ओरालो लागेकै हुन् त ओली ?

 

नेपालीहरु माझ ‘नाकाबन्दीकी एक प्रमुख नायिका’ का रुपमा चिनिएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज किन आएकी थिइन् र के गरेर गइन्, जे गरेर गएकी हुन्, नेपालको आन्तरिक राजनीतिमा नराम्रो शंका घोलेर गइन् ।

 

समय घटनापूर्ण छ । एकातिर संघीयताले प्रदेशसभाहरु गठन र सञ्चालनका रुपमा कोर्स लिइरहेको, राष्ट्रिय सभाका लागि निर्वाचन हुन गइरहेको छ । अर्कातिर काठमाडौंमा, यद्यपि घाम तात्दै गएका भए पनि, राजनीति चिसै छ । दिल्लीस्थित साउथ ब्लकको फ्रिजमा तयार गरेर गए साता नेपाल ल्याइएको हिउँको डल्लो अझै पग्लेको छैन । यसले, त्यसै पनि, चिसिदै गएको एमाले माओवादी–केन्द्र सम्बन्धमा अरु शंकाहरु थपेको छ ।

 

सम्भवतः दिल्लीबाट आएको विशेष मिसनको प्रयोजन त्यही नै थियो ।

 

यहाँ माथिका हरफबाट विज्ञ पाठकहरुले पक्कै लख काटिसक्नु भयो, गए साता नेपालीहरु माझ ‘नाकाबन्दीकी एक प्रमुख नायिका’ का रुपमा चिनिएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज किन आएकी थिइन् र के गरेर गइन्, जे गरेर गएकी हुन्, नेपालको आन्तरिक राजनीतिमा नराम्रो शंका घोलेर गइन् । म वास्तवमा, यसबखत भारतबाट कोही आएको र गएको विषयमा केही नबोल्ने, नलेख्ने मन बनाएर बसेको थिएँ । यस’bout हुने तर्क वितर्कबाट टाढै रहन चाहन्थें तर त्यो घटना विशेषका कारण मुलुकको राजनीतिले लिइरहेको सकारात्मक कोर्स नै बदलिएर नकारात्मकतातिर गइरहेको देखिरहँदा, क्षमा चाहन्छु, मौन रहन सकिँन ।

 

स्मरणीय छ, तीनै तहका निर्वाचनमा भारतलाई हेर्ने आलोचनात्मक दृष्टिकोणको विजय र भारतप्रति नरम विचारको पराजय भएको थियो । एमाले–माओवादी गठबन्धन यसै पृष्ठभूमिमा बनेको थियो । गठबन्धनले एउटै चुनावी घोषणापत्रअन्तर्गत ६० र ४० स्थानको बाँडफाँड गरेर, संयुक्त रुपमा चुनाव लडेको थियो । यी दुई दल भए पनि यस हिसाबले यी दुईलाई दुई नमानेर एउटै दल मान्नुपर्छ ।

 

दुबैले एकैस्वरमा नेपालमा राजनीतिक स्थिरता सुनिश्चित गर्ने, मुलुकलाई दीनहीनताबाट मुक्त गर्ने गरी समृद्धिको मार्ग प्रशस्त गर्ने सपना देखाएका थिए ।

 

त्यसमा पनि विशेष गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले विविध माध्यमबाट चीनसँग विकासका विविध क्षेत्रमा काम गर्दै असीम सम्भावनाका ढोका उघार्नेजस्ता रसिला कुरा गरेर धेरैलाई मुग्ध बनाएका थिए । असोज ३, २०७२ मा संविधान जारी हुँदादेखि पाँच महिना नेपालमाथि भारतले लगाएको नाकाबन्दीका कारण भारतसँग हृदयदेखि नै क्षुब्ध नेपालीहरुले ओलीलाई आफ्नो त्राता, देवता ठाने, पत्याए र भोट खन्याए ।

 

भारतप्रति कठोर देखिएको त्यो एमाले–माओवादी गठबन्धनको आक्रामक प्रचारलाई नेपाली जनताले मनैबाट पत्याएका थिए । गठबन्धनले त्यसै आधारमा राजनीतिक स्थायित्व प्रदान गर्दै समृद्धि पथ सुनिश्चित गर्ने वाचा गरेको अझै सबैका कान कानमा गुञ्जिरहेको छ । नेपाली जनता समक्ष एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेको त्यो बाचा, एकप्रकारको शपथ हो, कसम हो ।
त्यसैले कुनै पनि बहानामा होस् अथवा भारतको प्रलोभनमा यदि यो कसम तोडियो भने यसका दोषी दुबै नेता हुने छन्, त्यसमा पनि ओलीको त्यो कृत्य क्षम्य मानिने छैन ।

 

निश्चय नै यो गठबन्धन बने देखिनै भारतीय संस्थापन र त्यहाँका जनमत निर्माताहरु नेपाल अब चीनको पोल्टामा जाने भयो भनेर तर्सेका थिए । त्यही तर्साइका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी विशेष दूतका रुपमा स्वराज वास्तवमा गठबन्धनको नेतृत्वमा नेपाल चीनतर्फ अरु ढल्किने सम्भावनालाई निस्तेज पार्न आएकी थिइन्, नकि ओलीसँग सम्बन्ध सुधार गर्न । उनको भ्रमणको ध्येय चीनको प्रभावलाई ‘न्युट्रलाइज’ गर्नु थियो ।
तर भारतीय संस्थापन र त्यहाँका जनमत निर्माताहरुले नबुझेको के हो भने नाकाबन्दीले दिएको भयानक कष्ट भोगेका नेपाली जनता, ओलीलाई खुशी पार्दैमा रमाउने होइनन् ।

 

निश्चय नै ओली अथवा दाहाललाई पाँच वर्षका लागि जनादेश पाइएकै छ, जे गरे पनि भयो भन्ने लाग्न सक्छ । तर, जेजस्ता वाचा गरेर चुनावमा विजय हासिल गरिएको हुन्छ, त्यसैका लागि जनादेश हुन्छ र अन्यथा चलखेल गर्नु हुँदैन भन्ने कुरा यहाँ सम्झाइराख्नु जरुरी छैन ’cause जनताले सोझै औंला नउठाउलान् तर उनीहरुमाथिको लोकविश्वास भने डरलाग्दो गरी आहत हुनेछ ।

 

यसैलाई जनमत निर्माताहरुले विभिन्न माध्यमबाट वाणी दिने छन् । आफैं हेर्नुहोस्, स्वराजको एमालेले स्वागत नगर्दासम्म ओलीका लोकप्रियताको पारो कति माथि थियो र अहिले कति तल झरेको छ ।

 

लोकतन्त्रमा आफूले आफैंलाई कसैले पनि जन्मजात महान् र विशिष्ट नठाने हुन्छ । लोकप्रिय नेता होइन, मुद्दा हुन्छ । नेताले जनताका मुद्दालाई तदनुरुप वाणी दिँदा ऊ लोकप्रिय हुने हो । नपत्याए आज नेपाली कांग्रेसका नेताहरुलाई हेरे हुन्छ । अझ, नपुगे एक व्यक्तिलाई नै हेर्ने भए दाहाल अर्थात् प्रचण्डलाई हेरे पनि हुन्छ । उनी ०६२–६३ मा कुन उचाइमा थिए र आज उनको अवस्था के छ !

 

हेक्का रहोस्, हिजो देशलाई एक्लै हाँक्ने अवस्थामा एकपछि अर्को गल्ती गरेका कारण नै आज प्रचण्ड ओलीको दयाका पात्र बन्न पुगेका हुन् ।

 

यसको तात्पर्य यो होइन, भारतसँग ओलीको सम्बन्ध तिक्ततापूर्ण नै हुनुपर्छ, तर सम्बन्ध सहजीकरणको पनि तरिका हुन्छ । बिस्तारै बिस्तारै आफ्ना देशका जनतालाई साथ लिँदै गर्नुपर्ने काममा तातै खाउँ जलि मरौं गर्नु हुँदैन । त्यसो गरियो भने ख्याल रहोस्, प्रतिफल सुल्टो होइन, उल्टो हुन्छ । शिखर चढ्न हिँडेको मान्छे थाहै नपाइ ओरालै ओरालो रसातलमा पुगिसकेको हुन्छ ।