गणतन्त्रको दश वर्षे राजनीतिले जेवी टुहुरेको बसाँई हिड्नेको ताँतीले वोलको गीत सम्झाई रहेको छ ।

२०६५ साल जेष्ठ १५ गते ऐतिहासिक संविधानसभाको पहिलो बैठकले अनेकन संसयको वीच करिब साढे दुई शताब्दी लामो राजतन्त्रलाई इतिहास बनाउँदै नेपाललाई गणतन्त्र देश धोषणा गर्यो । इराकमा सद्धाम हुसैनको पतनपछि फाँसीको सजाय र लिवियामा कर्णेल मुहमर कद्धाफी सत्ता च्युत गरेपछि हत्या भएको घटना विपरित तत्कालिन राजा ज्ञानेन्द्रको वैयक्तिक स्वतन्त्रताको रक्षा गर्दै रक्तपातहिन र अत्यन्तै शान्तिपुर्ण रुपमा देशमा गणतन्त्र स्थापना भयो । यसलाई अन्तरराष्ट्रिय जगतले परिपक्कता प्रस्तुत गरेको उदाहरणको रुपमा लिएका थिए ।
देशमा एक दशकसम्म चलेको माओवादी सशस्त्र विद्रोहको शान्तीपूर्ण समाधान तथा राजतन्त्रको महत्वाकाक्षामाथि लगाम लगाउन, तत्कालका सात राजनीतिक दल, माओवादी, र देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीको नेतृत्वको लोकतन्त्र र शान्तीको लागि नागरिक आन्दोलनले निर्माण गरेको अभिमतको आधारमा उठेको २०६२-६३ को जनआन्दोलनले गणतन्त्र स्थापनाको पृष्ठभुमि तयार गरेको थियो ।
उक्त जनआन्दोलन अगाडि सात राजनीतिक दलका नेताहरुले नागरिक आन्दोलनको २०६२ साल साउन १६ गतेको बानेश्वरमा अयोजना गरेको सभामा हामीले विगतमा गल्ति गर्यौ र अब पुराना गल्ति दोहोरयाउँदैनौं भनेर वाचा गरेका थिए । र, त्यहि वाचालाई सत्य मानेर जनताले राजनीतिक दलहरुलाई विश्वास गरेका थिए । तर, संक्रमणकालको बाहनामा राजनीतिक दलले २०५२ सालपछिको संसदीय राजनीतिको विकृति र विसंग्तीलाई दोहोरयाउँने कार्य गरे । महालेखा परिक्षकको विभागले औल्याएको बेरुजुले सार्वजनिक कोषको दोहन गर्नेमा राणा, शाह, पञ्चायत तथा २०४७ सालपछि बहुदलीय व्यवस्थाको समयभन्दा पनि गए गुज्रेको अवस्था सिर्जना भएको तस्विर देखाउँछ ।
गणतन्त्र स्थापनापछिको गणतन्त्रको समय अर्जुन गैरै, राजु परियार र बिष्णु माझीले गाएको युगल लोक गीत ‘गर्नु गरयौं बलराम भैसी पालेर’ वोलको गीत जस्तो भएको छ । यो गीत नेपाललाई गणतन्त्र धोषणा गरिएको समयमा नै बजारमा आएको थियो । यो गीतले नेपालको गणतन्त्रलाई पहिले नै बुझेर व्यङ्ग गरे जस्तो प्रतित हुन्छ ।
यो लोक दोहोरी गीतको पहिलो अन्तरा यस प्रकार छ ।
बिष्णु माझीः
हे..दुधको भाडो छेउतिरै राखी
लाउछौ गफ बनाउँछौ साच्चै होलाकी
गर्नु गरयौ बलराम
भैसी पालेर
दुनियाँलाई ढाँटेर
खाँटी दुधमा पानी हालेर
अर्जुन गैरै, राजु परियारः
हे.. तिमलाई भन्न मान्दिन सरम
भैसीले दुध घटायो मैले के गरम
गर्नु गरयौ सुन्तली
साहुनी बनेर
लिन्छौ पैसा गनेर
बासी भातलाई साझी भनेर
गणतन्त्र स्थापनापछि देशमा विधीको शासन स्थापना हुन्छ, जन्म र विरासतको आधार शासन, सत्ता र शक्तिको केन्द्रमा रहने परिपार्टीमा परिवर्तन हुन्छ भन्ने ठानिएको थियो । अपराध गरेपछि ठुलो सानो, शक्तिशालिी वा शक्तिहिन, जात धर्म, संस्कृति सम्प्रदाय, धनि गरिब, सत्तारुढ दलको वा प्रतिपक्ष जो सुकै भए पनि दण्डको भागिदार बन्छ भन्ने राजनीतिक संस्कार बस्छ भन्ने अपेक्षा थियो । तर, यस वीचमा राजनीति, प्रशासन मात्र होइन न्यायलयसमेत घुसको अखडामा परिणत भयो । नागरिक समाज, राज्यको चौथो अंङ्ग मानिएको सञ्चार जगत, विशुद्ध व्यवसायीक संस्था वार एसोसिएसनसमेत दलगत खेमामा बाँडिए ।
उक्त लोक दोहोरी गीतमा भने जस्तै देशमा खाटी दुधमा पानी मिसाएर बेच्ने र बासी भातलाई साजी भनेर बेच्ने प्रवृति राजनीति, शासन र प्रशासनमा पनि देखियो । राजनीतिमा बलराम र सुन्तली प्रवृति हावी भएर आयो ।
यसैको परिणाम देशमा व्यवसायीका स्वार्थमा कानुन निर्माण गर्ने सामान्य मात्र होइन तस्कर, माफिया, विभिन्न प्रकारका सिण्डिकेटले गर्दा सर्वसाधारणको दैनिक जीवन चलाउन धेरै नै कठिन भएको छ । यसमा प्रहरी, प्रशासन तथा उच्च राजनीतिक नेतृत्व नै संलग्न भएको भन्ने समाचार आएका छन् । उच्च राजनीतिक नेता तथा न्यायधिसहरुले विदेशमा औषधी उपचार गर्न करौड रुपैया राज्य कोषबाट लिएका छन् । सामान्य जनता जीवन जल र जिंक चच्की खान नपाएर मरिरहेको अवस्था छ ।
राजतन्त्र रहदा राजा र दरवारियाले देशको साधनश्रोतको दोहन गरिरहेका थिए भने गणतन्त्र स्थापनापछि यसमा सुधार आउने जनताको अपेक्षा विपरित राजनीति दलका नेता कार्यकर्ताले यसलाई कायम गरेका छन् । गणतन्त्रपछि पात्रका अनुहार फेरिए तर प्रवृति उही रह्यो । गणतन्त्र स्थापनापछिका परिदृष्यले गणतन्त्रको औचित्यमाथि नै प्रश्न उठाउने परम्परागत शक्तिका तर्क र दावीहरुलाई भरथेग मात्र भैरहेको छ । यसले कालान्तरमा गणतन्त्रको औचित्य र वैधतामाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना हुनसक्छ ।
देशमा गणतन्त्र स्थापना पछिको एक दशकमा देशको राजनीतिक, शासन, प्रशासनलाई फर्केर हेर्दा अहिलेको गणतन्त्रले जेवी टुहुरेको गीतलाई सम्झाउँछ ।
बसाई हिड्नेको ताँतीले बस्नेको मन रुवाँउछ,
लाखौंको लागि उजाड छ यो देश
मुट्ठिभरलाई त स्वर्ग छ ।
आगामी दिनमा यसमा सुधारको अपेक्षासहित सवै नेपालीलाई सदृष्य परिवार गणतन्त्रको हार्दिक शुभकामना व्यक्त गर्दछ ।

गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आइतबार आयोजित विशेष समारोहमा पशु सेवा विभागले आकर्षक झाँकी प्रस्तुत गर्दै । तस्बिर रासस