ब्राजिलका नेइमार विश्व कपमा अपवाद बन्लान् त ?

 

 

यो विश्व कपको एउटा रहस्य भनेको नाम चलेका खेलाडी र देश क्रमशः घर फर्किएका छन् । अझ कजान एरिना त आश्चर्यको केन्द्र बनेको छ । जहाँ विश्व विजयीको विश्व कप यात्रा अन्त्य हुन्छ । शुभ र अशुभको खेलमा कुनै सम्बन्ध छैन । तर खेलाडी र शुभेच्छुक खेलको समापन पछि भाग्यलाई दोष दिन पनि पछि पर्दैन । यो कजान त अलिक परको कुरो हो । पक्ष र विपक्षमा उभिएको सामाजिक सञ्जालमा नेईमारको स्टारडमलाई अंकुस लागेको हेर्न कजान पुग्नु पर्दैन । समरा एरिना नै काफी भन्नेहरुको संख्या उल्लेख्य छ । के ब्राजिल पनि विश्व कप २०१८ को यात्राबाट फेरी भेटौला भन्दै छुट्ला त ? यसको जवाफ खोज्न केही सम्भावना र केही प्रदर्शनलाई हेर्नु कोशिस गरिएको छ ।

 

सम्भावनाका आधारमा भन्ने हो भने ब्राजिलले खेल जित्ने सम्भावना ५० प्रतिशत र मेक्सिकोले जित्ने सम्भावना १४ प्रतिशत मात्र छ । यी दुई विचको खेल ९० मिनेटसम्म बराबरी हुने करिब ३६ प्रतिशत सम्भावना देखाएको छ । यो बाजी खेलाउनेको कुरालाई विश्वास गर्ने हो भने ब्राजिलले मेक्सिकोलाई धुलो चटाउँने छ । बेटिङ्गका लागि ब्राजिलको ०.४५ हुँदा, बराबरीका लागि ३.५ र मेक्सिको पक्षमा ७.५ छ । अर्थात ब्राजिलले जिते १०० रुपैयाको ४५, बराबरी भए ३५० र मेक्सिकोका पक्षमा राखे ७५० हुन्छ । यो आँकडाले विश्वभरका मानिसहरुको विश्वास ब्राजिलको खेलमा बढी छ भन्ने देखाउँछ । तर विश्वासका भरमा ब्राजिलले खेल जित्छ भन्ने गलत हुन सक्छ ।

 

 

 

 

यी दुईको ईतिहास हेर्ने हो भने ब्राजिलको पल्लाभारी देखिन्छ । सन् १९५० देखि हालसम्म ४० प्रतिस्पर्धामा ब्राजिलले २३ पटक जित निकालेको छ भने मेक्सिकोले १० पटक । यी दुईको खेल ७ पटक बराबरी भएको छ । विश्व कपमा चार पटक आमनेसामने हुँदा तीन पटक ब्राजिलले बाजी मारेको छ, भने पछिल्लो भेट ब्राजिलमै २०१४ मा बराबरी भएको थियो । यी दुईको पछिल्लो भेट २०१५ को जुनमा मैत्रीपूर्ण खेलमा भएको थियो र ब्राजिलले स्पष्ट २–० अन्तरले मेक्सिकोलाई हराएको छ ।

 

 

 

जारी विश्व कपमा पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले १ बराबरी स्वीटजरल्याण्डसँग र सर्बिया तथा कोष्टारिकासँग समान २–० गोल विजयी भएको थियो । यो बर्ष २०१८ मा ब्राजिलले हालसम्म सात खेलहरुमा ६ वटा खेलमा विजयी र एक खेलमा मात्र बराबरी खेलेको छ । उता मेक्सिकोले समुह चरणको अन्तिम खेलमा स्वीडेनसँग लज्जास्पद ३–० को पराजय व्यहोरेको थियो । समुह चरणको अन्य दुई खेलमा संघर्षपूर्ण जित निकाल्दा अघिल्लो विश्व कप विजयी जर्मनीलाई स्तब्ध पारेको थियो । यो बर्ष कुल ९ खेल खेलेर ५ मा जित हासिल गरेको मेक्सिकोले ३ खेलमा पराजय र १ खेलमा बराबरी खेलेको थियो । मेक्सिको विशेषता नै नाम चलेका टिमहरुलाई स्तब्ध पार्नु हो ।

 

 

व्यक्तिगत खेलको हिसाबले ब्राजिलको आक्रमण नेईमार, कौटिन्हो, पाउलिन्हो, फर्नान्डिहो, जेसस, फरमिनो र कासमिरोमध्य जो कसैले नै गोल गर्न सक्छ भने मेक्सिको खेल बढी नै हेर्नान्डेजमा निर्भर छ । तर उनलाई गोल गर्न गौर्डाडो र लोझानोले साथ दिने छन् । ब्राजिलको सबैभन्दा बढी टाउको दुखाई नै मेक्सिकोका गोलकिपर ओचोअ हुनसक्छन् । ’cause जारी विश्व कपमा सबैभन्दा बढी १७ वटा गोल बचाएको छन् । गए रातिको खेललाई गणना नगर्दा यो उनीलाई पछ्याई रहेका डेनिस गोलकिपर कास्परभन्दा ३ बढी हो । उसै त सबैभन्दा बढी गोल प्रहार गरेर पनि गोलमा परिवर्तन गर्न नसकेका नेईमारलाई गोलकिपर ओचोअ थप टाउको दुखाई हुनसक्छ । समरा एरिनामा ब्राजिलका खेलाडी चल्ने सम्भावना बढी भएकोले मेक्सिकोले ब्राजिललाई निरास नबनाउँने अट्काल काटिएको छ । त्यसैले नेईमारले कजानको यात्रा गर्न सक्छन् ।

 

 

भद्र जापानको टाउकोमा शक्तिशाली बेल्जियमको स्निपर

 

 

 

 

स्वच्छ छविको जापानले उच्च कोटीको बेल्जियमको सामना रोस्तोभ एरिनामा गर्ने छ । यी दुईको भेटमा जापानको प्रदर्शन राम्रो रहेको छ । विश्व कप २००२ मा बराबरी खेलेको यी दुईले जम्मा ५ पटक आमनेसामने गर्दा जापानले २ खेलमा जितेर १ मा हारेको छ । तर सबैभन्दा पछिल्लो भेटमा प्रतिस्पर्धात्मक १–० गोलले बेल्जियमले खेल जितेको छ । सन् २०१८ को अहिलेसम्म जापानले ८ खेलमा चारमा हार र दुई दुईमा जीत तथा बराबरी गरेको छ । यो विश्व कपमा कलात्मक तथा संगठित खेल खेल्दा सबैभन्दा स्वच्छ खेल पनि जापानले खेलेको छ । त्यही भएर समुह चरणमा सेनेगल पछि परेको थियो । उता समुह चरणका सबै खेल जितेको बेल्जियमले यो बर्ष अहिलेसम्म कुल ७ खेल खेल्दा पोर्चुगलसँग बराबरी र अरु सबै खेल जितेको छ । त्यसैले स्वच्छ छविको जापान उत्कृष्ट लयमा रहेको बेल्जियमसँग निरास हुने अनुमान छ ।

 

विश्व कपमा दशैको माहोल विश्व विजयीको घर फर्किने क्रम निरन्तर

 

 

काठमाण्डौमा जब दशैंको सप्तमी आई पुग्छ मानिसको संख्या ह्वात्तै घट्छ । नवमीको दिन त काठमाण्डौं खाली जस्तो हुन्छ । नाम कमाएका देखि दाम कमाएका सम्म सबै जना दशैंका लागि घर फर्किन्छन् । अहिले रसियामा फुटबलको दशैं छ र विश्व विजयीलाई पनि दशैंको चटारो परे झै एक पछि अर्को घर फर्किदै छन् । अस्ति सप्तमी थियो । अर्जेन्टिना घर फर्कियो । जर्मनी त नौरथा लाग्ने बित्तिकै (समुह चरण) बाटै घर फर्कियो । हिजो स्पेनले पनि दशैं मनायो । अब सप्तमी (प्रि–क्वाटर) मा बाँकी दुई टिम छन् ब्राजिल र ईङ्गल्याण्ड । अष्ठमी (क्वाटर फाईनल) मा बाँकीले पनि दशैं मनाउँदा काठमाण्डौंमा घरमुली मात्र भए जस्तो नयाँ राष्ट्रले पो विश्व कप रुघ्ने हो हेर्न बाँकी छ ।

 

 

घरमा आयोजक सधै सशक्त हुन्छ । तर हिजो रातिको खेलमा त्यस्तो सोचिएको थिएन् । रसिया रक्षात्मक थियो भने स्पेन स्वाभाविक खेल खेल्दै थियो । खेल धुमधामले प्रतिस्पर्धी थिएन । तर रसियाका प्रशिक्षक चेर्चेसेभलाई स्पेनलाई कसरी ठीक पार्ने ? थाहा थियो । स्पेनको कमजोरी भन्दा सबल पक्षलाई कमजोर गर्ने रणनीतिमा प्रशिक्षक चेर्चेसेभले रसियाको रणनीति परिवर्तन गरे । स्पेनको अग्रपंतिलाई मध्यनजर राख्दै ५ जना खेलाडीलाई रक्षामा खेलाउँदै खेलको रणनीति परिवर्तन गरेका थिए । रसिया ५–३–२ मा उत्रिएको थियो, भने स्वाभाविक तथा नियमित रणनीति ४–२–३–१ का साथ स्पेन मैदानमा प्रवेश गरेको थियो ।

 

 

 

 

रसियन प्रशिक्षकले सही रणनीतिमा खेल खेलाएका थिए । तर रसिया पहिलो गोल खान बाध्य भयो । रसियाले सशक्त आर्कमण भन्दा काउन्टर एट्याकमै गोल गर्ने मौका हेर्दै रह्यो । अजिंगरीको आहारा दैवले पु¥याउँछन् भन्ने उखान चरितार्थ गर्दै पिकेले डिबक्समा ह्याण्ड गरे । रसिया ४१ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै खेलमा फर्कियो । त्यसपछि रक्षामा जोड दियो । विश्व राजनीतिमा मात्र होईन खेलको रक्षात्मक रणनीतिमा पनि रसियाले प्रशंसनीय खेल देखायो । रक्षक र गोलरक्षक व्यस्त त भए । तर शत्रुको हर प्रहारको दह्रो प्रतिरक्षा प्रणाली बनाएका उनीहरु रसियालाई पराजित गर्ने हरेको प्रयास र चाललाई विफल बनाए ।

 

 

स्पेनले ९० मिनेट भित्र निश्चित खेल आफ्नो पक्षमा पार्छ भन्ने भविष्यवाणीको विपरित खेललाई १–१ को बराबरीमा १२० मिनेट पुर्याए । फैसला सडेन डेथमा हुने भयो । लय गुमाएका स्पेनका गोलकिपर लागि तैनाथ ४ रसियाली खेलाडीले ४ प्रहारमा गोलपोष्टभित्र छिरायो । स्पेनका ईनिएस्टा, पिके र रामोसले गोल हाने पनि कोके र आसपासले स्पेनलाई खामोश बनाए । रसियाका गोलकिपर तथा कप्तान अकिन्फीभको प्रदर्शन पुरै खेलमा उत्कृष्ट त थियो नै । उनीले सडेन डेथमा स्पेनका दुई खेलाडीको बल विफल बनाई १४ करोड ४३ लाख भन्दा बढी रसियनलाई खुशी बनाए । साथै, सन् २०१० को विश्व कप विजयता स्पेनको यो विश्व कप यात्रा समाप्त पारे ।

 

 

सडेन डेथ छोडेर हेर्ने हो भने खेलमा सबै हिसाबले स्पेनले अब्बल खेल खेलेको थियो । गोलका लागि कुल २५ प्रहार गरेको स्पेनले ९ लक्ष्यमा राख्दा १ गोल गरेको थियो । उता रसियाले रक्षात्मक खेल खेलेको थियो र जम्मा ६ वटा प्रहार गर्दा १ लक्ष्यमा थियो । रसियाको रक्षकपंति चुस्त देखियो र उनीले १० गोलका लागि गरेको प्रहारलाई छेकेका थिए । स्पेनले ७४ प्रतिशत समय बलमाथि नियन्त्रणमा राखेर ९१ प्रतिशत सफल पास खेलेको थियो । जम्मा २८५ वटा पास मात्रै खेलेको रसिया सामु स्पेनले ११३७ वटा पास खेल्दै राम्रा मुभ बनाए । तर गोल एक भन्दा बढी गर्न सकेन । स्पेनले ९० मिनेटमा खेल आफ्नो पक्षमा पार्न नसक्नु आधा हार थियो भने थप गरिएको ३० मिनेटमा पनि गोल गर्न नसक्नु हारको पुरा खाँका बन्यो । स्पेनका गोलकिपर डि जिया जारी विश्व कपको पहिलो खेल देखि नै राम्रो लयमा थिएनन् । र, सडेन डेथमा उनको योगदानको कुनै आशै थिएन । स्पेन आयोजक रसियासँग हा¥यो र घर फर्कियो ।

 

 

क्रोएसिया र डेनमार्कको गति पेनाल्टीमा डेनमार्कलाई क्षति

 

 

डेनमार्कका गोलकिपर कासपर स्माईचेलको पेनाल्टी बचाउँनु सहित उत्कृष्ट प्रदर्शनले सडेन डेथमा पुगेको खेलमा डेनमार्कले क्रोएसियालाई खेलको परिणाम सुम्पिएको छ । खेल १२० मिनेटसम्म लम्बियो । खेलको पहिलो र चौथो मिनेटमा डेनमार्क र क्रोएसियाले क्रमशः गोल गरेपनि त्यसपछि खेलमा गोल भएन । आक्रमण भने दुवै पक्षले गर्न छोडेनन् । अनिश्चित परिणाम सडेन डेथ तिर जाँदै थियो खेलको ११३ औं मिनेटमा रेविकलाई डेनमार्कका जोर्गेन्सनले डिबक्सभित्र गम्भिर फल गरे । गोलकिपरलाई छल्याईसकेको अवस्थामा पछाडिबाट ट्याक गरेका जोर्गेन्सनले क्रोएसियालाई निश्चित गोलबाट पेनाल्टीमा ल्याए । लुका मोड्रिकले पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन् । डेनिस गोलकिपर स्माईचेलले मोड्रिकको प्रहारलाई उत्कृष्ट बचाए ।

 

 

तिब्र गतिमा खेल्दै डेनमार्कले पहिलो ५२ सेकेण्डमै गोल गरी क्रोएसियालाई दबाब दियो । यो जारी विश्व कपको सबैभन्दा छिटो गोल हो भने विश्व कपको ईतिहासको समग्रमा ११ छिटो गोल हो । सबैभन्दा छिटो सन् २००२ को विश्व कपमा टर्किले दक्षिण कोरियालाई ११ सेकेण्डमा गोल भएको थियो । प्रतिउत्तर पनि क्रोएसियाले चौथो मिनटमै दियो । यस अघि नाईजेरिया र अर्जेन्टिनाको बिचको खेलमा मात्र खेलको शुरु ४ मिनेटमा एक एक गोल भएको ईतिहास छ ।

 

 

 

 

निक्कै तिब्र खेलका यी दुई टिम क्रोएसिया र डेनमार्कले क्रमशः २२ वटा र १५ वटा गोलका लागि विपक्षी गोलपोष्ट लाईनमा प्रहार गरेको थिए । क्रोएसियाले ७ वटा प्रहार लक्ष्यमा राख्दा एक गोल गर्यो भने डेनमार्कले ३ वटा लक्ष्यमा प्रहार गर्दा १ गोल नै गरेको थियो । क्रोएसियाका पेरिसेकले ६ प्रयास, राकिटिकले ४ तथा रोविक र मोड्रिकले तीन तीन गोलका प्रयास गरेका थिए । डेनमार्कमा ईरिसेनले ४ गोलका प्रयास गरे भने ब्रेथवेटले ३ प्रहार र स्कोनले पनि ३ प्रहार गरेका थिए । खेलको समग्र अवस्थामा क्रोएसिया अघि थियो । तर डेनमार्कले राम्रो टक्कर दिएको थियो । डेनमार्कको रक्षापंति निकै चुस्त थियो र उसले क्रोएसियाको ७ प्रहार छेकेका थिए ।

 

 

खेलमा १२० मिनेटपछि पेनाल्टी सुट आउट भयो । पहिलो प्रहार नै दुवै देशका गोलकिपरका गोल किपरले गोल बचाए । क्रोएसियाका गोलकिपर सुवासिकले पहिलो प्रहार ईरिक्सेनको बचाए पछि पेनाल्टीको चौथो प्रहार स्कोनको र पाँचौ जोर्गेन्सनको प्रहार बचाए । डेनमार्कका गोलकिपर स्माईचेलले पहिलो प्रहार बाडेल्ज र चौथो प्रहार पिभारिकको गोल बचाए । तर अन्तिम प्रहार गरेका राकिटिकको प्रहार उनले बचाउँन सकेनन् । र, पेनाल्टीको परिणाम क्रोएसियाको पक्षमा ३–२ गोलमा टुङ्गियो ।

 

 

पहिलो हाफमा क्रोएसिया ५५ प्रतिशत बलमा नियन्त्रण लिएर ८० प्रतिशत सटिक पास खेलेको थियो । क्रोएसियाले निरन्तर आक्रमण गर्दा डेनमार्कले पनि काउण्टर एट्याक गरिरह्यो । खेलको शुरुमै आक्रमण गरे पहिलो मिनेटमै जोर्गेन्सनले गोल गरे । डेनमार्कको अग्रता ३ मिनेट भन्दा बढी टिकेन । क्रोएसियाका मान्डजुकिकले गोल गर्दै क्रोएसियालाई खेलमा फर्काए । तुरुन्तै गोल फर्काउन सके पछि क्रोएसियाको मनोबल उच्च भयो र निरन्तर आक्रमण गर्यो । उता डेनमार्कले पनि प्रत्याकरण गरिनै रह्यो । कुल ९ पटक गोलका लागि प्रयास गरेको क्रोएसियाका पेरीसिकले ३ र राकिटेकले दुई प्रहार गरे । राकिटेकका दुवै प्रहार लक्ष्यमा थियो । डेनमार्क ५ पटक क्रोएसियाको पोष्टमा आक्रमण गर्दा जोर्गेन्सन र बेथवाईटको प्रहारमात्र लक्ष्यमा थियो तर ३ पटक प्रहार गरेका ईरिकसेनले बललाई लक्ष्यमा राख्ने सकेनन् ।

 

 

 

 

दोश्रो हाफ तथा अतिरिक्त ३० मिनेटको समयमा क्रोएसियाले थप १३ वटा र डेनमार्कले १० वटा प्रहार विपक्षीको गोलपोष्टको दिशामा गरेका थिए । पहिलो हाफ भन्दा दोश्रो हाफमा बढी सन्तुलित तथा राम्रा मुभ बनाएको डेनमार्कले गोल नगर्न सकेन । क्रोएसियाको खेलको आधार नै बढी भन्दा बढी आक्रमण गर्ने थियो । त्यसैले अरिरिक्त समयको २३ औं मिनेटमा सबैभन्दा खतरनाक मुभ बनायो । गोल हुने अवस्थामा खराब ट्याकलले गोल हुन सकेन । पेनाल्टी त पायो तर गोलमा परिणत गर्न लुका मोड्रिक चुके ।

 

 

गतिमा खेल्ने दुई टिमको टक्कर हुँदा अर्कोलाई क्षति हुन्छ । कसको कतिले अरुलाई कति क्षति गर्छ? कुनै निश्चित हुँदैन । तर गतिले नै अरु विपक्षीलाई पछि छोडेको क्रोएसियासँग टक्कर हुँदा डेनमार्कलाई क्षति भयो । गए राति भएको खेलमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा डेनमार्कलाई हरायो र क्वाटर फाईनलमा स्थान बनायो ।