मोदीजी, नाकाबन्दी कसरी बिर्सनु !

बिमस्टेक  बैठक आयोजक हुनुको नाताले मोदी आउँदा एउटा विशिष्ट पाहुनाका  रूपमा राज्यले गर्नुपर्ने औपचारिक  स्वागत आफ्नो ठाउँमा  छ तर ,नेपाली जनमानसले दिलदेखि गर्ने स्वागत, सत्कार र आतिथ्यबाट भने उनी वन्चित भए ।

 

 

 

 

दोधार मनस्थितिमा छौ, हामी नेपाली । मोदीलाई स्वागत गरौ कि बिरोध । बिरोध गर्नुको नैतिक हक पनि छैन अनि स्वागत नगर्नुको परम्परागत संस्कारले  पनि  दिदैन । पाहुनालाई स्वागत गर्नु परम्परागत संस्कार र आधुनिक समाजको शैली भए पनि हृदयदेखि नै स्वागत गर्न दिल खुशी छैन । हिजोको कठिनभन्दा कठिन नाकाबन्दीको झल्को त्यसले पारेको आर्थिक र सामाजिक असर परिवार र समाज विघटनको प्रभावले मन मस्तिष्क नै रुम्मली रहेकोे छ । मनमा एउटा आक्रोशको ज्वाला दन्कि रहेको छ, म पनि केही हुँ, हामी नेपालीको पनि स्वाभीमान र आत्मसम्मान छ भन्ने एउटा अन्तर हृदयदेखिको इगो छ । जागृत भाव छ । तर, अर्कोतिर आफुले केही गर्न नसकेको र केही गर्न नै नखोजेको लघुताभाष  पनि छ । सिधा आँखा जुधाएर हेर्न नसकेको परिस्थिति पनि छ । यस्तो द्वैध मनस्थिति भएर म बाचेको छु, मेरो देश खडा भएको छ ।

 

हुनत सबैभन्दा महत्त्वपूर्ण र गतिलो अनि तागतिलो शिक्षा खराब मान्छे र दुष्ट आचरण भएकोे मान्छेले सिकाएर जान्छ, त्यसैले जिन्दगीमा शिक्षा लिनको लागि, गतिलो पाठ सिक्नको लागि खराव मान्छेको धोका, बेइमानी, धृष्टता र कुकर्म यथेष्ट हुन्छ जुन अनुकरण गर्नको लागि होइन  ‘लेसन’ लिनको लागि आवश्यक हुन्छ । मोदीले हामीलाई ठिक समयमा ठिक पाठ पढाएका हुन भलै हामीले ठुलो दुख, अभाव र पिडा झेल्नु पर्यो।  अनगिन्ती समस्याको पहाड उकल्नु पर्यो।  दुखको महासागरमा हेलिनु र चोप्लिनु पर्यो तर, पनि हामीलाई हाम्रो हैसियत र क्षमता अनि आफ्नो ल्याकत मापन गर्ने अवसर मिलेको हो । हामीले जति बुझ्यौ जे बुझ्यौ तत्काल र तत्क्षणको लागि मात्रै बुझ्यौ, केही समय तात्यौ, आवेगमा आयौं , भावनात्मक भयौं।  तर, दीर्घकालिन सोच र दुरदर्शिता प्रदर्शन गर्न सकेनौं । आवेसात्मक, भावात्मक बन्यौ तर, ब्यबहारात्मक बनेर तदनुकुल परिवर्तन गर्न सकेनौ । सुधार गर्न अल्छि गर्यौ । मच्चिएपछि त्यसै थच्चिनु हुन्थेन हामी त विना परिणाम थच्चियौ । दुख छिटो भुल्ने र क्षमाशिल हुनुको कारण सबै कुरा चाडैं भुल्छौ । भुल्ने कुरा भुलेर नभुल्ने कुरा नभुल्नु पर्नेमा प्रायः सबै भुल्छौ ।

 

 

हामीले पटकपटकको नाकाबन्दी र आफूमाथीको भारतीय रवैया र अत्याचार पनि भुल्यौ । चोट सहने र भुल्ने बानीले हामी नभुल्ने कुरा छिटो भुलेर हैरान छौ । हामीले अरुलाई सराप्न र धारे हात लगाउन जति छिटो सक्छौ त्यति छिटो हाम्रो हात पाखुरी यो माटाको सिर्जनात्मक क्षमता बिकासको लागि खियाउन जानेको भए, कति राम्रो हुन्थ्यो । हाम्रो खेत वारी  बाझो राखेर हामी अनुदानको चामल पिठोको लागि हात पसार्छौ, गर्दन झुकाउछौ अनि हामीलाई नहेपे कसलाई हेप्नु ?  केही सिट छात्रवृत्तिको लागि आफ्नो स्वाभिमान बन्धक राखेर प्रधानमन्त्रीदेखि मन्त्री सांसद र दलका नेताहरू दूतावासको ढोका ढोकामा देउसी खेल्न पुगेपछि हामीलाई हेपे भनेर रोइकराइ गर्नुको अर्थ र मतलव के हुन्छ ?  गाउँमा एउटा एम्बुलेन्सको लागि राजदुतको चाकरी गर्ने, राजदुतको दैलो चहार्दै हिड्ने बानी अब दक्षिण हुँदै उत्तरी छिमेकीतिर सरेको देखिदैछ, यसले हामीलाई कता पुर्याउछ ?

 

 

हाम्रो स्वाभिमान सर्वत्र बन्धक हुदैछ । एकातिर बन्धक भएको स्वाभिमान अर्को तिर बन्धक हुनु चै कति जायज हो ? खै हाम्रो दृस्टी  ?  पर निर्भरताको दुश्कचक्र तोडनु भनेको वल्ला घर नरे पल्ला घर सरे मात्र हो ?  एक छिमेकी घुर्क्याएर अर्को छिमेकीको शरणमा जानू हो ?  खेतवारी  खोरिया हराभरा बनाउने बिदेशी भुमिमा श्रम र पाखुरी खर्चेर बस्ने झन्डै पचास लाख युवा आकर्षण गर्ने सरकारी नीति खै ?  कुनै समय धान गहुँ निर्यात गर्ने हामी आज चामल अनुदान माग्ने स्थितिमा छौँ । कृषिप्रधान देशमा कृषिले धान्ने अर्थतन्त्र खोक्रो छ । लसुन, खोर्सानी, प्याज जो हाम्रै करेसा बारीमा सजिलै फलाउन सकिन्छ, आफुलाइ खान मात्र हैन बिक्रीवितरण गर्नसमेत पुग्ने फलाउन सकिन्छ।  तर, यस्ता कुराको प्रमोट गर्ने सरकारी नियम कहाँ छ ? कृषिको आधुनिकीकरण, बैज्ञानिकरण, बजारीकरण र औधोगिकरणको दीर्घकालीन नीति लक्ष्य र सोच खै ? कृषिमा आउने अनुदान सबै गैर कृषक राजनीतिक दल र तिनका आसेपासेमा सिमित हुन्छ ।

 

 

कृषकले पाउने भनेको त असमयमा चर्को मुल्यको बीउ बिजन र मल खाद मात्र हो ? ६ प्रतिशत ब्याजदरमा लोन मात्रै घोषणा भयो खै कार्न्यवयन ?  किन बैंकको लोन झन्झटिलो हुन्छ ?  बिलासी गाडी किन्न लोन दिन रुचाउने बैक लाई कृषिमा लोन दिलाउन किन नीति बनेन ?  अनि कसरी हुन्छ कृषिमा आधारित अर्थतन्त्र मजबुत ?  खेतवारी  बाझो राखेर सबै किनेर खाने वृत्ति र प्रवृतिको बिकास भएपछि कसरी सम्मुन्नत नेपाल बन्न सक्छ ?  हामीसग जे छ, जुन चिजको सम्भावना बढी छ त्यसलाई धरासायी बनाएपछि हामी कसरी परनिर्भरताको कुचक्र तोडन सक्छौ ?  छिमेकीलाई गाली गर्छौ तर, उसकै तरकारी अन्नवाली नभए हाम्रो मुखमा माड लाग्दैन ।   उत्पादन छैन आयात सबैथोक प्रायः एकै देशबाट तर, पनि उसले रोकीदिदा हामी सराप्छौ । उसले तरकारी पठाउदैन भने हाम्रो भान्सा अपुरो हुन्छ । उसको गोलभेडा खाने लसुन, खोर्सानी, माछा मासु आयात गर्ने अनि उसलाई गाली गर्ने ।

 

 

हामीसग फलफुल अन्न्पात तरकारी प्रसस्त फल्ने जमिन छ तर सिर्जनात्मक जागर छैन जागर गर्नेलाई पनि प्रेरित र प्रोत्साहित गर्ने ठुलो छाती छैन, वातावरण छैन अनि कुन र के आधारमा समृधिको नक्शा पास हुन्छ ? नारा लगाएर समृधि फल्दैन, अल्छि गरेर माटाे उर्वर हुँदैन । माटाको उर्वरता बढाउन दिमागमा नेपाल समृध  बनाउने सपना हुनुपर्छ । हामी आत्मस्वाभिमानमा चोट लाग्दा सराप्छौ रुन्छौ कराउछौ, बहुलाउछौ तर, किन हामीलाई चोट लाग्यो यसको निराकरण गर्न हामीले गर्नुपर्ने के हो त्यो चाहिँ गर्दैनौ । अरुलाइ सराप्ने र आत्मसम्मानमा चोट लाग्यो भनेर रुने समय करेसावारी  खन्न र गोडन मात्रै खर्चियो भने भान्सामा लसुन प्याज किन्नु पर्दैनथ्यो । हेक्का हुने कुराको राख्नु पर्नेमा नहुने कुराको हेक्का राखेर हामी दुखी छौँ ।

 

 

बिमिस्टेक सम्मेलनमा आउने सबै पाहुना हाम्रा लागि आदरणीय छन, सम्माननीय छन।  कसैप्रति पनि अनादर हाम्रो संस्कार होइन।  तथापी भारतीय प्रधानमन्त्री मोदी प्रती सारा नेपालीको ध्यान केन्द्रीत हुन्छ  कारण मोदी र उनको प्रवृति प्रती सारा नेपाली जानकार छौं । मोदीले हामीलाई भुकम्पले थिल्थिलो पारेर यसो उठन मात्र खोजेको बेला जे गरे जसो गरे सो जगजाहेर छ र त उनीसग बिबादास्पद सम्बन्धमा छौ हामी । एउटा संयोग उनी आफ्नो पाँच बर्से प्रधानमन्त्रीत्वकालको चार वर्ष पुग्दा चारपटक नै नेपालको भ्रमण गर्ने संयोग जुराउदै छन् ।  छिमेकी हुन आउछन्, जान्छ्न यो साधारण कुरा होइन कुटनीतिमा यसको विशेष महत्त्व र गरिमा हुन्छ । मोदी स्वयं आफू हामीलाई बिझाउने गरि केही भन्दैनन बरु एउटा धार्मिक आध्यात्मिक गुरु झै मन्त्र मुग्ध पारेर सबैको ध्यान आफुमा खिच्ने क्षमता देखाउछ्न । उनको वाककला र चातुर्यता अघि हामी सारा नेपाली नतमस्तक हुन्छौ । मोदी कुटिल छन उनको चातुर्यता त्यतिबेला साधु बिरालोको कशम भयो जतिबेला हामीले अमानवीय नाकाबन्दीको सामना गर्नुपर्यो।
त्यसैले मोदी आउँदा एउटा बिशिष्ट  पाहुनाको रूपमा बिमिसटेक  बैठक आयोजक हुनुको नाताले गर्नुपर्ने औपचारिक राज्यको स्वागत एक ठाँउमा छ, तर नेपाली जनमानसले दिलदेखि गर्ने स्वागत, सत्कार र आथित्यबाट भने उनी बन्चित नै भएका छन्भन्दा केही फरक पर्दैन । दुखेको दिल लिएर स्वागत कसरी गरौ ? भारी मन बोकेर खिन्न हासो देखाएर स्वागत कसरी बोलौ ?  मोदी जी आउनु भयो, तर हामीले नाकाबन्दी भुलेका छैनौं र भुल्दैनौ पनि । मानवता तपाईंले भुल्नु भयो तर, हामी सबथोक भुलेर पनि मानवीयता भुल्दैनौ किनकी हामी नेपाली हौं।
हामीलाई हाम्रा अग्रजले मानवता भुल्ने संस्कार सिकाएका छैनन् बरु मानवता ब्युताउने, मानवीय चरित्र र गुण सिकाएका छन् । यद्यपि हामी कमजोर छौं तपाईंसग बल र बुताको कुरा गर्न सक्तैनौ तर, पनि नैतिकता र ईमानका कुरा आखा मा आँखा जुधाएर गर्न सक्छौं । हो हामीलाई हाम्रो अल्छेपन र प्रवृत्तिप्रति  खेद छ , कुरा मात्रै गरेर काम गर्न नसकेकोमा हिनता छ तर गरिब हुनुको दुखले अपमानित हुनुपर्छ भन्ने चै लाग्दैन । गरिब, रोग, भोक अपमान र हेलाको विषय होइन, यो हटाउन सकिन्छ र सक्छौ पनि । सार्वभौम देशका नागरिक हौ भुगोल सानो हुदैमा सानो र भुगोल र सिमा फराकिलो हुदैमा ठुलो र असल हो भन्ने भ्रम हामीमा छैन र तपाईंले पनि यो भ्रमबाट अब मुक्त हुनुपर्छ । हामी आपसी भाइचारा, एकता, समानता र विश्वासको आधारमा मित्र शक्ति बन्न चाहन्छौ नकि दुर्वल र निमुखा छिमेकी।
हामीसग जे छैन त्यो तपाईसग हुनसक्छ, तपाईंसग जे छैन त्यो हामीसग हुनसक्छ तसर्थ सबै कुराले सम्पन्न र पुर्ण तपाई पनि हुनु हुन्न हामी पनि छैनौ त्यसैले ठुलो, सानो, गरिब धनीको भेद छोडेर मित्रताको हात हामी फैलाउछौ तपाईंको अंकमाल गर्न आउनुस । बिगत तपाईं पनि सच्याउने प्रयत्न गर्नुस हामी पनि कमी कमजोरी हटाउने संकल्प गर्छौ । हामी मनमा इख लिएर विषले डस्दैनौ बरु आत्मास्वाभिमानमा लागेको धक्का रचनात्मक भएर देशको कायापलट गरेर बदल्ने पवित्र संकल्प गर्नेछौ । हामी तपाईंको साथ लिन चाहन्छौ ।  तपाईंसग जुधेर हामीलाई पुग्दैन र सक्तैनौ पनि । एकता र विश्वासको बलियो डोरी बाटेर संगसगै समृधि  र शान्तिको यात्रा तय गरौ ।