विश्व कप २०१८: जर्मनी-उपाधी रक्षा, ब्राजिल-कलंक मेट्ने, सम्भावना-नयाँ इतिहासको – बेदप्रसाद भुर्तेल

 

परिणाम जे भए पनि, जुन देशले  यो विश्वकप फुटबलको  उपाधी  जिते  पनि  विश्वकप फुटबलको  यो  महास्पर्धाले विश्वभरमा अधिकांश  फूटबल  खेलप्रेमीको ध्यान खिच्ने र मन जित्ने छ ।

 

 

 

 

फेसबुक र ट्वीटरमा मित्रवीच शित युद्ध चलिरहेको छ, विश्व कप फुटबलमा पक्ष विपक्षलाई लिएर । सामाजिक सञ्जालमा वाजिको कुरा छ भने मिडियामा सट्टेवाज पनि सक्रिय भैसकेका खबर आएका छन् । मोटरसाईकल, कार र बसमा विभिन्न राष्ट्रको झण्डा राख्न थालिएको छ भने आँङ्गमा विभिन्न देशको जर्सी भिर्न थालि सकेका छन्, विशेषगरी युवाहरु ।

 

 

आयोजक रसिया र प्रतियोगिताका बाँकी ३१ राष्ट्रहरुमा मात्र होईन नेपालमा पनि विश्व कपको रौनक कम छैन । रसियामा जुन १४ देखि एक महिनासम्म चल्ने फुटबलको उक्त महासंग्रामको परिणाम आउँन जुलाई १५ को रातसम्म कुर्नु पर्ने छ ।

 

 

परिणाम आउँन एक महिना बाँकी रहँदा विभिन्न देशको टोलीको पक्ष र विपक्षमा नेपाललगायत विश्व नै विभाजित छ । कतै ब्राजिलले उपाधी जित्छ भनेर ठोकुवा गर्छन् भने कतै जर्मनी, पोर्चुगल, स्पेन र अर्जेन्टिनाले उपाधी चुम्ने जिकिर गर्छन् । सम्भवत अन्तिम विश्व कप खेलिरहेका मेसी र रोनाल्डोका ‘फ्यान’ अर्जेन्टिना र पोर्चुगलले जितोस् भन्ने पनि चाहान्छन् ।

 

 

विश्व कप फुटवल खेल जगतको सबैभन्दा ठूलो प्रतियोगिता जति नजिकिन्छ, त्यति नै उपाधी कुन देशले जित्छ भन्ने बहस चर्को हुन्छ । विश्व कपको २० वटै संस्करण खेल्दै पाँचपटक उपाधी उचालेको ब्राजिल र सबैभन्दा बढी सेमिफाइनल र फाईनल खेल्दै चार पटक उपाधी जितेको जर्मनीलाई यस पटकको मुख्य दाबेदार मान्ने फुटबल पण्डित धेरै छन् ।

 

 

 

 

नेपालमा टिभीमा फुटबल हेर्न शुरु गर्दा म्यारोडोना प्रेरित अर्जेन्टिनाको खेलले मोहित ठुलो जमात अहिले पनि अर्जेन्टिनालाई कम नआँक्ने पक्षमा मत जाहेर गर्छन । विश्व कप जस्तो प्रतियोगितामा इतिहास र छनौट खेलको नतिजाका आधारमा यसैले जित्छ भन्नु अहिले अलिक हतारो हुने छ ।

 

 

त्यसमाथि पनि प्राविधिक रुपमा उच्च मानिने ब्राजिलको अघिल्लो विश्व कपमा भएको सरमनाक ७–१ गोलको पराजयले कुनै एक देशको सुनिश्चित विजय आँकलन पेचिलो देखिन्छ । यद्यपी प्राविधिक पक्ष, रणनीति, क्लब फुटबलमा सँगसँगै खेलेको खेलाडी, फुटबल इतिहास, छनौट खेल तथा त्यसपछिको खेलको प्रदर्शन, फुटबलमा लगानी तथा फुटबल बजेटमा भएको भष्ट्रचार जस्ता कुराले फुटबलको नजिता धेरै हदसम्म निर्भर गर्छ ।

 

 

फुटबल ज्योतिषहरुले गर्ने आँकलन र फिफाको वेभसाईटमा भएको तथ्यको आधारमा यस विश्व कपको दाबेदारका रुपमा हेरिएको केही टिमहरु ।

 

उपाधी रक्षा मिसनमा जर्मनी

 

 

गत विश्व कप विजयी जर्मनी विश्व कप छनौटमा सर्वोकृष्ट टिम हो । विश्व कप १८ पटक खेलेको यो टोलीले १४ पटक त सेमीफाईनल खेले नै खेलिसकेको छ । त्यस्तै सबैभन्दा बढी उपाधी भिडन्त गरेको टिम हो । जर्मनी एक वा दुई खेलाडीको तिलस्मी खेलमा निर्भर टिम नभई सबैजना नै खेलाडीको समान योगदानमा आधारित टिम हो ।

 

 

विश्व नं. १ गोलरक्षक टेर स्टेगन वा गत विश्व कप विजयी गोलरक्षक नेउरले पोष्ट समाल्दा रक्षामा बोटेइ, हुम्मेल्स, सुले, रुडीगर र किम्मिचले साथ दिने छन् । मुलर, ओजिल र सबेस्टियनले आर्कमण बुन्दा, खेललाई मध्यपंतिमा कादिरा, जुलियन, क्रुसले टिम मजबुद बनाउँने छन् ।

 

 

जोचिम लो जस्तो शालिन र कुशल रणनीतिकारको योजनामा उत्रिने जर्मनी अरुको कमजोरीभन्दा आफ्नो क्षमतामा विश्व कपका प्रतिस्पर्दा गर्ने छ । पछि परे पनि खेलमा फर्किन सक्ने उच्च मनोबल भएको टिम जर्मनी यो विश्व कपको प्रमुख दाबेदार हो ।

 

कलंक पखाल्ने  र साःख फर्काउने: ब्राजिल

 

 

घरैमा भएको विश्व कप सेमिफाईनल म्याचमा ७ गोल खाँदा आँसु मात्र बगेन ब्राजिलियनको, समग्र ब्राजिलको फुटबलले निधारमा कलंक नै पोतियो भन्ने बिश्लेषण गरिएको थियो, २०१४ मा ।

 

 

ब्राजिलको फुटबलको संरचनादेखि फुटबलमा भएको भष्ट्रचारसम्म छताछुल्ल भएको सो विश्व कपपछि उत्कृष्ट फर्ममा छ, ब्राजिल ।

 

 

सबै प्रतियोगिता खेलेको एक मात्र देश, सात वटा फाईनल खेल मध्ये ५ वटा विश्व कप उचालेको टिम हो । सन् १९९४ को विश्व कपपछि असल फुटबल खेल्ने ब्राजिलको फुटबल उपाधी त जितेको छ । र, प्राकृतिक खेल गुमाएको भन्ने आरोप लाग्ने गरेको छ । तर, प्रशिक्षक टिटेले गत विश्व कपमा दुर्घटनामा परेको ब्राजिलको फुटबललाई कोमाबाट बहुराएका मात्र छैनन्, दौडाएका छन् । संसारकै सबैभन्दा मंहगा खेलाडी नेमारसँगै जेसस र कोस्टाले आक्रमण गर्ने टिममा कौटिन्हो, पाउलिन्हो, फर्नान्नडिन्हो र विलियन जस्ता प्रतिभावान खेलाडीले मध्यक्रम समाल्ने छन् ।

 

 

मार्सोलो, लुईस र कासमिरोले गोल रक्षक एन्डरसन वा एलिसनलाई साथ दिने छन् । नेमारले आफ्नो मुल्यलाई कायम राख्न प्रयास गर्दा ब्राजिल यो विश्व कप उचाल्न सफल भए कौटिन्हो, पाउलिन्हो, मार्सोलो र एन्डरसनको योगदानले २०१४ को कलंक पखाल्ने र ब्राजिलको गुमेको साख फर्कने छ ।

 

 

लामो दौडको घोडा स्पेन

 

 

दक्षिण अफ्रिकामा स्पेनले उपाधी चुम्दा आफ्नो रक्षा क्षमताको प्रदर्शन थियो र कम गोल गर्दै उपाधी जितेर सबैलाई चकित पारेको थियो । स्पेनको क्लब फुटबल गोल स्क्रोरिङ्ग र राष्ट्रिय फुटबल बढी रक्षात्मक छ । स्पेनले हालसम्म दुई पटकमात्र सेमिफाईनल खेलेको र एकपटक उपाधी हासिल गरे पनि फुटबलको नविन रणनीति र उत्कृष्ट प्राविधिक खेलको नेतृत्व गर्ने राष्ट्र हो । डि जियाले पोष्ट समाल्दा प्रशिक्षक जुलेनले पिके, कारभाजाल, रामोस र जोर्डी अल्वालाई रक्षामा उतार्ने छन् । सर्जियो, थिएगो, ईस्को र इनिएस्टाले मध्यभागमा खेल बनाउँदा सिल्बा र कोस्टाले विपक्षी रक्षा चिर्न सक्ने छ । स्पेन यस्तो टिम हो जसले एक गोलको अग्रतालाई लामो समयसम्म बचाउँन सक्षम छ, र यो उसको सवैभन्दा ठूलो तागत हो ।

 

 

बुढा बाघले भरिएका अर्जेन्टिना र पोर्चुगल

 

 

विश्व कप शुरु हुनु २ साता अघि मेसीले दाबेदारको रुपमा अर्जेन्टिना रसिया जाँदै छैन मात्र भनेनन्, प्राविधिक, शिप, कौशल र क्षमताले पूर्ण भएको टिम रहेको समेत दाबी गरे । उमेरलाई हिसाब गर्ने हो भने अन्तिम विश्व कप खेल्दै गरेका मेसीको यो बर्षको फर्म कुनै पनि नतिजा अर्जेन्टिनालाई दिन सक्ने खेलाडी हुन । मेसी अलाव अगुईरो, हिगुइन र डिबाला जस्ता स्टार स्टाईकर, डि मारिया, बानेगा र मेजाले मध्यक्रम समाल्ने छन् । अकुना, मास्कारानो, रोजो र ओटामाडीले रक्षापंतिमा गोलकिपर गुजमेनलाई साथ दिन्छन् । साम्पोली जस्ता प्रशिक्षकका बाजुद मध्यक्रम र रक्षापंतिमा समस्या देखिएको दुई पटकको विश्व विजयी अर्जेन्टिनासँग विश्व कप जित्ने टिम र रणनीति छ ।

 

 

अर्कोतर्फ रोनाल्डोले अन्तिम विश्व कप खेल्दा चमत्कारको आशा गर्ने पनि छन् । पहिलो खेल नै स्पनेसँग खेल्ने पोर्चुगल एउटा सन्तुलित टिम हो । तर, उपाधी नै जित्न मिलफिल्डमा धेरै नै सुधार आवश्यक देखिन्छ । रोनाल्डोमा बढी निर्भर देखिएको पोर्चुगलले विश्व कप जित्नेमा केही फुटबलप्रेमि  आशावादी छन् ।

 

 

नयाँ इतिहास रच्न आतुर बेल्जियम

 

 

पछिल्ला बर्षमा सन्तुलित र उत्कृष्ट खेल खेलेको बेल्जिमलाई सन् २०१० मा स्पेनको जस्तो बलियो टिमको रुपमा हेरिएको छ । लुकाकु, हजार्ड र मार्टिनेज जस्ता प्रतिभाशाली र प्रभावशाली खेलाडीको बेल्जियम कम्पनीको नेतृत्वमा रक्षापंति छ । रोर्बोटोको रणनीतिमा तीब्र तथा गति परिवर्तन गरिगरि फुटबल खेल्ने बेल्जियमले विश्व कप जितेर नयाँ ईतिहास रच्ने दाउँमा छ ।

 

 

कम आँक्ने नहुने टिम फ्रान्स र बेलायत

 

 

पछिल्ला बर्षमा ईङ्गलिस फुटबलमा भएको लगानी, लामो फुटबल इतिहास र छनौट खेलमा देखाएको उत्कृष्ट खेलबाट सन् १९६६ को इतिहास दाहोरिने सम्भावनालाई नकार्न सकिन्न । पिकफोर्डलाई योङ्ग, काहिल, जोन र डेल्फले रक्षामा सहयोग गर्ने छन् । प्रशिक्षक गारेथले भार्डी र स्टर्लिङ्गलाई आक्रमणको जिम्मा दिँदा खेल बनाउँन मध्य भागमा हेन्डरसन, लिइगार्ड र डियरलाई दिनेछन् । ३० बर्षमाथिका ३ मात्र खेलाडी भएको युवाको टिमले उपाधी जित्न सक्छ । त्यस्तै सन् १९९८ को विश्व कप घरैमा राखेको फ्रान्सले उपाधी घर लैजाने रणनीतिका साथ रसिया पुगेको छ । १४ पटक विश्व कप खेल्दा ५ पटक सेमिफाईनल र १ पटक उपाधी जितेको फ्रान्स कान्टे, पोग्बा, हर्नान्डेज, गृजमेन, डावेले जस्ता प्रभावशाली खेलाडीसहित उत्रिने छ ।

 

 

यी वाहेक स्वीजरल्याण्ड र पोल्याडले आश्चार्यजनक  नतिजा निकाल्न सक्छन् । अफ्रिकी, एशिया र उत्तर अमेरिका देशहरुको उपस्थिति मध्ये फुटबल शक्ति राष्ट्रहरुलाई मात दिन अफ्रिकी देशले सक्ने देखिन्छ । तर उपाधी जितिहाल्ने अवस्थामै छन् भन्नु केटौले तर्क हुन्छ ।

 

 

 

 

क्षेत्रगत हिसाबले सबैभन्दा कमजोर एशियाका देशहरु हुने छन् भने रसिया र उरुग्वेले प्रारम्भका चरण पार गरे पनि उपाधी जित्ने लय र टिम बनेको देखिदैंन । सबै हिसाबले ३२ राष्ट्रमध्ये जर्मनी, ब्राजिल, स्पेन, अर्जेन्टिना, बेल्जियम, फ्रान्स, बेलायत वा स्वीजरल्याड मध्ये एकले उपाधी जित्ने सम्भावना छ ।

 

 

परिणाम जे भए पनि यो विश्वकप फुटबल स्पर्धाले विश्वभरमा अधिकांश मानिसको ध्यान खिच्ने र मन जित्ने छ । तर, नेपालमा फुटबल फ्यानहरुले यो विश्व कपको समयमा अहिले पटकपटक विद्युत आपूर्तिमा उत्पन्न गड्बढी विरुद्ध आन्दोलन नै गर्ने सम्भावना पनि छ ।

 

भुर्तेल खेल टिप्पणीकार हुन्