भ्रष्टाचारको विरोध गर्ने देशद्रोही !

“तिमी भ्रष्टाचारको विरोध गर्छौ । भ्रष्टाचारको विरोध गर्नु भनेको देशद्रोह गर्नु हो । म यो म्याथमेटिकल्ली र लजिकल्ली प्रुभ गर्न सक्छु ।” मैले सोधें “कसरी ?”
उनले गणितीय सुत्र पो लेखेर देखाए…

 

गएको हप्ता मेरो स्तंभका एक जना नियमित पाठकसंग भेट भयो । उनी धेरै लामो समयदेखि मेरा विचार लेखनको नियमित पाठक रहेछन् । उनीसंगको मित्रता इमेलमार्फत करिब १२ बर्ष अगाडि भएको हो । यसको धेरैपछि उनीसंग साक्षात्कार गर्ने मौका मिल्यो ।

 

लामो समयपछि सशरीर भेटमा उनले बिजुली पानी लिंदै गफिने प्रस्ताव गरे । कसैसंग बसेर बिजुली पानीको रमरममा रमिदै सामिप्यता पाउने सम्मानको बिषय पनि हो । उनी मेरो लागि गंभीर पाठक मात्र होइन, एक अति सम्मानीय व्यक्ति पनि हुन् । उनी अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयमा गणित बिषय प्राध्यापन गर्छन ।

 

चलनकलन अर्थात ‘क्यालकुलस’ उनको अध्यापनको बिषय हो । गणितको शाखा मध्ये मलाई पनि सवैभन्दा बढि मन पर्ने बिषय चलनकलन नै रहेको छ । भौतिकशास्त्र, रसायनशास्त्र तथा इन्जिनियरिङ्गमा यसको धेरै प्रयोग हुने गर्छ । समाज विज्ञान मध्ये अर्थशास्त्रमा सायद सवैभन्दा धेरै प्रयोग हुने बिषय हो यो । भौतिकशास्त्रपछि अर्थशास्त्र नै होला, ‘क्यालकुलस’को बृहत्तर प्रयोग हुने बिषय ।

 

 

उनको बिशेषता भनेको ‘क्यालकुलस’ सामान्य जीवनमा प्रयोग गर्ने खुवी हो, जो मसंग छैन । गणित सवैभन्दा अर्मूत तर्क (हाइली अब्स्ट्राक लजिक) हो । समाज र राजनीतिक घटनामा उनी अत्यन्तै राम्रोसंग ‘क्यालकुलस’को प्रयोग गर्छन । यसै खुवीको कारणले उनी मेरो नजरमा सम्मानित भएका हुन् ।

 

 

उनी कुनै पनि बिषयमा कुरा गर्दा बडो तार्किक शैलीमा गर्छन् । तर्कसंगतता र युक्तिसंगतता उनको अन्तरक्रिया गर्ने शैलीको अभिन्न अङ्ग हो । त्यसैले यी मित्रसंग नीजि गफमा पनि सर्तकता अपनाउँनु पर्दछ ।

 

 

हालैका दिनमा सदृष्य अनलाइनमा मैले लेखेका न्यायपालिका भित्रका भ्रष्टाचार’boutका लेखहरु उनले बढो छिद्रान्वेसी ( मेटिकुलसली) रुपमा अध्ययन गरेका रहेछन ।

 

 

विजुली पानीको चुस्कीसंगै उनले मलाई भने “मित्र, तिमी त एक ठूलो देशद्रोही, राजद्रोही र राज्य विप्लव गर्ने पो रहेछौं, तिमीलाई त ‘सेडिसन’ र ‘ट्रिजन’को आरोपमा जेल हाल्नु पर्ने रहेछ ।” मैले सोधे “कसरी ?” उनले भने “यो कुरो तिम्रा लेखहरुले प्रमाणित गर्छन् ।”

 

 

उनले भने “तिमी भ्रष्टाचारको विरोध गर्छौ । भ्रष्टाचारको विरोध गर्नु भनेको देशद्रोह गर्नु हो । म यो म्याथमेटिकल्ली र लजिकल्ली प्रुभ गर्न सक्छु ।” मैले फेरि सोधें “कसरी ?”

 

उनले गणितीय सुत्र यस्तो लेखेर देखाए ः

 

पैसा= एफ (भ्रष्टाचार)
सांसद-मन्त्री= एफ (पैसा)
सरकार= एफ (सांसद-मन्त्री)
देश= एफ (सरकार),
देश=एफ (भ्रष्टाचार)
यहाँ एफले फङ्सन अर्थात प्रकार्य जनाउँछ ।

 

 

उनले यो फङ्सन सामान्यीकरण गर्दै भने “हेर भ्रष्टाचार छ र त्यसको कारण मान्छेसंग पैसा छ । मान्छेसंग पैसा छ । र, त्यही पैसाको कारणले जन्माएको तागतले पार्टीको नेता खरिद गरेर निर्वाचनमा पार्टीको तर्फबाट टिकट लिन सक्षम बन्न सक्छन । टिकट पाएपछि निर्वाचन लड्न सक्छन् । पैसाको कारण जनता नै खरिद गरेर निर्वाचन जित्न सक्छन् । पैसाले निर्वाचन जितेर सांसद बन्न सक्छन् । पैसाको तागतले सांसद बनेकाले पैसाको तागतमै मन्त्री बन्छन ।”

 

मैले फेरि सोधे “यसमा के त्यस्तो ठूलो कुरो भयो ?”

 

उसले फेरि भन्यो “सांसद मन्त्री भएकोले सरकार बन्छ । त्यस्तै मन्त्रीहरुको समूहको नेता प्रधानमन्त्री बन्छ र सरकार पूरा बन्छ । सरकार भएकोले देश छ । यदि सरकार नरहने हो भने देश रहन्न । देशको अस्तित्व त भ्रष्टाचारले गर्दा टिकी रहेको छ । त्यसकारण भ्रष्टाचारको बिरोध गर्नु भनेको देशै नराख्ने कार्य हो । त्यसैले यो देशद्रोह हो । भ्रष्टाचारको बिरोध गर्नु त्यसकारण राष्ट्रघात हो । देशका सवै भ्रष्टाचार बिरोधीहरु देशद्रोही हुन । राष्ट्रघाती हुन । त्यसैले भ्रष्टाचार बिरोधीहरुलाई ‘सेडिसन’ र ‘ट्रिजन’को आरोपमा जेल हाल्न पर्छ ।”

 

मलाई बढो अप्ठ्यारोमा पारदिए यी पाठकले । नमानौ त ‘म्याथम्याटिक्स’को प्राध्यापक, उ । गणितको एक उम्दा शिक्षकले ‘लजिकल्ली प्रुभ’ गरेको बिषय हो, यो । अर्कोतर्फ उसको तर्क मानौ भने जीवनभर लोकतन्त्र, मानव अधिकार, विधिको शासन, जवाफदेही र उत्तरदायी शासन व्यवस्थाको वकालत गरेको । र, यसको सवैभन्दा ठुलो बाधक भ्रष्टाचार भएको र यसको विरुद्धमा उभिएको ठान्ने मान्छे ।

 

गणितमा कहिले कहि ‘क्यालकुलेसन’बाट अन्तिम नतिजा ननिस्कदा तर्कको आधारमा अन्तिम नतिजामा पुगिन्छ । यस हिसावले पाठक मित्रले भनेको कुरा ‘लजिकल्ली करेक्ट’ देखिन्छ, तर हो भनेर समर्थन गर्न सकिदैन । मलाई जीवनमा योभन्दा सरमको दिन कहिल्यै लागेन ।

 

जे बुनियादमा उभिएर जे जस्तो लेखियो गएका दुई दशकमा त्यो दुई पेग बिजुली पानी लगाएको एक बिशुद्ध ‘टेक्नीकल’ बिषयको प्राध्यापकको एक मामूली प्रश्नले गल्र्याम्मगुर्लुम्म ढल्यो ।

 

उनले मेरो असहजता महसुस गर्दै भने मित्र “आइ एम जस्ट किडिङ्ग यु, डोन्ट वोरी । इट इज एन युक्लेडियन म्याथमेटिकल टोय ।” तर उनले मलाई गिज्याएको ‘युक्लेडियन म्याथमेटिकल टोय’ (गणितीय हिसावमा ठिक लाग्ने तर वास्तविक जीवनमा प्रयोग नहुने गणितीय सुत्र वा समाज विज्ञानको सिद्धान्तलाई ‘युक्लेडियन म्याथमेटिकल टोय’ भनिन्छ) ले त मेरा मथिङ्गल हल्लाइ दिएको छ ।