सेतो मच्छेन्द्रनाथ रथ यात्रा
काठमाडौँ, ११ चैत : चैत्र शुक्ल अष्टमीका दिन शुरु गरिने सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ यात्रा शुरु भएको छ ।
चैत्र शुक्ल अष्टमीका दिन तीनधारा पाठशालाबाट शुरु हुने रथयात्रालाई आज तानेर असनसम्म पु¥याइन्छ । दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पु¥याइन्छ ।
चौथो दिन लगनमा रथ घुमाइन्छ । पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म यात्रा चलाइन्छ । यसरी चैत १५ गते सेतो मच्छेन्द्रनाथको रथ यात्रा सकिने गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख बैकुण्ठ रेग्मीले राससलाई जानकारी दिनुभयो ।
यसवर्ष रथ निर्माणका लागि रु चार लाख र रथयात्रा चलाउने एवं मच्छेन्द्रनाथको पूजाआजा चलाउने रैरकमीलाई खानगीलगायत शीर्षकमा रु चार लाख बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
मच्छेन्द्रबहालमा रथ ल्याएपछि पूजा गरी प्रसाद खाइन्छ । यसपछि घर घरमा भोज खाने चलन छ । यो विधि अपनाएमा देशमा अनिकाल हटी सहकाल आउँछ भन्ने स्वयम्भू पुराणको बुद्धवचनमा उल्लेख छ ।
आइतबार बिहान अष्टमी हुँदा नै सूर्योदय हुने भएकाले सेतो मच्छेन्द्रनाथको रथयात्रा पनि आजै शुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेका पात्रोमा उल्लेख गरिएको अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।(रासस)
तस्विरहरु सुनिल शर्मा