डम्फू बजाई नाचौँ नाचौँ …

 

 

पोहोर सालदेखि सुरुङ्ग मार्ग, रेल, पानी जहाज, ग्यासका पाइप, चीन जोड्ने सडक  जस्ता पूर्वाधारहरू विकासका नयाँ परिभाषा बनेर नेपाल भित्रिएका छन ।

 

 

 

 

झिल्के नाचेको देखेर, डम्फू बजाई नाचौँ नाचौँ लाग्दैछ

 

 

तीन दशकअघि रेडियोमा खुबै सुनिन्थ्यो, हिरादेवी वाईवाको यो गीत । मेरो बाल मस्तिष्कले तामाङ सेलोको यो लयको स्वाद लियो होला, तर शब्दले मन छुने कुरै भएन । म तन्नेरी हुँदा पप सङ्गित र एफएम रेडियोको साम्राज्य फैलिएसङ्गै समाजको चरित्र, हाम्रा संस्कृति, भाषा प्रयोग आदिमा भएका मौलिकता विस्तार विस्तार हराउँदै गए ।

 

 

झण्डै ३० वर्षअघि पूर्वी पहाडी दूर्गम गाउँमा न ‘झिल्के’को राम्रो परिभाषा थाहा थियो, न डम्फू नै देखेको थिएँ । मैले स्नातक पास गरेर सहर पसेको यो वर्ष रजत जयन्ती हो । २५ वर्षअघि ढाका टोपीबाट बाहिर निस्किएको आधा फिटभन्दा लामो टुप्पी हलाउँदै काठमाण्डु छिरेको ममा आधुनिकताको प्रभाव यति छिटो परेछ कि गाउँका धेरै सम्झना विस्मृतिमा गै सके । मेरा साथी फरक भए, गफका विषय वस्तु फरक भए र गफको भाषासमेत विस्तारै फेरियो ।

 

 

कहिले काहीँ गाउँबाट मान्छे आउँदा सोध्छु गाउँतिरको हालचाल । म यता आएर फेरिएँ, गाउँ त्यहीँ रहेरै फेरिएछ । जिल्लाको अन्न भण्डार मानिने मेरो गाउँ सदरमुकाममा खाइने चामलको आधाभन्दा बढि आपूर्ति गर्ने गर्दथ्यो । अहिले सिम खेत पनि बाँझै छन रे । म जस्ता पढ्न सहर पसेका कोही गाउँ फर्किएनन, मेरो छिमेकका भाईहरू अरब गए, फर्किँदा गाइघाट, बेल्टारतिरै अड्किए । राई गाउँका साथी बेलायती कि भारतीय सेनामा गए, फर्किँदा धरानमै रोकिए र बेलायती सेनाका अधिकांस बेलायततिरै फर्किए । गाउँ अव ‘पौरखी सन्तान’ जन्माउँन नसकेका बुढापाका र केही महिला अनि केटाकेटीको जिम्मा छ । अत्यन्त दरिलो अटेमार्सी धान फल्ने ठाउँमा अहिले मधेशको सबैभन्दा निम्न कोटीको ‘हात्ती छाप’ चामल जान्छ ।

 

 

‘पौरख’को अर्थै फेरिएको छ । मेरा हजुरबाले एक टुक्रा जग्गा पनि बाँझो राखेनन । गोरु नपुग्ने ठाउँमा कोदालोले छेउकुना खन्थे । दुई बोट मकै उम्रने फगटा र गोरु नपस्ने सुर्कासमेत कोदालोले खन्थे । उनी पौरखी थिए ।

 

 

राई गाउँका साथीहरू १५-१६ बर्षमा लाहुर जान्थे । २८-२९मा पेन्सनमा निस्कन्थे । गफ गर्दा पनि बसेर होइन बारीमा काम गर्दागर्दै गर्थे, केटाकेटीलाई सफाईमा परिचालन गर्थे, युवालाई आँगनमा ‘ह्याभिङ्ग’, ‘सेटअप’ र ‘पुशअप’ गराउँथे, गलाएर, थकाएर अपराधकर्म गर्न त के सोच्नसमेत समयसमेत दिन्नथे । दिमाग कुनै सिर्जनात्मक काममा लगाईदिन्थे । वास्तवमा लाहुरेहरू पौरख मात्रै होइन अनुशासनरत सभ्यताकै लागिसमेत समाजका ‘रोल मोडल’ थिए ।

 

 

पौरखी हजुरवाका नाति, हाम्रा लागि ‘पौरख’ अर्कै भयो । पढ्यौँ, अर्काकोमा जागिर खायौँ । कोही अरब गयौँ, अर्कैको सेवा गर्यौँ । अर्काको देखासिखी गर्यौँ , कि धनीका छोराको कि धनी देशका साहूका छोराको । लाहुरेका पनि त्यस्तै सन्तान निस्के । कि पढेर सहर पसे, कि जागीर खोज्न मुग्लान पसे । पौरखी हातहरू अव बुद्धिले थोरै काम गरेर धेरै धन कमाउनेतिरै लागे ।

 

 

जो गाउँ बसे तिनले शहर पस्नेको नक्कल गरे । पौरखी हातले कमाएर पठाएको अलिअलि पैसोले भने गाउँमा केही झिल्केहरू जन्मे, पौरख नगर्ने, तर झिलिक्क हुनु पर्नेहरू । अर्काको नक्कल गरेर सुसंस्कृत जस्ता देखिनेहरू अव समाजको ‘रोल मोडल’ हुन पुगे । झिल्केहरू हाट बजार गए, तरूनी-तन्नेरीवीच दोहोरी गाए, नाचे । हाम्रो समाज झिल्केहरूको तुरुन्तै नक्कल गर्ने समाज हो । जसको खाँटी, जैविक बुद्धि छ, ति परम्परावादी, रुढगत लागे र अरूका समृद्धिले हामीलाई तुरुन्तै आकर्षण गर्यो ।

 

 

स्वर्गीय वाइवाको २०३० र ४० को दशकका धेरै गीतले काठमाण्डुको सहरिया जीवनलाई उपत्यका वरिपरि डाँडामा बसेर नियाल्छन । ति मध्येको यो गीतमा भनेझैँ पक्कै झिल्के नाचेको देखेपछि हिरादेवी वाइवालाई पनि डम्फू बजाएर झिल्केको नक्कल गर्न मन लाग्यो होला ।

 

 

अरूसङ्ग भएको शीप र ज्ञान सिकेर आफ्नो परिवेशमा ढाल्नु र कुनै झिल्केले गरेको कामको नक्कल गर्नु दुई नितान्त फरक कुरा हुन । नेपालको एउटा ठूलो बौद्धिक समस्या भनेकै ‘नक्कल’लाई पनि ‘सिकाई’ भनेर भट्ट्याई रहेका छौँ । हाम्रा अभ्यासबाट के सिक्यौँ भन्ने भन्दा अर्काले के राम्रो गरे भन्ने कुराले हामीलाई छिटो आकर्षित गर्छ, प्राज्ञिक होस वा प्रशासनिक वा विकास, सबै क्षेत्रमा ।

 

 

आज मैले गर्न खोजेको गन्थन हामीले सिकेका ‘झिल्के’ विकासका कामहरूमा केन्द्रित छन । विकास के हो भन्ने विषय अझै पनि बहसकै क्रममा छ । एउटालाई लाग्ने विकास अर्कालाई विनाश लागिरहेको हुन्छ । अर्थात विकासको विश्वब्यापी सर्वस्वीकार्य परिभाषा नै फेला परेको छैन । कुनै झिल्केले केही देख्छ र नक्कल गर्न खोज्छ, हामीले त्यसलाई विकासको रुपमा बुझि दिन्छौँ । जङ्गबहादुर राणा यूरोपबाट फर्किएपछि यूरोपेली ढाँचाका महल बनाए । त्यसलाई विकास भनियो, वीरशम्शेरको पालामा अस्पताल विकास बन्यो, देवशम्शेरको पालामा शिक्षालाई विकास भनियो । चन्द्र, भीम र जुद्धशम्शेरका पालामा बिजुली बाल्नुलाई, पाइपको पानी ल्याउनुलाई र सडक तथा रज्जुमार्ग बनाउनुलाई विकास भनियो ।

 

 

बाहिरको नक्कल गरिए पनि महल, स्कूल, सडक, पानी, बिजुली समाजको आवश्यकतासमेत भएकाले जनताले विकासकै रुपमा बुझे, जस्तो यिनको विश्वब्यापी बुझाइ छ । राजाका, काङ्ग्रेसका, पञ्चका, कम्युनिष्टका आआफ्ना निश्चित विकास प्राथमिकता थिए । तिनलाई हामी विनापूर्वाग्रह विकासकै रुपमा बुझ्छौँ । किन कि ति हाम्रो आवश्यकतासङ्ग जोडिएका थिए ।

 

 

तर, नेपालको सन्दर्भमा विकास के हो र तत्कालीन आवश्यकता के हो भन्ने कुरा झिल्के नेताका राजनैतिक स्वार्थले परिभाषित हुँदै आएका छन । महेन्द्रको परिभाषामा विकास भनेको चीन जोडने सडक र चुरेको काँठकाँठैहुँदै मेचीदेखी महाकाली जोड्ने बाटो थियो । उत्पादनमूलक उद्योग थिए, वीरेन्द्रको पालामा गाँस, बास र कपास अनि शिक्षा, स्वास्थ्य र सुरक्षा जस्ता आधारभूत आवश्यकताको पूर्ति विकासको नयाँ परिभाषा भएर आयो । पञ्चका लागि हरेक वडामा एउटा प्राथमिक स्कुल खोल्नु विकास थियो । अहिले तिनलाई गाभेर क्षमतावान स्कूल बनाउनु विकास भयो ।

 

 

गिरिजाप्रसाद कोइरालाको सरकारले ७० प्रतिशत बजेट गाउँ पठाउँदा विकास देख्यो । एमालेले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भनेर जनपरिचालन गर्दा र बुढाबुढीलाई नगद वृद्ध भत्ता बाँड्दा र बाबुराम भट्टराईले चौडा बाटो र समृद्ध सहरमा विकास देखे । पोहोर सालदेखि सुरुङ्ग मार्ग, रेल, पानी जहाज, ग्यासका पाइप, चीन जोड्ने सडक जस्ता पूर्वाधारहरू विकासका नयाँ परिभाषा बनेर नेपाल भित्रिएका छन ।

 

 

प्रधानमन्त्रीदेखि प्रदेशका मूख्यमन्त्रीसम्मले छ–आठ महिना यिनै मन्त्रोच्चारणमा दिन ब्यतित गरेका छन ।

 

 

यतिसम्म त ठिकै छन, गर्न कै लागि गफ गरिएका हुन वा ‘प्रोपागाण्डा’ नै किन नहोऊँन । आवागमन र आपूर्ति सहज बनाउन, बैकल्पिक आपूर्ति मार्ग खुला राख्न सुरुङ्ग, रेल, जहाज आदि जस्ता बिकल्प खोज्नु ठिक्कै हो । तर, यहाँ त नयाँ विकासवादीहरूले खेतको कान्लै पिच्छे अन्तरराष्ट्रिय विमानस्थल, पहाडको टाकुरै पिच्छे केवलकार, सहरै पिच्छे मेट्रो रेल, खोल्सै पिच्छे बिजुली र गाउैँ पिच्छे राजमार्गको कुरा गरेर हैरान पारि सके ।

 

 

हुँदा हुँदा अन्नपूर्ण सर्किटमा केवलकार बनाउने, थोराङ्गपासबाट मुक्तिनाथतिर बाटो जोड्ने वा रिङ्गरोड बनाउने, सगरमाथाको आधार शिविरसम्म केवलकार बनाउँने जस्ता सिर्जनशील विकासका अवधारणा लिएर आउन थाले, हाम्रा विकासे नेताहरू । वीरेठाँटीदेखि मुक्तिनाथसम्मको केवलकारको लागि त लगानी बोर्डले सम्झौता नै गरि सकेछ ।

 

 

अन्नपूर्ण सर्किट के का लागि प्रख्यात छ, यसको विशेषता केहो भन्ने कुरा झिल्के विकासवादीहरूलाई पक्कै थाहा होला । यो विश्वको सबैभन्दा प्रख्यात मध्येको ‘पदयात्रा मार्ग’ हो कि मुक्तिनाथ बाबाको दर्शन बृद्धबृद्धा पुग्ने बाटोका लागि प्रख्यात भएको हो यो बाटो ? मुस्ताङ्ग–लोमान्थाङ्ग सडक राष्ट्रिय आवश्यकता हो, त्यसैले यसले ध्वस्त पारेको पदमार्गलाई वरू कालीगण्डकीको पूर्वी तटतिर कसै सारेर जोगाउँन सकिन्छ । सगरमाथाको टुप्पोमा पुगेपछि मोक्ष मिल्छ भनेर मान्छे चढ्न थालेका भए हेलिकप्टरबाट लगे पनि, केबलकार बनाइदिए पनि हुन्थ्यो, तर शाहसको परीक्षण गर्ने सगरमाथाको मौलिकता बँच्ला र ? त्यस्तै पोखरा शहर ताल र हिमालको संयोजनले प्रख्यात बनेको हो । गगनचुम्बी घरले हिमाल छेक्नुलाई बिकास मान्नु र ?

 

 

अघिल्लो हप्ता काठमाण्डु र ललितपुरका प्रमुखसहित उपस्थित एउटा कार्यक्रममा चक्रपथ घुम्ने मोनो रेल तीन वर्ष भित्र बन्ने खालको गफ चल्दैथे । कुरा सुन्दा मलाई हाँसो उठ्यो । तिनलाई रिङ्गरोड फनपार्क जस्तो लागे छ, माथि एक खर्ब १६ अर्ब लागतमा बनेको रेलमा चिजवलका पोका दिएर बच्चा चढाउँने, तल बावुआमा गाडीमा ‘हाई’ भन्दै हात हलाउँदै पछ्याउँने । देश बिग्रिएकै यस्तै ’कट्टुफाटेको छ, टोपी किन्न दान थाप्ने’ मानसिकताले गर्दा हो । ३ बर्ष भित्र चक्रपथ ८ लेन बन्छ, त्यसपछि मोनो रेलको चक्रपथमा के काम ? यदि आबश्यकता नै हो भने पनि बुढानिलकण्ठदेखी सातदोवाटोसम्म बनाए भयो । सल्लाघारीबाट थानकोटसम्म बनाए भयो । चावहिलदेखी बल्खुसम्म बनाए भयो नि । जहाँ समृद्धिका लागि खर्च गर्नुपर्ने करौडौँ रुपैयाँ ब्रेक हानेर एक्स्लेटेर थिच्दा दैनिक हावामा उडिरहेको छ ।

 

 

ति रुटमा बनाउँन जग्गा छैन भनेर बहाना खोज्लान । म देखाइ दिन्छु सरकारले पाँच पैसो नतिरी जग्गा प्राप्त गर्न सक्ने तरिका । सल्लाघारीदेखि पश्चिम हानिएको खोला बल्खु पुग्छ । बल्खुदेखि अर्को खोला कलङ्की पुग्छ । रिङरोड पछ्याए पनि ३ किलोमिटर मात्रै छ, कलङ्की पार गर्न । महाराजगञ्जबाट अहिलेकै सडक पछ्याए नि हुन्छ । बालाजु आएर बिष्णुमति पछ्याए पनि हुन्छ । खोलाको दुईकिनारामा कम्तिमा १०० मिटर सरकारी जग्गा छन ।

 

 

हाम्रा विकासे नेता र कर्मचारी के सोच्दा हुन विकास के हो भन्ने’bout ? ‘प्रोजेक्ट’ सहि गर्ना साथ आउने १÷२ प्रतिशत कमिशन, ठेक्का लाग्दा आउने २९ प्रतिशत कमिशनको हिस्सा र त्यसपछि प्रोजेक्टका हरेक चरणमा आउने नियमित कमिशनले उनीहरूको आँखा टालिदिएको हुन्न भने कम्तिमा समृद्ध देखिन चक्रपथमाथि गुड्ने मोनोरेलभन्दा दिनहुँ एक घण्टा जाममा बस्नुपर्ने थापाथली पुल र कोटेश्वर चोकको विकल्प खोज्थे । दुई घण्टा जाम हुने कलङ्की चोकको विकल्प खोज्थे ।