मोदीको कोर्स करेक्सन ! –अश्विनकुमार पुडासैनी

विगतमा भारतले गरेको नाकाबन्दीको समय र त्यसपश्चात नेपालमा भारतविरोधी स्वरहरु उठ्ने गरेको भन्ने सन्दर्भमा एक विज्ञले भने–नेपालीहरु भारत विरोधी होइनन्, राष्ट्रवादी बनेका हुन् । नेपाली राष्ट्रियताको, भौगोलिक अखण्डताको, राष्ट्रिय एकताको आवाज उठेको मात्र हो । नेपालमा भारतविरोधी छैनन्, स्वभिमानी नेपाली मात्रै छन् ।

 

बैशाख २८ देखि २९ गते (शुक्रबार–शनिबार) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने भ्रमणमा आउँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गरेको एक महिना भित्रै हुने मोदीको यो उच्चस्तरीय भ्रमण हो । दुबै देशको परराष्ट्रमन्त्रालयले शुक्रबार नै प्रधानमन्त्री मोदीको औपचारीक कार्यक्रम समेत सार्वजनिक गरिसकेका छन् ।

 

 

मोदीको तेश्रो भ्रमण 

 

 

भारतीय प्रधानमन्त्री मोदीको यो तेश्रो नेपाल भ्रमण हो । यस अघि उनले ०७१ साउनमा पहिलो पटक र सोहि बर्ष मंसिरमा (१८औं सार्कसम्मेलनमा भागलिने क्रममा) दोश्रो पटक नेपाल भ्रमण गरेका थिए । मोदी भन्दा अगाडि १७बर्ष सम्म भारतका प्रधानमन्त्रीहरुले नेपालको भ्रमण गरेका थिएनन् । नेपालका प्रधानमन्त्रीहरुले भने पटक पटक भारत भ्रमण गरेका थिए ।

 

 

मोदीको कोर्स करेक्सन 

 

 

प्रधानमन्त्री बनेपछि मोदीले सपथग्रहण समारोहमा सार्क राष्ट्रका प्रधानमन्त्रीहरुलाई निमन्त्रणा गरेर छिमेकप्रतिको सकारात्मक नीति अबलम्बन गर्ने छनक दिएका थिए । उनले “छिमेक पहिले” नीति लिन्छु पनि भने तर अभ्यास गर्न सकेनन् । महाभुकम्पको चपेटामा परेर आहत भएका नेपाली जनताले “आफ्नो संविधान आफैं बनाएर जारी गर्दा, छिमेकीलाई औषधी समेत आपूर्ति गर्न नदिई ज्यानमारा नाकाबन्दी लगाई” बेखुसी बनाए । यो नाकाबन्दीको प्रभावले नेपाली जनतामा भारत र प्रधानमन्त्री मोदीप्रतिको धारणामा “सशंकित र आशंकित” रहिरह्यो ।

 

 

मोदीले विगतमा गरेको निर्णय सहि भएन भन्ने व्यवहारतः अभ्यास गर्न खोजेको देखिन्छ । मोदीले आफैं जनस्तरीय कुटनीतिमार्फत यो कुरा सच्याउन चाहन्छन् भन्ने कुरा राजधानी नआई सिधैं जनकपुर आउने कार्यक्रम तय भएबाट पनि पुष्टि भएको छ । यो भ्रमणलाई मोदीको नेपाल नीतिको कोर्स करेक्सनको एक आयाम भनिदै छ ।

 

 

जनकपुर–मुक्तिनाथ–लुम्बिनी–काठमाण्डौ 

 

भारतीय प्रधानमन्त्री मोदी बिहार राज्यको राजधानी पटना हुँदै नेपाल आउने कार्यक्रम सार्वजनिक भएको छ । जनकपुर राम–जानकी मन्दीर दर्शन गरि जनकपुर उपमहानगरपालिकाको नागरिक अभिनन्दन लिई काठमाण्डौंआई गार्डअफ अनर लिने कार्यक्रम छ ।

 

 

मुक्तिनाथ दर्शनको कार्यक्रम पनि तय भएको छ । तर पहिलो पटक नेपालको संविधानसभामा सम्बोधन गर्दा मोदीले बारम्बार उठाएको विषय शान्तिका अग्रदुत भगवान गौतमबुद्धको जन्मभुमि नेपालको भ्रमण गर्दा लुम्बीनी भ्रमणको कार्यक्रम भने समावेश नहुनु आफैंमा “साँस्कृतिक कुटनीतिको अपुरोपना” देखिएको छ ।

 

 

हुन त मोदी आफैं पनि यस्ता विषयहरु आकस्मिक रुपमै पनि समावेश गर्ने खालका राजनेता हुन् । उनले जनकपुर–काठमाण्डौ वा काठमाण्डौं–मुक्तिनाथको यात्रामा लुम्बीनीलाई एक विसौनी बनाउन सके भने उनको “साँस्कृतिक एवं धार्मिक कुटनीति” मा सम्पन्नता झल्कन सक्थ्यो । कुटनीतिक संयन्त्रमा रहनेहरुले यस्ता विषयहरु समावेशगर्न सके भने भ्रमणले अझै सकारात्मक उपलब्धी दिने थियो ।

 

 

सन् २०१९ को चुनाव 

 

 

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण पटना हुँदै जनकपुर भन्ने कार्यक्रमको सम्बन्धमा गरिएका धेरैजसो टिप्पणीकारहरुले आगामी बर्ष हुने भारतको निर्वाचनमा प्रभावपार्न रोजिएको रुट भनी टिकाटिप्पणी गरेको पनि सुनियो, पढियो । तर यसले खासै अर्थ राख्दैन । यसबाट के कुराको सन्देश भने जान सक्छ भने हिजो छिमेकीलाई नाकाबन्दी गर्ने मोदिले आफ्नै कार्यंकालमा आफ्नो कुटनीतिक कमजोरीलाई सच्च्याउन खोजेको र दुबै देशको सिमा क्षेत्रका जनतालाई आस्वस्थ पार्न चाहेको भन्ने मात्रै हो । नागरिक अभिनन्दनको क्रममा उनले दिने अभिव्यक्तिले त्यस किसिमको सन्देश दिन सक्दछ । यसले सकारात्मक प्रभाव पार्नसक्छ । “भारतको चुनाव, नेपालमा प्रचार” भन्ने कुराले कुनै अर्थ राख्दैन ।

 

 

ओली डक्ट्रिनको प्रभाव 

 

बि.सं.२०७२ असोज ३गते नेपाली जनताले आफ्नो संविधान आफैंजारी गरे पश्चात संविधानले व्यवस्था गरेको तीनै तहको निर्वाचन सम्पन्न भइ नेपाल नयाँ युगमा प्रवेश गरेको छ । नेपालको परराष्ट्र नीति संविधानको व्यवस्था अनुरुप कै अभ्यासको चरणमा छ ।

 

 

प्रधानमन्त्री केपी ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदाका बखत अबलम्बन गरेको विदेश नीति दोश्रो पटकको उनको प्रधानमन्त्रित्वकालमा समेत व्यवहारमा आईरहेको छ । विदेशनीतिमा ओली डक्ट्रिनको अबलम्बन एवं अभ्यासको क्रममा प्रधानमन्त्री ओलीले सबै छिमेकी र मित्रराष्ट्रहरुसँग समानताको आधारमा व्यवहार गर्ने ।

 

 

नेपालको सार्वभौमिकताको रक्षा, स्वतन्त्रता, भौगालीक अखण्डता र राष्ट्रिय एकता जागरणलाई प्रवद्र्धन गर्नुका साथै अन्तराष्ट्रिय सन्धि, सम्झौता र मान्यताका आधारमा देशको विकास र जनताको समृद्धिको लागि अन्तराष्ट्रिय सम्बन्धहरु विस्तार गर्दै जाने विदेशमामीला नीति अबलम्बन गरिरहेको सन्दर्भमा भारतीय प्रधानमन्त्री मोदीमा पनि यसको सकारात्मक प्रभाव परेको देखिन्छ ।

 

 

व्यापार, पानी र रेल कुटनीति 

 

 

भारतको नेपालप्रतिको चासो आफ्नो उत्पादनहरुको व्यापारमा, नेपालको पानी सिंचाई, विजुली र खानेपानी (भविष्यमा) उपयोग गर्ने अबसरको खोजीको रुपमा नै रहिरहेको छ भन्ने विश्लेषण र बहस गर्ने गरिन्छ । नेपालले आफ्नो उत्पादनमा आत्मनिर्भर र निर्यात प्रबद्र्धनमा क्षमता अभिबृद्धि नगर्दा सम्म यो विषय रहिरहन्छ । पानीको प्रयोगको सवालमा नेपालको पानीको सहि सदुपयोग गर्दै अधिकतम लाभ लिन सकिने नजिकको छिमेकी पनि भारत नै हो । यसमा द्विपक्षीय हितको आधारमा कामगर्नु पर्दछ ।

 

 

पछिल्लो समयमा नेपालले चीनसँग पारवहन तथा यातायात सम्झौता गरि विल्टइनरोड इनिसियटिभमा नेपालको सहभागिताको लागि समझदारी गरे पश्चात चीन सरकारले केरुङ्ग रसुवागढि हुँदै काठमाण्डौ र लुम्बीनीसम्म रेलसेवा शुरुगर्ने परियोजनाको अध्ययन अगाडि बढेपछि भारतले पनि रेल कुटनीतिलाई प्राथमिकतामा राखेर गत अप्रिलमा प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा भारतले नेपाल सँग सम्झौता गरेको हो ।

 

 

यो सम्झौता समय सिमा भित्रै पुरा गर्ने गरि कार्यान्वयन नगर्दासम्म भारतले “परियोजनाहरु होल्ड गरिरहन्छ ” भन्ने विषयले चर्चा पाईरहन्छ । जुन नेपाल–भारत सम्बन्धको लागि एक नकारात्मक संसय हो । मोदीको यसपटकको भ्रमणमा यो संसयको अन्त्य हुने किसिमले बार्ता हुनु पर्दछ । प्रधानमन्त्रीको टिम र परराष्ट्र मन्त्रालयले यस विषयलाई शुक्ष्म किसिमले अध्ययन गर्दै अहिले नै समस्याहरु सल्टाउन सक्नु पर्दछ ।

 

 

मोदी र ओलीको चीन भ्रमण 

 

 

भारतीय प्रधानमन्त्री मोदीले गत अप्रिलको अन्तिम साता चीन भ्रमण गरेका छन् । उनले चीन भ्रमण गर्दैगर्दा कतिपय भारतीय कुटनीतिक विश्लेषकहरुले भारत–नेपाल–चीन त्रिपक्षीय विषयहरु पनि उठाए । तर भारतका प्रधानमन्त्रीको चीन भ्रमणमा भारत–चीन व्यापार विकास, सम्बन्ध विस्तार र असमmदारीहरु हटाउँदै जाने विषयले प्राथमिकता पायो ।

 

 

गत बर्षको दोक्लाम घट्नापछि भारत–चीन सम्बन्ध सुधारमा मोदी भ्रमण सफल भएको कुटनीतिज्ञ एवं अन्तराष्ट्रिय मामिलाका जानकारहरुको विश्लेषणले पुष्टि गरेको छ । यो भारत र चीनको बीचमा रहेको छिमेक नेपालको लागि खुसीको समाचार हो । भारत र चीनबीचको सम्बन्ध राम्रो हुनु भनेकै नेपालको विकासमा सकारात्मक प्रभाव पर्नु हो ।

 

 

नेपालका प्रधानमन्त्री ओलीको आगामी केहि समय भित्रै चीन भ्रमण हुने किसिमले तयारी भई रहेको सन्दर्भमा मोदीको चीन पश्चातको नेपाल भ्रमणले पनि यस विषयमा सकारात्मक प्रभाव पर्ने निश्चित छ । कुटनीतिमा यसको सकारात्मक प्रभाव पार्न पूर्व परराष्ट्रमन्त्री समेत रहेका प्रधानमन्त्री ओली काविल छन् ।

 

 

दुई कोरिया मिलनको सकारात्मक सन्देश 

 

गत अप्रिल महिनामा कोरियाली प्रायदिपका दुई राष्ट्रहरु उत्तर र दक्षिण कोरियाले ६५बर्ष सम्मको शत्रुतापुर्ण सम्बन्ध अन्त्य गर्दै एक ऐतिहासिक सम्झौता गरि एक आपसमा बन्धुत्वको विजारोपण गरेका छन् । यसले एशियामा नै सकारात्मक सन्देश प्रवाह गरेको छ । एशियामा आणवीक दुर्घटनाको सम्भावनाको तनाव हटेको छ । यसले एशियालीहरु आफ्ना समस्याहरु आफैं समाधान गर्द सक्षम छन् भन्ने विश्वभर सन्देश फैलिएको छ । समानान्तर भुगोलमा रहेकाहरुको लागि बजार टाढा जानु पर्दैन भन्ने पनि प्रभाव देखिएको छ ।

 

 

चेन्ज इन् “ओल्र्ड अर्डर”को लाभ

 

 

सन् २००० देखि नै “ओल्र्ड अर्डर”मा परिवर्तनहरु देखिन थालेको छ । संसारभर अर्थ एवं व्यापार कुटनीतिको प्रभाव बढ्दो छ । चीनले संसारभर आफ्नो प्रभावलाई नयाँ अबधारणासहित अगाडि बढाई रहेकोछ । आधुनिक विश्व सह–अस्तित्वको, कोलावोरेसन र आपसी अन्तरनिर्भरता र विकासको अबधारणा सहितको नयाँ मोडल अगाडि सारेको छ । नजिकका छिमेकी नेपाल र भारतले चीनको यो नीतिबाट अधिकतम लाभ लिन सक्छन् । चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (ओविओआर) परियोजनाबाट नेपाल भारत दुबैले अधिकतम लाभ लिनसक्ने क्षेत्रहरुको पहिचान गर्दै अगाडि बढ्न पनि मोदी भ्रमण उपयोगी हुन सक्ने सम्भाबना छ ।

 

 

विगतका सम्झौताहरुको कार्यान्वयन 

 

 

नेपाल भारत संबन्धका विज्ञहरुको विश्लेषण के रहेको छ भने “भारतले नेपालमा सहयोगका सम्झौताहरु गर्छुभन्दै परियोजनाहरु होल्ड गर्छ । कार्यान्वयन गर्दैन । विगतमा जस्तै अझै पनि गरिने सम्झौताहरुको कार्यान्वयनको सुनिश्चितता छैन । भारतसँग आफ्नै देशका परियोजनाहरु कार्यान्यवयन गर्नमा पर्याप्त पैसाको अभाव छ । आफ्नो प्रतिवद्धता भन्दा पनि साना साना परियोजनाहरु (दुतावास मार्फत) खर्च गर्न नै उद्यत” छ भन्ने विश्लेषकहरु पनि छन् ।

 

 

यो विश्लेषणले के कुराको माग गर्दछ भने नेपालले भारतसँग नयाँनयाँ परियोजनाहरु होईनन् । नेपाल भारत सम्बन्धका एक जानकारले पंतिकारसँग भने “मोदी भ्रमणमा विगतमा गरेका प्रतिवद्धता एवं सझौता गरिएका आयोजना तथा परियोजनाहरुको समय सिमा भित्रै कार्यान्वयनको सुनिश्चितताको लागि सम्झौता गरौं । नेपाल भारत सम्बन्ध सुधारको लागि त्यसको मात्र जरुरी छ । नयाँ सम्झौताहरुको होईन ।”

 

 

 

भारत विरोधी होइन, राष्ट्रिय स्वाभिमान जागेको 

 

 

नेपाल भारत सम्बन्ध लामो समयदेखिको मित्रताको संबन्ध हो । दुईदेशबीच सामाजिक साँस्कृतिक एवं पुरातात्वीक संबन्धहरु रहेका छन् । सम्यताकै अप्ठ्याराहरुमा नेपाल र भारतका जनताले एक अर्कालाई साथ सहयोग गरेका छन् । भारतको स्वतन्त्रता संग्रामको महाअभियानमा नेपालीहरु सहभागि भएको ईतिहास छ । अझै पनि गोर्खा सैनिकमा हजरौं नेपालीहरुले सेवा गरिरहेका छन् । सवालाखको हाराहारीमा त पेन्सनमै छन् ।

 

 

विगतमा भारतले गरेको नाकाबन्दीको समय र त्यसपश्चात नेपालमा भारतविरोधी स्वरहरु उठ्ने गरेको भन्ने सन्दर्भमा ती विज्ञले भने “नेपालीहरु भारत विरोधी होइनन्, राष्ट्रवादी बनेका हुन् । नेपाली राष्ट्रियताको, भौगोलिक अखण्डताको, राष्ट्रिय एकताको आवाज उठेको मात्र हो । नेपालमा भारत विरोधी छैनन् । स्वभिमानी नेपाली छन् । राष्ट्रिय स्वाभिमान जागेको हो मात्र हो, भारत विरोधी बनेका होइनन् ।”

 

 

नेपाल–भारत संबन्ध नयाँ उचाईमा 

 

 

भारतीय प्रधानमन्त्री मोदीको यो भ्रमणले नेपाल–भारत संवन्ध नयाँ उचाईमा पु¥याउनमा कोशेढुङ्गा बन्न सक्छ । यस किसिमका भ्रमणहरुले दुई देश बीच रहेका असमझदारीहरु, अस्पष्टताहरु र अव्यावहारीक कुराहरु सल्टाउने अबसर प्राप्त हुन्छन् । गत अप्रिलमा प्रधानमन्त्री ओलीले नयाँदिल्लीमा समकक्षी मोदीसँग राखेका विषयहरुले काठमाण्डौमा स्पष्टता, सहजता, समझदारी र सम्झौतामा परिणत गर्दै विगतमा भएका सझौताहरु कायान्वयन गर्न सहजता कायम गर्न सहज होस् । निकट छिमेकका प्रधानमन्त्रीको भ्रमणले सबै नागरिकहरुमा “अतिथि देवो भवः” भाव पुनःजाग्रित होओस् । महामहिम मोदीलाई स्वागतम् एवं नेपाल–भारत जनस्तरको सम्बन्ध बलियो र मित्रता प्रगाढ बनोस् । हार्दिक शुभकामना ।