टिप्न बिर्सेको घिरौंलो जत्रो नाँक !- डा. उपेन्द्र देवकोटा

सदृश्यको नयाँ स्तम्भ: डा. उपेन्द्र देवकोटाबाट नेपालको राजनीतिक चिरफार

यो संविधानले दलको सदस्यता नलिएको, राष्ट्रप्रति चिन्तित बुद्धिजीवीलाई किनारा लगाइसक्यो । भन्नोस, कहाँ स्वतन्त्र र निष्पक्ष ब्यक्तिलाई छानेर जिम्मेवारी दिइएको छ ? त्यसैले म भन्छु, यो अपाच्य संविधान हो ! मलाई लाग्छ, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने ब्यवस्थामा हामी जान सकेनौं भने, धुन्धानसंग गर्व गर्नुको कुनै तुक छैन ।

 

(ख्यातीप्राप्त न्यूरो सर्जन डा उपेन्द्र देबकोटाले दैनिक रुपमा गर्ने शारिरिक चिरफार’bout कसैले केही बोल्नै पर्दैन । तीन दशकदेखि उनी पोख्त रुपमा जटिल अपरेसनहरु गरिरहेका छन् ।

टाउकाको अपरेशन गर्ने यी चर्चित डाक्टर राजनीतिक चिरफारमा पनि उत्तिकै कुशल र सिद्धहस्त छन् भन्ने धेरै कमलाई मात्र थाहा छ ।

सामाजिक, आर्थिक र राजनैतिक विषयवस्तुलाई अति खरो, सठिक र मार्मिक रुपमा चिरफार गर्छन्, उनलाई नजिकबाट चिन्नेहरुलाई बताइरहनु पर्दैन । तर, डा देवकोटाको यो पाटो थाहा नपाउने र उनलाई नचिन्नेहरुका लागि सदृश्यले तिनै डाक्टर देवकोटाको राजनीतिक चिरफारलाई नै साप्ताहिक स्तम्भमार्फत पाठक, दर्शक र स्रोताहरु समक्ष पस्कन उनलाई सहमत गराउनु सजिलो काम होइन ।

हामी आशा एबम् विश्वास गर्छौं, डा. देबकोटाले देश र विश्वको राजनीतिक चिरफार पनि उत्तिकै निपूणताका साथमा गर्ने छन्, जति निपूणतासाथ उनले नसाका अपरेसनहरु गर्छन् ।

पाठकहरुलाई डा देवकोटाका बिचार कस्ता लाग्छन् ? उनको खरो लेखाइमाथि पाठकहरुबाट जबर्जस्त प्रतिकृयाहरु आउने छन् । हाम्रो अपेक्षा यही हो ।

सदृश्य यो स्तम्भलाई त्यस्तो बौद्धिक एबम् तार्किक छलफल गर्ने थलो बनाउन चाहन्छ, जसले मुलुकको दिग्भ्रमित, बिवादास्पद र आरोप प्रत्यारोपमा रुमलिइरहेको राजनीतिलाई समृद्धि, समता र समानताको रुपमा प्रजातान्त्रिक पद्धतिका माध्यमबाट अभिमुख गराउन चाहन्छ । उनको प्रयत्न बौद्धिक जडतालाई यथार्थवादी निकास दिनेमा केन्द्रित हुने छ । यही र यस्तै अपेक्षा सदृश्यले राखेको छ ।

मुलुककै ख्यातीप्राप्त डाक्टरको सामाजिक–राजनीतिक साप्ताहिक स्तम्भ प्रकाशित गर्ने अग्रसरता आफैंमा चुनौतिपूर्ण काम हो । यसमा कसैलाई शंका छैन । तर, के कुरा सत्य हो भने जटिल अपरेसनमा खट्ने डाक्टरले अप्ठ्यारा राजनीतिक अपरेसन नियमित रुपमा गर्ने जुन आँट गरेका छन्, यो नै उनको बज्र प्रतिज्ञा हो ।

उनको पहिलो चिरफार सदृश्यले स्तंभकार डा देवकोटालाई नेपालको संविधानबाट शुरु गर्न अनुरोध ग¥यो र उनले त्यसलाई सहर्ष स्वीकार गरेका छन् ।

डा. देवकोटा नेपालको वर्तमान संविधानलाई कसरी हेर्छन् ? उनको यसप्रतिको धारणा कस्तो छ ? र, आजको सन्दर्भमा कस्तो संविधान नेपाललाई उपयुक्त हुनसक्छ ? –सम्पादक )

 

म नेपालको विद्यार्थी राजनीतिमा होमिएर आएको ब्यक्ति हुँ । अहिलेका राष्ट्रपति, प्रधानमन्त्रीभन्दा दुइ चार वर्ष अघिदेखि नै राजनीति शुरु गरेको हुँ । विदेशी साम्राज्यवादी हस्तक्षेपविरुद्ध लडेको व्यक्ति हुँ, विद्यार्थी आन्दोलनमा ।

 

ख्यातीप्राप्त राजनीतिक नेता निर्मल लामा, मोहनबिक्रमले हामीलाई संविधान सभाको पाठ पढाउनु भएको हो । पछि मैले ०४६को आन्दोलनपछि गणेशमान सिंहसंग सोधें, गणेशमानजी नेपाली काँग्रेसले किन कहिल्यै संविधानसभाको कुरा दह्रो रुपमा उठाएन ?

 

उहाँले भन्नुभएको थियो, डाक्टर साब संविधानसभाबाट संविधान बनाउनै सकिदैन भन्ने हामीलाई थाहा छ । कथम्कदाचित बनाइयो भने पनि त्यो लागु गर्न सकिदैन । त्यसकारण नेपाली काँग्रेस विज्ञहरुले बनाएको संविधानको पक्षमा रहेको हो । विज्ञहरुले बनाएको संविधानमा रहेका कमी कमजोरीहरुलाई सुधार गर्दै, अभ्यास गर्दै र अबरोध भए संशोधनमार्फत गाँठागुँठी फुकाउदै जाने पक्षमा हामी काँग्रेसीहरु लागेका हौं ।

 

उपेन्द्रजी, उहाँ त्यतिबेला भन्दै जानुभयो–हेर्नोस्, संविधानसभा भनेको पाण्डोराको बक्स हो । त्यसबाट निस्कने विभिन्न जीवातीको माग कहिल्यै पूरा गनै सकिदैन । त्यसैले नेपाली काँग्रेसले संविधानसभाको माग कडा रुपमा नउठाएको हो ।

 

म गणेशमानजीको भनाईबाट संविधानसभा’bout कन्भिन्स भएँ !

 

तर दूर्भाग्यवस, नेपाली काँग्रेसले नै बिभिन्न घटनाको बन्दी जस्तो बनेर संविधान सभा स्वीकार गरयो ।

 

भारतमा पनि अंग्रेजले भारत छाडेपछि संविधानसभाबाट हात उठाएर संविधान बनेको होइन ।

 

संविधान भनेको संसारभर विज्ञहरुले बनाउछन् । त्यसमा डिबेट हुन्छ । तर हामीले बिज्ञहरुमाथि ट्रस्ट गरेनौं । त्यसैले हाम्रो संविधान यति विकृत बन्यो, जुन कहिल्यै पनि लागु हुन सक्दैन ।

 

संसदीय प्रजातन्त्र ब्रिटिश शासनबाट शासित राज्यमा मात्र छ । अहिले त दुइचार वटा राज्यमा मात्र त्यो खुम्चिएको ब्यवस्थाको रुपमा छ ।

 

हेर्नुुुस्, २५० वर्ष अघि ब्रिटिश उपनिवेशवाट स्वतन्त्र भएको अमेरिकामा संसदीय ब्यवस्था छैन । संयुक्त राज्य अमेरिकामा त कार्यकारी नै देशको सर्वेसर्वा हुन्छ, जसले छानेका विज्ञवाट देश चल्छ । संसदले त नियम मात्र बनाउछ ।

 

त्यसो भएपछि भ्रष्टाचार अन्त्य हुन्छ र सरकारले गति लिइहाल्छ । भारत र पाकिस्तान बाहेकका देशमा यस्तै ब्यवस्था छ ।

 

खासमा, तात्विक रुपमा ०४७ सालको भन्दा बाहिर आएर अहिलेको संविधान बनेकै छैन । यो पनि संसदीय संविधान नै हो र त्यसैले त्यही व्यवस्था आयो ।

 

त्यसैले म भन्छु, यो संविधान ल्याइयो भनेर ‘टिप्न विर्सेको घिरौंलो जत्रो नाँक’ बनाउनु बेकार छ । यसो गर्नुको कुनै तुक नै छैन ।

 

त्यत्रो बलिदानबाट बनाइएको, त्यति धेरै मानवीय र भौतिक क्षतिबाट आएको संविधान पनि भारतीय र २०४७ सालकै संविधानको हाइब्रिड बनायौं । यो वास्तवमा भारतको संविधानको फोटो कपी हो ।

 

यो संविधानबाट प्रान्तीय राज्य, लंगडो राष्ट्रपति र संसदबाट प्रधानमन्त्री चुनिन्छ ।

 

यो संविधान भित्र विभिन्न प्रपंच छन् । राजाको ठाउमा रजौटाको रुपमा नेता पाएका छौं । यो संविधान ले अल्पमतलाई प्रोत्साहन गर्छ । राष्ट्रको होइन, पार्टीको झण्डा बोकेपछि मात्र ठाउ पाइन्छ । देश बुझेका, योगदान दिनसक्ने र चाहने बुद्धिजीवीलाई मार्जिनलाइज गरिएको छ ।

 

ब्यवहारमा यो कुरा सबैसामु जगजाहेर छ ।

 

यो संविधानले दलको सदस्यता नलिएको, राष्ट्रप्रति चिन्तित बुद्धिजीवीलाई किनारा लगाइसक्यो । भन्नोस, कहाँ स्वतन्त्र र निष्पक्ष ब्यक्तिलाई छानेर जिम्मेवारी दिइएको छ ?

 

त्यसैले म भन्छु, यो अपाच्य संविधान हो !

 

मलाई लाग्छ, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने ब्यवस्थामा हामी जान सकेनौं भने, धुन्धानसंग गर्व गर्नुको कुनै तुक छैन ।

 

यो संविधान अहिले संशोधन भयो भने पनि ब्यवहारमा यो संविधान संशोधन अत्यन्त जटिल छ । केपी ओली र आफूलाई मधेशी दल भन्नेहरुले देखिसकेका छन् । ओली संविधान संशोधन हुन सक्दैन भन्ने जानकार छन् भने मधेशीहरु संविधानअनुरुप संशोधन संभव छैन भन्ने जान्छन् । त्यसैले दुबैथरि संविधानको रंगमंचमा खेल्न चाहन्छन् ।

 

राजनीति अभिजात वर्गको आत्म केद्रित स्वार्थ भएको छ ।

 

यो देशको अर्थतन्त्रले यो व्यवस्थालाई धान्न सक्दैन । त्यसैले अब आफ्नै आत्मातिर फर्केर जनताले प्रश्न गर्नुपर्छ, के यो संविधानले दिने भनेको तलब भत्ता सरकारको ढुकुटीमा छ ? यो संविधानअनुसार चल्यौं भने हामी कंगाल हुन्छौं । जनता टाट पल्टिन्छन् । यो पटक्कै व्यवहारिक छैन । कागजमा सबैको पहुँच भएको लेखिए पनि ब्यवहारमा त्यस्तो पटक्कै छैन । यहाँ शासन गर्ने अभिजात वर्ग छ । उनकै सन्तानको हालीमुहाली छ । खासमा उनीहरुले राजनीतिलाई आफ्नो विर्ता ठानेका छन् । जो उनीहरुको दायराबाट कहिल्यै बाहिर जानहुन्न भन्ने उनीहरुको सोच, मान्यता र विश्वास यथावत छ ।