज्यादै न्युन हुन्छन् । ’emको पहिचान गरि तीनै श्रृजनशील व्यक्तिहरुमार्फत सफलता व्यवस्थापनको कार्यान्वयनको प्रारुप वा ढाँचा तयार गरी कार्यान्वयन गर्नु पर्दछ ।

 

पाँचौं चरणः

 

पाँचौं चरण अनुगमन र मूल्यांकन हो । योजना तर्जुमा गरि कार्यान्वयन गर्दा सोहि बमोजिम भयो वा भएन भनि निरन्तर अनुगमन तथा त्यसको अनुगमन गरिन्छ, त्यसैगरी सफलता व्यवस्थापनको पनि अनुगमन गर्नुपर्छ ।

 

पृष्ठ पोषणको आधारमा आबश्यकता अनुसार आफ्ना योजनाहरुलाई परिमार्जन समेत गरिन्छ । हामीले के कस्तो परिवर्तनको अपेक्षा गरेका थियौं ? सोहि बमोजिम परिवर्तन भईरहेको छ कि छैन भनि निरन्तर हेर्नु र परिवर्तनको सुनिश्चितता गर्नु नै सफलता व्यवस्थापनको अन्तिम कडि हो । तब मात्र थप उपलब्धी हासिल गर्न सकिन्छ । यो चरणले नयाँ चरणमा प्रवेश गर्ने मार्ग प्रशस्थ गर्दछ । यो चरणमा सबैमा आशा, विश्वास र भरोसा अनुभुति गराउन सक्नु पर्दछ ।

 

निश्कर्षः

 

सफलताको व्यवस्थापन निम्ति वर्तमानमा प्राप्त सफलताको सहि व्यवस्थापन गर्नुपर्छ । त्यसपश्चात मात्रै थप सफलता हासिल गर्न सकिन्छ ।

 

व्यक्तिगत, समुहगत, संगठन, राजनीतिक पार्टिहरुले समेत पहिलो चरणमा प्राप्त सफलताको सहि व्यवस्थापन गर्न सक्नु पर्दछ, तब मात्र कसैले पनि थप सफलता हासिल गर्न सक्छ । सफलता व्यवस्थापन नै हो सफलता प्रति विश्वास बढाउने यन्त्र र भविश्यमा थप सफलताका सपना, कामना र चाहनाहरुको वीउ उत्पादन गर्ने माध्यम, साधन र औजार हो ।

 

निर्वाचनको सन्दर्भमा, निर्वाचनबाट प्राप्त सफलताको पहिलो चरणको सही व्यवस्थापन बिना अर्को चरणको सफलता हासिल हुन सक्दैन । विगतमा प्राप्त सफलताहरुको सहि व्यवस्थापन गर्न नसक्दा कुन व्यक्ति, पार्टि वा संगठनहरुको अबस्था कहाँ पुग्यो, त्यसैलाई नियालेर हे¥यो भने सफलता व्यवस्थापनलाई अझै राम्रो सँग बुभm्न सकिन्छ ।

 

निर्वाचन–२०७४ मा सफलता हासिल गरेकाहरुमा तत्परता र जागरुगता देखिएमा मात्रै गतिशील समाजलाई स्वप्नदर्शी नेतृत्वले सफलता व्यवस्थापनकासाथ सहि दिशामा अगाडि बढाइ समाज र राष्ट्रलाई गतिशील बनाउन सफल हुनेछ ।