नेकपाको सुख र कांग्रेसको दुख ! –कृष्णमुरारी भण्डारी

सत्तासीन नेकपाको सुख न चिरस्थायी हो नत विस्थापित कांग्रेसको दुख नै सधैंभरि रहिरहने हो । तर पनि दुबै पार्टीका नेताहरुले उही गल्ती कमजोरी दोहोर्याएको दोहोर्याएकै छन् । किन होला ? जापानी फ्ल्याटका छिमेकीको कथा पढेर १३ नम्बरको छिमेकीले जस्तै घटनाप्रतिको दृष्टिकोण परिवर्तन गरे दुख पनि सुखमा परिणत हुन्थ्यो कि ?
चिया पसल, भट्टी, रेष्टुरेन्ट वा पिकनिक वा कुनै पनि जमघट जहाँ जानुस् घमासान वाद, विवाद र संवाद भैरहेको हुन्छ– राजनीतिकै व्यापक चर्चा ! लाग्छ सबै ठाउको राजनीतिमा ‘पोलिटिक्स’ घुषेको छ । हुन त राजनीति भनेकै अंग्रेजीमा पोलिटिक्स हो तर मानिसहरु भन्छन्, कस्तो राजनीतिमा पोल्टिक्स घुषाएर बोलेको ? सिधासिधा भनन कुरा के हो, हामी आफन्तका बीचमा पनि पोल्टिक्स घुषाएर किन बोलिरहनु परिराख्छ र भन्या ?
जब कुरो एउटै छ भने त्यसलाई घुमाएर किन गरिरहनु प¥यो र भन्ने नै यो लेखको एउटै र एकमात्र आशय हो । कुरा सर्ट, स्वीट र स्मार्ट तरीकाले गरे भैहाल्यो किन घुमाएर राजनीतिज्ञले जसरी गर्नु प¥यो ? मूल कुरा समस्याको शान्तिपूर्ण समाधान न हो ।
तर कुनै पनि घटना प्रतिको दृष्टिकोणले गर्दा नै मानिस सुखी र दुखी हुनेरहेछन् । जसरी यतिखेर सत्ताप्राप्तिपछि नेकपा (नेपाल कम्युनिष्ट पार्टी ) एकदमै सुखी र खुशी अनि नेका (नेपाली कांग्रेस) भने सत्ता गुमाउनु परेकोमा साह्रैनै दुखी देखिइरहेको छ । के भैरहेको होला, यी पार्टीहरु भित्र ? ’cause यी दुबै पूर्ण बहुमतको वा अल्पमत वा संयुक्त सरकार ०४७ सालदेखि सचालन गरिरहेछन् ! कति वर्ष भयो, औंला गन्न थाल्नुहोस् त…कांग्रेस र बामपन्थीले सत्ता चलाउन थालेको २८ वर्ष भैसक्यो ! विगततिर फर्कनु होस् त निरंकुश भनिएको पंचायतीकाल पनि तीसवर्ष पछि नारायणहरि भएको थियो ।
नेकपा होस् वा नेका, यी दुबै पार्टीका घोषणापत्रदेखि अन्य सिद्धान्त, नीति कार्यक्रमहरु मिहिन रुपमा केलाएर हेर्ने हो भने यिनीहरु देश र जनतालाई खुशी र सुखी बनाउने अभियानमा मात्र रहेको भन्ने देखिन्छन् । तर व्यवहारमा अलमलिएको अलमलिएकै छन्…! गिजोलिएको गिजोलिएकै छन् र दिग्भ्रमितको दिग्भ्रमितै छन् !
सबैलाई थाहा छ, सत्तामा रहनु र नरहनु भनेको संयोगको कुरा मात्रै होइन । यो त भविष्यमुखी राजनीतिक सोच, समझदारी र स्पष्ट कार्यक्रम बनाएर अगाडि बढ्नु हो । त्यसैले जनताले हरेक चुनावमा सत्तासिनलाई हराइ दिन्छन् र विपक्षमा भएकालाई फेरि जिताइदिन्छन् ।
इतिहासदेखि दोहोरिइरहेकै कुरा हो, सत्ता कसैका लागि पनि स्थायी आशन र शासन होइन । सत्तामा पुग्न शक्ति र शक्तिका लागि सत्ता आवश्यक हुन्छ । जसरी सत्तामा पुगे पनि र सत्ताबाट झरे पनि राजनीति बाह्रमासे पेशा होइन ।
कसैको पनि सत्ता विश्वभर कही पनि स्थायी भएको इतिहास छैन । कत्राकत्रा मैं हुँ भन्ने शासक पनि सत्ताबाट बाहिरिएका उदाहरण छन् । तर पनि हरेक नेता, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति मात्र होइन जो कोही सत्तामा रहिरहन चाहन्छ । तर सत्ता सुन्दरीको चरित्र कहीं पनि स्थायी छैन, यो सबैठाउमा चंचल नै रहने गर्छ ।
सत्ता र शक्ति एकअर्काका पर्याय भए पनि यसलाई भिन्न तरीकाबाट बुझ्ने र त्यसैगरी समाधान पर्खिरहेकाहरुको गन्ती संसारमा गर्न नै सकिदैन । सकिंदो हो त सत्ता र शक्तिको हिसावकिताव उतिबेलै मिलिसक्नु पर्ने थियो तर जीवनको कटु सत्य के हो भने कुनै पनि घटनाप्रतिको दृष्टिकोणले गर्दा नै ब्यक्ति सुखी र दुखी हुने गर्दा रहेछन् । त्यसैले कोही किन खुशी र सुखी रहिरहनसक्छ ? यसको खोजी नै आजको लेखको केन्द्रविन्दू हो ।
जापानको एउटा उदाहरण हेरौं, जस्ले सुख र दुखलाई छर्लंगसंग बुझ्न मद्धत गर्ने रहेछ । यो कथाले सुख र दुखको भवसागरमा न यता, न उता भैरहेका वेडालाई पार लगाउने देखिन्छ । त्यो घटना यसप्रकार रहेको छ ः
जापानको ठूलो न ठूलो, अग्ला न अग्ला अपार्टमेन्टमा धेरै परिवारहरु बस्ने गर्छन । एक अर्काको कोठा कागज वा भेनिष्टाले ’boutर छुट्टिएका फ्ल्याटहरु भएकाले एउटा फ्ल्याटमा भएका लोग्ने स्वास्नीका झैझडा अर्कोमा सबै सुनिन्थ्यो ।
हरेक दिन बेलुका कुनै न कुनै फ्ल्याटमा झैझगडा र दिन जसो विराएर कुटपीट सम्म पनि भैरहन्थ्यो । तर एउटा फ्ल्याटमा भने त्यती नै बेला कहिले केटो त कहिले केटी खुब खितखिताएर र कहिले त अट्टहास गरेकै हाँसो सुनिन्थ्यो । झगडा सुन्न बाध्य अरु फ्ल्याटका वासिन्दा मात्र होइन, झगडा गरिरहेका जोडी पनि छिमेकी कोठामा सुनिएको हाँसोले छक्कै पर्थे ! कोही यतिनै बेला मारमुग्री गरिरहेका छन् कोही भने के भएर सधैं यही बेलामा हाँस्न सकेका होलान् ? हरेक फ्ल्याटमा बस्नेहरुलाई जान्ने उत्सुकता थियो ।
नेपालको वर्षे संसद जस्तो अपार्टमेन्टमा बस्नेहरुको अर्धवार्षिक भेलामा अनिवार्यरुपमा त्यो फ्ल्याटका सबैबासिन्दा जम्मा भएको मौका पारेर एक वासिन्दाले बढो नम्र भएर उभिएर सोधिहाले–मलाई मात्र होइन, सबैलाई हाम्रो फ्ल्याटका कुरा थाहा छ, तर एउटा कुरो भने मैले अझसम्म बुझ्न सकेको छैन । त्यो के भने उनले घुटुक्क थुक निल्दै भने, सबैलाई थाहा छ हरेक साँझ कोठाकोेठामा झैझडा र हात हालाहालको स्थिति आउछ । तर मैले बुझ्न नसकेको के भने १३ नम्बर फ्ल्याटमा भने त्यती नै बेला हाँसो गुन्जिन्छ ! तपाईहरु कसरी मिलेर बस्न सक्नु भएको होला ? तपाईहरुको झगडा नहुनुको कारण के होला ? यो जान्न पाए हामी झैझगडा गरेका कोठामा पनि आजै साँझदेखि हाँसो गुन्जिन पाउँथ्यो कि !
उनको त्यो सवालले सबै आश्चर्यचकित बने । कतिपय दैनिक झगडा र मारपिट गर्ने जोडीले भने लाजले गर्दा टाउको निहुराए । तर १३ नम्बर फ्ल्याटको जोडी भने, मुसुमुसु हाँसिमात्र रहेको थियो । केही बोलेनन् । तर कार्यक्रम संचालकले भने आफूले पहिला ताली बजाउदै सबै सहभागीहरुलाई जोडदार ताली बजाउन आग्रह गर्दै भने, म १३ नम्बर फ्ल्याटमा बसोवास गर्ने जोडीलाई मन्चमा आउन आग्रह गर्छु ! ताली त उनीहरुलाई मन्चमा बोलाएपछि झन् जोडदार रुपले बज्यो । सबै हाँस्न थाले ।
त्यसपछि हलमा ‘पिन ड्रप साइलेन्ट’ मात्र भएन कि सबैको ध्यान पनि १३ नम्बर जोडीतर्फ तानियो । सबै मुस्कुराई रहेका थिए । दैनिक झगडा गर्ने जोडी पनि मस्त बनेर हाँसिरहेका थिए । लाग्थ्यो, सधैं घोरमुखाको अनुहार भएका उनीहरुको मुहारमा आज पूर्णीमाको जुन उदाइरहेको छ ।
तेह्र नम्बर जोडी मन्चमा पुगिसकेपछि कार्यक्रम संचालकले हात मिलाए । हलबाट जोडदार ताली बजिरह्यो । त्यसपछि संचालकले हातले इसारा गरेर चुप लाग्न भन्दै बोल्न थाले, अब १३ नम्बर जोडीले हरेक दिन अरु छिमेकी झगडा र कुटपीट गरिरहँदा आफू भने मज्जाले हाँस्नुको कारण बताउनु हुनेछ । हलमा सहभागीहरुले सास पनि रोकेर जवाफको प्रतिक्षा गर्न थाल्दैगर्दा हलका प्राविधिकले फोकस लाइट १३ नम्बर जोडीमा पारेर माहोललाई झन् मादक बनाइदिए ।
तेह्र नम्बर जोडीमध्येका श्रीमान भनिरहेका थिए, तिमी भनिदेउ हाँस्नुको कारण । श्रीमती पतिलाई तिमी भनन भनिरहेकी थिइन् । एकछिन पछि उनीहरु आफैं हाँस्न थाले । हलमा पनि उनीहरुको यो चालले झन् हाँसो ल्यायो । अन्तमा श्रीमती नै बोल्न अगाडि सरिन् । उनले श्रीमानको हात समात्दै माइक छेउ लिएर गइन् र बोल्न थालिन् ।
तपाई छिमेकीहरुकै कारण हामी हाँस्न थालेका हौं ! उनले आफू हाँस्नुको जस झगडीया छिमेकीलाई दिएर रोकिएपछि हाँस्ने पालो झगडालु छिमेकीको थियो । उनीहरु पेटमिचि हाँस्न थाले । त्यसमध्ये एक झगडीयाले उभिएर सोधिहाले, हामी झगडालुले तपाईहरुलाई कसरी हसाँउन सकौंला ?
त्यसपछि पतिले माइक समातेर बोल्न थाले, हेर्नुहोस हामी पनि तपाईहरु जस्तै हौं । हामी पनि दिनभरिको कामले थाकेर जब कोठामा आउछौं, हामीलाई पनि तपाईलाई जस्तै हुन्छ । तलबको अभाव, इच्छा गरेको कुरा कहिल्यै नपुग्ने, व्यक्तिगत स्वभाव र अनेक चुनौतिहरुले गर्दा हामीमा पनि झगडा पर्छ । तर तपाईहरुले जस्तै मारमुग्री, कुटपीट र मुख छोड्ने हौं भने के अर्थमा फरक पर्छौं र भनेर हामीले झगडालाई भिन्नै रुपमा प्रस्तुत गर्ने एउटा नियम बनाएका छौं ।
त्यो नियम के भने, तपाईहरुले जस्तो नगर्ने ! पतिले यति भनिसकेपछि माइक पत्नीलाई दिए । अनि पत्नी बोल्न थालिन् – होइन हामी पनि झगडा गर्छौं ।
हामी पनि तपाईहरुले नै झेलिरहनु भएका समस्या झेलिरहेका छौ मात्र फरक के भने हामीले तपाईहरु भन्दा भिन्न दृष्टिकोणले समस्या समाधान गर्न खोजेका छौं ताकि छरछिमेकले हाम्रो झगडाबाट बाधा अवरोध सामना गर्नु नपरोस् । यतिभनेपछि खितित्त् हाँस्दै उनले पतिको हातमा माइक थमाइन् ।
पति पनि हाँस्दै मुखको नजीक माइक पु¥याएर यताउती हेर्नथाले । सबै सहभागीहरु नाटकको अन्तिम क्षणमा पुगेको महसुस गरिरहेका थिए । सबैजना लामो लामो सास फेरेर जवाफको प्रतिक्षा गरिरहेका थिए । माइक हातमा लिएका १३ नम्बरका पति पत्नीको हात प्रेमीले जसरी समात्दै भन्न थाले–हामी पनि तपाईहरुले झगडा गर्ने बेलैमा झगडा गर्छौं र झगडा परेपछि मुखले बोल्नुको साटो एकदेखि अर्को बीसफिट टाढा जान्छौं । रिस नमरुन्जेल पालैपालो चप्पल समातेर एकले अर्कालाई हिर्काउन थाल्छौं ।
मैले हानेको बेलामा यिनलाई लाग्यो भने म मज्जाले हाँस्छु र उनले हानेको बेलामा मलाई लाग्यो भने उनी मज्जाले हाँस्छिन् ।
बस्, तपाईहरुले सुन्नु भएको हाम्रो मित्रताको हाँसोको कारण यही हो ! यतिभनिसकेपछि १३ नम्बर जोडीले सबै सहभागीलाई झुकेर अभिवादन गरे । सहभागी छिमेकीहरु पनि सबैजनाले उठेर ताली बजाइरहे !
शिक्षा : यो जापानी उदाहरणको शिक्षा हाम्रो देशमा शासक बनिरहेका कम्युनिष्ट र कांग्रेसलाई के हो भने–कांग्रेसले शासन गरेका बेलामा भएका घटना र दोष तथा कम्युनिष्टहरु शासनमा भएका बेला हुने घटना र दोषहरु एकै हुन् । त्यसैले बामपन्थीहरु शासनमा भएका बेलामा कांग्रेसीहरु जापानी अरु छिमेकी जस्तै झैझगडा, भुत्लाभुत्ली र कुटपीटको असभ्य शैलीमा प्रस्तुत हुनु भन्दा १३ नम्बरको छिमेकीले जस्तै दृष्टिकोण परिवर्तन गरेर अगाडि बढ्ने हो भने देश दुनियाका लागि कांग्रेसी रमिता नग्न रुपमा प्रस्तुत हुन पाउने थिएन । त्यसैगरी सत्तामा भएका बामपन्थीहरुले पनि हिजोको कांग्रेसीशैलीलाई नै निरन्तरता दिनुको बदला १३ नम्बरको छिमेकीले जस्तै घटनाप्रति फरक दृष्टिकोणबाट प्रस्तुत हुन सके बामपन्थी रमिता नग्न रुपमा प्रस्तुत हुन पाउने थिएन कि !