देवालीमा पर्सेको बोको जस्तो ईङ्गल्याण्ड: स्वीडेनको विश्वकप हाफ सेन्चुरी खेल सुखद हुने आशा 

 

 

 देवालीमा  पर्सेको बोको जस्तो ईङ्गल्याण्ड

 

अब प्रिक्वाटर फाईनलको खेलमा प्रतिस्पर्धा गर्न बाँकी विश्व विजयी टिम हो, ईङ्गल्याण्ड । एकपछि अर्को विश्व विजयीको पतन भईरहेको यो विश्वकपमा आज मध्य राति ११ः४५ बजे मस्कोको स्पार्टक रंगशालामा ईङ्गल्याण्डले कोलम्बियाको सामना गर्दै छ । सन् १९६६ मा विश्वकप जितेको ईङ्गल्याण्डले त्यसपछिका विश्वकपमा उल्लेख्य खेल खेलेको छैन । यो विश्वकपमा पूर्व विश्व विजयीको दयनीय प्रदर्शन हुँदा ईङ्गल्याण्डको प्रदर्शनमाथि धेरैको चासो छ ।

 

 

यी दुवैको हालसम्म पाँच पटक भेट भएको छ । पाँच खेल मध्य ईङ्गल्याण्डले ३ मा विजय हासिल गरेको छ र २ वटा बराबरी खेलेको छ । विश्वकपभित्र १९९८ मा एक पटक मात्र जम्काभेट हुँदा ईङ्गल्याण्डले स्पष्ट २–० को जीत निकालेको थियो । यी दुईको २००५ को मेमा भएको मैत्रीपूर्ण खेलपछि भेट भएको छैन । ईङ्गल्याण्डको यो बर्षको प्रदर्शन हेर्ने हो भने ७ खेलमा एक/एकमा हार तथा बराबरी र बाँकी ५ खेलमा विजय हासिल गरेको छ । जारी विश्वकपका ईङ्गल्याण्ड बेल्जियमसँग नकआउट चरण प्रवेश गरिसकेको अवस्था १–० ले हार व्यहोरेको थियो । उक्त खेलमा पहिलो रोजाईका ८ खेलाडीलाई आराम दिएको थियो ।

 

 

उता समुहको अन्तिम खेलमा सेनेगललाई हराएर समुह विजता बनेको कोलम्बियाले पहिलो खेल जापानसँग दश खेलाडीमा सिमित हुँदा हारेको थियो । त्यसपछिको खेलमा पोल्डाण्डलाई ३–० ले हराउँदै अर्को चरणको बाटो बनाएको थियो । यो बर्ष हालसम्म ६ खेल खेल्दा ३ खेलमा जीत, २ मा बराबरी र १ मा हार व्यहोरेको छ । सन् १९९८ पछि कोलम्बियाले विश्वकपमा खेलेका ८ खेलमा १७ गोल गरेको छ । कोलम्बियाको सबल पक्ष नै भेट्रान खेलाडी फल्काओको उच्च फर्म हो । फल्काओले ३२ बर्ष पुरा भएपछि एकै खेलमा एक भन्दा बढी गोल गर्ने खेलाडीको सुचीमा आफुलाई समावेश गरेका छन् ।

 

 

सबै घरेलु लिग खेल्ने युवा खेलाडी बोकेर रसिया पुगेको ईङ्गल्याण्डले यो खेल जित्ने सम्भावना छ । सट्टेवाजले ९० मिनेटमा परिणाम आउँन सक्ने सम्भावनालाई मध्यनजर गर्दा ईङ्गल्याण्डका लागि १.२, कोलम्बियाका लागि २.६ र बराबरीका लागि २.१ दर तय गरेका छन् । यदि यसलाई सम्भावनाको प्रतिशतमा लैजाने हो भने ईङ्गल्याण्डले जित्ने ४० प्रतिशत सम्भावना छ, भने बराबरी र कोलम्बियाले जित्ने सम्भावना क्रमशः ३२ र २८ प्रतिशत छ । भाग्यमानी ह्यारी केन गोल्डेन बुटका लागि ५ गोलसहित अग्रस्थानमा छन् ।

 

 

यी दुई टिममा यारी मिना र स्टोन्स दुई यस्ता खतरनाक रक्षक हुन जसले विपक्षी गोल गरेका छन् । ह्यारी केन, लिङगार्ड र स्टार्लिङले कोलम्बियाको रक्षक तथा गोलकिपर ओस्पिनालाई समस्या दिने छन् भने कोलम्बियाका फल्काओ, क्वान्टारो र कौड्राडोले पिकफार्ड तथा ब्रिटिस रक्षकको पसिना छुटाउँने छन् । कोलम्बियाका प्रभावशाली मिडफिल्डर जेम्स रोड्रिगेजको खेल्ने सम्भावना अनिश्चित रहेको छ । हाल सम्म नहारेको ईङ्गल्याण्ड र जीत खोजी रहेको कोलम्बियाविचको खेलमा ईङ्गल्याण्ड विजयी हुने सम्भावना छ । तर, विश्वकपका विजयी निरास भैरहेको यो विश्वकपमा कोलम्बियाले बाजी मारे अनौठो हुने छैन ।

 

 

 

 

स्वीडेनको विश्वकप हाफ सेन्चुरी खेल सुखद हुने आशा 

 

विश्वकपमा ५० वटा खेल खेल्ने सुचीमा स्वीडेन आजको खेलबाट सुचीकृत हुने छ । विश्वकपमा ५० खेल खेल्ने राष्ट्रहरु १० छन् र स्वीडेनको आज खेलपछि ११ औं राष्ट्र हुँदा युरोपियन ७ औ देश बन्ने छ । समुह विजयता स्वीडेनले स्वीटजरल्याण्डलाई निरास बनाई ५० औं विश्वकप खेल सुखद बनाउँन कोशिसमा हुने छ ।

 

 

यस अघिको यी दुईको २७ पटक भेट हुँदा यी दुईले बराबर दश दश वटा खेल जितेको छन् भने यी दुईविचको ७ वटा खेल बराबरी भएको छ । स्वीडेन र स्वीटजरल्याण्डको पछिल्लो भेट मैत्रीपूर्ण खेलमा २००२ को मार्चमा भएको थियो । सो खेल दुवैले बराबरी खेलेका थिए । विश्वकपमा हालसम्म ५ पटक एक अर्कालाई परीक्षण गरेका यी दुई टोलीमा स्वीडेनले ३ मा जितेको र २ खेलमा हारेको छ । जारी विश्वकपमा स्वीडेनले एक खेलमा संघर्षपूर्ण हार तथा २ खेलमा जित निकालेको थियो । स्वीटजरल्याण्डले ब्राजिलँग बराबरीसहित १ जीत तथा २ बराबरी खेल्दै समुहको उपविजयता भई नकआउट चरणमा आएको हो । यो बर्ष २०१८ मा स्वीडेनले कुल ९ खेल खेल्दा समान तीन तीन खेल जित, हार तथा बराबरी गरेको छ । त्यस्तै स्वीटजरल्याण्डले जम्मा ७ खेल खेलेर कुनैमा पनि नहारी ४ मा जीत निकालेको छ । ईतिहास र समुह चरणको खेलका हिसाबले यी दुई टोली टक्करका टोली हुन । यसको अर्थ यी दुईको छिनोफानोका लागि ९० मिनेट काफी नहुन सक्छ ।

 

 

स्वीटजरल्याण्डका द्जेमाईली, झाका, जुबेर, रोड्रिगेज र सेफेरोविचले टिमका लागि निरन्तर गोल गरिरहेका छन् । स्वीडेनका लार्सन, वर्ग, टोईभोनेन, गाईडट्टी, फर्सवर्ग तथा कप्तान ग्रान्सभिस्टले उत्कृष्ट खेलिरहेका छन् । जारी विश्वकपमा स्वीटजरल्याण्डका गोलकिपर सोम्मर तथा स्वीडेनका गोलकिपर ओल्सनले राम्रो खेल खेलिरहको छन् । झिनो अन्तरले स्वीडेनले जित्ने भविष्यवाणी द ईडिपेन्समा गरिएको छ । सट्टेबाजहरुको लगानीलाई यदि सम्भावनाको कसीले हेर्ने हो भने स्वीटजरल्याण्डको पल्ला हल्का भारी देखिन्छ । स्वीटजरल्याण्डले ३४.८ प्रतिशत जीत्ने सम्भावना हुँदा, स्वीडेनले जित्ने तथा बराबरी खेल्ने सम्भावना समान ३२.६ प्रतिशत रहेको छ । यसरी हेर्दा निक्कै प्रतिस्पर्धात्मक र १२० मिनेटको खेल हेर्न पाईने तथा पेनाल्टी सुट आउटबाट निर्णय हुने सम्भावना छ ।

 

नेईमारको खेल र नाटक दुवै उत्कृष्ट

 

 

अपेक्षित परिणाम निकाल्दै ब्राजिलले अन्तिम ८ को कित्तामा आफ्नो उपस्थिति दर्ता गराएको छ । मेक्सिकोसँग पहिलो हाफ गोलरहित बराबरी खेले पनि ब्राजिलले दोश्रो हाफ पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिन सफल भयो । खेलको ५१ औं मिनेटमा विलियनको क्रसपासमा गोलपोष्टको दिशा देखाउँदै स्टार स्ट्राईकर नेईमारले गोल गरे । खेलको ८८ औं मिनेटमा भएको गोलमा नेईमारले नै क्रस गरेका थिए । खेल अवधिभर निक्कै राम्रो खेलेका नेईमारको खेल सर्वोकृष्ट थियो भने उनीमाथि फल हुँदा सामान्यभन्दा बढी नै लडिबडी  गरेका थिए । उनको नाटकको क्लाईमेक्स खेलको ७० औं मिनेटमा देखाए । बललाईन बाहिर खुट्टाले बल च्यापेका उनसँग बल खोस्ने पुगेका खेलाडीले नली खुट्टामा सामान्य टेक्न पुग्दा निक्कै जमेर नाटक गरेका थिए । त्यसैले नेईमारको यो खेलमा सर्वोकृष्ट खेल तथा उत्कृष्ट नाटक थियो । यो विश्वकप ब्राजिलले जिते नेईमार गोल्डेन बलका दाबेदार त हुन । तर उनका हर्कत खेल भावनाको विपरित हुँदा गोल्डेन बलको वजन र गरिमा कायम चै पक्कै उनी योग्य हुने छैनन् ।

 

 

पहिलो हाफ बराबरीमा सकिएको थियो । बल नियन्त्रणको हिसाबले बराबरी जस्तो खेलमा ब्राजिलले धेरै आक्रमण गरेको थियो । कुल ११ वटा बल मेक्सिकोको गोललाईनमा प्रहार गरेको ब्राजिलले ३ लक्ष्यमा राखेको थियो । पहिलो २५ मिनेटमा उत्कृष्ट खेल खेल्दै राम्रा मुभ बनाए पनि मेक्सिकोले पहिलो हाफमा केवल ४ प्रहार गोलका लागि गर्दा कुनै पनि लक्ष्यमा राख्न सकेन । पहिलो हाफमा ब्राजिलका कौटिन्होले ४, नेईमार तथा जेससले ३/३ प्रहार गरेका थिए भने मेक्सिकोका लाझानोले २ प्रहार गरेका थिए । मेक्सिको ३ प्रहारहरु ब्राजिलका रक्षकले छेक्दा ब्राजिलका २ प्रहार मेक्सिकन रक्षकले छेकेका थिए ।

 

 

 

 

दोश्रो हाफमा मेक्सिको बढी नै रक्षात्मक बन्यो । पहिलो हाफमा २८ प्रतिशत बल ब्राजिलको गोललाईनमा खेलेको मेक्सिकोले दोश्रो हाफमा केवल २२ प्रतिशत मात्र बल खेलायो । उता बल नियन्त्रणभन्दा आक्रमणमा जोड दिएको ब्राजिलले दोश्रो हाफमा थप १० वटा गोलका लागि प्रयास गर्यो। यी १० प्रयासमध्य ब्राजिलले ७ वटा प्रहार लक्ष्यमा राख्दा २ गोल गर्न सफल भएको थियो । खेलको ५१ औं मिनेटमा विलियनको पासमा नेईमारले गोल गरेका थिए । बलमाथि नियन्त्रण तथा सटिक पासमा ब्राजिलभन्दा केही राम्रो मेक्सिकोले दोश्रो हाफमा पहिले गोल खाएपछि केही आक्रमणका लागि राम्रा मुभ गरेको थियो । मेक्सिकोले ९ वटा गोलका लागि प्रयास गर्यो । तर, उसको केवल १ वटा प्रहार मात्र लक्ष्यमा थियो भने ब्राजिलका रक्षकले मेक्सिकोको ८ वटा प्रहार छेकेका थिए । उता खेलको अन्त्यतिर एक गोललेपछि परेको अवस्थालाई उल्टाउन आक्रमणमा बढी जोड दिँदा मेक्सिकोले दोश्रो गोल खाएको थियो ।

 

 

ब्राजिल र मेक्सिको बिचको खेलमा खास फरक भनेको ब्राजिलको उत्कृष्ट रक्षापंति हो । ब्राजिलका रक्षकले गोलकिपरमा कुनै दबाबको वातावरण सिर्जना हुन दिएन । ब्राजिल सदैव आक्रमक खेल खेल्छ । यस्तोमा गोल अन्तर बढी हुने सम्भावनालाई मेक्सिकन गोलकिपरको उत्कृष्ट प्रदर्शनले अन्तर कम गर्यो । मेक्सिकोको खेलको रफ्तार जति जति खेलको समय बढ्छ त्यति त्यति घट्छ । त्यही भएर मेक्सिकोले दोश्रो हाफमा गोल खान्छ । मेक्सिकोका खेलाडीमा रहेको स्टामिना र ब्राजिलका खेलाडीमा रहेको स्टामिना बिचको फरकले पनि निर्णय ब्राजिलको पक्षमा गएको थियो । यो जितसँग अब ब्राजिलले बेल्जियमको सामना कजानमा गर्नेछ । कजान विश्वकप विजयताको निराशाजनक प्रदर्शन गर्ने खेल मैदान पनि हो ।

 

 

जापानले जित्यो दर्शकको मन तर जित्न सकेन खेल

 

 

खेल प्रतिस्पर्धात्मक परिणाममा झिनो अन्तर तर जापान निरास भएको हिजोको खेलमा जापानको गोलकिपर तथा रक्षापंतिको कमजोरीले जापान क्वाटरफाईनलमा विमुख भयो । त्यसो त बेल्जियमको दोश्रो गोलमा जापानी खेलाडी शारीरिक रुपमा सानो हुनुको पनि योगदान देखिन्थ्यो । पहिलो हाफ गोलरहित खेलेका जापान तथा बेल्जियमले दोश्रो हाफमा कुल ५ गोलहरु गरे । पहिलो दुई गोल ४ मिनेटको अन्तरमा जापानले गर्दै २–० को अग्रता बनायो । तर गोलकिपरको कमजोरले सामान्य हेडरमा बेल्जियका भेर्टोन्घेनले गोल गरे । त्यसको पाँच मिनेटपछि ७४ मिनेटमा बेल्जियमले गोल थप्दै खेललाई २–२ बराबरीमा ल्याई पुराए । निर्धारित ९० मिनेटको अरितरिक्त समयको चौथो मिनेटमा आर्कषक गोल गर्दै खेल आफ्नो पक्षमा बेल्जियमले पा¥यो ।

 

 

बेल्जियम आक्रमक रणनीति ३–४–३ को साथमा मैदानमा उत्रिएको थियो । जापान मध्यभागमा बल नियन्त्रण गरी आक्रमण गर्ने ४–२–३–१ को रणनीतिका साथ मैदानमा थियो । बेल्जियम रणनीति अनुसार आक्रमक खेल खेल्न सक्दा जापानले सोचे जस्तो बललाई नियन्त्रणमा राखी आक्रमण सकेन । बेल्जियमले २४ वटा प्रहार जापानको गोललाईनमा गर्दा जापानले केवल ११ वटा गोलका लागि प्रयास गरेको थियो । बेल्जियमले ८ वटा लक्ष्यमा प्रहार गर्दा ३ गोल तथा ६ वटा जापानका रक्षकले छोकेका थिए । बेल्जियमको एक प्रहार गोलपोष्टमा लागेर फर्किको थियो । उता जापानका ४ लक्ष्यमा प्रहार गर्दा २ वटा बलले बेल्जियमको जाली चुमेको थियो । जापानका तीन प्रहार बेल्जियमका रक्षकले छोकेका थिए । बेल्जियमले ८७ प्रतिशत सटिक पास खेल्दै ५६ प्रतिशत समय बलमाथि नियन्त्रण गरेको थियो । उता जापानले ४४ प्रतिशत समय बल खेलाउँदा ८३ प्रतिशत सफल बल पास गरेको थियो । पहिलो हाफमा गोल नलागे पनि दोश्रो हाफको प्रारम्भबाट नै गोलको बर्षा शुरु भयो । जापानले दोश्रो हाफको १० मिनेट आक्रर्षक खेल खेल्दै हारागुची र ईनुईले गोल गरे भने हिरोको खेल लाष्टमा हुन्छ भने झै बेल्जियमले अन्तिम ३ गोल खेलको ६९ औं, ७४ औं र अतिरिक्त समयको चौथो मिनेटमा गर्यो ।

 

 

पहिलो हाफ गोलरहित बराबरी भएपनि बेल्जियमले १० वटा गोलका लागि प्रहार गर्दा जापानले ४ वटा प्रहार गरको थियो । जापानका प्रभावित भनाई राखेका ईनुईले एक लक्ष्यमा प्रहार गर्दा जापानका कागावा, नागामोतो र शोजीले लक्ष्य विहिन एक एक प्रहार गरेका थिए । उता यो विश्व कप खेल्न पहिलो पटक पाईला टेके भिन्सेट, विट्सेल, हर्जाड र लुकाकुले दुई दुई प्रहार गरेको थिए । खेलको पहिलो आक्रमणको प्रहार जापानका कागावाले दोश्रो मिनेटमा गरेका थिए तर बल गोलपोष्ट बाहिरबाट गयो । खेलको १६ औं मिनेटमा विट्सेलले गरेको प्रहार आकासियो । खेलको १७ औं मिनेटमा लुकाकुले गरेको प्रहार जापानका रक्षकले छेकेका थिए ।

 

 

त्यस्तै २१ औं मिनेटमा लुकाकुले नै गरेको प्रहार जापानका रक्षकले छेक्दा आकासिएर कर्नर भयो । खेलको २५ औं मिनेटमा क्रसबाट प्राप्त बललाई लुकाकुले राम्रोसँग नियन्त्रण गर्न सकेनन्, र सानो डिबक्स भित्र आएको बललाई गोल गर्न चुके । ईडेन हजार्डले २८ औं मिनेटमा शक्तिशाली प्रहार गरे तर जापानका गोलकिपर कावाशिमाले बचाए । लगतै लामो पासमा आएको बललाई गोलपोष्ट नजिकैबाट गोलपोष्टको दिशा दिन चुके । खेलको ४४ औं मिनेटमा जापानले राम्रो मुभ बनायो र कागावाले दिएको पासलाई ओसाकोले पोष्टको दिशा दिएका थिए । गोल गोलकिपरको टाङ्गमुनिबाट छिरेपनि गतिको अभावमा गोलकिपरले प्रशस्त समय गल्ती सुधार्न पाएर गोल बचाए ।

 

 

 

दोश्रो हाफको शुरुमा जापानले २ गोलको अग्रता बनायो । तर खेलको अन्तिम २५ मिनेट समालिन सकेन र तीन गोल खान पुग्यो । गोल खाएपछि बेल्जियमले झनै बढी आक्रमण गर्यो । पहिले हाफमा १० आक्रमण गर्दा २ लक्ष्यमा राखेको बेल्जियमले दोश्रो हाफमा थप १४ आक्रमण गर्दा ८ वटा लक्ष्यमा राखी ३ गोल गर्यो । जापानले दोश्रो हाफको पहिलो ७ मिनेटमा दुई गोल गरेको थियो । जापानले दोश्रो हाफमा थप ७ वटा गोलको प्रयास गर्दा तीन वटा लक्ष्यमा प्रहार गरको थियो । लामो पासमा आएको बल भेर्टोन्घेनले क्लियर गर्न नसक्दा जापानका खेलाडी हारागुचीले बललाई गोलपोष्टभित्र पठाए । ४९ औं मिनेटमा हजार्डले हानेको प्रहार गोलपोष्टको बाँया बारमा लागेर फर्कियो । खेलको ५२ औं मिनेटमा यो प्रतियोगितामा प्रभावशाली खेलिरहेका ईनुईले डिबक्स बाहिरबाट लामो प्रहारमा गोल गरे । ईनुई लामो प्रहार सटिक गर्छन् र गोल गर्न माहिर छन् । समुह चरणमा झै यो खेलमा पनि उनले लामो प्रहारमा गोल गरे । लुकाकुले ६२ औं मिनेटमा क्रसपासमा हेडर गरे गोलको दिशा लिन सकेन । खेलको ६४ औं मिनेटमा जापानले अग्रता तीन गोलले बनाउने मौका गुमायो । जापानको राम्रा मुभमा प्रहार बाहिरियो ।

 

 

गोल नभएपछि बेल्जियमका प्रशिक्षकले फेलानी तथा चाड्लीलाई मैदानमा पठाए । खेलको ६९ औं मिनेटमा सानो डिबक्सबाट अलिक पर डिबक्सको दाँयातिर रहेका भेर्टोन्घेनले सामान्य गतिको बललाई गोलपोष्टको दिशामा आकाशतिर गरेको हेडर बाँयाको कर्नर छेउबाट गोलपोष्टभित्र छिर्यो । गोलकिपरले समयमा प्रतिक्रिया दिन सक्दा जापानले गोल खाई खेल २–१ मा आयो । डे ब्रुनोले ७३ औं मिनेटमा हानेको कडा प्रहार जापान रक्षकका शोजीले छोक्दा गोलकर्नर भयो । खेलको ७४ औं मिनेटमा हजार्डले दिएको पासमा परिवर्तित खेलाडी फेलानीले हेडरबाट गोल गरे । निरन्तरको आक्रमण पछि जापानले बेल्जियमलाई थेग्न सकेन र खेल बराबरीमा आईपुग्यो । खेलको ८५ औं मिनेटमा परिवर्तित खेलाडी चाड्लीले हेडर गरेको बल जापानका गोलकिपरले बचाए । सो बल फेरी बेल्जियमकै खेलाडीको खुट्टामा पर्दा क्रस गरे । लुकाकुले आक्रर्षक हेडर गरे तर जापानका गोलकिपरले बचाए ।

 

 

 

खेलको अतिरिक्त समयमा जापानको क्रस क्लियर गर्न खोज्दा आफ्नो पोष्टको दिशामा आएको गोललाई गोलकिपरले डाईभ गरि बचाए । अतिरिक्त समयको तेश्रो मिनेटमा निक्कै टाढा रहेको फ्रिकिक जापानका होण्डाले उत्कृष्ट प्रहार गरे तर गोल गर्न गोलकिपरले दिएनन् । अतिरिक्त समयको चौथो मिनेटमा भेर्टोन्घेनले गरेको पासमा लुकाकुले चाड्लीलाई छोडिदिएर चाड्लीले कुनै गल्ति गरेनन् । परिवर्तित खेलाडी चाड्लीको गोलसँगै बेल्जियमले खेल ३–२ ले जित्यो । यो खेलमा बेल्जियमको निरन्तरको आक्रमण तथा प्रशिक्षकको सुझबुझ पूर्ण खेलाडी परिवर्तनले बेल्जियमले जित्यो । अब बेल्जियमले विश्व विजयीको डेथभुमीमा ब्राजिलको सामना गर्ने छ ।

 

 

जापान र बेल्जियमका कोच एक अर्कालाई वधाई दिदै