फिर्के मामाको भान्छा घर ! –कृष्णमुरारी भडारी

पोखराको पहिचान तालैतालको शहर र आँख्खै अगाडि हिमालयको दृश्य मात्र होइन रहेछ । यो त अरु धेरै विशेषतायुक्त शहर पो रहेछ ! अहिलेसम्म पोखरा भनेर जेजे देखाइयो र जेजे हेरियो नि त्यसभन्दा धेरै विशेषतायुक्त मौलिक प्राकृतिक शहर पो रहेछ विश्व पर्यटकीय नगरी पोखरा !

फिर्के मामा जस्ता जिऊँदा मान्छेको जग भएको शहर पनि रहेछ पोखरा । फिर्के मामा चिनाउने ताप्लेजुंगका डा. धनपति न्यौपाने मामाका साइनोमा कहीं कतैबाट नपरे पनि पक्का मामा–भान्जा बनिसकेका रहेछन् । यिनको नयाँ साइनोले यो लेखकलाई पनि कान्छो भान्जो बनाइ छाड्यो । न्यौपानेले भने– फिर्के मामा कहाँ आधा घण्टा लगाएर खाजा-खाना खानु भनेको उनका लाख रुपैयाँ तिर्दा पनि नपाइने अनुभव, बुद्धि र योजना सित्तैंमा पाउनु हो । के छ बिचार ? जाने होइन त फिर्के मामा कहाँ ?

 

 

 

फिर्के मामाले चुरोट तानेको र धुवाँ उडाएको तस्वीर देख्ने जो सुकैलाई लाग्छ, ओहो…कुन नयाँ सिनेमाको भिलेन आएछ ? गब्बर सिंहलाई माथ गर्ने यी आकर्षक व्यक्तित्वबाट प्रभावित नहुने कुन सिनेमा पारखी होला ?

 

 

तर, यो ब्यक्ति न गब्बर सिंहको प्रतिरुप हो, नत सिनेमाको गुण्डो ! यी हुन्, कृष्णप्रसाद गौतम उर्फ फिर्के मामा ! सबैका मामा–फिर्के मामा ! बुढा–युवा, केटा–केटी, बटुवा–रैथाने सबैका मामा । बृद्ध, बालक, युवा, युवती हरेकका मामा ! यी कतिसम्म मामामय रहेछन् भने यिनलाई यिनका श्रीमतीहरुले पनि ए मामा नै भन्दा रहेछन् ।

 

 

फिर्के मामाको पहिचान फिर्के मामा नै हो । त्यसभन्दा एकरत्ती कम छैन । मामाबाहेक यिनको अरु पहिचान पनि छैन । जे छन् मामा छन् । जे भनेर बोलाइन्छन् मामा भनेर मात्रै बोलाइन्छन् ।

 

 

उनको नागरिकताको नाम कृष्णप्रसाद भनेर बोलाउदासमेत यिनी अर्कैलाई बोलाएको ठान्दा रहेछन् । एकपल्ट बोलाइ हेरें । उनको ध्यान पटक्कै तानिएन । उनलाई यो जीवनमा कृष्णप्रसादका नामले संबोधन गरिन्छ भन्ने रत्ती विश्वास छैन । तर फिर्केमामा मात्र होइन, फको उच्चारण हुन पाउदैन फिर्के मामाको ध्यान खिचिहालिने रहेछ ।

 

 

फिर्के मामा जति स्मार्ट देखिन्छन्, वास्तवमा त्यस्तै रहेछन् पनि । युद्धमोर्चाको सिपाई जस्तै रहेछन् फिर्के मामा । भान्छा घरमा टनाटन मानिसहरु भोजन वा खाजा खाइरहेका बेलामा पनि कसैको टाउको एकोहोरो थालतिर भन्दा यताउता गऱयो कि मामाको ध्यान तानिइहाल्ने । सोधी हाल्दा रहेछन्, के हो भान्जा ? कुनै तकलीफ ? के टक्राऊँ ?

 

 

बागलुङ्ग बसपार्क र फिर्के खोलाको बीचमा पर्छ फिर्के मामाको भान्छा घर । पोखराबाट बागलुंग जाने हाइवे भने पनि यो राजमार्ग अब मुस्ताङ्गको मुक्तनाथ धाम जाने बाटो मात्र रहेन । यो त पोखरा हुँदै तिब्बतको कोरला नाका भएर चीन जाने विख्यात हाइवे बन्दैछ ।

 

 

मामाको भान्छा घरमा साइन बोर्ड छैन, उनले घरको भित्तामै साइन बोर्डवालालाई इनामेल पेन्ट गराएर ठूला अक्षरमा लेखेका छन्–फिर्केमामा भान्छा घर ! जो जसले जहाँबाट हेरयो त्यतैबाट देखिने मामाको भित्ते बोर्ड !

 

 

साइकलदेखि कार, बस, जीप, ट्रक र ट्रिपरवालाको मात्र होइन, अक्षर जान्ने हरेक बटुवाले फिर्के भान्छा घर देख्छ र स्वादको खाना खान होस् वा चिया–खाजा खान पसिहाल्छ ! ’cause मामाको खानाको आफ्नै स्वाद छ, उनका आमा–हजुर आमाले पकाएको जस्तै गाउले स्वाद मामाका नाती नातिनाका हजुरबा हजुर आमाले बनाएर धेरै वर्षदेखि पस्किरहेछन् !

 

 

फिर्के मामा उनान्साठी वर्षका भएछन् तर दावी गर्दा रहेछन्–मेरी आमाले पकाएको मात्र होइन, मेरी हजुर आमाले सय वर्ष अघि पकाएको जस्तै गरी र त्यस्तै स्वाद निकालेर यो नातीले उनीहरुलाई संझिरहेको छ र उनीहरुको ज्ञान सिपलाई सलाम ठोकिरहेछ । उनकहाँ खान आउनेहरु भने मौलिक नेपाली स्वादको खानाको लागि उनीप्रति नतमस्तक बनिरहेका छन् । पोखराकी  माइलीको खानापछि फिर्के मामाको भान्छामा जिब्रो फड्कारियो । मामा अलिकति थपौं भनिरहे ।

 

 

 

 

बाह्रखरीमा फस्र्ट डिभिजन

 

 

फुर्के मामा दृढताका साथ बोल्छन् । उनको बोलीमा कमाण्ड गर्ने रोब छ । उनले जे भन्छन्, छेउमा बसेर कुराकानी गरिरहेका पनि सुन्छन् । वास्तवमा उनमा पूरै भालेपन छ । लस्याङ्ग–लुसुङ्ग र हल्का पनि अलमल छैन । उनी जे बोल्छन् ड्याङ्गै बोल्छन् । ठ्याक्कै बोल्छन् ।

 

 

प्राध्यापक, नेताहरुमा नभएको विशेषता रहेछ फिर्के मामामा । कति पढ्नु भएको छ भनेर सोधियो । उनले कत्ति नअलमलिइकन भने–धेरैले मलाई यो प्रश्न सोधिरहन्छन् । मैले ढुक्क बनेर भन्ने गरेको छु, आइकम बिकम–टेनमा नाइन कम पढेको छु ! यो कम पढाइ होइन ।

 

 

सुन्नेहरु अलमलिन्छन्, के भन्यो भनेर । अनि उनीहरुको अलमललाई पन्छाउन भन्छु–पुरानो फस्र्ट डिभिजनमा बाह्रखरी पास गरेको हूँ ।

 

 

कतिपयले त्यसपछि भने, ए त्यतीमात्रै हो ? मैले भने यो कम हो र ? उनीहरु हाँसे मात्र । अनि मेरो स्तर कमजोर नै होत भनेर पीएन (पृथ्वीरायण) क्याम्पसमा गएर त्यहाँका प्रोफेसरलाई सोधें, मैले पुरानो फस्र्ट डिभिजनमा बाह्रखरी पास गरेको हूँ । तर धेरैले मेरो शैक्षिक ज्ञान’bout बुझ्नै सकेनन् । तपाई प्रोफेसर हुनुभएको तपाईले त बाह्रखरीमा बोर्ड नै हान्नु भएको होला । ल यिनलाई बाह्रखरीको महत्व कसरी संझाउने बताइदिनुहोस् त प्रोफेरस साब !

 

 

मैले यति भने । ती प्राध्यापक त झन् वाल्ल पर्दै मलाई नै सोध्न थाले, बाह्रखरी तपाईलाई आउछ ? मैले प्रतिप्रश्न गरे किन तपाईलाई आउदैन ? उनले मुन्टो हल्लाए । मैले उनलाई खररररर बाह्रखरी सुनाएपछि उनी त छक्कै परे !

 

 

फ्रि कम्पिटिसनमा रिक्रुट

 

 

म समानुपातिकमा परेर होइन, फ्रि कम्पिटिसनमा पुलिसको सिक्रुटमा छानिएँ र २५ वर्ष जागीर खाएँ । जागीर छाड्ने बेलामा असइमा रिटायर्ड भएँ । पेन्सन खान थालेको १८ वर्ष भैसक्यो । कस्तो आँधो हाम्रो सरकार, केही काम नै नगरी यस्ता जवानलाई तलबको तीन चौथाई खुवाएर घर पठायो । सक्षम काविललाई घर पठाएपछि अनि यो सरकारले राम्रो काम गर्न सक्छ ? सिप, दक्षता र अनुभवले खारिएका हामी पेन्सन खाएर हरेक दिन गाइजात्रा हेरिरहेका छौं । हामीलाई पनि हामीले सक्ने काम देउन सरकार ! मलाई पेन्सन पचिरहेको छैन ।

 

 

इण्डियन सिरियलको राजनीति

 

 

मेरो बिचारमा इण्डियन सिरियल र हाम्रो राजनीतिमा रत्ती पनि फरक छैन । हिन्दी फिल्म हेरयो, हेरयो । अब के हुन्छ होला भन्ने ठान्यो । आखिरमा एउटा हिरोले हिरोइन बिहे गर्छ । नेपाली राजनीतिमा पनि के हुन्छ अब भन्यो, आखिरमा एउटा प्रधानमन्त्री बन्छ अनि सिद्धियो । अब त सबैको पालो पनि सकियो । मर्दै सकिन थाले ।

 

 

राजनीति पनि पालैपालो रहेछ । यस्ले गर्ला उस्ले गर्ला भन्ठान्यो । उनीहरुले गर्ने त आफूले आफैंलाई रहेछ । गिरिजाप्रसाद आए । के के न गर्छु भने । कृष्णप्रसाद भट्टराई जस्ता सन्त नेतालाई अन्तरघात गरे । आखिर मरेर गए । काँग्रेसलाई पनि सिध्याए । छोरीको पनि महत्वाकाँक्षा बढाए । तर हिजोकी त्यस्ती सुजाता आज बिचरी डल्लै परिछन् । सुजाता मात्रै के आज कांग्रेस भकुण्डो जस्तै गोलो डल्लो बनेको छ । एउटाले यताबाट लात्तीले हान्छ, अर्काले उताबाट हेड गर्छ !

 

 

त्यसैले मलाई लाग्छ, नेपाली राजनीति पनि यस्तै रहेछ ! नबोल्ने चन्चल सुन्दरी जस्तै रहेछ । बोल्दिन, माया गरेर म्वाई खायो । गम्लंग अंगालो हालेर चाट्न थाल्छे । गालाभरि थुकैथुक लाइदिन्छे ! नारायणहरि पारिदिन्छे !

 

 

देशका समस्या यत्ति हुन् !

 

 

पुलिसको डण्डा ठूलो । मन्त्रीको झण्डा ठूलो । चोरलाई चौतारो । उपद्र्यालाई कान्छी आमोइ । गुरुलाई भेटी । लफंगालाई केटी । जोगीलाई जक्सन । बिरामीलाई इन्जेक्सन । सुकुम्बासीलाई घर । बेपारीलाई दर ।

 

 

ल भन्नुस्, नेपालमा यो भन्दा बढी समस्या छन् ? मेरो बिचारमा छैनन् । यति दशवटा समस्या समाधान गर्ने हो भने देशमा समस्या भन्ने नै रहँदैनन् । त्यसैले यहाँ किन दशवटा भन्दा बढी मन्त्रालय चाहिए ? सबै फाल्टु हुन् । तिनको आवश्यकता छैन । देशका लागि ती सबै बोझ हुन् ।

 

 

हिजो बाइसे चौबिसे राज्यहरु थिए । तर पूर्खाले के गरेका थिए ? फर्केर कसैले हेरेको छ ? यही कास्कीको पाँगेको धान लगेर कास्की कोटमा बसेर भात खान्थे । तर तिनले गरेको विकास हेर्न अहिले सबै आउछन् । तर अहिलेकाले के विकास गरे ? देखाउने कुरा के छ ? यही पोखरामा के छ ?

 

 

हाम्रा पूर्खा ठूला ठूला ढुंगा बोकेर ल्याउथे, टुक्रा टुक्रा पार्दथे । अनि चौतारो चिन्थे । धाराहरु बनाउथे । कुनै धारामा गाइको मुखबाट पानी आएको बनाउथे, कुनैमा बाघको मुखबाट । अनि त्यही धारोमा मज्जाले जीउ माडीमाडी नुहाउथे । त्यही पानी खान्थे । गाईवस्तुलाई मात्र होइन, बटुवालाई पनि त्यही खुवाउथे ।

 

 

नयाँ शासन आयो । केही नयाँ कुरा नपाए पनि आफ्नैलाई राम्री बनाएर खुशी पार्न पनि पाइएन बाबा, उचालेका छन् छन् । अरु त यो नेपालमा के नै गर्नु छ र नेपालीलाई ?

 

इज्जत प्रतिष्ठा पुर्खाको

 

 

इज्जत प्रतिष्ठा बाबु, बाजे र जिजुबाजेले आमा, हजुरआमा र बज्यैसंग मिलेर कमाइदिएकै थिए । आफूले कमाएर जाबो चिया र खाना, रक्सी खान के गाह्रो छ र हाम्रो नेपालमा ? यो के को पुरुषार्थ हुन्थ्यो र ? किन संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको ? आफैंले यसो हुन्छ, उसो हुन्छ भन्थे । तर नयाँ कुरा केही गरेर देखाउन सकेनन् ? कति कुर्नु ?

 

 

इण्डियामा गोली चल्दा यहाँ ढाल लगाएर समृद्धि आउछ । चीनमा पानी पर्दा नेपालमा छाता ओढ्ने ?

 

 

पच्चीस वर्ष सवारी चलाएँ

 

 

मैले पनि २५ वर्ष सवारी साधन हाँकें । ६५० सिसिको मोटरसाइकल चलाउने बहादुर मै  हुँ । रेबोन चश्मा आँखामा ढल्काइयो । पेस्तोल दाहिने कम्मरमा झुण्ड्याइयो । देब्रे पट्टि वाकीटाकी तेस्र्याएर सननन मोटर साइकल हुँइक्याइन्थ्यो ।

 

 

अचेलका असई कण्डामा वाकीटाकी र पेस्तोल झुण्ड्याउछन् । अर्काले थुत्यो भने ?

 

 

राजा वीरेन्द्रको सवारीमा उनको गाडी अघि मैले मोटर साइकल चलाउदा सधै स्लो स्लो भन्थे । उनको भनाइ हो गाडी र मोटर साइकलको दूरी सधैं निश्चित हुनुपर्छ ।

 

 

लुकिङ्ग ग्लाँसमा हेरेर बसिरहेको मेरो वाकीटाकीमा जब रोजर मुभ भन्ने आवाज आउँथ्यो, सोह्रवटा खिल्भिङ्ग बत्ती झिलिक झिलिक बल्न थाल्थे । मेरो मोटर साइकल अगाडि बढेपछि मात्र भीआइपीका गाडी मेरो पछिपछि लाग्थे ।

 

 

मेरो जिम्मेवारी औपचारिक मात्र होइन, अनौपचारिक र ज्यादै चनाखो भएर निर्वाह गर्नुपर्ने हुन्थ्यो । ’cause भीआइपीको सवारी चलाउनु भनेको ख्यालठट्टा होइन । यो त अत्यन्तै ठूलो विश्वास पनि हो । त्यसैले म हिंड्ने भनेको रुट मात्र होइन, सधै बैकल्पिक रुट ख्याल गरिरहेको हुन्थें । ताकि कथम्कदाचित केही भयो भने मैले बैकल्पिक मार्गबाट सवारीलाई सुरक्षित रुपमा गन्तब्यमा पुर याउने जिम्मेवारीवहन गर्नै पथ्र्यो ।

 

 

तर प्रजातन्त्र र लोकतन्त्रको नाममा जस्ता जनता त्यस्तै नेता, जस्ता नेता त्यस्तै जनता हुन थालेको मलाई मन पर्दैन । अनुशासन, नियम कानूनको पालना सबैले गर्नु पर्छ, गराउनु पर्छ । यसमा गरिने हेलचक्राइलाई कुनै हालतमा प्रश्रय दिनु हुँदै हुँदैन । यो जस्तो देश त्यस्तै भेष भनेजस्तो होइन । अनुशासन र नियम कानूनलाई मिच्ने हो भने न भेष रहन्छ नत देश नै !

 

 

छोराछोरीलाई अठार पढाएँ

 

 

म ‘टेनमा नाइन कम पढेको’ व्यक्तिले छोराछोरीलाई अठार कक्षासम्म पढाएँ । बाहुनको छोरो भएर के गर्नु छोराले मन पराएपछि क्षेत्रीकी छोरीलाई हात थापें । छोराले लभ गरेपछि स्वीकार्नै परयो । बकाइदा पन्चेबाजा बजाएर छोराको बिहे गरें । तर के गर्नुहुन्छ, हामी जोइपोइको अवस्था बच्चालाई चारो खुवाउन चुच्चोमा आह्रा लिएर आएको जुरेलीको जस्तो भएको छ ।

 

 

जुरेलीको जोडीले झाडीमा सुरक्षित ठाउ खोजेर गुँड बनाए । पोथीले फूल पारी । दुबै मिलेर ओथारा बसे । बच्चा कोरले । नांगा बचेरालाई जाडो, गर्मी, वर्षाबाट सुरक्षित राखे । शत्रुहरुबाट जोगाए । चारो खोजी खोजी ल्याएर खुवाइरहे ।

 

 

 

 

 

जुरेलीका प्वाँख पलाए

 

 

जुरेलीका बच्चाका प्वाँख पनि पलाउन थाले । हुर्कंदै गए । तै पनि जुरेली आह्रा खोज्दै ल्याएर खुवाउथे । बाबुआमा आह्राको खोजीमा निस्केपछि बच्चाहरुले दिनदिनै बढेका पखेंटा फर्फराउन थाले । पखेंटा जोडले फर्फराएपछि बच्चाहरु त भुरुरुरु ऊँडे । ऊँड्दा ऊँड्दै कहाँ गए गए ।

 

 

आह्रा खोज्न गएको जुरेलीका बाबुआमा चुच्चामा चारो बोकेर आए । तर गुँडमा बच्चाको नामो निसान छैन । बच्चा कहाँ गए होलान् भनेर रुन थाले ।

 

 

आज आफ्नो चाला पनि माउ जुरेलीको जस्तै भएको छ । पचास लाख भाइ छोरा र भतिजा भतिजी विदेशमा रोजगारी गर्न पुगेका छन् । चराहरु पखेंटा पलाएपछि र मान्छे चाँहि खुट्टा लागेपछि बाबुआमा छाडेर टाढिनु प्रकृतिको नियम नै रहेछ कि क्याहो ?

 

 

नीति, नियम र आचरण

 

जहाँ गए पनि, पुगे पनि नीति, नियम र आचरण त्यो जुरेलीको परिवारले जस्तै हामीले पनि पालना गर्नैपर्ने रैछ क्यारे । अझ भनिन्छ, मानिसलाई नीति, नियम र आचरणले र पशुलाई बन्धन भनेको दाम्लो न हो ।

 

 

तै पनि म भने ढुक्क छु, मेरो लाइफ सेटल छ ! मधेशमा अलिकति खेत छ । चिप्लेढुंगामा बारी छ । हाइवेमा निवास छ । त्यसैमा फिर्केमामाको भान्छा घर छ ! रक्सी बेचे पनि पैसा छ । रक्सीका सिसि बेचे पनि पैसै छ । पानी बेचे पनि पैसै छ । भात मासु बेचे पनि पैसै छ । कुकुर बेचे पनि पैसै छ । तर ३० हजार दिंदा पनि कुकुर भने बेचिन है । ’cause म कुकुर बेचेर भात खाने हैशीयतको मान्छे होइन ? मेहनत गरेर कमाउने र चरेशको थालमा दाल, भात, तरकारी, अचार, घिउ मुछेर कोखा चर्काएर खाने स्वाभीमान भएको मानिस पो हुँ ए !