बाम एकता, यता न उता !

राधाकृष्ण मैनाली
मदन भण्डारीले मनमोहन अधिकारीलाई एकिकरणको लागि मनाउन खासै कसरथ गर्नु परेन । मनमोहनलाई एकिकृति पार्टीमा वरिष्ठ नेता मात्र भनेर संबोधन गर्ने निर्णय भए पनि उनी एकिकरण गर्न तयार थिए । तर मदनले वरिष्ठ नेता मात्र भन्दा मनमोहनको व्यक्तित्वको सदुपयोग नहुने तर्क गरे । पार्टीको बृहत्तर हितलाई ध्यान दिएर सर्वोच्च पद अध्यक्ष खडा गरी पहिलो मर्यादाक्रममा राख्न तयार भए । त्यसवेलाको चर्चित क्रान्तिकारी पार्टी नेकपा (माले) को एकछत्र नेता मदन सहजै दोस्रो मर्यादाक्ममा बस्न रमाए । मदनको यो दूरदर्शी र उदार दृष्टिकोणले छिट्टै नेकपा (एमाले) राष्ट्रको अपरिहार्य शक्तिमा परिणत भयो ।
बहुदलीय व्यवस्था (०४६ सालमा) स्थापना भएपछि ०४८ साल वैशाख २९ गते पहिलो संसदीय निर्वाचनको मिति तोकियो । निर्वाचन त हुने भयो तर आफ्नो सशक्त हैशीयत देखाउनु पर्ने बेला बामपन्थीहरु आआफ्नो डम्फु बजाएर चारतिर नाचिरहेका थियौं । सबै बाम एकै ठाम भएमा ठूलो र प्रभावशाली शक्ति बन्न सकिन्थ्यो । तर त्यस्तो वातावरण बनिरहेको थिएन । कम्तिमा पनि मोर्चागत रुपले उम्मेदवारी दिने प्रसंग चल्यो । ०४७ साल मंसीरमा नेकपा माले, माक्र्सवादी, नेपाल मजदूर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी तुल्सीलाल गरी चार पार्टी एकिकरण गर्ने विषयमा छलफल मात्रै भएन, चारै पार्टीको संयुक्त वक्तव्य नै जारी भयो । कुन कुन पार्टीबाट कति संख्या, एकिकृत पार्टीको कुन तहमा ल्याउने भन्ने विषयमा अन्तिम छलफल गर्न संयुक्त वैठक बोलाइएको थियो । वैठकमा नारायणमान विजुक्छे, तुल्सीलाल अमात्य आएनन् । हामीलाई झुक्याउन खोजेको भन्दै दुबैजना तर्किए ।
त्यसपछि मनमोहन अधिकारी नेतृत्वको नेकपा (माक्र्सवादी)संग नेकपा (माले) को वार्ता शुरु भयो । मनमोहन अधिकारी, सहाना प्रधान, भरतमोहन अधिकारी, बलराम उपाध्याय, गोविन्द ज्ञवाली, सिद्धिलाल सिंहसंग सामूहिक र एकल रुपमा घनीभूत छलफल अघि बढ्यो । पार्टी एकिकरणका लागि म बाहिर देखिने गरी सक्रिय थिएँ । भित्री रुपमा महासचिव मदनको भरथेग थियो । वाममोर्चा निर्माणका क्रममा जस्तै एकताका बेला समेत माक्र्सवादीका साथीहरुले मदन र माधव वास्तविक कम्युनिष्ट नभएको आशंका गरिरहे । वाममोर्चा गठनको समयभन्दा यसपटक मैले उनीहरुको चित्त बुझाउन अझ लामो पापड पेल्नुप¥यो ।
अन्ततः मदन र माधवका वारेमा शंकास्पद क्रियाकलाप देखिनासाथै छलफल गरेर अगाडि बढ्ने मौखिक सहमतिपछि पार्टी एकता गर्ने टुंगोमा पुगियो । मनमोहनले ‘लौ आरके तिम्रो मुख हेरेर र माले पनि सशक्त शक्ति भएकाले भोलि आउने खतराप्रति सजग बन्दै एकता गरौं’ भने । पार्टीमा गलत तत्व जो कोही आए पनि कारवाहीको भागीदार हुन्छ भन्ने निचोडसहित हामी एकता गर्ने निर्णयमा पुग्यौं । दुबै पार्टीबाट १४÷१४ जना रहने गरी २८ जनाको केन्द्रीय समिति बनाउने सहमति भयो । मालेको केन्द्रीय समितिमा रहेका २१ जनामध्ये ७ जना छाँटेर १४ सदस्यीय बनाइयो । प्रदीप नेपाल, त्रिलोचन ढकाल र युवराज ज्ञवालीलाई केन्द्रीय सदस्यबाट र वैकल्पिक केन्द्रीय सदस्यबाट युवराज कार्की, केदार न्यौपाने, गोपाल शाक्य र केशव वडाललाई मदनले छाँटे । त्यसबेला प्रदीपले तीब्र असन्तुष्टी पोखेका थिए । ‘मेरो सबभन्दा निकटका कमरेडहरुले त्याग नगरिदिए कस्ले गर्ने ? महाधिवेशनमा मिलाउला अहिलेलाई यसरी नै जाँउ’ मदनले यसो भनेर प्रदीपलाई थुम्थुम्याए ।
मालेवाट मदन भण्डारी, सीपी मैनाली, झलनाथ खनाल, जीवराज आश्रित, माधव नेपाल गरी पाँचजना पोलिब्युरो सदस्य छानिए भने अमृतकुमार बोहोरा, राधाकृष्ण मैनाली (आरके), खड्गप्रसाद ओली (केपी), इश्वर पोखरेल, मोदनाथ प्रश्रित, वामदेव गौतम, मुकुन्द न्यौपाने, अशोक राई, मोहनचन्द्र अधिकारीलाई पुन केन्द्रीय सदस्य बनाइयो । त्यस्तै माक्र्सवादीका तर्फबाट पोलिटव्युरोमा मनमोहन अधिकारी, सहाना प्रधान, भरतमोहन अधिकारी, बलराम उपाध्याय र सिद्धिलालको सिंह छानिए । पोलिटब्यूरो छान्ने क्रममा माक्र्सवादीभित्र केही विवाद देखियो । सहाना प्रधानले सिद्धिलालको पक्षमा बोलेपछि सिद्धिलाल पोलिटब्यूरो बने । यही प्रकरणमा सहानासंग रिसाएर केशरमणि केही समयपछि नेपाली कांग्रेसमा प्रवेश गरे ।
विवाद लगत्तै बुटवलमा मेरो केशरमणिसंग भेट भएको थियो । भेटमा मैले उनलाई अहिले पोलिटब्यूरोमा नपरे पनि भोलि परिहालिन्छ भन्दै कम्तिमा नौ दश महिनाभित्र गरिने महाधिवेशनसम्म पर्खन आग्रह गरें । मेरो कुरा सुनेर केशरमणिले तत्काल कांग्रेसमा जान्न भनेका थिए । तर त्यसको भोलिपल्टै राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेको सुने । ०३६ साल अगाडि केशरमणि र म केन्द्रीय कारागारमा संगै बसेका थियौं । तत्काल पोलिटब्यूरो सदस्य नपाएको झोकमा कांग्रेसी बनेको पछुतो संभवत उनलाई अहिलेसम्म छ । पछि उनी एमालेमै फर्र्किए । कांग्रेसमा गएर उनले महत्वपूर्ण राजनीतिक जिम्मेवारी पाएनन् । भूमिसुधार आयोगमा केही समय नियुक्ति दिलायो, कांग्रेसले । राजनीति गर्ने मान्छेलाई यो पद ठूलो होइन । माक्र्सवादीका केन्द्रीय सदस्यहरुमा केशरमणि पोखरेल, तिलक पराजुली, हिरण्यलाल श्रेष्ठ, कमल कोइराला, प्रभुनारायण चौधरी, माधव ज्ञवाली, एकराज पाण्डे, बोधराज काफ्ले, भीम सेढाई रोजिएका थिए ।
मोहनचन्द्र, म र केपी जेलबाट आएकाले हामी तीनैजनाको नाम एकतापछिको केन्द्रीय कमिटिमा नपर्ला भन्ने धेरैको अनुमान थियो । त्यसबेला मोहनचन्द्र अधिकारी, म र केपी ओलीको नाम र चर्चा पार्टीभित्रभन्दा बाहिर बढी थियो । मोहनचन्द्र आफ्नै स्वाभावले विस्तारै चर्चाबाट हराए । पार्टीबाहिरको चर्चाले संगठन विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्छ भनेर बुझ्ने सबालमा मदन भण्डारी दूरद्रष्टा थिए । उनी कुन निर्णयले पार्टीबाहिर र भित्र कस्तो असर पर्छ, राम्रोसंग केलाएर मात्रै विषयवस्तुको टुंगो लगाउथे । त्यसैले हामी तीनैजना केन्द्रीय समितिमा पुन समेटियौं ।
एकता बैठकमा माक्र्सवादीका तर्फबाट ३५ हजार पार्टी सदस्य भएको विवरण प्रस्तुत गरियो । हामी उनीहरुको सदस्य संख्या देखेर झस्कियौं । ’cause हाम्रो सदस्य संख्या एक हजार पनि नाघेको थिएन । अब हामीले पनि ३५ हजार सदस्यता पु¥याउनु पर्ने वाध्यता आइलाग्यो । नत्र महाधिवेशनमा समेत मालेका प्रतिनिधिहरुको सन्तुलन नहुने देखियो । बहुदल स्थापनापछि अमृतकुमार बोहोरा उर्फ अमर सिंहलाई झापाबाट काठमाण्डौं बोलाएर मालेले मलाई मेची इन्चार्ज तोकको थियो । मेचीभरमा मालेको पार्टी सदस्यता १ सय २० भन्दा बढी थिएन । सबैभन्दा बढी झापामा ९० जना पार्टी सदस्य थिए । ताप्लेजुंगमा १४, इलाममा १५, पाँचथरमा १ जना सदस्य थिए । पूर्वका अन्य जिल्लाको अवस्था अझ नाजुक थियो । पश्चिम क्षेत्रमै सबैभन्दा बढी पार्टी सदस्यता भएको रुपन्देहीमा पनि सय नाघेको थिएन । कतिपय जिल्लामा त सदस्य नै थिएनन्, समर्थकको मात्रै भर थियो ।
मालेले माक्र्सवादीहरुकै हाराहारीमा संख्या पु¥याउन अंचल इन्चर्जहरुलाई निश्चित संख्यामा सदस्यता बढाउनु पर्ने थप कोटा निर्धारण गरिदियो । त्यसपछि झापामा हामीले पार्टीमा सामान्य संपर्कमा भएकालाई समेत सदस्यता दियौं । सदस्यता पाउन जनवर्गीय संगठनमा दुई वर्ष काम गरेको हुनुपर्ने प्रावधानलाई एक वर्षमा झा¥यौं । सबैभन्दा समस्या पाँचथरमा प¥यो । त्यहाँ पार्टीको संपर्कमा तीन जना मात्रै थिए । बहुदल आउनासाथ पार्टीले आफ्ना समर्थकलाई परिचयपत्र वितरण गरेको थियो । देशभर दुई लाख परिचयपत्र बाँडेका थियौं । त्यही परिचयपत्र हेरेर विगतमा पंचायतका तल्ला निकायमा लागेका भए पनि बदनाम नभएका, इमान्दार, सोझा र सक्रिय देखिने मापदण्ड बनाएर नयाँ सदस्यता दिइयो । यही आधारमा एकजना पार्टी सदस्य र दुईजना मात्र समर्थक भएको पाँचथरमा पाँचसय जना पु¥याइयो । ०४८को निर्वाचनमा पाँचथरमा एमालेका तर्फबाट दुवै सिटमा विजय प्राप्त गर्ने युवाहरु नयाँ पुष्ठभूमिका थिए । एकिकरणपछि पार्टी सदस्यता थप्नै पर्ने वाध्यताले ०४८को निर्वाचनमा हामीले मेचीका १२ वटै निर्वाचन क्षेत्रमा जितेर इतिहास रच्यौं ।
रातारात सदस्यता थपेपछि कमल कोइराला र म मेची अंचलमा कमिटि मिलान गर्न केन्द्रबाट खटियौं । झापामा १५ सदस्यीय जिल्ला कमिटि गठन गर्दा माक्र्सवादीका तर्फबाट एकजना पनि जिल्ला कमिटिमा ल्याउन योग्य ब्यक्ति भेटिएनन् । वास्तवमा माक्र्सवादीमा मापदण्ड पुगेका ३५ हजार सदस्य रहेनछन् । समर्थकका नाम समेत सदस्य भनेर एकिकरण बैठकमा बुझाएका रहेछन् । ३०÷३५ वटाभन्दा बढी जिल्ला कमिटि रहेनछन् । झापामा लाजैमर्दो भएपछि प्रगतिशील साहित्यिक फाँटमा कविता लेखेर केह िचर्चा कमाएका एकजना माक्र्सवादी साथी तेजराज खतिवडालाई जिल्ला कमिटिमा ल्याउने निर्णय भयो । मालेतिरका साथीहरुले यसमा गम्भीर असहमती राखे । हामीलाई जिल्ला, अंचल कमिटि भंग गर्नेसम्मको अधिकार थियो । विवाद बढेपछि हामीले जिल्ला कमिटि भंग गरेको सूचना जिल्लास्थित कार्यालयमा टाँसिदियौं । त्यसपछि माक्र्सवादीका खतिवडा र मालेका द्रोणाचार्यलाई समेत राखेर नयाँ जिल्ला कमिटिको घोषणा ग¥यौं । यी दुबैजनालाई जिल्ला कमिटिमा ल्याएकोमा त्यसवेला मालेतर्फका साथीहरुबाट चर्को विरोध भयो ।
द्रोणाचार्यलाई जिल्ला र अंचल कमिटीमा ल्याउन मैले ठूलो कसरत गरेको थिए । केही ब्यक्तिगत कमजोरी हुँदाहुँदै पनि द्रोणाचार्यमा लोकप्रिय सामाजिक छवि, अरुलाई मनाउन सक्ने खुबी, ब्यवहारिक, हसिलो र मिलनसार व्यक्तित्व थियो । उनको आन्तरिक कमजोरी सबैलाई थाहा हुने कुरा थिएन । उनको प्रख्यात व्यक्तित्व झापाको भौगोलिक सीमाबाट माथि उठेको थियो । त्यसैले ०४२ सालको राष्ट्रिय पंचायतको निर्वाचनमा पार्टीले उनलाई जनपक्षीय उम्मेदवार बनाएको थियो । उनले त्यो चुनाव सानदार मतले जिते । ०३६ सालमा भएको आन्दोलनमा बहुदलको पक्षमा लाग्दा झापाबाटै गिरफ्तार भइ यातनासमेत खाएका थिए । यी चर्चित व्यक्तित्व द्रोणाचार्यलाई बहुदलपछि ०४७ सालमा जिल्ला कमिटिमा ल्याउनुपर्छ भन्दा जिल्ला सदस्यहरु कोही मान्न तयार भएनन् । कतिपय साथीहरुले केन्द्रमा उजुरी दिन्छौं भने । मैले ‘पार्टी हितको पक्षमा निर्णय गरेको हुँ । दिनु भए दिनुहोस्’ भनिदिएँ ।
त्यसपछि अंचल कमिटिसमेत भंग गरेर पुन गठन गरियो । जिल्ला कमिटिमा मरीतरी ल्याइएका द्रोणाचार्यको विषयलाई लिएर झापा विद्रोहपछि ०४२ सालतिर भूमिगत भएका साथीहरुले विरोध मात्रै गरिरहेका थिएनन्, मलाई पटक पटक ङ्याँक्न थाले । द्रोणजस्तो मान्छेलाई पार्टी सदस्यता मात्रै दिंदा लाजमर्दो हुन्थ्यो । त्यसैले कठिनाइका बाबजुद मैले उनलाई जिल्ला कमिटिमा ल्याएको थिएँ । बीसको दशकदेखि कम्युनिष्ट आन्दोलनमा लागेका पात्रलाई जिल्ला कमिटिमा ल्याउदा विरोध भैरहेपछि मलाई झ्वाँक चल्यो । त्यसपछि मैले द्रोण र माक्र्सवादीका तर्फबाट इलामका लोकनारायण सुवेदीलाई समेटेर संयुक्त अंचल कमिटि घोषणा गरिदिएँ । यसोगर्दा माक्र्सवादीतिरका साथीहरुले मलाई साथ दिन्छन् भन्ने लागेको थियो । तर स्थिति ठ्याक्कै उल्टो भयो । द्रोणाचार्य र सुवेदीलाई अंचल कमिटिबाट हटाउनुपर्छ भनेर झापा जिल्ला कमिटिको बैठक पाँचदिनसम्म बस्यो । नहटाउने भए विरोधस्वरुप केन्द्रमा डेलिगेसन जाने बताए । मैले आफ्नो निर्णयमा अडान लिएँ । कमल कोइरालालाई पनि यो अडानमा टिक्न अनुरोध गरे । जिल्ला कमिटिका देवीप्रसाद ओझा द्रोणलाई अंचल कमिटिमा लगेकोमा सबैभन्दा बढी आगो बनेका थिए । झापाबाट केन्द्रमा विरोधमा डेलिगेसन आयो ।
उनीहरुले महासचिव मदन भण्डारीलाई भेटेर विरोध जनाए । मदनले आरके, कमल कोइरालाहरुले अहिले जुन निर्णय गरे त्यसविरुद्ध महाधिवेशनमा प्रस्ताव ल्याउन सल्लाह दिएछन् । मदनले दुवै पार्टीका तल्लो तहको कमिटि मिलान गर्ने विषयमा अंचल इन्चार्जहरुलाई पूर्ण अधिकार दिएकाले अहिले आफूले केही गर्न नसक्ने, बरु महाधिवेशनसम्म कुर्न सुझाएपछि उनीहरु हच्किएछन् । मदन दूरदर्शी नेता हुन् भन्ने मेरो मस्तिष्कमा बसेको छाप यस घटनाबाट झन् अमिट बन्यो । पद्धति बसाल्न दृढ उनी आफ्नो वचनमा अडिग थिए । अंचल इन्चार्जहरुलाई दिएको अधिकारमा उनले हस्तक्षेप गरेनन् । मेची अंचल कमिटि पुनर्गठनलाई अस्वीकार गरियो भने अन्यत्रबाट समेत त्यस्तै दवाव आउने हुँदा पार्टी एकिकरणमा व्यवधान आउने मदनको बुझाइ थियो । यसरी विवादकै बीच सहजरुपले एकिकरण संभव भयो ।
एकता हुनु अघि प्राय जसो विहान ७ बजे मनमोहन अधिकारी पाटनस्थित मेरो डेरामा आँउथे । मेरो डेरा सानो थियो । मनमोहन र मेरो ज्यान निकै ठूलो । त्यही साँघुरो कोठामा केही छिन छलफल गरेपछि दुवैजना सिद्धिलाल सिंहको बगलामुखी मन्दिर नजीकैको नयाँ घरमा जान्थ्यौं । धेरैजसो संयुक्त वैठक सिद्धिलालको यही घरमा हुन्थ्यो । नयाँ घर भएकाले बस्नलाई पर्याप्त ठाउ थियो । ३०÷३५ जना अट्ने एउटै कोठा थियो । त्यही हामी छलफल गथ्र्यौं ।
एमालेको न्वारन
केन्द्रीय सदस्य संख्या र नामको टुंगो लागेपछि पार्टीको नाम के राख्ने भन्ने विषयमा विमर्श भयो । दुवै पार्टीको अस्तित्व झल्कने गरी नाम जुराउने सैद्धान्तिक सहमति भएपछि सहाना प्रधानले अकस्मात ‘ल आर के तिमीले नै पार्टीको नाम जुराउ’ भनिन् । मदन भण्डारीले सहमतिमा टाउको हल्लाए । साँच्चै भन्ने हो भने मैले गंभीर भएर नाम सोचेकै थिइनँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा कसैको विमति थिएन । माक्र्सवादी लेनिनवादीमा झन्झट आएको थियो । ‘माक्र्सवादी माक्र्सवादी लेनिनवादी’ भन्दा कस्तो होला ? एकिकृत भनेपछि दुवै माक्र्सवादी आएकाले एउटा माक्र्सवादी भने पुग्ने तर्क राखें । सहानाले ‘ए र माले’ छोटकरीमा भनौं भनिन् । सहानाले भनेकै कुरा अन्तिम भयो । तर यो नाम जनजिभ्रोमा बस्ने खालको थिएन । तैपनि केही दिन ‘ए र माले’ लेखियो । उच्चारण गर्न असजीलो भएपछि पछि आफैं ‘र’ हट्यो । बीचमा झुण्डिएको ‘र’ हटाउन प्रदीप नेपाल, नारायण ढकाल, श्यामलको ठूलो हात छ । त्यसबेला प्रेसतिर उनीहरुकै बोलवाला भएकाले ‘र’ हटाएर दिन्थे । सिद्धिलालको बगलामुखीस्थित नयाँ घरमा मैले प्रस्ताव गरे अनुसार नयाँ पार्टी नेकपा (एमाले) को नाम जुराएका थियौं । पार्टी एकिकरणपछि अध्यक्ष पद सिर्जना गरेर मनमोहन अधिकारीलाई अध्यक्ष र मदन भण्डारीलाई महासचिव चुनियो ।
आहा, त्यो उचाई !
नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकीकरण भएपछि एमालेको उचाई ह््वात्तै चुलियो । माले र माक्र्सवादीबीच अन्तर के थियो भने माक्र्सवादीको केन्द्रमा राष्ट्रिय रुपमै स्थापित तथा परिचित नेता थिए । तर जिल्ला र गाउ तहसम्मको संगठन थिएन । मालेमा चाँहि गाउदेखि केन्द्रसम्म मजबुत संगठन थियो । तर राष्ट्रिय हैशीयतमा प्रचार पाएका नेता कम थिए । माक्र्सवादीबाट मनमोहन अधिकारी, सहाना प्रधान, भरतमोहन अधिकारी, सिद्धिलाल सिंह मात्रै आए पनि पार्टी एकिकरण गर्नुपर्छ भन्ने पक्षमा थिए, मदन । यी ब्यक्तित्वहरुको आगमन एमालेको उचाई बढ्नुको एउटा कारण हो । उनीहरुका पछि कति कार्यकर्ता आए भनेर टाउको गन्नेभन्दा लामो कालखण्डको त्याग, समर्पणबाट बनेको नेताहरुको सार्वजनिक व्यक्तित्वले जनतामा राम्रो प्रभाव प¥यो । उनीहरुको छवि विदेशमा पनि चम्किएको थियो । मनमोहन कठोर सिद्धान्तकार भन्दा उदार राजनीतिक व्यक्तित्व थिए । त्यसैले उनले विदेशी पत्रकारहरुलाई कम्युनिष्ट त आफ्नो ट्रेडमार्क मात्रै भएको बताएका थिए । मनमोहन अधिकारीको छविलाई मदन भण्डारी जत्तिको व्यक्तित्वले नबुझ्ने कुरै भएन । सिंगो माक्र्सवादी पार्टी एकिकरणमा नआए पनि मनमोहन र सहानालाई मात्रै भए पनि ल्याउनुपर्छ भनेर मदन मसंग बारम्वार भन्थे । यी दुई ओजपूर्ण व्यक्तित्व पार्टी र देशका लागि अत्यावश्यक भएको मदनको बुझाई थियो ।
मदनले मनमोहनलाई एकिकरणको लागि मनाउन खासै कसरथ गर्नु परेन । मनमोहनलाई एकिकृति पार्टीमा वरिष्ठ नेता मात्र भनेर संबोधन गर्ने निर्णय भए पनि उनी एकिकरण गर्न तयार थिए । तर मदनले वरिष्ठ नेता मात्र भन्दा मनमोहनको व्यक्तित्वको सदुपयोग नहुने तर्क गरे । पार्टीको बृहत्तर हितलाई ध्यान दिएर सर्वोच्च पद अध्यक्ष खडा गरी पहिलो मर्यादाक्रममा राख्न तयार भए । त्यसवेलाको चर्चित क्रान्तिकारी पार्टी नेकपा (माले) को एकछत्र नेता मदन सहजै दोस्रो मर्यादाक्ममा बस्न रमाए । मदनको यो दूरदर्शी र उदार दृष्टिकोणले छिट्टै नेकपा (एमाले) राष्ट्रको अपरिहार्य शक्तिमा परिणत भयो ।
(वामपन्थी नेता राधाकृष्ण मैनालीको ‘नलेखिएको इतिहास’ बाट साभार गरिएको यो अंश अहिलेको बहुप्रचारित वामपन्थी एकताको सन्दर्भमा ऐतिहासिक, रोचक तथा शिक्षास्पद सामाग्री हुनसक्छ । –संपादक )