भ्रष्ट्राचारीको घेराभित्र संसदीय शासन

 

–डा. मदन दाहाल

वामपन्थीहरूको गठवन्धन र संभावित एकताको संदर्भमा कसैले नसोचेको परिणाम आउन सक्छ र त्यो के भने वाह्य षडयन्त्र र आन्तरिक कलहको परिणाम स्वरूप एमालेको अस्तित्व जोखिममा पर्न पनि सक्ने छ ।

 

भरखरै सम्पन्न नेपालको निर्वाचनमा वामपन्थी दलहरूको प्रचण्ड विजय र धेरै वर्ष देखि सत्ता शयलमा हाली मुहाली गरेको नेपाली कांग्रेसको शर्मनाक पराजयवाट पश्चिमा शक्ति राष्ट्रहरू र भारत समेतको निद्रा भंग भएको छ ।

नेपालमा भएको यो अप्रत्यासित राजनैतिक परिवर्तनलाई खास गरी अमेरिका, यूरोपियन यूनियन र भारतले नेपालको चीनसंगको वढदो संसर्ग र झुकावको कारणले उनीहरूको ‘फ्रि तिब्बत’ मिशनमा ठूलो धक्का पुग्न गएको महशुश भएको छ।

‘फ्रि तिब्बत’ मिशनमा नेपालका नेता, पदाधिकारी, नागरिक समाज र मानव अधिकारवादी समुहहरू पनि संलग्न रहेकोले चीनले वारम्वार नेपाल समक्ष आपत्ति गरेको छ ।

यसरी नेपालमा तिव्र रूपमा भएको अप्रत्यासित राजनैतिक समिकरणलाई पश्चिमा शक्ति राष्ट्रहरू र खास गरी भारतले स्वीकार्न नसक्ने संकेत गरेको छ ।

यसले नेपालको निर्वाचनमा वाम गठवन्धनको ऐतिहासिक विजय र आसन्न एकताको प्रकृया सहज ढंगले सम्पन्न गर्न अझै चुनौतिपूर्ण रहेको छ ।

एकता भएर सरकार वने पनि त्यो सरकार दीर्घायू नहुने र त्यो सरकार ‘राडार’ संग सम्पर्क टुट्न गै दुर्घटना भएको जहाज जस्तो भयावह परिणाम पनि हुन सक्छ ।

’cause आज सम्म माओवादीहरूले १२ वुंदे संझौता र त्यस पश्चात हत्या, हिंसालाई त्यागेको भन्ने कतै सम्पुष्टि नभएको, तथाकथित जनयुद्धमा मारिएकाहरू प्रति शोक प्रकट नगरेको र जनयुद्ध एउटा भयानक गल्ति थियो भनेर राष्ट्र र जनता सम्मुख क्षमा प्रार्थी नभएको तथा एकताको वेला हतारोमा वलजफ्ति गरिएको पद वाडफांडको प्रकृयामा दुवै तर्फका असंतुष्ट नेताहरूको कारणवाट समेत कुनै पनि वेला एकता भांडिने र विष्फोट हुनसक्ने दुवै पक्षका नेताको वयानवाट स्पष्ट हुन्छ।

एकातिर माओवादीलाई भारतले अन्तरराष्ट्रिय अदालतको भूत देखाएर टाउको माथि ‘ड्यामोक्लसको तरवार’ झुण्ड्याएकोले सदाको निमित्त अस्तित्व समाप्त हुने डर, त्रास र भय तथा अर्कोतिर एमालेलाई चुनावमा एक्लै भाग लिंदा वहुमत नआउने र फेरि कांग्रेसले अनन्तकाल सम्म मुलुकमा रजाई गर्ने मनोवैज्ञानिक हीनताले यो एकता संभव हुने पनि देखिन्छ ।

वामपन्थीहरूको गठवन्धन र संभावित एकताको संदर्भमा कसैले नसोचेको परिणाम आउन सक्छ र त्यो के भने वाह्य षडयन्त्र र आन्तरिक कलहको परिणाम स्वरूप एमालेको अस्तित्व जोखिममा पर्न पनि सक्ने छ ।

वाम गठवन्धनको विकल्पमा अन्य गठवन्धनको प्रादुर्भाव पनि हुन सक्छ ।

राजनीति हरेक संभावनाको विचित्र खेल हो ।

यसको अर्थ नेपालमा प्रजातन्त्रको नाउंमा नेता र कर्मचारीले जनताको आंशु, पसिना र रगतले सिंञ्चित राजस्व लुटेर खाने भ्रष्ट्राचारीको घेरा भित्र रहेको संसदीय शासन प्रणाली र अत्यन्त गरीव मुलुकमा प्रतिपादित घोर मंहगो संघीयता असफल हुन सक्छ ।

फेरि एउटा झञ्झावात आउन सक्छ ! फेरि एउटा संबिधानको प्रादुर्भाव हुन सक्छ । सवैलाई चेतना भया !

जहां नेता र कर्मचारी भ्रष्टाचारमा लिप्त छन् । उद्योगपति–व्यापारी रातारात अर्वपति वन्ने होडमा छन् । नागरिक समाजका अगुवा र मानव अधिकारीवादी तथा दूतावाशको ‘पे रोल’ मा भएका एजेण्टहरू विदेशीको स्वार्थ पूरा गर्न तल्लिन छन् ।

संचार माध्यमहरू राजनैतिक दलका प्रवक्ताको रूपमा कार्यरत छन् । वुद्धिजीविहरू एउटा पदमा नियुक्तिको निमित्त आफ्नो इमान, धर्म र व्यक्तित्व सर्वाङ्ग लिलाम गरेर राजनैतिक दल र नेताको पाउमा समर्पित हुन्छन् ।

राष्ट्र विखण्डन गर्ने षडयन्त्रकारीहरू खुला चुनौति दिन्छन् र सरकार निरीह र मुक दर्शक रहेको हुन्छ, त्यहां सार्वभौमसत्ता जोखिममा परेको हुन्छ । राष्ट्र र जनताको भविष्य अन्धकारमय हुन्छ ।

तसर्थ, हाम्रो जस्तो सानो, अल्पविकसित र गरीव मुलुकमा एउटा पुनर्जागरणको आवश्यकता छ । अनुशासन पर्व अन्तर्गत दोषीहरूलाई कडा कारवाहीको आवश्यकता छ । राष्ट्रका शत्रुहरूलाई समयमै पाठ पढाउनु पर्ने आवश्यकता छ ।

यसको निमित्त सम्पूर्ण राष्ट्रप्रेमी जनता, सुरक्षा निकाय, राष्ट्र सेवक, संचार माध्यम र वुद्धिजीवीहरू समेत जो माथिको वर्गीकरणमा पर्दैनन नेपालको राष्ट्रिय ध्वजा अन्तर्गत एक ठाउंमा गोलवन्द हुनु पर्ने आवश्यकता छ ।

अन्यथा, कुनै पनि वेला हामीहरू आफ्नै देशमा शरणार्थी हुने र आफ्नो देश खोज्दै हिंडनु पर्ने वेला आउन सक्छ–सवैलाई चेतना भया !