तीस सेकेण्डको जम्काभेटः छ शब्दको सम्वाद
२०१२ को मार्च २६–२८ मा क्याब्रिज विश्वविधालयमा रोयल इकोनोमिक सोसाइटीको बार्षिक सम्मेलनमा विधार्थीको रुपमा भाग लिन हामी ४ जना साथीहरु गएका थियौ । त्यसमा एकजना हङ्गकङ्गको, नेपालको म, भारतबाट एक र मौरिससको एक जना थियौ ।
कन्फ्रेन्सको तेश्रो दिन हामी बिहान यस्तै साढे नौ बजे तिर क्वीनरोडबाट मेडिङ्गलेइ रोड हुदै आइज्याक न्युटन इन्स्टिच्युट अफ म्याथमाटिकल साइन्सतर्फ जादै थियौ । यो बाटोभन्दा भित्री गल्लिको छोटो बाटो स्मार्टफोनमा गुगल म्यापले छोटो बाटो सुझाउदा सुझाउदै पनि हामी मुलबाटो लागेका थियौ । त्यसको कारण बाटोमा चुरोट किन्नको लागि पसलको खोजी गर्नु थियो ।
जब हामी मेडिङ्गलेइ रोडबाट चुरोट तान्दै विल्बरफोर्स रोडतर्फ लाग्यौ हामी सवैको चुरोट सकियो । त्यसको केहि पाइला अगाडी एक चोकमा जेब्रा क्रसिङ्गमा पुगियो, अगाडि बिधुतीय डिस्ल्पेमा ३० सेकेन्ड देखिएको थियो र छेवैमा एक व्यक्ति अत्यन्तै धेरै उपकरणले लेस एक स्वचालित ह्वील चेयरमा थिए ।
मेरो दिमागमा यो मान्छे त चिर परिचित लाग्यो कहिल्यै प्रत्यक्ष नदेखे पनि । केहि सेकेण्ड मेरो दिमागले कामै गरेन । पुरा खाली भयो । त्यसको केहि सेकेण्डमा नै मेरो दिमाग आयो उनी त स्टेफेन हव्किङ्ग हुन । केहि पाइला उनीतर्फ सरेर मेरो मुखबाट निस्कियो “गुड मर्निङ्ग जिनियस डुड ।” उनले जवाफ तत्कालै फर्काए तर त्यसको जवाफ केहि सेकेण्ड ढिलो डिस्प्ले भयो ‘गुडमर्निङ्ग’ जेन्टलमेन ।”
त्यो अकस्मात भएको जम्काभेटमा भेटिएका महान वैज्ञानिक स्टेफेन हव्किङ्गको निधन गत मार्च १४ मा उनै निवास क्याब्रिजमा भयो । उनीसंगको त्यो अप्रत्यासित भेट मेरो बिस्मृतिबाट स्मृतिमा आयो ।
उनी एक भौतिकशास्त्री, एक महान वैज्ञानिक एक महान गणितज्ञ त छदै छन उनी एक महान प्रेरणाका श्रोत र एक महान समाजशास्त्री पनि हुन, त्यो पनि समाजशास्त्रको लेक्चर वास्तवकि जीवनबाट दिने ।
समाजको नियम हुन्छ । व्यक्तिका जति नै कठिनाइ भए पनि त्यसविरुद्ध संघर्ष गरेर सफल भए त्यसको प्रशंसा गर्ने र जति सुकै सहजता वा असहजता जे भए पनि जीवन असफल भए त्यसको निन्दा गर्ने । आधुनिक मानव सभ्यतामा यो सवैभन्दा ठुलो सामाजिक नियम भएको छ । पुर्व वा पश्चिममा । वाम वा दक्षिण पन्थमा ।
उनी अघोर चुनौतीका वीच आफुलाई सफल रुपमा उभ्याउन सक्ने समान्य तर महान काम गर्ने व्यक्ति हुन ।
यो भन्दा पनि धेरै उनी एक सच्चा र महान मानवतावादी हुन । उनको यहि विचारले गर्दा उनले संसारका प्राय सवै विज्ञानलाई सम्मान गर्ने मेडल र पुरस्कारले पुरस्कृत र विभुषित भए तर उनले नोवेल पुरस्कार पाएनन । त्यसको एक खास कारण छ ।
उनी विज्ञानको मात्र होइन धर्म र राजनीतिक विचारका लागि पनि प्रख्यात थिए । उनी सधैं एक आफु सामान्य रुपमा आस्थिक नरहेको र ब्रमाण्ड विज्ञानको नियमले सञ्चालित हुन्छ भन्ने मान्यता राख्छु भन्थे । धर्म शक्ति र सत्तामा आधारित हुन्छ । विज्ञान अवलोकन, कारण र परिणाम अर्थात ‘रिजन’मा आधारित हुन्छ भन्ने मान्यता राख्थे । यसै कारणले धेरै धर्माधिकारीले उनलाई भेट गर्दैनथे । पछि मात्र पोप बेनेडिक्ट र पोप फ्रान्सिसले भेटेका थिए । यसको राजनीतिक अर्थ पनि छ । उनी दैवी वा ‘अथोरिटेरियन’ सत्ताको विपक्षमा थिए । यसो हुदाहुदै पनि बेलायतकी महारानीले उनलाई भेटिन ।
उनी राजनीतिमा बेलायतको लेवर पार्टीका सर्मथक थिए । उनले बेलायतको स्वास्थ्य सेवा संस्था (नेशनल हेल्थ सर्भिस एनएचएस)का सर्मथक मात्र थिएनन त्यसको वकालतकर्ता पनि थिए । उनी युनिभर्शल हेल्थ केयर विमाको पक्षपाती थिए ।
उनी जवान छदैको भियतनाम वारको विपक्षमा उभिएका थिए । पछि इराक वारको कडा विरोध गरेका थिए र तत्कालिन लेबर नेता टानी ब्लेयरको आलोचना गरेका थिए । साथै उनी एक यस्ता वैज्ञानिक हुन पेलेस्टाइनको पक्षमा बोल्दे इजरायललाई बहिस्कार गर्ने विद्धानसमुहको सदस्य थिए । साथै उनी आणविक अस्त्रको विकास र भण्डारन तथा प्रयोगको कडा विरोधी थिए । तर उनले स्टेमसेल अनुसंन्धानको पक्षमा मत जायर गरेका थिए ।
उनले अमेरिकाको रास्ट्रपति निर्वाचनको समयमा डोनाल्ड ट्रम्पको विपक्षमा उभिएका थिए । उनले डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकाले संसार वातावरणको विनास मात्र गर्ने धारणा राख्थे ।
सन २०१५ स्कटल्याण्डको स्वतन्त्रताको जनमत संग्रहमा उनी त्यसको विरुद्धमा चिठ्ठी लेख्ने १०० जनाको प्रबुद्ध व्यक्तिको समुहको एक सदस्य रहेका थिए । त्यस्तै बेलायतले युरोपियन युनियनसंगको पारपाचुके गर्नको लागि सम्पन्न जनमत संग्रह ब्रेग्जिटको विपक्षमा उभिएका थिए । सवैभन्दा पछिल्लो २०१७ को बेलायती संसदीय आम निर्वाचनमा उनले लेबर पार्टीका अध्यक्ष जेरेमी कोरवाइनलाई अनुमोदन गरेका थिए ।
उनी एक महान मानवतावादी र कोमल हृदयका व्यक्ति थिए भन्ने उनले गरेका वैज्ञानिक खोज अनुसंन्धानभन्दा बाहिरका कामहरुले देखाउँछ । एक महान मानवको अवसान भएको छ ।