नयाँ मोहराको खोजी !

ओलीबाट लिनुपर्ने ‘चिज’ लिइसकेपछि अब भारत सम्भवत नयाँ निमित्त नायकको खोजीमा हुनसक्छ। र , उसले प्रचण्ड या बामदेवमा त्यो सम्भावना देखेको हुनसक्छ ।
एमाले र माकेको एकिकरण आफैमा कृत्रिम थियो। र, त्यो पनि अरुकै उक्साहटमा सम्पन्न भएको थियो भन्ने स्पष्ट भइसकेको छ । सरकार भन्नलाई दुई तिहाईको भनिए पनि, र प्रधानमन्त्री ओलीलाई जंगबहादुरपछि कै शक्तिशाली भनिए पनि यसको नाभी उत्तिकै कमजोर छ । कुनै पनि बेला यो दुई तिहाईको संरचना ‘पजल खेलौना’का टुक्राहरु झैं छिन्न भिन्न हुनसक्छ ।
नेकपाका अध्यक्ष प्रचण्डलाई लेखक नरेन्द्रजंग पिटर ‘नेकपाका पौने अध्यक्ष’ भन्ने गर्छन् । अर्थात पिटरको भनाईमा प्रचण्ड नेकपाका पुरै अध्यक्ष होइनन् । केपी ओली सवा एक अध्यक्ष हुन र प्रचण्ड पौने अध्यक्ष ।
पार्टीमा पनि पौने अध्यक्ष मात्र हुने, सरकारमा ओलीको रजगज भइरहने । यो अवस्था लामो समय कायम रहिरहनु प्रचण्डका लागि त्यति सहज हैन । अन्ततः उनको छटपटि प्रकट भइहाल्यो, र नेपाली राजनीतिको पुरानै चरित्र प्रदर्शन गर्दै उनी भारत र चीनको भ्रमणमा गए ।
कुनै पनि शिर्ष नेता भारत भ्रमणबाट फर्केपछि नेपालको राजनीतिमा सत्तासमीकरणको नयाँ चलखेल हुँदै आएको छ । नभन्दै, प्रचण्ड भारत र चीन गएर फर्केपछि सत्तारुढ दलभित्र उम्लीरहेको द्वन्द्व र शक्ति सँघर्षको लावा छताछुल्ल भएको छ । यसबाट हाम्रा नेताहरु सदा अरुकै उक्साहटमा चल्छन् भन्ने उक्ति पुनः चरीतार्थ भएको छ । किनकी, प्रचण्ड भारत जानु, माधवले संसदमा देश डुब्न लाग्यो भन्नु, ओलीका सल्लाहकारले ‘सरकार ढाल्न साथीहरु नै विदेशीको शरणमा गए’ भन्नेजस्ता भाषा प्रयोग गर्नु अनि प्रचण्ड आदिले बामदेवलाई सांसद बनाउने चलखेल सुरु गर्नु करीब करीब एकै पटक भएकाले यी खेलहरुका पछाडि विदेशीको उक्साहट हावी भएको अनुमान लगाउन सकिन्छ ।
एमाले र माकेको एकिकरण आफैमा कृत्रिम थियो र त्यो पनि अरुकै उक्साहटमा सम्पन्न भएको थियो भन्ने स्पष्ट भइसकेको छ । एमाले, माकेको गठबन्धनसँग उपेन्द्र यादवहरुको तादात्म्यको अर्थ पनि सत्ता राजनीतिभित्रकै खेलको उपज थियो । प्रचण्डले काँग्रेससँग मिल्न खोजेमा यादवलाई प्रधानमन्त्री नै बनाएर भएर पनि सत्तामा तर मारिरहने एमालेको दाउकै एक हिस्सा थियो । यसरी हेर्दा यो सरकार भन्नलाई दुई तिहाईको भनिए पनि, र प्रधानमन्त्री ओलीलाई जंगबहादुरपछि कै शक्तिशाली भनिएपनि यसको नाभी उत्तिकै कमजोर छ । कुनै पनि बेला यो दुई तिहाईको संरचना ‘पजल खेलौना’का टुक्राहरु झैं छिन्न भिन्न हुनसक्छ । र, यसका संकेतहरु प्रचण्डको भारत भ्रमणपछि देखिन थालेका छन् ।
ओली नालायक भए होलान् । उनमा केही गर्ने जाँगर, उत्साह र जिम्मेवारी पनि खासै देखिदैन, टिभीमा गफ दिनुबाहेक । तर, ओली असक्षम भए भन्दैमा ओलीको ठाउँमा प्रचण्ड या बामदेवजी आए पनि कुरो त उही नै हो । ओलीभन्दा के अर्थमा बामदेव र प्रचण्ड भिन्न ? ओलीको तुलनामा यी दुइ नेता स्वस्थ र तन्दुरुस्त छन् । तर, स्वास्थ्यकै कारण ओलीको विकल्प खोजीएको पक्कै हैन । भनेपछि ओलीको विकल्प खोज्नुपर्ने खण्ड खातिर किन आइपर्यो त ?
ओलीको बिकल्प किन खोजिदैछ ? कसका लागि खोजिदैछ ? यो प्रश्नको सम्भावित उत्तर यही हुनसक्छ कि प्रधानमन्त्री ओलीबाट प्राप्त गर्नुपर्ने सबै ‘चिज’ हत्याइसकेपछि भारतलाई अब ओली नेतृत्वको सरकारको दरकार परिरहेको छैन । ओलीको महान राष्ट्रबादी छविलाई जनकपुरमा मोदी अभिनन्दन अनुष्ठानमार्फत भुत्ते बनाउने प्रपञ्च पनि सफल भइसकेको छ । अब स्वयं ओलीमा त्यो राष्ट्रवादी राग र रंग पनि बाँकी रहेन । अरुण तेश्रो परियोजना, जलयात्राका बहानामा भारतको रिभर लिंक प्रोजेक्टमा घुमाउरो ढँगले सहमति आदि भारतका स्वार्थहरुलाई ओलीले ल्याप्चे लगाइसकेका छन् । ओलीबाट लिनुपर्ने ‘चिज’ लिइसकेपछि अब भारत सम्भवत नयाँ निमित्त नायकको खोजीमा हुनसक्छ र उसले प्रचण्ड या बामदेवमा त्यो सम्भावना देखेको हुनसक्छ । भारतको नीति भनेको नेपालको कमजोर अवस्थाबाट फाइदा उठाउने, आफ्नो हात माथि राखेर हत्याउनु पर्ने चिज हत्याउने र त्यसपछि पुरानो शासकलाई सत्ताबाट गलहत्याएर नयाँ निमित्त नायक (जसलाई माओवादीहरु पहिला नयाँ नोकर भन्ने गर्थे)मार्फत नेपालमा अस्थीरता सिर्जना गरिरहने ।
भारतको यस्तो अभिष्टमा प्रचण्ड फेरी एक पटक मोहरा बनेका हुनसक्छन् । भारतले जे जे भन्यो त्यही त्यही मानेर उसको इमानदार बफादार भइदिए केही वर्षमै कार्यकारी अधिकारसहितको राष्ट्रपति बन्न पाइएला कि भन्ने उनको आँकलन हुनसक्छ । माधव नेपाल र उनका नजिकका नेताहरुका लागि शासन सत्तामा ओलीको एक्लौटी बर्चस्व मन परीरहेको छैन । यो छटपटी माधवबाट संसदमा व्यक्त भइसकेको छ । उनले ‘देश डुब्न लाग्यो’ भन्नुको खास अर्थ ‘ओली एक्लैले मात्र शासन सत्तामा तर मारे, हाम्रो भाग पुगेन’ भन्ने नै हो । उता, चुनाव हारेका बामदेवमा एक पटक प्रधानमन्त्री बनेर राजनीतिक जीवनलाई सार्थक तुल्याउने मोह या छटपटी जाग्नु पनि अस्वाभाविक हैन ।
यस्तोबेला जनताको तहबाट खडा भएको गम्भीर प्रश्न चाहिँ के हो भने नेपालको राजनीति सँधै अरुकै इशारामा कहिलेसम्म चलिरहने ? नेपालका नेताहरु सँधै सत्ता, पद र पैसाकै पछाडि कहिलेसम्म दौडीरहने ? स्थीरता, समृद्धि र सुशासनको नारालाई टुकुचामा बगाउने काम भइरहँदा अब के हामीले यही दुश्चक्रलाई आगामी चार वर्षसम्म भोगीरहने हो या यसको पनि कुनै विकल्प छ ?
बामदेव गौतमले यो हदसम्म गिरेर पदका लागि किन मरिहत्ते गरेका हुन् ? उनी यो देशका महान जुझारु किसान नेता पनि हुन्, जसबाट पक्कै त्याग हुनुपर्ने हो । प्रचण्डको भाउँतोमा लागेर भारतको उक्साहटमा मुलुकलाई अस्थीरताको दुश्चक्रमा होम्न उनी जसरी हौसिएका थिए, यसले उनकै कदलाई होचो बनाइदियो । यदि साँच्चै, ओलीबाट पार नलाग्ने नेकपाका नेताहरुको पनि निश्कर्ष हो भने बरु, ताजा जनादेशमा जान सकिन्छ । तर, अहिले नै चुनावमा मुलुकलाई होम्नु पनि त उचित छैन ।
अतः यो पँक्तिकार दशैंको अवसरमा एउटा उपाय पस्किन चाहन्छ । स्थीरता, समृद्धि र सुशासनतर्फ मुलुकलाई सहज ढँगले अघि बढाउने हो भने पहिला शिर्ष नेताहरुले दिन्दिनको झिनामसिना राजनीतिक स्वार्थबाटमाथि उठनुपर्छ । शिर्ष नेताहरुले विदेशीको उक्साहटमा नलागी नेकपाका युवा वैचारीक इमानदार नेता घनश्याम भुषाललाई प्रधानमन्त्री बनाउने हिम्मत गर्नुपर्छ । उनको मन्त्रीमण्डलमा पूर्व एमालेबाट योगेश भट्टराई, रविन्द्र अधिकारी, भानुभक्त ढकाल, रामकुमारी झाँक्री, ठाकुर गैरे, गोकर्ण बिष्ट तथा पूर्व माकेबाट जनार्दन शर्मा जस्ता विलकुल इमानदार र चन्दा आतंकमा नफसेका मानिसहरुलाई राख्ने (पूर्व माकेका इमानदार नेताहरुको नाम यहाँ ठयाक्कै स्मरण हुन सकेन, खोजी पसे भेटिएला) ।
यति भइसकेपछि ओली, झलनाथ, माधव, बामदेव र प्रचण्डको एउटा उच्चस्तरीय राष्ट्रिय राजनीतिक संयन्त्र बनाउने । यो संयन्त्रले सरकार कसरी संचालन गर्ने, कसलाई कहाँ नियुक्ति गर्ने आदि झिना मसिना निर्णय गर्ने हैन । यसले समृद्ध नेपालको राष्ट्रिय योजना बनाउने । शिर्ष नेताहरुले हरेक क्षेत्रका विज्ञलाई राखेर तत्काल गर्नुपर्ने र दिर्घकालमा गर्न सकिने विकास आयोजनाहरुको बृहत योजना बनाउने र त्यसलाई संसदबाट पारित गराई एउटा राष्ट्रिय मार्गचित्रका रुपमा अघि सार्नें । यी योजनाहरुलाई घनश्याम भुषालको युवा उत्साही सरकारले इमानदारीपूर्वक तत्काल लागू गर्ने ।
उच्चस्तरीय राजनीतिक संयन्त्रका पाँच नेताहरुको मुकाम मुलुकका पाँच क्षेत्रहरु (ओली झापा आसपास, झलनाथ इलाम आसपास, माधव रौतहट आसपास, बामदेव पश्चिम आसपास र प्रचण्ड चितवन आसपास) कायम गर्ने । शिर्ष नेताहरु काठमाडौमा बस्दै नबस्ने । उनीहरुको खानपान, स्वास्थ्य उपचार अन्य सुविधा राज्यले दिने, तर उनीहरुलाई ‘समृद्ध नेपालको राष्ट्रिय दूत’का रुपमा खटाउने । यसरी शिर्ष नेताहरुले अभिभावकका रुपमा जिल्ला जिल्लामा विकासको महा अभियानको लहर सिर्जना गर्न सक्छन् । शिर्ष नेताहरुको मुख्य काम भनेकै विकासका अभियन्ता हुने र त्याग, समर्पण र इमानदारीताको उदाहरण प्रस्तुत गर्ने ।
पाँच शिर्ष नेता भनेका पूर्व प्रधानमन्त्री पनि हुन् । उनीहरुमा देश विकासको भिजन पक्कै छ र यो अनुभवलाई देशले उपयोग गर्ने । यति हुनसक्यो भने जनतामा पनि उत्साहको लहर सिर्जना हुन्छ र मुलुक समृद्धितर्फ अघि बढने छ । कति सुन्दर दृश्य । पाँच शिर्ष नेताहरुले दोश्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दा आम जनतामा यो देशका नेताहरुमा राजनीतिक इमानदारीता र त्यागको भावना रहेछ है भन्ने नयाँ आशा जाग्नेछ ।
अहो, ‘हामीसँग एउटा हैन, पाँच पाँच जना नेल्सन मण्डेला’ रहेछन् भन्ने सन्देश जानेछ । एउटा नेल्सन मण्डेलाले दक्षिण अफ्रीकाको तेत्रो विकास गरे भने पाँच मण्डेलाको क्षमताले पच्चिस गुणा बढी काम गर्नसक्छ । पाँच शिर्ष नेताले हातेमालो गरेर यसरी समृद्धिको राष्ट्रिय अभियानको अभिभावकिय नेतृत्व गर्दा विदेशीले पनि खेल्न पाउँदैनन् । अनि सरकारमा भएका युवाहरु पनि भ्रष्ट, बेइमान र अनैतिक हुन पाउँदैनन् । किनकी, पिताको असल अभिभावकत्व भएमा सन्तानहरु पनि त बिग्रन पाउँदैनन् । पहिलो पुस्ताका शिर्ष नेताहरु नै भ्रष्ट, बेइमान र पदलोलुप भएपछि दोश्रो पूस्ताका नेताहरुले त्यही सिक्ने र ‘बदमास’ हुने न हुन् । शिर्ष नेताहरुबाटै त्यागको प्रदर्शन भएपछि दोश्रो पुस्ताका नेताहरुमा पनि त्यो असल सँस्कारको विकास हुनसक्छ ।
साँच्चै पँक्तिकारको यो सल्लाह शिर्ष नेताहरुले मानिदिए कति जाती हुन्थ्यो होला । तर, नेपाली राजनीति यस्तो असल कहाँ हुन्छ होला र ? नेताहरु त्यति जाती र असल कहाँ हुन्छन् होला र ? अनि नेता असल नभएपछि देश पनि कहाँ उभो लाग्ला र ? तैपनि, दशैंको यो मौसममा यस्तै यस्तै शुभकामना चाहिँ दिउँ है ।