पर्यटन कसरी समृद्ध नेपालको आधार ?

संसारभर सन् २०१७मा अन्तर्राष्ट्रिय पर्यटकको संख्या एक अर्ब ३२ करोड रहेको तथ्यांक सार्वजनिक भएको छ । आन्तरिक पर्यटकहरुको समेत अनुमान गर्दा संसारभरको एक तिहाइ जनसंख्याले आन्तरिक एवं वाह्य देशको भ्रमण गर्ने अनुमान पर्यटन विज्ञहरुको रहेको छ ।
गएको विहिबार (सेप्टेम्बर २७) संसारभर विश्व पर्यटन दिवस मनाईयो । नेपालमा यसपाली पनि गएका बर्षहरुको पर्यटन दिवस झै औपचारीक कार्यक्रमहरुमा नै सिमित रह्यो ।
के हो पर्यटन ? को हो पर्यटक ?
दर्शनीय र महत्वपूर्ण स्थानहरु ताल तलैया, झरना हिमाल, पर्वत श्रृंखला, गुफा आदि हेर्न, घुम्न, पैदलयात्रा गर्न तथा महत्वपूर्ण हिमालय पर्वतहरुको आरोहणगर्नुको साथै मन वहलाउन, हिडाई, हेराई र अबलोकनबाट आनन्द लिन देश विदेशमा गरिने भ्रमण वा यात्रा नै पर्यटन हो । त्यसैगरी पर्यटन गर्ने, देश विदेश घुम्ने, भ्रमण गर्ने, घुमक्कड, साँस्कृतिक एवं धार्मिकस्थलको दर्शन तथा अबलोकन गर्ने व्यक्ति पर्यटक हो ।
कति आउँछन् नेपालमा पर्यटक ?
नेपालमा सन् १९५० देखि नै पर्यटकहरु आउने गरे पनि २९मे १९५३ मा तेन्जिङ्ग नोर्गे शेर्पा र एडमण्ड हिलारीले सर्बोच्च शिखर सगरमाथा (८,८४८मिटर उचाइमा मानवले पाइला टेकेको दिन) सफलतापूर्वक आरोहण गरेको खबर संसारभर सञ्चार भएदेखि नै संसारका आरोहिहरुको लागि नेपाल जीवनमा एकपल्ट पुग्नै पर्ने गन्तव्य भएको हो ।
नेपालमा थुप्रै हिमश्रृंखलाहरु छन् । यी हिमाललाई चुम्न संसार भरका हिमाल आरोहीहरु नेपाल आउनेक्रम बढिरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, पर्यटन विभागको वेभसाइटमा उपलब्ध तथ्यांक अनुसार नेपालमा सन् १९६४मा ९, ५२६जना, सन् १९७०मा ४५,९७०जना, सन् १९७४मा ८९,८३८ जना, सन् १९७६मा, १,०५,१०८ जना, सन् १९८०मा १६२,८९७ जना, सन् १९९०मा २, ५४, ८८५ सन् १९९२मा ३, ३४,३५३ जना, सन् १९९८मा ४, ६३, ६८४जना, सन् २००८मा ५ लाख ५७७जनाले नेपाल भ्रमण गरेका थिए ।
सन् २०११ मा ६ लाख ३६ हजार २१५जना, सन् २०१२मा ८ लाख ३हजार ९२जना, सन् १९१७मा ९ लाख ४० हजार २१८ जना पर्यटक नेपाल आएका थिए । सन् २०१८मा १२ लाख पर्यटन आउने अनुमान गरिएको छ ।
संसार भर सन् २०१७मा अन्तर्राष्ट्रिय पर्यटकको संख्या एक अर्ब ३२ करोड रहेको तथ्यांक सार्वजनिक भएको छ । आन्तरिक पर्यटकहरुको समेत अनुमान गर्दा संसारभरको एक तिहाइ जनसंख्याले आन्तरिक एवं वाह्य देशको भ्रमण गर्ने अनुमान पर्यटन विज्ञहरुको रहेको छ ।
पर्यटन वर्षदेखि पर्यटन दशक सम्म
सन् १९९८मा आयोजित नेपाल भ्रमण बर्षमा ४लाख ६३ हजार ६८४ पर्यटक नेपाल आएका थिए । सन् २०११मा आयोजित नेपाल पर्यटन बर्षमा ७ लाख १९ हजार ५४७ पर्यटक नेपाल आएका थिए ।
सन् २०२०मा २० लाख पर्यटक भित्राउने महत्वाकांक्षी योजना पर्यटन बर्ष २०२० र पर्यटन दशक २०२०–२०३० को रुपमा पर्यटनको विकास गर्ने अबधारणा बनिरहेको छ । अहिलेको संरचना, हवाई कनेक्टीभिटी र लक्षीत बजार हेर्दा सन् २०२० मा २० लाख पर्यटक प्रायः असम्भब नै हुन सक्छ । विगतको प्रमाणलाई हेर्ने हो भने पनि यो अत्यन्तै महत्वकांक्षी योजना हो ।
जसमा दुई खर्ब आम्दानी गर्ने लक्ष राखिएको छ । यदि भ्रमण वर्ष २०२० लाई आधार बर्ष मानेर व्यवस्थित किसिमले मुलुकभर पर्यटनको विकास गर्न समृद्ध नेपाल, सुखी नेपालीको आधार नै पर्यटन बनाएर दश वर्षे पर्यटन दशकको अबधारणा सहित अगाडि बढेमा नेपालको विकासमा कुल ग्राहस्थ उत्पादनमा तीन प्रतिशतको हिस्सा रहेको पर्यटनले दश प्रतिशतको भार बोक्न सक्ने थियो ।
भरीया, गाईड र विद्यार्थीले फस्टाएको पर्यटन
सन् १९९०को परिवर्तन पछि, अझै अगाडि हेर्ने हो भने सन् ८०को दशकमा केही खुल्लापन आएपछि र त्यसको लगत्तै बहुदलीय व्यवस्था स्थापना भएपछि मात्र नेपालमा पर्यटकहरुको संख्या बढ्न थालेको हो ।
सरकारी तथ्यतथ्यांकहरुलाई अद्यावधीक गर्ने हो भने सन् १९६४ बाट पर्यटनले पेशागत स्वरुप लिन थालेको पाईन्छ । सन् १९९०को परिवर्तनसँगसँगै नेपालमा खुल्ला बजार अर्थतन्त्र हावी भयो । उदार आर्थिक नीतिको कारण नीजिक्षेत्रको विकासले फड्को मा¥यो । पर्यटन क्षेत्रले पनि तीब्र गति लिन थाल्यो ।
विगतमा दरबारीयाहरुकोे मुट्ठिीमा सिमित पर्यटन क्षेत्रमा सर्वसाधारणले प्रवेश पाउन थाले । दरवारियाहरुसँगको सामिप्यमा रहेकाहरुले मात्रै पर्यटन क्षेत्रमा व्यावशायिक रुपमा काम गर्न पाउने भएकोमा सन् १९९०को परिवर्तन पश्चात सामान्य भरीया, टुर तथा ट्रेकिंग गाईडहरु र विद्यार्थीहरुले समेत कम्पनी खोलेर स्वतन्त्र रुपमा पर्यटन व्यवशाय गर्न थाले ।
सर्वसाधारणको पर्यटन व्यवशायमा भएको आगमनले नै नेपालमा पर्यटन व्यावशाय फस्टाउन थालेको हो । बहुदलीय व्यवस्थाको आगमन सँगसँगै सिमित व्यक्तिहरुको मुट्ठिीमा रहेको हालिमुहालीको अन्त्य हुन थाल्यो । तीव्र गतिमा नेपालमा पर्यटन व्यावसाय फस्टाउन थाल्यो । खुल्लापनले गर्दा पर्यटन आगमनमा पनि तीब्रता आउन थाल्यो । खुल्लापनले गर्दा नै व्यावशायीहरु प्रतिस्पर्धी हुन सकेका हुन् ।
किन आउँछन् पर्यटक ? कति बस्छन् ? कति खर्च गर्छन् ?
नेपाल आउने पर्यटकहरुमध्ये ७० प्रतिशत विदा मनाउन (होलि–डे) आउने गरेको पाईन्छ । १५प्रतिशत धार्मिक साँस्कृतिक सम्पदाको भ्रमण गर्न आउँछन् भने ८ प्रतिशत एडभेन्चरको लागि नेपाल आउँछन् ।
पर्यटक आगमनको आम्दानीको पहिलो हिस्सा साहसी पर्यटकहरुको रहने गरेको छ । यस्ता पर्यटकहरुको नेपाल बसाई कम्तीमा पनि तीन–चार हप्तासम्मको हुने गर्छ । तर सरदर नेपाल बस्ने पर्यटकहरुको नेपाल बसाई १२.६ दिन देखि १३ दिन सम्मको मात्र हुने गरेको पाईएको छ ।
नेपाल बस्ने पर्यटकले प्रत्येक दिन सरदर ५४अमेरीकी डलर खर्च गर्ने गरेको तथ्यांकले देखाउछ । नेपाल आउने पर्यटकहरुमा अमेरीकन, युरोपियन र स्केण्डेनेभियनहरु लामो बसाई बस्ने गरेका छन् । यिनीहरुकै बसाईले आधा हिस्सा ओगटेको हुन्छ । कतिपय पर्यटकहरु भारतहुँदै गाडिमा नेपाल (लुम्बीनी) आउँछन् र सोहि दिन फर्कन्छन् । औसत नेपाल बसाई र खर्च गराईमा यो तथ्यांकले फरक नतिजा दिने गर्दछ ।
अधिकतमा पर्यटक आउने पाँच देश
नेपाल आउने पर्यटकहरुमा पहिलो भारत, दोश्रो चीन, तेश्रो, अमेरीका, चौथो वेलायत र पाँचौं श्रीलंकनहरु रहेका छन् । लुम्बिनीको प्रवद्र्धनले सांस्कृतिक एवं धार्मीक पर्यटकहरु श्रीलंकाली हुने गरेका छन् । यसको अलावा नेपालमा पर्यटकको रुपमा आउने देशहरुमा क्यानडा, स्पेन, नेदरल्याण्ड, पाकिस्तान, भुटान, जापान, बंगलादेश, थाईल्याण्ड, म्यानमार, ईटाली, मलेशिया, फ्रान्स, डेनमार्क, जर्मनी, अष्ट्रेलिया, सिंगापुरका नागरिकहरु रहेका छन् ।
पर्यटक भित्राउने साधन हवाईजहाज
नेपाल आउने अधिकतम पर्यटकहरु हवाई यातायातबाट आउने गरेका छन् । जेट एअरलाएन्स् , नेपाल एअरलाएन्स्, कतार एअरलाएन्स्, एअर अरेवीया, फ्लाई दुवई रहेका छन् ।
विगतमा सिंगापुर एअरलाएन्स्, एरो फ्लोट रसिया, लुफ्थान्सा, थाईएअर र अष्ट्रियन एअरलाएन्सले नेपालमा पर्यटकहरु भित्राउने गरेका थिए । अहिले हाम्रो हवाई क्षमताको आधारमा पनि हामीले उल्लेख्य मात्रामा पर्यटक भित्राउन सक्ने अबस्था छैन ।
नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल २४सै घण्टा खुलाउने भने पनि सोहि अनुपातमा हवाई यातायात चलेको छैन । अएरपोर्ट खोल्दैमा मात्रै हुँदैन । आन्तरिक विमानस्थलहरु ६५वटा छन् । जसमध्ये ३२वटा मात्र चल्छन् भने ती मध्ये २९वटा आन्तरिक विमानस्थल बाह्रै महिना चल्छन् ।
पोखरामा बन्ने अन्तर्राष्ट्रिय विमानस्थल, निजगढमा प्रस्तावित विमानस्थल र लुम्बीनीको अन्तर्राष्ट्रिय विमानस्थल जति चाँडो बनाउन सकिन्छ त्यति नै नेपालमा पर्यटन प्रवद्र्धन हुन सक्छ । नेपाल आउने अधिकांश पर्यटकहरुको पहिलो माध्यम नै हवाई भएकोले पहिलो पूर्वाधार एअरलाएन्स र हवाईजहाजहरु हुन् ।
धेरै युवा पर्यटकहरु
नेपाल आउने पर्यटकहरुमा १६देखि ३०बर्ष उमेर समूहका व्यक्तिहरुको ४० प्रतिशत हिस्सा रहेको छ । ३१ बर्ष देखि ४५बर्ष उमेर समुहका ३४ प्रतिशत रहने गरेका छन् । बाँकी अन्य उमेर समुहका ब्यक्ति रहेका छन् ।
नेपाल आउने पर्यटकमा युवाहरु अत्धीक देखिन्छन् । त्यसैले यो उमेर समूहलाई नेपाल चिनाउन सकियो भने नेपाली पर्यटनका भविष्य यसैमा देख्न सकिन्छ ।
नेपालको प्राकृतिक मनोरमतामा उच्चकोटिको सेवा सुविधा उपलब्ध गराउन सकियो भने यो पुस्ताले हो नेपालको भविष्यको पर्यटन उद्योग धान्ने भनेको । तसर्थ सोहि उमेर समुहको आबश्यकता, चाहना र भावनालाई संवोधन गर्न सकियो भने हामीले पर्यटन प्रवद्र्धन गर्न खर्च नै गर्नु पर्दैन । उनीहरु नै पर्यटन प्रवद्र्धनका वाहक हुन सक्छन् ।
होटल र पर्यटन सेवाको जनशक्ति
नेपाल आउने पर्यटकहरुलाई सेवा सुविधा दिने जनशक्ति र भौतिक पूर्वाधारको अबस्था हेर्दा हाम्रो सेवा सुविधामा व्यापक रुपमा विस्तार गर्नु पर्ने बताउँछन् पर्यटन विज्ञहरु । भन्छन्, हाम्रा होटलहरुको स्तर विश्वका प्रमुख पर्यटकीय गन्तव्यहरुको तुलनामा मध्यमकोटिमा पर्छन ।
यिनीहरुको सुपर संरचना र कनेक्टीभिटि र हाम्रा डेष्टिनेशनहरुको विकास र विस्तार गर्नु पर्छ । पर्यटन मन्त्रालयको फ्याक्ट सिटमा उपलब्ध डाटा अनुसार नेपालमा तारे होटलहरुको संख्या १२५मात्र रहेको छ । पर्यटकी होटलहरुको संख्या ९७७ रहेको छ । दुबै गरेर ११०२वटा मात्र होटल रहेका छन् ।
ती होटलहरुमा वेडसंख्या ३८, ८३३ रहेको छ । औसत वेड संख्या ३६ हुन आउँछ । होम स्टे मा १२००को संख्यामा वेड रहेको अनुमान छ । यो संख्याको संरचनालाई सहयोग गर्ने जनशक्तिको आंकडा हेर्दा पनि सन्तोष गर्न सक्ने अबस्था छैन ।
पर्यटनको विकासको लागि जनशक्तिको ठूलो हिस्सा तयार गर्नुपर्ने आबश्यकता छ । ट्राभल एजेन्सीहरुको संख्या ३८२४ रहेको छ भने टुरगाईडहरु ३४७६मात्र रहेका छन् । ट्रेकिङ्ग एजेन्सीहरु २६३६ र ट्रेकिङ्ग गाईडहरु १३, ८३१मात्र रहेका छन् ।
सम्पूर्ण नेपाल नै पर्यटकहरुको आकर्षण
नेपाल आउने पर्यटकहरुलाई आकर्षण गर्ने थुप्रै गन्तव्यहरु छन् । नेपालका हिमश्रृंखला, तालतलैया, वाइल्ड लाईफ, नेचर कन्जरभेसन एरिया र नेपालका साँस्कृतिक सम्पदाहरु व्यापक मात्रामा रहेका छन् । पर्यटकहरुको लागि पहिलो आकर्षण नै यसैमा हो ।
पशुपतिनाथ, लुम्बीनी, मनाश्लु मुस्ताङ्ग, हुम्ला, कञ्चनजंगा ट्रेकिङ्ग प्रख्यात छन् । माथिल्लो र तल्लो डोल्पा ट्रेकिङ्ग पर्वतीय पर्यटकहरुको आकर्षण रहेका छन् ।
एक सिर्जनशील युवा पर्यटन व्यावसायी युवा भन्छन् “संपूर्ण नेपाल नै पर्यटकहरुको आकर्षक गन्तव्य हो । हाम्रा सबै क्षेत्रहरु प्राकृतिक रुपमा संसारका सबै पर्यटकहरुको आकर्षणका केन्द्र हुन् । हामीले यसको संरक्षण र उचित व्यवस्थापन गर्न सक्ने हो भने सात वटै प्रदेश, ७५३ स्थानिय तह नै आकर्षणको गन्तव्य बन्न सक्छन् ।
पर्यटकहरुको लागि भनेर सरकारले विगतदेखि नै संरक्षित क्षेत्रहरु तोकेको छ–शिवपूरी, नागार्जुन, चितवन, सगरमाथा, बर्दिया, लाङ्गटाङ्ग, मकालु वरुण, रारा, खप्तड, बाँके, सेफोक्सुण्डो । शुक्लाफाँटा बन्यजन्तु संरक्षण, पर्शा, कोशी टप्पु, ढोरपाटन हन्टिङ्ग रिजर्भ, कञ्चनजङ्गा, अन्नपूर्ण संरक्षीत क्षेत्र, मनास्लु र गौरिशंकर संरक्षण क्षेत्र रहेका छन् । यी क्षेत्रहरुमा पनि व्यवस्थीत किसिमले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकेमा नेपालको पर्यटनको महत्व बढ्ने छ ।
पर्यटन वर्ष, नारा मै सीमित नबनोस
सन् १९६९मा स्पेनमा भएको संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संगठनको साधारणसभाले सन् १९८०देखि सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।
राष्ट्रसंघीय निर्णय अनुसार संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुले प्रत्येक बर्ष यो दिनलाई अन्तर्राष्ट्रिय पर्यटन दिवसको रुपमा विश्वभर मनाउँदै आएका छन् । प्रत्येक बर्ष नयाँ नाराहरु सहित विश्व भर यो दिवस मनाईन्छ ।
लण्डनमा स्थापना भएको इन्टरनेशनल कंग्रेस अफ नेशनल टुरिजम् वडिले सन् १९४६मा वेलायतबाट संगठित रुपमा पर्यटन प्रवद्र्धनको शुरुवात भएको थियो । यो वर्षको पर्यटन दिवसको नारा “पर्यटन र सुचना प्रविधि रुपान्तरण रहेको थियो । त्यसअघि पर्यटन र जैविक विविधता । विविधताको उत्सव मनाऔं । महिलाहरुलाई संसारको ढोका खोलौं । पर्यटन बढाऔं । गुणस्तरिय पर्यटन । वातावरण मैत्री पर्यटन । सार्वजनिक नीजि साझेदारी । सुचना, सञ्चार र शिक्षा, दिगो पर्यटन विकासको आधार जस्ता नारा रहेका थिए ।
नाराले मात्रै हुँदैन पर्यटन
नाराबाट मात्रै पर्यटनको विकास सम्भव छैन । पर्यटनको विकासको लागि योग्य जनशक्ति, स्पष्ट दृष्टिकोण सहितको दुरदर्शी नेतृत्व आवश्यक पर्छ । त्यत्तिकै आबश्यक छ, भौतिक पूर्वाधार । हवाई तथा सडक कनेक्टीभिटि । नेपालदेखि भारत, बंगलादेश, म्यानमार हुँदै थाईल्याण्डसम्मको सडक सञ्जाल । मास पर्यटन गन्तव्यहरुको विकास । पूर्ण रुपमा शान्ति सुरक्षाको अपरिहार्य व्यवस्था ।
त्यस्तै प्रकृतिले दिएको बरदानको संरक्षण एवं व्यवस्थापन । सरकारी नीजि र व्यावशायीहरु बीचको समन्वय र सहकार्य र भैरहेको संरचनामा व्यापक परिवर्तन पश्चात मात्रै सम्भब छ पर्यटन प्रवद्र्धन ।
हिजो हुन नसकेका काम आज पनि भैरहेका छैनन् । अनि कसरी सम्भव हुन्छ नेपालमा पर्यटन प्रबद्र्धन ? समृद्ध नेपाल, सुखी नेपालीको आधार पर्यटनलाई बनाउन सकेमात्र नेपालमा पर्यटनको विकास संभव हुन्छ । श्रृजनशील एक युवा पर्यटन उद्यमीले भने, आफैंले आफैंलाई आलोचनात्मक किसिमले हेर्ने हो भने मात्र संभव हुन्छ समृद्ध नेपाल सुखी नेपालीको आधार पर्यटनको विकास ।