संमृद्धिको भजन -भीम भुर्तेल

 

‘संमृद्धि’ अहिलेको यस्तो नारा हो, यो लगाएपछि सरकारमा रहेको राजनीतिक  नेतृत्वले उल्लेखनीय काम नगरेपनि निर्वाचनमा गरेका वाचाबाट उन्मुक्ति पाउँछ । यही  शब्दको मद्धतले राजनीति गर्ने वर्गले ‘नाम तिम्रो, गाउँ हाम्रो’को अवस्था सिर्जना गरिरहेको छ ।

 

 

अहिले नेपाली समाजमा एकदमै छाएको शब्द हो ‘संमृद्धि’ ।’संमृद्धि’ शब्दको प्रयोग नगरिकन कुनै कार्यक्रम सम्पन्न हुँदैन । बाख्रापालन कार्यक्रमको शुभारम्भ होस वा कुखुरापालनको कायक्रमको उदघाटन, यो शब्द उच्चारण हुनै पर्छ । सामुदायिक वन उपभोक्ता समितिको सम्मेलन होस वा आफ्ना छोरा छोरी नीजि विधालयमा पढाएर सार्वजनिक विधालय सञ्चालक समितीको अध्यक्ष भएकोले आयोजना गरेको ‘सार्वजनिक विधालयमा गुणस्तरीय शिक्षा’ नामक गोष्ठीमा धारा प्रवाहका साथ’संमृद्धि’को चर्चा हुन्छ । यो निकै फेसनेवल, ग्ल्यामरयुक्त, मादक, र धेरै नै अपिल गर्ने खालको शब्दमा बदलिएको छ ।

 

 

यो शब्दको उच्चारण नगरिकन कुनै पनि राजनीतिक नेताको राजनीतिक भाषण पुरा हुदैन । योजनाकारले आफुले तयार गरेको योेजना दस्तावेजको पहिलो अनुच्छेदको पहिलो बाक्यमा यस शब्दको इस्तेमाल नगरिए त्यो योजना दस्तावेज अधुरो मानिन्छ । नीति निर्माताको ‘पोलेसी ब्रिफ’ वा ‘पोलेसी मेमो’मा यो शब्द नपेरमा त्यस्तो ‘पोलेसी ब्रिफ’ वा ‘पोलेसी मेमो’ले अन्तिम स्विकृति पाउँदैन । उच्च प्रशासकको आन्तरिक सर्कुलरमा होस वा निर्देशनमा यो शब्द नपरेको ठाउँ छैन । अहिले त नीजि क्षेत्रका व्यापारीले’संमृद्धि’को लागि व्यापार,’संमृद्धि’को लागि पर्यटन,’संमृद्धि’को लागि आयात,’संमृद्धि’को लागि निर्यात,’संमृद्धि’को लागि हाइड्रो पावर,’संमृद्धि’को लागि बाटो निर्माण,’संमृद्धि’को लागि नहर तथा कुलो निर्माणदेखी’संमृद्धि’को लागि वैकिङ्गसम्मको नारा दिन थालेका छन् ।

 

 

जिस्कएर तरकारी खेतीगर्ने मेरो छिमेकी रामअवतार महतोले अस्ति भर्खर मलाई भन्दै फोनमा भन्दै थिए, “भीम भाई म यसपटक २०७५ सालमा’संमृद्धि’को बेमौसमी काउली छिट्टै लगाउँदै छु, साउनको मध्यसम्ममा बजारमा लैजान्छु ।”

 

 

विकास अध्ययन, अर्थशास्त्र, समाजशास्त्र, ग्रामिण विकास, राजनीतिशास्त्र, समाजशास्त्र, जनप्रशासन तथा व्यवस्थापनका कक्षामा प्राध्यापकको लेक्चरमा’संमृद्धि’ पचासौं पटक उच्चारित हुन्छ ।

 

 

मिडियामा यो यसको औडाहाको चर्चा गरि साध्य छैन । सवै पत्रपत्रिकाका सम्पादकले’संमृद्धि’’bout सम्पादकीय लेखि सकेका छन । अधिकांश समाचार पत्र, रेडियो, टेलिभिजनका सम्वाददाताले आफ्नो समाचार तयार गर्दा यो शब्दको फुर्मासि गर्न किञ्चित हिच्किचाउँदैनन । हाम्रा सवै बिश्लेषकको बिश्लेषणमा’संमृद्धि’को वास भै सकेको छ ।’संमृद्धि’ उल्लेख नगरेको विचार पत्रपत्रिकामा देखिनै नपाउँने हो की जस्तो भैसकेको छ । टेलिभिजन-रेडियो कार्यक्रममा त्यस कार्यक्रमका प्रस्तोताले प्रश्न’संमृद्धि’ शब्द प्रयोग नगरि सोध्नै नसक्ने भएको अवस्था छ । यस्ता प्रश्नको जवाफ दिनको लागि विज्ञले सयौपटक’संमृद्धि’ शब्द उच्चारण कनि कनि भए पनि गर्छन ।

 

 

‘संमृद्धि’को भजन

 

 

‘संमृद्धि’को भजनको वास्तविक हविगत रामकृष्ण परमहंसले बंकिमचन्द्र चर्टजीलाई सुनाएको भजनको कथा जस्तै भएको छ, अहिले । भजनको कथा प्रसङ्ग यस्तो छ । एकपटक बंकिमचन्द्र चर्टजी आफ्नो निवासमा आयोजना गरिएको भजनकिर्तन कार्यक्रममा सहभागि भइदिने निम्तो लिएर रामकृष्ण बसेको दक्षिणेश्वर गए छन् । बंकिमचन्द्रको निम्तो सुनेपछि रामकृष्णले सोधेछन­– ‘तिम्रो घरमा आयोजना गरिएको भजन गाइपाल्ने सोझा गाउँले किसानलाई शहरीया सोनारले ठग्न सुनाए जस्तै भजन त होइन?’ रामकृष्णको प्रश्नले बंकिमचन्द्रले झस्किदै सोधेछन– ‘कस्तो प्रसङ्ग गुरु मैलै कुरा बुझिन, यसको खुलासा होस’ भनेछन । रामकृष्णले भने छन्– “सुन, एकपटक एक गाउँबाट गाइपाल्ने किसान विवाहको लागि सुनका गहना बनाउनको लागि सुन लिएर सहरको सोनारको सुनका गहना पसलमा गएछन । सोनारको पसलमा चारजना सोनार रहेछन । गाइ पाल्ने किसानले हामी विवाहको लागि सुनका गहँना वनाउन आएको वताएछन ।

 

 

किसानहरुको कुरो सुनिसकेपछि पहिलो सोनारले भने छ ‘केशव! केशव!! केशव !!! दोस्रो सोनारले भने छ ‘गोपाल! गोपाल!! गोपाल!!!’ तेस्रो सोनारले भने छ ‘हरी ! हरी!! हरी!!!’ र अन्तिम सोनारले भने छ ‘हर! हर!! हर!!!’ ।

 

 

सुन पसलमा भएका चारै वटा सोनारहरुको मुखबाट भगवान नारायणको नाम सुन्दा सोझा गाइपालक किसानहरु कस्ता धार्मिक प्रवृति र संसकार भएका सोनार रहेछन भन्ठाने छन् ।

 

 

तर, यता सोनारको भजनको अर्थ भने अर्कै थियो । सोनारहरु ‘कोड’मा कुरा गर्दै थिए । पहिलो सोनारको ‘केशव! केशव!! केशव!!!’ को अर्थ पसलमा आएका यी सवै को हुन भन्ने थियो । दोस्रो सोनारको ‘गोपाल! गोपाल!! गोपाल!!!’ को अर्थ यी सवै गाउँबाट आएका सोझा गाई पाल्ने गोठाला हुन भन्ने थियो । तेस्रो सोनारको ‘हरी! हरी!! हरी!!!’ को अर्थ उनीहरुले गहना बनाउन ल्याएको सुन हरौ अर्थात लुकाउँ भन्ने थियो । र, अन्तिम सोनारको ‘हर! हर!! हर!!!’ को अर्थ चाँही हरदे अर्थात लुकाइदे लुकाइदे भन्ने थियो ।”

 

 

सोझा गाई पाल्ने ग्वाला भगवानको नाम लिने सोनारले इमान्दारीसाथ गहँना बनाउलान भन्ने ठान्दै थिए । तर सोनार यहि भगवानको नाम लिदै सुन चोर्दै थिए । हो त्यस्तै हो,’संमृद्धि’को भजन अहिले । जनता संमृद्धिको भजनले गर्दा सरकार, नीजि क्षेत्र, दाता, आइएनजिओ सवै आफुप्रति चिन्तित रहेछन है भन्ठानिरहेका । तर सवैको’संमृद्धि’को नारा सोनारको ‘कोड’ जस्तै हो, जसको सहयातले यो बर्ग आफ्नै नीजि’संमृद्धि’ गर्दै छ ।

 

 

अन्तमा

 

 

‘संमृद्धि’ अहिलेको सन्दर्भमा एक चर्चा शब्द ‘बज वर्ड’  हो, जसको सहायताले राजनीति नेता, उच्च नोकरशाह, आईएनजीओ, एनजिओ, नीजि क्षेत्र, तथा अर्थतन्त्रका ‘टेक्नोक्रेट’ आदी सवैले देशको आर्थिक विकास’bout सवै जना चिन्तित रहेका छन भन्ने जनतामा भ्रम छर्न सफल भएका हुन । अहिले’संमृद्धि’ यस्तो नारा हो, यो लगाएपछि सरकारमा रहेको राजनीति दलको नेतृत्वले ‘सब्सटान्स’मा कुनै कार्यसम्पादन नगरेपनि निर्वाचनमा गरेका वाचाबाट उन्मुक्ति पाउँछन । यो शब्दको सहायताले राजनीति गर्ने वर्गले ‘नाम तिम्रो गाउँ हाम्रो’को अवस्था सिर्जना गरिरहेको छ । आशामुखी जनता हाम्रो लागि सरकार चिन्तित छ भन्ने भ्रम पालेर बस्छन । सामान्य जनताको जीवनमा’संमृद्धि’ सुदुर भविश्यसम्म दृष्टिगोचर कतै हुँदैन ।