शेयरको भाउ घटेको घट्यै, जनाताको पैसामा ब्रम्हलुट मच्चाएको मच्चायै – राजकुमार केसी

 

दुई बर्ष अगाडि कुनै कम्पनीको साठी हजार रुपैयाँको शेयरको बजार भाउ घटेर अहिले पन्ध्र हजारमा झर्छ भने एउटा ब्यक्तिले पूँजीबजारमा अब के देखेर लगानी गर्छ ? अनि सर्वसाधारणसंग भएको अलिकति बचतलाई कहाँ लगेर लगानी गर्ने ? यता शेयरको भाउ घटेको घट्यै, उता सिमित ब्यक्तिहरु सामान्य जनाताको पैसामा ब्रम्हलुट मच्चाएको मच्चायै ?!

 

 

भनिन्छ, अरु चिज यथावत रहेको अवस्थामा, पूँजी बजारलाई धेरै हदसम्म अर्थतन्त्रको मूख्य सूचकको रुपमा लिन सकिन्छ । अर्थशास्त्रीका अनुसार, खुला अर्थतन्त्रमा पूँजीबजारको भूमिका सधै महत्वपूर्ण रहन्छ । यदि यो कुरालाई सिद्धान्तत सही रुपमा लिने हो भने, हाम्रो अर्थतन्त्र सही किसिमबाट चलिरहेको छैन भन्ने कुरामा दुइमत नरहला ।

 

 

हुनत पूँजीबजारमा भएको लगानीलाई अनुत्पादक भन्ने अर्थशास्त्रीहरु धेरै होलान् । तर स्वयम् नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाबाट नै बैंक तथा बित्तिय संस्थाहरुलाई शेयर बजारमा लगानी गर्न नदिने भन्ने अभिब्यक्ति आएपछि लगानीकर्ताहरु निरास हुँदै, लगानी गर्नुको साटो, आफूसँग भएका शेयरहरु पनि कम मूल्यमै बेच्न बाध्य हुँदैछन् ।
आमजनता मै एउटा के भ्रम सृजना गर्न खोजिएको छ भने बामपन्थीहरु शेयर बजारलाई जुवा भन्ने ठान्छन् र भरसक उनीहरु सट्टाबाजीको नाम दिएर शेयर बजारलाई निरुत्साहित गर्न चाहन्छन् भनिएको छ । बिगतमा डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि शेरबजार लामो समयसम्म ओरालो लागेको लाग्यै भयो । शायद त्यतिबेला पनि लगानीकर्ताहरुमा एक किसिमको ‘फिअर साइकोसिस’ले काम गरेको हुनुपर्छ ।

 

 

अहिलेको परिप्रेक्षमा हेर्ने हो भने गत असोज महिनामा एमाले र माओबादी केन्द्रको एकताको घोषणा भएयता नेप्से इन्डेक्स निरन्तर ओरालो लागेको लाग्यै हुँदा, नेपालको पूँजीबजारको भबिष्यप्रति चिन्ता गर्नुपर्ने भएको छ । सरकार गठन भएको दुई हप्ता पनि भएको छैन । सरकारले आफ्नो आर्थिक कार्यक्रमहरु ल्याउन बाँकि नै छ ।

 

 

यस परिप्रेक्ष्यमा शेयरबजार निरन्तर ओह्रालो लागिरहनुलाई निश्चय नै राम्रो संकेत मान्न सकिदैन यद्यपि धितोपत्र बोर्ड, नेप्से जस्ता सम्बन्धित निकायले लगानीकर्ताको बिश्वास कसरी कायम राख्न सकिन्छ भन्ने कुरामा कदम चाल्नु आवश्यक छ ।

 

 

निश्चय पनि पूँजीबजारले खुला अर्थतन्त्र भएका मुलुकमा देशमा छरिइरहेको पूँजीलाई सही किसिमबाट परिचालन गर्न मद्धत पु¥याउछ । पूँजीबजार केवल सट्टाबाजी अर्थात ‘स्पेकुलेसन’मा मात्र आधारित छैन । सामान्य जनाताले खाइनखाइ जम्मा पारेर बढी प्रतिफलको आशाले लगानी भएको अर्बौ रुपैयाँ हेर्दाहेर्दै बिलाएर जाने स्थिति आउनु राम्रो होईन ।

 

 

हाम्रो बजार प्रतिस्पर्धी छैन, अरु क्षेत्रमा लगानी गर्ने ठाउ छैन । यस्तो स्थितिमा जनाताले लगानी गर्ने भनेको शेयर बजार नै हो । यस्लाई पनि निरुत्साहित गर्ने हो भने अबका दिनमा पूँजी कहाँबाट जुटाउने ? कहाँ लगानी गर्ने ? अनि लगानी भैसकेको अरबौ रुपैयाँको सोध भर्ना कस्ले गर्ने ?
यसरी शेयर बजार निरन्तर ओह्रालो लाग्दै जान थाल्यो भने अर्थतन्त्रमा यस्का धेरै नकारात्मक असरहरु पर्दैजान्छन् । देश सघीयतामा प्रबेश गरिसकेको परिप्रेक्षमा पूँजीबजारलाई झन् दह्रिलो, बिश्वासिलो बनाउनु जरुरी छ ।

 

 

बैक तथा बित्तीय संस्थालाई शेयर बजारमा लगानी गर्न निरुत्साहित गर्नु कति हदसम्म ठीक छ ? यो बिचार गर्नु पर्ने कुरा हो ।

 

 

निरुत्साहित गर्नु भन्दा, निश्चित नियम बनाएर नियन्त्रण गर्नु उचित हुन्छ । पूँजीबजारलाई स्वस्थ ढंगबाट नियमन गर्नुको साटो, झन निचोर्ने हो भने, देशमा पूँजी निर्माण कसरी होला ?
बामगठबन्धन सरकार जनताको सरकार हो । यद्यपि खुला अर्थतन्त्रका राम्रा पक्षलाई यसले अबश्य आत्मसात गर्ने छ । आशा गरौं सरकारको नयाँ आर्थिक नीतिले आउँदा दिनहरुमा पूँजीबजारलाई नयाँ गति प्रदान गर्नेछ ।
दुई बर्ष अगाडि कुनै कम्पनीको साठी हजारको शेयरको बजार भाउ घटेर अहिले पन्ध्र हजारमा झर्छ भने एउटा ब्यक्तिले पूँजीबजारमा के देखेर लगानी गर्छ ? अनि अलि अलि भएको बचतलाई पनि लगानी कहाँ गर्ने ? यता शेयरको भाउ घटेको घट्यै, उता सीमित ब्यक्तिहरु समान्य जनताको पैसामा ब्रम्हलुट मच्चाइरहने ?