कार्ल मार्क्स, कम्युनिष्ट र कालभैरब
शेखर खरेल
आज कम्युनिष्टहरूको चरित्र देख्दा उनीहरू काठमाडौं झरेका त्यस्ता व्राह्मण जस्ता प्रतीत हुन्छन्, जो शुरूतिर जनै समाउदै गायत्री मन्त्र जप्छन् र विस्तारै–विस्तारै जनै फुकाल्दै मम, कचिला–छोयला र ऐला भक्षण गर्न भट्टीतिर छिर्छन् ।
केशव स्थापित भैरव नृत्य गर्दै । तस्वीर: रवी मानन्धर
कम्युनिष्टहरू जस्तो जोश र रवाफका साथ सत्तारोहण गर्छन्, उनीहरूको अवतरण वा वहिर्गमन त्यस विपरित हुँदै आएको छ । अधिनायकवाद, सत्तोन्माद, द्रव्यमोह र विलासिताले उनीहरूलाई सत्ताको चुलीवाट नराम्ररी भुईंमा बजार्दै आएको छ ।
काठमाडौं महानगरपालिकाको मेयरवाट निवृत्त हुनासाथ केशव स्थापित भैरव नृत्यको अभ्यासतिर लागे । त्यसैबेला कार्टुनिष्ट रविन सायमीले स्थापितलाई एउटा कार्टुन मार्फत चोटिलो ब्यंग प्रहार गरे ।
सायमीले कार्टुनमा दुई कालखण्डमा स्थापितलाई देखाएका छन् । कम्युनिष्ट विचारधाराको राजनीति गर्दै आएका स्थापित ‘उहिले’ कार्ल माक्र्सका अगाडि जुम्लाहात जोडी नतमस्तक देखिन्छन् । तर, ‘अहिले’ उनी काल भैरबका अगाडि प्रार्थनारत छन् । कार्ल माक्र्सदेखि काल भैरबसम्मको यात्रा’bout स्थापितलाई भेटघाटको अवसरहरूमा ब्यंग गर्दा उनी त्यसलाई ‘कम्प्लिमेन्ट’ कै रूपमा लिन्छन् ।
हिजो धर्मलाई अफिम मान्ने तर आज ‘धर्मम् शरणम् गच्छामी’ भन्ने कम्युनिष्ट बग्रेल्ती पाइन्छन् । नेपालका ‘नेल्सन मण्डेला’ भनिने मोहनचन्द्र अधिकारीले आफ्नो राजनीतिक क्रियाशीलता त्यागेको दसकौं नाघिसकेको छ । आज उनी वर्ग संघर्षको मोर्चामा नभएर धार्मिक अनुष्ठानहरूमा संलग्न पाइन्छन् । नेपालमा धर्म मान्ने, राजा मान्ने सवै खाले कम्युनिष्टहरू हिजो थिए र आज पनि छन् ।
नेपाली समाज र राजनीतिमा कम्युनिष्टको जस्तो कलेवर देखिन्छ, त्यो संसारको कुनै पनि कुनामा सायदै पाइएला । यसै त संसारभर कम्युनिष्ट शासन दुर्लभ बनेको परिप्रेक्षमा नेपालमा कम्युनिष्टले सत्तारोहण गर्नु मात्र पनि दुनियाँका लागि आफैमा एउटा आश्चर्य हो ।
एउटा घोकन्ते स्कुले केटोले जस्तै गरी हामी पनि सगरमाथा र बुध्द मार्फत् नेपालको चिनारी संसारभर दिदै आएका छौं । तर, विश्वका मानिसहरू नेपाललाई केका लागि र कसरी चिन्दछन् भन्ने ’bout हामी कमै हेक्का राख्छौ ।
प्राकृतिक र सांस्कृतिक सम्पदाका अतिरिक्त नेपाललाई बाहिर चिनाउने यहीकै मानिस हुन् । उदाहरणका लागि गोर्खा र शेर्पा नेपालको चिनारीमा अभिन्न रूपमा जोडिएका छन् । मलाई लाग्छ, संसारमा नेपाललाई चिनाउने अर्को एउटा तत्व पनि छ, जसको विजारोपण नेपाल बाहिर भयो, तर त्यो वृक्ष भने नेपालमा वेस्सरी झांगिन पुग्यो ।
प्रजातन्त्र पुनस्र्थापना पछि २०४८ सालको आम निर्वाचनमा त्यसवेलाका लोकप्रिय प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई अनपेक्षित तवरमा हराएर एमालेका तत्कालिन महासचिव मदन भण्डारी विश्वकै ‘लाइम लाइट’ मा यस्तरी आए कि, विश्व प्रशिद्ध म्यागेजिन ‘न्यूजवीक’ ले उनीसंगको अन्तर्वार्तालाई ‘नेपाल, ह्वेर कार्ल माक्र्स लिभ्स’ शिर्षकमा प्रकाशित गर्यो ।
आज भण्डारी त हामी वीच छैनन्, तर आश्चर्य चाहि के भने, जुन उचाईमा भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई लगेका थिए, आज उनका शिष्यहरूले त्यसलाई टाकुरासम्म नै पु¥याएका छन् ।
भण्डारीको निधनको एकाध वर्षमै नेपालका कम्युनिष्टले अल्पमतकै सही अल्पकालका लागि सत्ताको वागडोर सम्हाले पनि, जुन अवसर उनीहरूलाई पछि पटक–पटक जु¥यो ।
यस बीच कम्युनिष्टहरू सत्तामा मात्र पुगेनन्, आफ्ना करतूतहरूले विश्वकै ध्यान पनि आकर्षित गरेका छन् । सन् ९० को मध्यतिर नेपालका माओबादी कम्युनिष्टहरूले राज्य विरूद्ध छेडेको सशस्त्र आन्दोलनले एक दशकसम्म नेपाललाई विश्वभर ‘नेगेटिभ पब्लिसिटी’ दिइरह्यो ।
शान्ति प्रक्रिया मार्फत बुलेट छाडेर ब्यालेटमा सहभागी माओबादी ०६४ सालको संविधानसभाको निर्वाचनबाट संसदको सबैभन्दा ठूलो दल बन्न पुग्यो र, फेरि एकपटक विश्वको ध्यान खिच्न सफल भयो ।
संविधानसभा निर्वाचनको ठिक एक दशक पछि नेपालका कम्युनिष्टहरूले फेरि संसारको ध्यान आफूतिर आकर्षित गरेका छन् । संसदीय व्यवस्था भएका मुलुकहरूमा समेत स्पष्ट बहुमत प्राप्त गरी सरकार गठन गर्नु दुर्लभ प्रायः हुदै गरेको परिस्थितिमा दुई ठूला कम्युनिष्ट घटकहरू वीचको गठवन्धनले स्पष्ट मात्र नभएर झिनो मात्र अन्तरले दुई–तिहाई नै बहुमत प्राप्त गरेको छ । अब नेपालमा कम्युनिष्टहरुको मात्रै स्पष्ट बहुमतको सत्तारोहण अवश्यंभावी बनिसकेको छ ।
आज मदन भण्डारी वा कार्ल माक्र्स वाचिरहेका भए, कम्युनिष्टको यो दिग्विजयलाई कुन शब्दमा र कसरी वर्णन गर्ने थिए होलान ?!
संसारभर कै अभ्यास र इतिहासबाट के अकाट्य देखिएको छ भने, कम्युनिष्टहरू जस्तो जोश र रवाफका साथ सत्तारोहण गर्छन्, उनीहरूको अवतरण वा वहिर्गमन त्यस विपरित हुँदै आएको छ । अधिनायकवाद, सत्तोन्माद, द्रव्यमोह र विलासिताले उनीहरूलाई सत्ताको चुलीवाट नराम्ररी भुईंमा बजार्दै आएको छ ।
संसदीय अभ्यासले एउटा कालखण्ड पार गरिसकेको नेपालमा अधिनायकवाद विल्कुल असंभव छ । प्रतिपक्षी नेपाली कांग्रेसले साम्यवाद र अधिनायकवादलाई एक अर्काका पर्याय बताउदै आफ्नो चुनाबी अभियानको नारा बनाउदा पनि कोही कसैले नपत्याउनुको कारण पनि यही हो । तर, सत्तोन्माद, द्रव्यमोह र विलासिताको संभावनालाई अहिले नै नकार्न सकिदैन, किनकि यस्तो चरित्र विगतदेखि देखिदै आएको छ ।
विदेशीले नेपालका कम्युनिष्टलाई माक्र्स, लेनिन, माओ वा स्टालिनका अनुयायी वा उत्तराधिकारीका रूपमा हेर्लान–नहेर्लान तर नेपालका कम्युनिष्ट स्वयं नै चाहिँ आफूलाई खाट्टी कम्युनिष्टका रूपमा स्वदेश भित्र वा वाहिर चिनाउन इच्छुक देखिन्नन् ।
मुलुक भित्रको कूटनीतिक वृत्त र विदेश भ्रमणका दौरान उनीहरू आफूलाई कम्युनिष्ट भन्दा पनि ‘सोसियल डेमोक्रेट’ भन्न रूचाउछन् र लोकतन्त्रप्रतिको निष्ठामा सन्देह नगर्न आश्वस्त पार्छन् । उता, रूचि र जीनवशैलीको दृष्टिले पनि नेपालका कम्युनिष्टहरू मध्यमार्गी कांग्रेसी र दक्षिणपन्थी पूर्व पञ्चहरू भन्दा फरक देखिदैनन् ।
निजी लागानीका शैक्षिक र स्वास्थ्य प्रतिष्ठानदेखि एनजिओ÷आइएनजिओका मुख्य प्रवद्र्धक र हर्ताकर्ता कम्युनिष्टहरू नै छन् । तसर्थ भाष्यमा समाजोन्मुख स्वाधीन अर्थतन्त्रको जतिसुकै राग अलपे पनि उनीहरूले अंगीकार गर्ने अर्थ व्यवस्था पूँजीवाद र दाताहरूको दान–दातब्य नै हो ।
आज कम्युनिष्टहरूको चरित्र देख्दा उनीहरू काठमाडौं झरेका त्यस्ता व्राह्मण जस्ता प्रतीत हुन्छन्, जो शुरूतिर जनै समाउदै गायत्री मन्त्र जप्छन् र विस्तारै–विस्तारै जनै फुकाल्दै मम, कचिला–छोयला र ऐला भक्षण गर्न भट्टीतिर छिर्छन् ।
नाम (जात) का व्राह्मण जस्तै ‘आइडियोलोजी’ का कम्युनिष्टहरू आचरण र आकांक्षाका दृष्टिले अन्य विचारधाराहरूका भन्दा कुनै अर्थमा पनि फरक छैनन् । त्यसैले यिनीहरूद्वारा संचालित शासन उत्तर कोरिया वा क्युवाको समकक्षमा देख्नुमा कुनै तूक छैन ।
जे होस, कम्युनिज्म नै नभए पनि कम्युनिष्टहरूको संचालनको शासन नेपालमा शुरू हुँदैछ । सत्ता गठवन्धनका सूत्रधार द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आउने पाँच दशक कम्युनिष्टको हुने उद्घोष पनि गरिसकेका छन् ।
तर, दशकै पिच्छे राजनीतिको धार परिवर्तन हुने नेपालमा पचास वर्ष एउटै शासन र शासक रहनेछन् भनेर ठोकुवा गर्नु आत्मरति वाहेक केही होइन । तैपनि एउटा कुरा के निश्चित हो भने, उनीहरूको पहिलो पाँच वर्षले नै वाँकी शासनको गोरेटो निर्माण गर्नेछ ।
नेपालका कम्युनिष्टहरूको जूट, गूट र फूटको इतिहास हेर्ने हो भने ओली र दाहाल आउने पाँच वर्ष पनि संगै जानेछन् भन्ने कुरामा विश्वस्त हुन सकिदैन । त्यसैले नेपालमा कम्युनिष्टको भविष्य अवका पाँच वर्षले निर्धारण गर्नेछ । ढिलो नै सही, त्यो दिन पनि आइसकेको छ ।