राष्ट्रिय लज्जा कि गौरव ?

करीव ६०-७० बर्षअघि भुटानमा खेति  गर्नै नेपालीले सिकाए भन्दा  फरक  पर्दैन । सुन्तलाको ब्यापार बढाए, दक्षिणका समथर फाँटलाई हराभरा बनाए, एउटा हिमाली देशका जनतालाई खानेकुरामा झण्डै आत्मनिर्भर नै बनाए। जव भुटानको व्यापारिक महत्व बढ्यो, नेपाली लखेटिए, भारतको  स्पस्ट  सहयोगमा  ।

 

 

 

 

गएको दुई, तीन दिनमा तीन, चार वटा चाख लाग्दा समाचार एकै पटक आए।

 

नेपाली युवा भाडामा लिने मलेशियाले उल्टो पैसो नपाउने भयो । र, ५८ रुपियाँको भेटीका भरमा हाम्रा युवा मलेशिया जान पाउने भए । सरकारले एउटा अत्यन्त सह्राहनीय काम गरे छ।

 

दोस्रो त्यस्तै समाचार आयो, हाम्रा  राष्ट्र प्रमुख कतार जानुभयो, कतारसङ्गको सम्बन्ध मजबुत बनाउन । परराष्ट्र मन्त्रालयका दलबलसहित पुग्नुभएकी सम्बैधानिक राष्ट्र प्रमुखको त्यहाँका राजासङ्ग मङ्गलबार औपचारिक वार्ता रे ।

 

तेस्रो समाचार आयो नेपालीले बिदेशी आलु चाख्न  थालेको   धेरै भएछ । आलु पढाउने देशमा हाम्रो जस्तै भूबनोट र हावापानी भएको भुटानदेखि उखर्माउलो गर्मी हुने बङ्ग्लादेशसमेत रैछन ।

 

तीनवटा अलग प्रकृतिका समाचार; एउटा व्यापार, अर्को कुटनीति र अर्को रोजगारीका । देश पनि एउटा दक्षिण पूर्वी एशियाको, अर्को पश्चिम एशिया र दुई वटा दक्षिण एशिया कै, तर फरक भूबनौट र हावापानी भएका ।

 

तर, तीनै वटा समाचारको दरिलो सम्बन्ध छ ।  भुटान र बङ्लादेशको आलु, मलेशियासङ्गको श्रम सम्झौता  र राष्ट्रपतिको कतार भ्रमण एउटै सिक्काका दुई पाटा हुन, समग्रतामा नेपाली मानसिकताका उपज ।

 

बङ्लादेश क्षेत्रफलमा नेपालभन्दा ललितपुर जिल्ला जति बढि मात्र छ, तर जनसङ्ख्या नेपालभन्दा ५ गुणाभन्दा बढि छ । भुटान नेपालको तीन भागको एक भाग छ,  र कतार १३   भागको एक भाग छ, क्षेत्रफल  हेर्दा ।

 

भुटान आफ्नो ७ लाख जनसङ्ख्याको १५ प्रतिशतलाई देश निकाला गरेर अहिले खुशी छ । ति निकालिएका नेपाली मूलका थिए । एक लाखभन्दा बढिलाई देश निकाला गरेर बाँकि रहेका ७ लाख ५० हजार जनतालाई खुशी साथ पालेको छ, त्यो हिमाली देशले ।

 

कतारले आफ्नो कुल जनसङ्ख्याको ८८% बिदेशी पालेको छ, देश खुशी बनाउन । देशमा कतारी मूलका जनता जम्मा १२% छन,  २५ प्रतिशत भारतीय र करीव १७ प्रतिशत नेपाली छन ।

 

भुटान नेपाली खेदेर खुशी छ, कतार नेपाली भित्र्याएर खुशी छ ।

 

नेपालभन्दा झण्डै दुई गुणा ठूलो मलेशियाको जनसङ्ख्या नेपालभन्दा करीव २५ लाख बढि छ । उसले ७ लाख नेपालीलाई काम र आश्रय दिएको छ, देशलाई समृद्ध बनाउन ।

 

बङ्लादेश छोडेर भुटान, मलेशिया र कतार तीनै देशको समृद्धिमा नेपाली जोडिएका छन ।

 

करीव ६०-७० बर्षअघि भुटानमा खेति  गर्नै नेपालीले सिकाए भन्दा हुन्छ । सुन्तलाको ब्यापार बढाए, दक्षिणका समथर फाँटलाई हराभरा बनाए, एउटा हिमाली देशका जनतालाई खानेकुरामा झण्डै आत्मनिर्भर बनाए। जव भुटानको व्यापारिक महत्व बढ्यो, नेपाली लखेटिए, भारतको स्पस्ट सहयोगमा।

 

झण्डै १०० बर्षपछि देश अर्कैको महसूस भयो र उनीहरू आफ्ना पूर्खाले छोडेर गएको देश फर्के बाँसका टहरामा बास र राष्ट्रसङ्घले मागेको भातमा भर पर्न । करीव ९५ हजार तेस्रो मुलुकतर्फ़  छरिए, आफ्नो पहिचान नामेट हुने गरी।

 

अहिले ७००,००० नेपाली मलेशिया बनाइरहेका छन, ४००,०००ले कतार बनाइरहेका छन, संसारका सबैभन्दा सस्ता कामदारको रुपमा ।

 

भुटानको कुल ३८,३९४ वर्ग किलोमिटर जमीन मध्ये चानचुन ६००० वर्ग किमि (विश्व बैङ्कको तथ्याङ्कमा ५९३० किमि) मा मात्रै खेति हुन्छ, हाम्रो पूर्वी तराईका ५ जिल्लाको खेतियोग्य जमीन जतिमा ।

 

हाम्रो देशको हालत भने गज्जबको छ । भुटानको आलु नभए भान्सामा तरकारी नपाक्ने भै सक्यो ।  पाकोस पनि कसरी? देशले गर्व गर्ने कर्म भनेकै हाम्रा आलु रोप्ने युवालाई विदेश पठाउनु र तिनले पढाएको ‘पसीना-द्रब्य’ (स्वेट मनि)मार्फत बङ्लादेश र भुटानका आलु किन्नुमा छ ।

 

ती युवालाई देश भित्रै काम सिर्जाना गर्ने विषय हाम्रो गर्वको विषय बन्न सकेन । सरकारको कार्यक्रमको कागजमा लेखिन चाहिँ छाडेको छैन, तर शासकको अर्काको पसीना-द्रव्यमा विदेश शयरमा गर्नुमा गर्व गर्ने बानी छ ।

 

आफ्ना उत्पादनशील युवालाई दास बनाइदिए बापत कसैको दर्शनार्थ राष्ट्रप्रमुख जानुमा हामीलाई गर्व छ । युवाहरू सित्तै पठाउन पाउनु र बढिभन्दा बढि युवा विदेश जाने वातावरण सिर्जना गर्नुमा हामीलाई गर्व छ । सरकारको बर्ष दिने प्रगति  विवरणमा भँगेरे टाउके अक्षरमा इतिहास लेखिने छन ‘राष्ट्रपतिको कतार भ्रमणले द्विपक्षीय सम्बन्ध प्रगाढ भयो’, ‘मलेशियासङ्गको श्रम सम्झौता ऐतिहासिक उपलब्धी हो’।

 

नेपालका कुटनैतिक सम्बन्धका हिसाबले महत्वपूर्ण देश धेरै छन । ऐतिहासिक सम्बन्ध अरू धेरै  देशसङ्ग छन । न भारत भ्रमणमा गएका छन, न चीन, न अमेरिका, न बेलायत, न जापान । कतार दोहोर्याई दोहोर्याई जानुको कारण के, त्यो पनि एउटा सम्बैधानिक राष्ट्रप्रमुखले ?

 

मैले एउटा हिमाली जिल्लाका कुनै गाउँको  कहावत सुनेको थिएँ २० बर्षअघि । जहाँ छोरी  बम्बै गएकि छैन भने बाबु आमाले हीनता बोध गर्थे रे, आफ्नो घरको छानो टीनले छाउन नपाएकोमा । अहिले त्यो विषय राष्ट्रिय लज्जाको विषय बनेको छ । र, चेलीबेटि  बेचबिखनमा उल्लेख्य कमी आएको छ ।

 

हाम्रा युवा सित्तैमा पठाउन पाउनु र हाम्रा धेरै युवालाई काम दिनेहरू श्रद्धाका पात्र बनेर हामीले पटक पटक दर्शन भेट गर्न पाउनु जहिलेसम्म हाम्रा गर्वका विषय भै रहन्छन, विश्वास गर्नुस यो देशका शासकले बङ्लादेश र भुटानको आलु र रामदेव बाबाले शुद्ध बनाएको गहूँत मात्रै होइन अरू यस्ता धेरै चिज विदेशबाट ल्याउनुमा गर्व गरिरहने छन् ।