बोकेको कुकुरले मृग मार्दैन !

 

 

सरकारका काम कारवाहीप्रति केहि आलोचना भएका छन् । यातायात व्यावसायीको सिण्डिकेट तोडियो भन्यो, तर तोड्न सकेन । ठेकेदारलाई समयमा काम नसके कारबाही गर्छु भन्यो, तर डेग चलेन । जसलाई घुस्याहा र भ्रष्ट भनि हटायो, दुरसञ्चार प्राधिकरणमा उसैलाई पुनः नियुक्ति गर्यो । निर्मला पन्त हत्याकाण्डको अनुसन्धान १०२ दिनसम्ममा पनि भएन । यस्ता आलोचना र विरोधलाई सरकारले सकारात्मक आलोचनाको रुपमा लिनु पर्दछ ।

 

 

 

बेला आयो शरदको चमचम गर्ने, चन्द्रिका हुन्छ राम्रो ।

मैलो हेमन्त निस्कियो जब अनि कुइरो, शीत–सम्पात राम्रो ।

फुस्रो छारो तुषारो सहित शिशिरको, शिर्शिरे वायु राम्रो ।

वासन्ति कान्तिलाई मलय–पवन वा पुष्प–माधुर्य राम्रो ।

चर्को ग्रीष्मऋर्तुमा त्यो खलखलि पसिना काढ्ने घाम राम्रो ।

वर्षामा मेघमाला मलिन भल, हिलो, भेल, आहाल राम्रो ।

जो बेला जो व्यवस्था प्रकृति–नियमले प्राप्त भो, त्यो छ राम्रो ।

जो त्यो मान्दैन राम्रो समझ अबुझ त्यो त्यसैको नराम्रो ।

 

अहिले वातावरण उर्जाशिल छ । पर्यटकको आगमन बढ्दो छ । दशैं तिहार जस्ता राष्ट्रिय पर्वमा देशभर नागरिक उमंग र उल्लासपूर्ण वातावरणमा चाडवाड मनाई रहेका छन् । यस बर्ष शरदको शुरुवातदेखि नै धान भित्राउँने समय शुरु भएको छ । यस बर्ष इतिहासमै सबैभन्दा धेरै धान फलेको तथ्यांक सार्वजनिक भएको छ । पाखाबारीभरि तरकारी र अन्य अनाज फलेका छन् । बारीका डिलमा थरिथरिका फूल फुलेका छन् ।

 

शनिवारदेखि त यमपञ्चक पनि शुरु भई सकेको छ । सबैका घरघरमा तिहारको झिलिमिलिका चहलपहल शुरु भएको छ । दिदीबाहिनी र दाजुभाईवीचको प्राकृतिक सम्बन्धलाई अझै गाढा बनाउँने पर्व तिहारले लैङ्गिक समानताको संस्कृतिलाई बढावा दिएको छ । कवि शिरोमणी पौडेलले हाम्रा छ वटा ऋतुको महिमा बताएको माथिको कविताले सबैमा सकारात्मकता श्रृजना गर्दछ । आजको आलेखले पनि सबैमा सकारात्मकताको सन्देश प्रवाह गरोस् भन्ने हेतुले सो कविताबाट आलेख शुरु गरिएको हो ।

 

नयाँ युगको पहिलो सरकारको नयाँपन

प्रत्येक नयाँ सरकारले नयाँ नयाँ योजनासहित केहि हलचल ल्याउँने गरेको इतिहास जहिले पनि हो । तर, यो सरकार नयाँ सरकार मात्रै होईन । यो त नयाँ युगको पहिलो सरकार हो । नयाँ सपना ‘समृद्ध नेपाल, सुखी नेपाली’ महाअभियानसहित संघिय लोकतान्त्रिक गणतन्त्रको पहिलो जननिर्वाचित सरकार हो । यो सरकारले गर्ने कुनै पनि नयाँ योजनाले देशभर तरङ्ग श्रृजना गर्दछ । अहिले जसरी देशमा सरकारको आलोचना गर्नेले खुद्रा मसिना काम पनि गरेन भन्ने आलोचना गरि रहेको सन्दर्भमा अब सरकारले कार्यपद्धति र कार्यशैलीमा परिवर्तन गरेमा यो अभियानले नयाँ तरङ्ग उत्पन्न गर्न सक्दछ । तर, कसरी ? सर्बत्र चासो र चिन्ता भएको छ ।

 

सरकारलाई असफल हुने छुट छैन

यो सरकारलाई असफल हुने छुट छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार भन्दै आएको अभिव्यक्ति हो । वास्तविकता पनि त्यहि हो । हो सरकारलाई असफल हुने छुट छैन । त्यसो भन्दैमा सरकारलाई अलमलिने छुट पनि छैन । सरकारको नौ महिनाको अबधिलाई हेर्ने हो भने यो कुनै लामो समय होईन सरकारको कामको मुल्यांकन गरि आलोचना गर्नुपर्ने, तर जुन गति लिनुपर्ने हो त्यो गति लिन नसकेको अबस्य हो । यो सरकारलाई असफल बनाउँने, घेराबन्दी गर्ने कोशिस भएको स्वयं प्रधानमन्त्रीले भन्दै आएका छन् । यो सरकार असफल हुनु भनेको संघीय लोकतान्त्रिक व्यवस्था नै असफल हुनु हो ।

 

हामीले यो देशमा धेरै सरकार असफल भएको देखेका छौं । २६ बर्षमा २७ सरकार शिर्षकका समाचार धेरै पढियो । अघिल्लो पुस्ताले अलमलमा नै समय वितायो । अबको नयाँ पुस्तालाई त्यो छुट छैन । अबको पुस्तालाई स्थीरता नदिने हो भने आगामी पुस्ताले पुरानो पुस्तालाई स्विकार गर्दैन ।

 

सरकार अलमलिनुमा संविधान बमोजिमका कानून नबन्नु नै पहिलो कारण हो । अब त्यो पाटो पनि कारण बन्न पाउँने छैन । सरकारका लागि गर्नुपर्ने सबै सुविधा उपलब्ध छन् । सुविधाजनक बहुमत मात्रै होईन तीन चौथाईको बहुमत प्राप्त सरकार हो, यो ।

 

प्रधानमन्त्रीले मन्त्रालयको अनुगमन गर्ने

दशैंपछि सरकारले नयाँ किसिमले काम गर्ने भन्ने सन्देश आएको छ । प्रधानमन्त्रीले मोवाइल एप्सबाट नै मन्त्री र मन्त्रालयका कामको अनुगमन गर्ने भएका छन् । केहि दिन विरामी परेर अस्पताल बसेका प्रधानमन्त्री शुक्रबारदेखि सरकारी निवासमा फर्केका छन् ।

 

कार्तिकको पहिलो हप्तादेखि नै प्रधानमन्त्रीले मन्त्री र सचिवलाई गत असार २५ र २६ गते प्रधानमन्त्री कार्यालयमा पेश गरेकका कार्य योजनाअनुसारको प्रगति विवरण पेश गर्न निर्देशन दिएपछि सचिवलाई प्रगति विवरण बनाउने चटारो परेको समाचारहरु सार्वजनिक भएका छन् । तर, ति विषयले जनु गतिमा कामको प्रगति हुनुपर्ने हो त्यो भएको देखिंदैन ।

 

प्रधानमन्त्रीले मन्त्री र सचिवबाट रिजण्ट वा परिणाम खोज्ने हो । अनुगमन गराउँने भनेको विज्ञबाट हो । प्रधानमन्त्रीले धेरै समय रिजल्ट सुन्ने योजना सुन्ने र समय सीमा भित्र कार्यसम्पादन गर्न निर्देशन दिने र आबश्यकताअनुसार स्थलगत निरिक्षण गर्ने हो । नयाँ नयाँ योजना र कार्यक्रमहरु दिन सक्नेबाट योजना र कार्यक्रमहरु सुन्ने हो र त्यसलाई सम्बन्धित मन्त्री र सचिवलाई कार्यान्वयनको लागि निर्देशन दिने हो ।

 

अनुगमन व्यवस्थापन तथा विज्ञबाट हुनुपर्छ

प्रधानमन्त्रीको अध्यक्षतामा नै सरकारका कामहरुको नियमित अनुगमन गर्ने स्थायी संरचना छ । यो औपचारिक संयन्त्र भएकोले यसले औपचारिकता मात्र निर्वाह गर्दछ । अहिलेको सरकारले प्रत्येक कामको नियमित अनुगमन गर्न व्यवस्थापन तथा विषय विज्ञ सम्मिलित अनुगमन तथा मुल्यांकन समुह तयार गरि सरकारी कामहरुको नियमित अनुगमन तथा मुल्यांकन गर्नुपर्दछ ।

 

सरकारले प्रधानमन्त्री कार्यालयमा व्यवस्थापन तथा धेरै विषयका विज्ञको अनुगमन तथा मुल्यांकन समुह बनाएर नियमित कार्ययोजनासहित काम गर्ने परिपाटि बसाल्नु पर्दछ । निहित स्वार्थ भएका झुण्डलाई जागिर दिएर सरकारी कामको अनुगमन र मुल्यांकन हुन सक्दैन ।

 

थिंकट्यांकहरु जागिरे होईनन्

सरकारले थिंक ट्यांक नियुक्त गरेको छ । केहि केहि थिंक ट्याक नियमित कार्यालय आउँने दैनिक कार्यालय र एजेण्डा तयार गर्ने खालका मात्रै देखिए । सधैं मिटिङ्ग भ्याई नभ्याई हुने विज्ञ थिंक ट्याकको नाम दिए पनि वास्तविक थिंक ट्यांक होईनन् । थिंक ट्यांक जागिरे जस्ता हुँदैनन् । मिसनमा काम गर्ने निश्चित समय सीमा भित्र निश्चित समस्याको समाधान दिन सक्ने श्रृजनशिल व्यक्तिहरु नै हुन, थिंक ट्यांकहरु भनेका ।

 

उनीहरु सधैं समस्या समाधानका विकल्प खोजि रहन्छन् । दश–पाँच गर्ने जागिरे होईनन् थिंक ट्यांक भनेका । पाँच सात जनाको समिति जस्तो पनि हुँदैनन् । विभिन्न क्षेत्रगत विज्ञता भएका समस्या समाधानका विकल्प दिन सक्ने व्यक्ति हुन, थिंक ट्यांक भनेका । जसरी कार्यकारी प्रमुख, सुरक्षा निकाय र चिकित्सा एवं अन्य पेशागत क्षेत्रका व्यक्तिहरु चौविसै घण्टा आफ्नो काममा खटिन्छन् ।

 

त्यसै गरि आफुलाई तोकिएको क्षेत्रमा चौविसै घण्टा समस्या समाधानका नयाँ नयाँ विकल्पहरु खोजि रहने र जुनसुकै बेला कार्यकारीलाई समस्या समाधानका विकल्पहरु दिने जिम्मेवारी पाएका व्यक्ति हुन, वास्तविक थिंक ट्यांक । इस्यु वेस्ड थिंक ट्यांक हुनु पर्छ । स्थायी जागिरे जस्ता होईनन् । धेरै विषयमा धेरै जना थिंक ट्यांक चाहिन्छन् ।

 

डेलिभरी, डेलिभरी र डेलिभरी

सरकारको कामको मापन गर्ने भनेको सरकारले गर्ने कामलाई बौद्धिक समुदायले गर्ने मुल्यांकन मात्रै होइन । नागरिकले सरकारले प्रवाह गर्ने सेवा सुविधाको डेलिभरी भएको प्रत्याभुति हुनु हो । बुद्धिजीवी पुर्वाग्रही हुन सक्छन् । तर नागरिकहरु हुँदैनन् । सरकारको अलमलले सरकारको ढिलासुस्तिले नागरिकमा नैरास्यता बढाउँदछ । नागरिकहरुले सरकारको डेलिभरी अनुभुति गर्न नपाएको वस्तुगत यथार्थलाई सरकारी निकायहरुले आत्मसाथ गर्दै सर्भिस डेलिभरी गर्नु जरुरी छ ।

 

कार्यकारीले गर्ने भनेको निर्णयहरु हो । कार्यकारीले गरेको निर्णहरुले नै सर्भिस डेलिभरी हुने हो । सर्भिस डेलिभरी गर्ने संयन्त्र कर्मचारीतन्त्र र प्रादेशिक तथा स्थानीय तह हो । स्थानीय जनप्रतिनिधि चलायमान नभएसम्म सरकारी नीति तथा कार्यक्रमको कार्यान्वयन हुन सक्दैनन् ।

 

प्रदेश र स्थानीय प्रतिनिधि परिचालन गर्ने भनेको आफ्ना पार्टि संगठनसमेत परिचालन गर्नु हो । हाम्रा स्थानीय जनप्रतिनिधिहरु कर्मचरी जस्ता भएका छन् । जसले जनताको प्रतिनिधि हुनुलाई स्वयंसेवीको रुपमा जनसेवा गर्ने प्रतिनिधिको रुपमा अनुभुति गराउँन सकेका छैनन् । उनीहरु आफ्नो तलब भत्ता सवारी सुविधा आदिमा केन्द्रित भएकाले जनताले उनीहरुले गर्ने दैनिक कार्यहरुलाई पनि प्रभावकारी डेलिभरिको रुपमा अनुभुति गरेका छैनन् ।

 

कर्मचारीहरु स्वभावलेनै अल्छि, स्वार्थी र सुविधाभोगी हुन्छन् । हाम्रो देशमा जनशक्ति व्यवस्थापन गर्ने र जनशक्ति परिचालन गर्ने सवालमा विगतका व्यवस्थाहरुले बनाएको संस्कृति हो यो । त्यसमा पनि युनियनको दवदवाले गर्दा कर्मचारी नेतृत्व आफ्नो स्वार्थमा कर्मचारीतन्त्रलाई परिचालन गर्ने परिपाटिमा मात्रै अभ्यस्त भएको छ । यसै कारणले सर्भिस डेलिभरी हुन सकेको छैन । सरकारले स्थानीय जनप्रतिनिधि र कर्मचरी परिचालन गर्दै, गर्नु पर्ने काम भनेको सर्भिस डेलिभरी, डेलिभरी र डेलिभरि नै हो ।

 

राम्रो होस् भनेर भएका आलोचनाहरु

यो मिलेन, त्यो मिलेन भनेर जब कसैले भन्छ भने त्यसमा चारवटा अबस्था हुन सक्छन् । पहिलो निर्णय प्रक्रिया र त्यसमा सिमितता’bout आलोचकलाई ज्ञान छैन । दोश्रो अबस्था भनेको त्यो निर्णयप्रति आलोचक असहमत छन् । पुर्वाग्रही छन् । तेश्रो भनेको निर्णय नै गलत भएको छ । अर्थात निर्णयकर्ताले दवाव, प्रभाव वा आफ्नो स्वार्थमा मात्रै निर्णय गरेको छ । चौथो भनेको साँच्चै सहि निर्णय भएको छैनन् । राम्रो निर्णय होस् र नतिजा पनि राम्रो होस भनेर गरिने आलोचना ।

 

सरकारका निर्णय र ढिला सुस्तिप्रति केहि आलोचना भएका छन् । पहिलो सरकारले यातायात व्यावसायीको सिण्डिकेट तोड्ने भन्यो, तर तोड्न सकेन । दोश्रो ठेकेदारहरुलाई समय सीमा भित्र काम नगरे कारबाहि गर्छु भन्यो, तर डेग चलेन । तेश्रो नेपाल दुरसञ्चार प्राधिकरणमा जसलाई घुस्याहा र भ्रष्ट भनि हटायो उसैलाई पुनः नियुक्ति गरियो । चौथो निर्मला हत्याकाण्डको समयमा सुरक्षा निकाय परिचालन र अनुसन्धानमा जुन किसिमको ढिलासुस्ति भयो त्यसले परिणाम राम्रो सन्देश दिएन । यी आलोचना र विरोधलाई सरकारले राम्रो होस् भनेर भएका आलोचना र विरोधको रुपमा लिन सक्नुपर्दछ ।

 

स्लोगन भयो कार्यक्रम भएन केन्द्रको अधिकार तलतल गएन

सरकारले राम्रो स्लोगन दिएको छ ‘समृद्ध नेपाल, सुखी नेपाली’ । यो स्लोगन राम्रो भयो, तर त्यसमा व्यापक रुपमा कार्यक्रम, योजना र सपना हुनुपर्ने हो । सपना पनि भयो । तर, कार्यक्रमहरु भएनन् । केहि नयाँ कार्यक्रम र योजना’boutमा कुरा गर्न खोज्दा एक श्रृजनशिल उद्यमी पर्यटन व्यवसायीले पंक्तिकारसँग भने “के कस्ता कार्यक्रमको सुझाव दिन्छौ मित्र, तिम्रा सुझाबले केहि हुनेवाला छैन । जबसम्म केन्द्रले प्रदेश र स्थानीय तहलाई अधिकार दिँदैन तबसम्म केहि नयाँपन आउदैन” उनले अगाडि भने लेखनाथको कविता जस्तो राम्रो गर्दिन भने पनि आगामी बर्ष मेलम्ची आइहाल्छ । सडकमा धुलो उड्न पनि छोडिहाल्छ । प्राकृतिक रुपमा हुने विकास पनि भैहाल्छ । के को नयाँ नयाँ आईडिया खोज्छौ । उनीहरुले खोजे पो बन्छ कार्यक्रम । लेखकले लेख्दैमा आईडिया बाँड्दैमा सुन्ने पनि होइनन् । आत्मसाथ पनि गर्दैनन् । विर्सियौ नेपाली उखान ‘बोकेको कुकुरले मृग मार्दैन’ उनले आफ्ना कुरा यहिँ रोके ।

 

प्रम पुनः अस्पताल जानु नपरोस्, शुभकामना !

कार्यकारी प्रमुखको स्वास्थ्य सबल रहेमा नै मुलुकले समृद्धि हासिल गर्ने हो । शुक्रबार अस्पतालबाट डिष्चार्ज भई निवास फर्केका प्रधानमन्त्री ओलीलाई सबै नेपालीहरुको कामना छ यो कार्यकालमा प्रधानमन्त्री ओलीलाई पुनः अस्पताल भर्ना हुनु नपरोस् । शुभकामना ! यसै हप्ता शुरु हुने दिपालीको सबैमा हार्दिक शुभकामना !