२०७४ सालको कमाल –श्रीकृष्ण अनिरुद्ध गौतम

मोदीलाई हानिएका हरेक ढुंगा ओलीको झोलीमा फूल भएर जम्मा भए । मोदीप्रति घृणा, ओलीप्रति प्रेमका रुपमा फलित भइरहेका थिए । यस्तो प्रतीत भइरहेको थियो ; ओली, ओली रहेनन्, श्रीपेच बिनाका राजा भए ।

 

२०७४ साल सापेक्षिक अर्थमा सुखद् वर्ष रह्यो । वर्षभर नै चुनाव भइरहे । स्थानीय तह, प्रदेश र केन्द्र सबै । चुनाव हुन कतै बाँकी रहेन । नेपालको इतिहासमै पहिलो पटक ७ मुख्यमन्त्री चुनिए । खड्गप्रसाद शर्मा ओली, राष्ट्र राष्ट्रियता, राष्ट्रवादका प्रतीकका रुपमा फेरि प्रधानमन्त्री बने । जुन परिस्थितिका कारण उनी राष्ट्र, राष्ट्रियता र राष्ट्रवादका प्रतीक बने र कसैले नलिएको ऊचाइ प्राप्त गरे, त्यो थियो २०७२ सालमा संविधान जारी हुँदा भारतले नेपालमा लगाएको पाँच महिना लामो यातनादायी नाकाबन्दी ।

 

नाकाबन्दीका कारण नेपालीहरुले असह्य कष्ट झेले । त्यही कष्टको अनुभूति ओलीको पक्षमा, भोटमा अनुवाद भयो, राष्ट्रप्रेमी देशभक्त ओलीका पक्षमा । जे ओलीले बोले त्यही ब्रह्म वाक्य भयो, अकाट्य । साँच्चै भन्ने हो भने तीनै तहका निर्वाचन, निर्वाचन नभएर ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीबीच प्रतिस्पर्धाजस्ता प्रतीत हुन्थे । मोदीलाई हानिएका हरेक ढुंगा ओलीको झोलीमा फूल भएर जम्मा भए । मोदीप्रति घृणा, ओलीप्रति प्रेमका रुपमा फलित भइरहेका थिए । यस्तो प्रतीत भइरहेको थियो ; ओली, ओली रहेनन्, श्रीपेच बिनाका राजा भए ।

 

फलस्वरुप विद्यादेवी भण्डारीले शीतल निवास छोड्नु परेन, उनी लगातारै राष्ट्रपति निर्वाचित भइन्, झण्डै निर्विरोध, प्रतिद्वन्द्वि भए पनि, प्रतिस्पर्धा नभए वा सो सरह थियो । अझ, एमाले माओवादी गठबन्धनका रुपमा दुई तिहाइ जितेका ओलीले विश्वासको मत लिँदा मधेस केन्द्रित दलहरुको समेत विश्वास प्राप्त गर्न समर्थ भएकाले तीन चौथाइको समर्थन प्राप्त गरे । त्यतिखेर भने ओलीप्रति असीम विश्वास गर्नेहरुका मनमा झस्को पस्यो, भयंकर ओली विरोधी मधेस केन्द्रितलाई ओलीकै पोल्टामा ल्याइदियो कसले ?

 

ओली प्रधानमन्त्री नबन्दै मोदीकी विशेष दूतका रुपमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले मिलनको तारतम्य मिलाइ दिएकी हुन् अथवा कतै पहिल्यैदेखि ओली र मधसी नेताहरुबीच देखाउने एउटा र गर्ने अर्को समझदारी त थिएन ? यतिखेर त्यसैले वास्तवमा ओली विरोधले मधेसी नेताहरुलाई प्रशस्तै भोट झर्ने तथा भारत विरोध बोकिरहँदा ओलीलाई शिखर चढ्न सहज हुने कुटिल चालको आशंका किन नगर्ने जस्ता प्रश्न पनि उपस्थित भएका छन् ।

 

’cause, जसले जतिसुकै ढाकछोप गरे पनि प्रधानमन्त्री नबन्दै ओलीलाई मोदीको आमन्त्रण, आमन्त्रण मात्रै होइन, ओलीले दिल्ली नै आफ्नो पहिलो गन्तव्य रोज्नुजस्तो विषय सामान्य रुपमा लिइएको छैन ।
लोकतन्त्रमा जनादेश मुद्दामा आधारित हुन्छ । तर, जनादेश प्राप्त गरिसकेपछि जब मुद्दालाई अर्कातिर पन्छाइन्छ र मुद्दाको वाहक रहेको व्यक्तिलाई सर्वोपरि मान्न थालिन्छ, त्यसपछि जनविश्वास स्खलित हुन थाल्छ ।

 

यसका लागि धेरै परका दृष्टान्त दिइराख्नु पर्दैन, यहीं मुलुकभित्रकै घटनाक्रममाथि पुनरावलोकन गरे पुग्छ । जस्तै, पहिलो संविधानसभा निर्वाचनमा प्रचण्डको लोकप्रियता चुलीमा थियो, तर जनादेश पाए पछि उनी बाचा बिर्सिदै गए, जनादेश लत्याउँदै गए । परिणाम, स्वयं प्रचण्ड उदाहरणका रुपमा उपस्थित छन् ।

 

त्यस्तै दोस्रो संविधानसभाको निर्वाचनमा पहिलो दल बनेको कांग्रेसको हाल, बेहाल र बदहाल भयो । कांग्रेस जनादेशको मर्म नबुझ्ने नेतृत्वको अधिनस्थ हुन पुग्यो र ठान्यो, लोकतन्त्र भनेपछि मतदाता स्वतः उसको पक्षमा परिचालित हुन्छन् । त्यस्तो हुन सम्भव थिएन, हुँदैन र भएन ।

 

फलस्वरुप, कांग्रेसकै पक्षमा रहेको जनाधारको एउटा उल्लेख्य हिस्सा एमालेतिर ढल्कियो । एमाले भन्नाले ओलीतिर । ओलीतिर भन्नाले राष्ट्र, राष्ट्रियता र राष्ट्रवादतर्फ । राष्ट्रवाद भन्नाले नाकाबन्दी लगाउने भारतविरुद्ध । सुस्ता र कालापानीमा सिमाना मिच्ने मिचाहा छिमेकीविरुद्ध । तीनतिरबाट भारतवेष्टित भएका कारण रातोदिन पिरोलिएका कारण वास्तवमा नेपालको राष्ट्र, राष्ट्रियता, राष्ट्रवाद भारतभिन्न सोचमा केन्द्रित छ । जसले यो भारतभिन्न सोचलाई वाणी दिन सक्छ, त्यही राष्ट्रवादी ठहरिन्छ । ओलीले त्यही गरे, कांग्रेस नेताले त्यही गरेनन् ।

 

त्यसैले ०७४ साल एमाले–माओवादीका लागि चरम सुखदायी भए पनि कांग्रेसका लागि चरम दुखदायी रह्यो । ओलीले एमालेलाई त उचाले नै, माओवादीको पनि उद्धार गरिदिए । ’cause वर्ष ०७४, स्वयंलाई लोकतन्त्रको मियो भनिआएको कांग्रेस आफ्नो ०७ साल यता कायम रहिआएको केन्द्रीयताबाट नराम्रोसँग पाखा लाग्नुपर्ने अवस्थामा पुग्यो ।

 

मनमा बिझेको काँडो

 

केन्द्रमा एक चौथाइ र सबै प्रदेशमा झिनो प्रतिपक्ष कांग्रेसको नियति बन्न पुग्यो । यसमा अनेक कारण देखिन सक्छन् र देखाउन सकिन्छ तर कारक तत्व, एउटै छ । कांग्रेसले जनताको मनमा बिझेको काँडो त देख्यो तर त्यो काँडो झिक्ने बाचा गरेन, आश्वासनसम्म दिन सकेन । प्राप्त सत्तालाई नित्य ठान्यो । परिणाम सामुन्ने छ । प्रमाण प्रत्यक्ष र साक्षात् छ । मुद्दा थियो, राष्ट्रियता त्यो एमालेको पोल्टामा परिसकेको थियो ।

 

तर चुनाव जितेपछि, झन् प्रधानमन्त्री नै बनिसकेपछि ओलीको बोलीमा बदलाव आउन शुरु भइसकेको छ । यस्तो प्रतीत हुन्छ, उनी पनि विगतमा प्रचण्डले मोदीसित केमिस्ट्री मिलाएजस्तै मिलाउन खोज्दैछन् । जबकि, ख्याल राख्नुपर्ने कुरा के छ भने नेपालका पछिल्ला प्रधानमन्त्रीहरु जजसले मोदीबाट सदभाव चाहे, शब्दमा पर्याप्त पाए तर कार्यमा रुपान्तर भएन, बरु धोखा खाए ।

 

ओलीका हकमा हेर्नुछ, के हुन्छ ! एकातिर जनताको मनमा बिझेको काँडो, अर्कातिर मोदी–ओलीबीच घनिष्ट बन्दो केमिस्ट्री ! अब ०७५ साल पूरै छ, हेरौं मात्र किन भने त्यो त ओलीको चीन भ्रमणपछि आफैं थाहा हुन्छ ।