संविधानको ‘मार्सी फल’

 

 

सुनकाण्डका आरोपी प्रहरीलाई पनि संविधानको फलको स्वादबाट बञ्चित गरिएन, धमाधम रिहा भइरहेका छन् । यस्तै हो भने कुन दिन चार्ल्स सोभराजले पनि संविधानको फल चाडै चाख्न पाउँलान् जस्तो छ ।

 

 

 

 

संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेछन्, ‘संविधानमा फल लाग्ने बेला भो ।’

 

 

प्रधानमन्त्रीले ठाडै कुरा लुकाए । खासमा संविधानमा फल पहिल्यै लागि सकेको हो । नेताहरुले ‘फास्ट ट्रयाक’ प्रविधिबाट रोपेको संविधानमा निर्माणताका नै लटरम्म ‘हाइब्रिड’ फल लागेको थियो । मधेशी, जनजाति आदिका एजेण्डालाई थाति नै राखेर फटाफट उब्जाइएको संविधान रुपी बालीमा जुन फल लाग्यो, त्यो फल टाठाबाठाहरुले मात्र चाख्न पाए ।

 

 

जसरी तीस वर्षसम्म पञ्चायती संविधानको फल पञ्चहरुले मात्र चाखे, जसरी २०४७ सालको संविधानको फल काँग्रेस, एमाले र राप्रपा आदिले चाखे, त्यसै गरी नयाँ संविधानको फल पनि दल र सत्ताको इर्द गिर्द ‘भन्किने’ नवएलिट बर्गले मात्र चाखेकाले जनतासम्म त्यो पुग्नै पाएको छैन ।

 

 

संविधान निर्माण हुनासाथ केपी ओली प्रधानमन्त्री भए, जुन उनले चिताएको कुरै थिएन । ‘बयलगाडा चढेर गणतन्त्र आउँदैन’ भन्ने ओलीलाई आखिर त्यही गणतन्त्रले प्रधानमन्त्री बनाइदियो । त्यो पनि एक पटक हैन, दुईदुई पटक । संविधानको सबैभन्दा स्वादिलो फल त धेरैजसो ओलीले नै चाखे र चाखि रहेकै छन् । जसको स्वास्थ्य उपचारकै लागि राज्यको करोडौं लगानी हुन्छ, उसले संविधानको स्वादिलो फल मजैले चाखेको मान्नुपर्छ । यो त राजफल नै हो, जसको स्वाद चाख्न पाउँनु ऐरे गैरे नत्थु खैरे गरिब जनताको भाग्यमा कहाँ लेखेको हुन्छ र?

 

 

कोही दुईदुई पटक प्रधानमन्त्री, कोही दुईदुई पटक राष्ट्रपति । कोही बारम्बार मन्त्री र साँसद । यो सब संविधानकै फल होइन र ?

 

 

सात जना मुख्यमन्त्री भएका छन् । सयौं प्रदेश सरकारका मन्त्री भएका छन् । ति सबैका लागि गाडी, बँगला र तलब भत्ताको जुन व्यवस्था भइरहेको छ, त्यो पनि संविधानकै फल त हो नी । आज मुलुकमा विभिन्न तहमा ७६१ वटा सरकार छन् । केन्द्रका दुइ संघीय सांसददेखि सात प्रदेशका संंसदहरुका लागि तलब, भत्ता, सुविधाको भरपुर व्यवस्था छ । स्थानीय निकायका मेयर, उपपेयरदेखि अन्य प्रतिनिधि करोडौंका गाडी चढन पाएका छन र संविधानको रसिलो स्वाद चाखिरहेका छन् ।

 

 

यतिबेला सत्तारुढ दलका अध्यक्ष प्रचण्ड भारत भ्रमण भ्याइवरीकन चीन भ्रमणसमेत भ्याएर फर्किसकेका छन् । नाती नातीनासहितको उनको यो मनोविनोदी विदेश घुमाई जारी छ । उपराष्ट्रपति पनि चीन भ्रमणमै छन् । सत्तारुढ दलकै नेता माधव नेपाल घाना भ्रमणमा गएका छन् । केही सममयै प्रधानमन्त्री अमेरीकादेखि कोष्टारिकासम्मको भ्रमणमा जाँदैछन् । सत्ता सुखको रसपान गर्दैै देश विदेश घुम्न पाउँनु पनि यहि संविधानकै फल त हो ।

 

 

केही समयअघि ओलीले प्रधानमन्त्री निवास बालुवाटारमै ओलीहरुको वंश भेला गरेर संविधानको फल मजैले चाखेका थिए । वालुवाटारमा प्रायः भोज भइरहन्छ र ती भोजको मिष्ठान्न ‘डेजर्ट’ भनेकै संविधानको फल हो, जुन आम जनताको शौभाग्यमा लेखेकै छैन । बालुवाटार र शीतल निवासमा सत्ता इर्दगिर्दका मानिसलाई तीजको दर खुवाइन्छ । संविधानको मिठो फल चखाइन्छ, जुन आम गरिब जनताको पहुँचभन्दा परको कुरा हो ।

 

 

संविधानको फल पाउनेले अपराधबाट पनि मुक्ति पाउँदा रहेछन् । बालकृष्ण ढुँगेलले संविधानको फल पाइहाले, रिहा भइहाले । फुजेल हत्याकाण्डका आरोपीलाई संविधानको फल चखाइयो, मुक्ति पाइहाले । सुनकाण्डका आरोपी प्रहरीलाई पनि संविधानको फलको स्वादबाट बञ्चित गरिएन, धमाधम रिहा भइरहेका छन् । यस्तै हो भने कुन दिन चाल्र्स सोभराजले पनि संविधानको फल चाख्न नपाउँलान् भन्न सकिन्न ।

 

 

तर, संविधानको फल चाख्न नपाएकाले निर्दोष मानसिक रोगी दिलिपसिंह बिष्ट पक्राउ पर्छन् । राजनीतिक मुद्दा उठाएर विरोधमा उत्रिएका प्रकाण्डसम्म त संविधानको फल पुग्ने चान्स नै भएन, उनलाई अदालतले रिहा गरेपछि पनि पक्राउ गरिन्छ । उनका कार्यकर्तालाई यातना दिएर राखिन्छ । निर्मला पन्तका बलात्कारी र उनका मतियारसमेतले संविधानका फल चाख्न पाएका छन् र उन्मुक्ति पाइरहेका छन् । तर, त्यो फल बलात्कृत चेलीका माता पितासम्म पुग्दैन र उनीहरुले न्याय पाउँदैनन् । न्यायका लागि काठमाडौंसम्म आउनुपर्छ । अनि शासकहरु फल डकार्दै भन्छन्, ‘घर जानुस्, सब ठिक हुन्छ ।’

 

 

सर्वसाधारण यात्रुले संविधानको फल पाएर यसो सिण्डिकेटबाट मुक्ति पाउँन लागेका थिए, शासकहरुले त्यो फल जनताको मुखैबाट खोसेर यातायात व्यवसायीतिर हुत्याइदिए । अब दशैं तिहारमा घर जान टिकटको उस्तै बेहाल, उस्तै समस्या ।

 

 

डा. गोविन्द केसीले भने, ‘संविधानको फल जनताले पाउँनुपर्छ र चिकित्सा शिक्षा र उपचारमा निम्न बर्गको पहुँच हुनुपर्छ ।’

 

 

शासकले सँविधानको ‘मार्सी फल’ समथिङ प्रसाईको घरको भकारीमा लगेर लुकाएछन् । फोटो सार्वजनिक भएपछि पो थाहो भो, त्यो मार्सी फल आपसमा मिलेर पो ज्यूनार गरेछन् । जनतामा आक्रोश भडकियो । डा. केसी अनसन बसे । अन्ततः २६ दिनपछि ‘संविधानको फल जनतालाई पनि चखाउँने’ भनेर प्रधानमन्त्रीले भने, तर अहिलेसम्म चखाएका छैनन् ।

 

 

संविधानको ‘मार्सी फल’ शासकहरुका लागि मात्र फलेको रहेछ, जुन जनतासम्म आउने छाँटकाँट देखिदैन । संविधानको फल जनताले पाउन नसकेको स्पष्ट प्रमाणहरु के हुन् भने दशै र तिहारको मुखमा मँहगी अचाक्ली बढेको छ । शान्ति सुरक्षाको अवस्था दयनीय छ । चारैतिर महिला हिंशा र बलात्कारका घटना भइरहेका छन् । प्रहरी रक्षक हुनुपर्नेमा आफै भक्षक भइरहेको छ । मानवअधिकारको पक्ष दारुण बन्दै गइरहेको छ । प्रेस स्वतन्त्रता कुण्ठित गरिदैछ । पत्रकारहरुलाई घरबाटै हतकडी लगाएर थुन्ने राणाकालिन हर्कतहरु हुन थालेको छ । सार्वजनिक यातायात महाकष्टकर भइरहेको छ । सडकका खाल्डाखुल्डीले धेरैको मेरुदण्ड भाँच्चिसकेको छ, कम्मर मर्किसकेको छ । धुलो र धुवाँले धेरैलाई निमोनिया भइसकेको छ ।

 

 

विषाक्त तरकारीले धेरैको किडनी फेल भइसकेको छ । मिसावटयुक्त खाद्यान्न र तेलले धेरैको पेटमा अल्सर गराइ सकेको छ । ठग दलालको चँगुलमा परेर धेरै नेपाली विदेशमा अलपत्र छन् । साहुको ऋण तिर्न नसकेर धेरैले आत्महत्या गरिसकेका छन् । बाढी, पहिरो, नदि कटान र सर्पं दंशबाट तराइमा हाहाकार मच्चिएको छ । एकथरी अतिबादीहरु कोही मधेश अलग राष्ट्र भन्दै कुर्लिरहेका छन्, अर्काथरी अतिबादीहरु क्रान्तिका नाममा बम पडकाउँदै हिँडिरहेका छन् ।

 

 

शासकहरु भने संविधानको ‘मार्सी फल’मै भुलेर जनतालाई आदर्श र नैतिकताका उपदेश दिइरहेका छन् । संविधानको फल भुँडी भरुन्जेल खाने अनि डकार आएपछि टेलिभिजन अगाडि उभिएर जनता सामु डकार्ने । कहिलेकाँही त बान्तै गरिदिने । मार्सी फल अपच भएको खण्डमा यसो चन्द्रागिरीतिर जाने र ‘कविता पाचक’ खाइदिने ।

 

 

‘मार्सी फल’ मादक पनि हुँदोरहेछ क्यारे । यो फल खाएपछि बोलीसमेत बाउँठिदो रहेछ । केही समयअघि संसदमा बाढी र पहिरोको समस्याका ’boutमा कुरा उठयो । शासकले भनेछन्, ‘हरेक वर्ष वर्षायाममा पानी पर्छ, के त्यो पानी मैले पारेको हो, बाढी मैले ल्याएको हो ?’ निर्मला पन्तको बलात्कारको विरोध भयो, सरकारको नालायकीको विरोधमा जनता सडकमा उत्रिए, मार्सी फलको नशामा चूर शासकहरुले भने, ‘निर्मलाको बलात्कार गर्न मैले नै बलात्कारी पठाएको हो र ? बलात्कारीलाई बचाउँनू भनेर मैले नै खटाएको हो र ?’

 

 

यतिबेला खेत खलियानमा धान फल लागिसकेको छ । मंसिरमा त्यो फल काटिने छ र हाम्रो अन्नमय शरीरमा त्यसले प्राण भर्ने छ । किसानको मेहनतको सुगन्ध यतिबेला चारैतिर फैलिइरहेको छ । यो त किसानको मेहनत र प्रकृतिले उपहार दिएको फल भो । तर, संविधानको फल भने जनताले अहिलेसम्म देख्न र चाख्न पाएका छैनन् । फल नलागेको हैन नी, फलेको फल शासकहरु एक्लैले ‘हसुरे’ ।