लम्पसारवाद

 

 

 

 नेपालका पहिलेका अनुचरहरुको केन्द्र दरबार थियो, आजका अनुचरको केन्द्र दिल्ली भएको छ ।

 

 

 

पञ्चायतकालमा राजाको बेलाबेलामा मुलुकका विभिन्न ठाउँ सवारी हुन्थ्यो । कहिले चितवन, कहिले सुर्खेत, त कहिले पोखरामा क्याम्प लाग्थ्यो । राजाको मनोविनोदका लागि काठमाडौंबाटै कलाकारका टोली झिकाइन्थ्यो । सिंगो मुलुकको शासन प्रशासन राजाकै वरिपरी केन्द्रीत हुन्थ्यो र सोहीअनुसारको उनको सुरक्षा व्यवस्था मिलाइन्थ्यो ।

 

 

स्थानीयस्तरमा राजाको सवारी हुने रुटलाई हराभरा, उन्नत र सुन्दर बनाउने भरमग्दुर प्रयास गरिन्थ्यो । वर्षका बाँकी ११ महिना सुख्खा र फोहर हुने बाटाका किनार एकाध महिनाका लागि सफा र चिटिक्क पारिन्थे । कहाँसम्म भने बाटाका किनारमा सिंगै रुख कतैबाट उखेलेर ल्याई गाडिन्थ्यो । कुनै बंगैचामा भएका फूलका बिरुवा फूलसँगै उखेलेर ल्याई रातारात राजा हिँडने बाटोलाई बगैचा बनाइन्थ्यो । राजाको काठमाडौं फिर्ति सवारी भएपछि ति सबै सौन्र्दय भताभुँग हुन्थे । युद्धपछिको युद्धभूमि झैं केही दिनको तामझाम फेरी उस्तै वेथितिमा परिणत हुन्थ्यो ।

 

 

केही दिनयता काठमाडौंका सडकमा त्यस्तै तामझाम देखिन्छ । राजधानीका सडक पखालिएको छ । कतै फोहर सफा गरिएको छ, कतै होर्डिङ बोर्ड र फलेक्स प्रिन्टहरुले फोहर छोपिएको छ । विदेशी सरकार प्रमुख र राष्ट्रप्रमुख हिँडने रुटलाई उही पञ्चायतकालमा झैं मज्जैले सिंगारिएको छ । पहिला सार्क सम्मेलन हुँदा पनि त त्यस्तै गरिएको थियो । विदेशी शासक सामु आफ्नो खोक्रो तुजुक देखाउन हाम्रा शासकहरुले केही दिन भृकुटीमण्डप आसपासका क्षेत्रलाई ‘युरोपेली मापदण्ड’मै उकासेका थिए । सार्क सम्मेलन सकिएपछि फेरी त्यो ठाउँ उस्तै, त्यो शौन्दर्यको कुनै निरन्रता भएन । यसको अर्थ के हो भने हाम्रा शासक बिदेशी शासकका लागि त जे गर्न पनि तयार छन्, तर स्वदेशका जनता उनीहरुको प्राथमिकतामा पर्दैनन् । अहिले विमस्टेक सम्मेलनभरी जसरी काठमाडौं सिँगार्न रातारात राज्य संयन्त्रले काम गरेको छ, यस्तै स्पिरिट सम्मेलन सकिएपछि किन निरन्तरता पाउँदैन ? किनकी, आजका शासकको मनोबृत्ति पनि उही पञ्चायतकाली शासकहरुकै जस्तो छ, जो राजाको सवारी हुँदा राजाको आँखामा दृश्य नबिझाओस् भनेर चारैतिर सौन्र्दयको बहार छर्छन्, तर जनताका लागि भत्केको, हिलाम्य या धुलाम्य बाटो नै ठिक मान्छन् ।

 

 

हो त, विदेशी शासकको नाकबाट पो धुलो छिर्न भएन त, नेपाली ‘नाथे’ जनताले त सँधै धुलो र धुवाँ नै सहने हो नी । विदेशीका लागि पो ट्राफीक जाम समस्या हुनु भएन त, नेपाली ‘नाथे’ जनतालाइ पो सँधै नागढुँगाबाट कलँकी आउन तीन घन्टा लाग्ने हो ।

 

 

उही शासकीय संस्कार, उस्तै रवैया । बिगतमा राजाको सवारीमा जस्तो गरिन्थ्यो, अचेल विदेशका ‘बडे ख्वामीत’हरुको सवारीमा त्यस्तै गरिन्छ ।

 

 

पहिला राजतन्त्र केन्द्रमा थियो, त्यसैले उनका अनुचरहरु राजाकै खातिरदारी गर्थे । पञ्चायतकालीन प्रधानमन्त्रीका लागि भारतीय, चिनियाँ, बेलायती या अमेरीकी शासकहरुको ‘गुलामी’ गर्नुपर्ने खासै जरुरत पनि थिएन । बस, राजालाई रिझाएपछि भैगयो । दरबारलाई दाहिना पारेपछि भइगयो । राजारानी नै सवथोक । सोही कारण विदेशीले हेपेमा उनीहरु राजाको मुड बुझ्थे र राजा विदेशी सामु झूक्न नचाहेको खण्डमा पञ्चहरु पनि विदेशी सामु डटेरै उभिन्थे, लम्पसार पर्दैनथे । जस्तो कि हामीले २०४५ सालमा मरिचमान सिंहको निर्भिक र निडर अडान देखेकै हो ।

 

 

चाकडी, स्तुति र गणेश प्रवृत्तिको पञ्चायतकालीन संस्कार आफैमा गलत भए पनि यसको एउटा सकारात्मक पक्ष के थियो भने कुनै पनि अनुचर या शासन वृत्तमा रहेका मानिसहरु कम्तिमा नेपालकै राजा सामु लम्पसार पर्थे । उदाहरणका लागि खेलकूद परिषदका तत्कालिन सदस्यसचिव शरदचन्द्र शाह भुईमा शरीर पुरै लमतन्न पारेर घोप्टो परी राजाका जुनाफमा ढोग चढाउँथे, त्यो त्यसबेलाको ‘लम्पसारबाद’ थियो । त्यो आफैमा उदेकलाग्दो दृश्य भए पनि कम्तिमा शाहले राजाबाहेक अरुलाई त्यसरी ढोगेनन् । उनी कुनै विदेशी राजदूत, विदेशी प्रधानमन्त्री या शासक सामु त्यसरी लम्पसार परेनन् । अर्थात पञ्चायतकालिन लम्पसारबाद स्वदेशमै सिमित थियो ।

 

 

२०४५ सालतिर भारतले नेपालका राजा वीरेन्द्रसमक्ष केही ‘अनुचित’ प्रस्तावहरु ग¥यो । त्योबेला नेपालले चीनसँग हतियार खरीदको प्रकृया थालेको थियो । जसलाई भारतले मन पराइरहेको थिएन । उता, त्यसैबेला भारतले ‘नेपाललाई सुरक्षा छाताभित्र राख्ने’लगायतका प्रस्ताव राख्दै सो कुरामा मन्जुरी जनाएमा पञ्चायती व्यवस्था टिकाइदिने आश्वासन दिएको कुराहरु बाहिर आए । तर, राजा वीरेन्द्रले त्यसलाई मानेनन् । एकै वाक्यमा भन्नुपर्दा राजा भारतसामु लम्पसार पर्न तयार भएनन् ।

 

 

फलस्वरुप, नाकाबन्दी भयो । भारतकै सहयोगमा आन्दोलन पनि भयो । वाममोर्चा र काँग्रेसको आन्दोलन जायज भए पनि त्यसमा भारतको दरिलो भरथेग थियो । आन्दोलन चरम उत्कर्षमा पुगेपछि पनि बारम्बार भारतीय पक्षबाट राजा समक्ष ‘हामीले भनेको मानेमा आन्दोलन रोकिदिने’ खबरहरु विभिन्न च्यानलबाट पठाइएकै हो । तर, यो पँक्तिकारसँग वरिष्ठ राजनीतिज्ञ स्वर्गीय राजेश्वर देवकोटाले बताएअनुसार त्यसबेला राजाले ‘विदेशीहरु सामु झुक्नुभन्दा स्वदेशी शक्तिसामु झुक्नु देश हितमा हुन्छ’ भनेका थिए ।

 

 

नभन्दै, राजा वीरेन्द्र भारतसामु लम्पसार पर्नुभन्दा स्वदेशकै राजनीतिक शक्ति सामु सम्झौता गर्न तयार भए । त्यो उनको राष्ट्रवादी सोच थियो । फलस्वरुप २०४६ साल चैत्र २६ गते राति राजा, बाम र काँग्रेसविच त्रिपक्षीय सम्झौता भयो र बहुदल आयो ।

 

 

त्यतिबेलासम्म नेपालको राजनीति भारतसामु लम्पसार नपरीसकेको अवस्थाबाट अघि बढदैथियो । २०४८ सालको निर्वाचनसम्म नेपालको राजनीति आफ्नै नैसर्गिक निर्णय र आत्म स्वाभिमानका साथ अघि बढयो । तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले संविधान निर्माण र आम निर्वाचन सम्पन्न गर्ने दायित्व कुशलतापूर्वक निर्वाह गरे ।

 

 

२०४८ सालको निर्वाचनपछि विस्तारै नेपाली राजनीतिमा पराइ शक्तिसामु लम्पसार पर्ने प्रवृत्ति देखा पर्न थाल्यो । किशुनजी चुनाव हारे । ‘राष्ट्रिय आत्मसमर्पणबाद र मण्डले राष्ट्रबाद मुर्दाबाद’ भन्ने मदन भण्डारीको दासढुँगामा रहष्यमय दुर्घटनामा निधन भयो । जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहलाई काँग्रेसभित्रै अपमान र उपेक्षा गरियो । मनमोहन अधिकारीलाई अपमानजनक तवरले सत्ताबाट गलहत्याइयो । यति भइसक्दासम्म काँग्रेसभित्र गिरिजाप्रसाद कोइराला र एमालेभित्र माधव नेपाल र केपी ओलीहरुको ‘लम्पसारबादी नेतृत्व’ स्थापित भइसकेको थियो ।

 

 

उता, यही कालखण्डमा ‘भारतीय विस्तारबादविरुद्ध सुरुङ युद्ध’को उदघोष गर्ने प्रचण्ड र बाबुरामहरु पनि भारतकै संरक्षणमा रहेर ‘महान बलिदानी क्रान्ति’ गर्न थाले । काँग्रेस नेता रामहरी जोशी यो पँक्तिकारसँग भन्थे, ‘निर्वासन कालमा हामीले गोजीमा लुकाएर राष्ट्रपुकार पत्रिका लैजादा त सिमामा भारतीय प्रहरीले थाहा पाउँथ्यो, तर नेपालका माओवादीहरु हतियार बोकेर ओहोरदोहोर गर्दासमेत भारतले थाहा नपाउने भन्ने हुँदैन । भारतकै संरक्षणमा उनीहरुले भारतमा शैन्य तालिम गरेका हुन् भन्ने कुरा स्पष्टै छ ।’

 

 

भारतले माओवादीलाई काखी च्याप्नुका पछाडीको एउटा मुख्य कारण नेपालको राजतन्त्र समाप्त पार्नु नै थियो । जुन दिन लाखौं भारतीयहरुलाई नागरिकता दिलाउने खालको नागरिकता विधेयकलाई राजा वीरेन्द्रले अस्वीकार गरे, त्यसैदिनदेखि नेपालको राजतन्त्र समाप्त पार्ने खेल सुरु भएको हो, जसमा माओवादीहरु ‘मोहरा’ बने । अर्थात लम्पासरबादको माओवादी रुप यस्तो रह्यो ।

 

 

नभन्दै त्यही भयो, जुन परचक्रीहरु चाहन्थे । गिरिजाबाबुलाई ‘गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउने’ मोह देखाइयो र काँग्रेसले संवैधानिक राजतन्त्रको लाइन त्याग्यो । बिपी कोइरालादेखि किशुनजीसम्मका काँग्रेसका महान नेताहरुको सोच विपरित गिरिजाबाबु लम्पसारबादी शक्तिको ‘ग्रान्ड डिजाइन’मा परे । उनले त्यसबेला के बुझेनन् भने राजतन्त्र समाप्त पारेपछि शक्ति केन्द्रहरुको तारो स्वयं काँग्रेस हुनेछ र काँग्रेसलाई पनि किनारा लगाइनेछ ।

 

 

आज हामी देख्दैछौं, नेपालका स्थायी शक्तिहरु कमजोर या समाप्त पारिएका छन् । हिन्दु राष्ट्रको गौरव मेटिएको छ । काँग्रेस करीब करीब कोमामा पुगेको छ । राजतन्त्र समाप्त पारिएको छ । अदालतको शक्तिलाई पनि तेजोबध गरिएको छ । नेपालका सुरक्षा निकायमाथि अविश्वास गर्दै विदेशी शासकहरु आफ्नै दर्जनौ सुरक्षाकर्मी बोकेर नेपालमा परेड खेल्न थालेका छन्, जसले नेपाली सेनाको गौरब र सम्मानमा प्रहार गर्ने काम भइरहेको छ ।

 

 

गिरिजाबाबुको शेषपछि यतिबेला प्रचण्ड र ओलीले नै लम्पसारबादी राजनीतिलाई निरन्तरता दिइरहेका छन् । राष्ट्रबादको नक्कली नारासँगै ‘सक्कली लम्पसारबाद’ मौलाइरहेको दृश्य बडा अनौठो र उदेकलाग्दो छ । र त्यसको चरम उत्कर्ष जनकपुरमा मोदीको अभिनन्दन हो, जसले नेपाली राजनीतिको आजको लम्पसारबाद स्वदेशमा मात्र सिमित नरही परचक्रीसम्म फैलिएको स्पष्ट गर्छ । अर्थात माथि भनिए झैं पञ्चायतकालमा लम्पसारबाद राजा राजारानी सामु झुक्नुमा सिमित थियो, आजको लम्पसारबाद मोदी सामु झुक्न थालेको छ ।

 

 

अब कुन लम्पसार बढी असल ? नेपाली शासकहरुले राजासामु झुकेको लम्पसारबाद असल कि मोदीसामु ? शरदचन्द्र शाहको लम्पसारबाद ठिक की प्रचण्ड र ओलीहरुको ? यो प्रश्नले आजका अनुचरहरुको केन्द्र कहाँ हो भन्नेतर्फ संकेत गर्छ । अर्थात नेपालका पहिलेका नोकर या अनुचरहरुको केन्द्र दरबार थियो, आजका अनुचर या नोकरहरुको केन्द्र दिल्ली भएको छ ।

 

 

दरबार केन्द्र हुँदा कम्तिमा विदेशी हस्तक्षेप कमै हुन्थ्यो, दिल्ली केन्द्र हुँदा नेपालको समग्र ‘माइक्रो मेनेजमेन्ट’ दिल्लीबाटै हुन थालेको छ । यही हो, आजको लम्पसारबादको बिडम्बना । शरदचन्द्र शाहभन्दा गए गुज्रेका आजका शासक नेताहरुबाट तपाइ हामीले के आश गर्ने ?