असान्दर्भिक नङ्ग्याई

देशको मेरुदण्ड मानिएका नेताका मेरुदण्ड बलिया हुनुपर्छ, नशा बलिया हुनुपर्छ, छाला स्वस्थ हुनुपर्छ । यो नेपाली जनताको कामना हो । मेरुदण्ड बलिया भएका नेता विदेशीको दवावमा झुक्दैनन, यदाकदा झुके पनि यिनको ढाड दुख्दैन । नशा बलिया भए हरेक अङ्गमा राम्रो रक्तसञ्चार हुन्छ, नेताको दिमागले सोचेको कुरा औँलाको टुप्पोसम्म पुग्छ । छाला सफा भए नेताको छवि राम्रो देखिन्छ।
सन २००२ को अगस्ट र सेप्टेम्बर महिनामा म जापानको एउटा अध्ययन भ्रमणमा थिएँ । हिरोशिमाको सहर छेऊको एउटा परिवारले मलाई ३/४ दिनको आतिथ्य प्रदान गरेको थियो । त्यसै पनि समुद्रपारको पहिलो यात्रा, सबै चिज कौतुहलपूर्ण त्यहीँमाथि बडो मुस्किलले अङ्ग्रेजीमा वातचित गर्ने, एक ५०/५५ बर्ष जत्तिकि बृद्ध आमा र उनीभन्दा ५/६ बर्ष जेठा अनि अङ्ग्रेजी फिटिक्कै नबुझ्ने उनका श्रीमानसङ्गको आतिथ्य । म अहिले त्यसको कठिनाई र रोमान्चकताको बर्णन शब्दमा गर्न सक्दिनँ ।
कुनैकुनै शब्द बुझाउन मैले १० मिनेट प्रयास मात्रै गरिनँ पेन्सिल लिएर नक्सासमेत बनाएँ । एउटा क्याल्कुलेटर जस्तो मेशिनले हाम्रो दोभाषेको आंशिक काम गर्थ्यो । बुझेपछि ति बृद्धा आमा र उनकी अर्की साथी “आशोदेशुका” भन्दै पेट मिचिमिचि हाँस्थे, कुनै कुनै दिनमा त ५० पल्ट त्यस्ता ठूला हाँसो चले होलान ।
संस्कृतिको एउटा अङ्ग हो, भाषा । एक अर्काको भाषा सजिलै नबुझे पनि एउटा डिस्नेरी जस्तो मेशिनले हामी विचको वार्ता सरल बनायो । हरेक ऐतिहासिक र पर्यटकीय ठाउँ ति बृद्ध आमाले घुमाइन, टाढा जानु पर्दा अर्की साथीको सहारा लिइन । भाषाको कुनै कठिनाई बिनै मेरो ३/४ दिने बसाई कट्यो ।
आमैले मलाई पहिलो दिनमै दुई कोठे सौचालयको भित्रि कोठामा दुई ठाडा सेता भाँडा देखाएकि थिइन । ‘त्यो तातो पानी’, ‘त्यो वासिङ्ग मेशिन’ भनेको मलाई याद थियो । अगस्टको गर्मी, पहिलो दिन मैले धारोमा नुहाएँ, तातोपानीको वरिपरि कुनै भाँडो देखिनँ, उघाएर चलाउने कुरै भएन । वासिङ्ग मेशिन मैले कहिल्यै चलाएको थिइन । यसो हेरेँ ०, १,२,३,४ बाहेक एउटै शब्द अङ्ग्रेजीमा देखिनँ सहयोगबिना चलाउने कुरै भएन ।
तर, मेरो बसाइको दोस्रो दिन बिहान भने एउटा अप्ठेरो अवस्था आइलाग्यो । स्वाट्ट ढोका खोलेर भित्र हेरेको त वासिङ्ग मेशिन छेऊको अर्को भाँडोमा घरका बुढाबा पस्दै रैछन फगत नाङ्गै । ढोका तिर हेरे, मलाई देखे, मैले ढोका ढेप्दा नढेप्दै उनी भाँडा भित्र पसे, बिलकूल नआत्तिइकन । फर्किँदा तौलिया बेरेका उनले श्रीमतिलाई के के भने मैले बुझिनँ, बुढिले उल्था गर्दिँदै भनिन “उसले पाहुना जान लागेको रैछ, सरी भन्देऊ, उ तातो पानीमा जान लागेको रैछ मैले उछिने” ।
त्यसपछि आमैले मलाई पहिले तिमि जाऊ अनि म जान्छु भनिन । जापानको संस्कृतिमा अनभिज्ञ म बुढाबा चोबलिएको भाँडोमा भित्री बस्त्रसहित पसेँ, दश मिनेट बसेर निस्कँदा कम्मरको इलास्टिक आफैँ झर्ने भैसकेको थियो । अप्ठ्यारो मान्दै आमैलाई भने “त्यो पानी फ्याँक्ने प्वाल देखिनँ नि!” बुढिले भनिन, “होइन म पनि जानै छ”।
संस्कृतिकै अर्को महत्वपूर्ण पाटो लुवाई, खुवाई, स्नान आदि समेत हुन भन्ने बुझेको त थिएँ, तर मैले खासै ध्यान दिएको थिइन । फोहोर-जल-स्नान-संस्कृतिको जिज्ञाशा बढेकोले मैले बेलुका उनीहरूको कम्प्युटरमा इन्टरनेट चलाउने अनुमति मागेँ, अहिले जस्तो इन्टरनेट चल्ने फोन थिएनन ।
इन्टरनेटमा प्रसस्तै लेखोट रहेछन जापानको ‘तातोपानी-स्नान संस्कृति’’bout । हिरोशिमापट्टि चाहिँ अलि कम, तर जापानको उत्तरी पाटोका तातोपानीका मूल, झर्ना, कुण्ड त विश्व प्रख्यात नै रहेछन । मलाई छलफलको अलिकति खुराक मिलेपछि मैले कुरा कोट्याएँ । बाले दोभाषेमार्फत र आमैले आफैँ मलाई ब्याख्या गरे किन खनीजयुक्त तातोपानीको कुण्डको ठाउँमा तिनले आफ्नो घरमा ठाडो भाँडोमा तातोपानी राखेको र सबै परिवार पालैपालो डुबेको भन्ने’bout ।
र, तिनका गफबाट मैले बुझेँ मैले नाङ्गै देख्दा पनि बा त लजाएकै रहेनछन, म डुबेको कुण्डमा आमै नाङ्गै डुबेर निस्किछन । अर्थात त्यो भाँडो नाङ्गै पस्नेहरूको रैछ र एउटा डुबेको भाँडोमा अर्को डुब्नु जापानी तातोपानी संस्कृतिकै अंश रहेछ ।
खनीजयुक्त तातोपानीका कुण्ड त्यसै पनि औषधी समान हुन । स-खनिज जल चिकित्सा र स्नान-चिकित्सा (स्पा थेरापी एंड बाल्नियो थेरापी ) कम्मर र मेरुदण्डको दुखाई र छाला, नशा, रक्त सञ्चार आदि बिमारका लागि अत्यन्तै फाइदाजनक चिकित्सा पद्दति हुन ।

हाम्रा एउटा पूर्व प्रधानमन्त्री र उनका मित्र वर्तमान गृहमन्त्री म्याग्दिको तातोपानी पुगेछन । मूलधारकै पत्रिकाले उनीहरूको कम्मरमुनि भित्री बस्त्र मात्रै लगाएर कुण्डमा डुबिरहेको फोटो प्राथमिकताका साथ छापे, सामाजिक सञ्जालमा असङ्ख्य मात्रामा फोटो शेयर भए ।
देशमा मेरुदण्ड मानिएका नेताको मेरुदण्ड बलियो हुनुपर्छ, नशा बलिया हुनुपर्छ, छाला स्वस्थ हुनुपर्छ । यो नेपाली जनताको कामना हो । मेरुदण्ड बलिया भएका नेता विदेशीको दवावमा झुक्दैनन, यदाकदा झुके पनि यिनको ढाड दुख्दैन । नशा बलिया भए हरेक अङ्गमा राम्रो रक्तसञ्चार हुन्छ, नेताको दिमागले सोचेको कुरा औँलाको टुप्पोसम्म पुग्छ । छाला सफा भए नेताको छवि राम्रो देखिन्छ । जनताले तिनलाई देख्दा थुकौंथुकौँ लागेर मुख पानीले भरिन्न ।
त्यसैले कुण्ड स्न्नानलाई ब्यङ्गबाण प्रयोग गर्नु नेताको होइन देशकै स्वास्थ्यप्रति सम्बेदनशील नहुनु जस्तै हो । फेरिर आर्थिक दृष्टिकोणले पनि स्वदेशी जलस्नान सिङ्गापुरमा गरिने जल-चिकित्साभन्दा किफायती छ । त्यसैले सकेसम्म सबैले स्वदेशी जलस्नानलाई प्रबर्द्धन गर्नुपर्छ भन्ने मेरो सुझाव छ ।
नग्नताको सांस्कृतिक सम्बन्ध हुन्छ । म गाउँमा महिला र पुरुष एउटै धारोमा सराबरी नुहाएर हुर्केको मान्छे। माइतिघरको पेटिकोट जुलुसजस्तो जुलुसै हुन्थ्यो हाम्रो धारामा । जेठाजू, ससुरा छोडेर अरूसङ्ग त्यति धेरै सतर्क हुनु पर्दैनथ्यो खासगरी नुहाउने धारामा । त्यसैले नग्नताको सांस्कृतिकमात्रै होइन खास सान्दर्भिक वा ‘कन्टेक्स्चुअल’ सम्बन्धसमेत छ । नुहाउँदा निश्चित मात्रामा नाङ्गिनु असान्दर्भिक ठहरिन्न । प्रेसर, सुगरका रोगी नेता तातोपानीका कुण्डमा भित्रि तल्लो बस्त्रमा देखिनु त्यसैले असान्दर्भिक होइन ।
औषधोपचारको यात्रा तीर्थयात्र जस्तै हो । सपरिवार जानु आसान्दर्भिक होइन । पूर्व प्रधानमन्त्री, उनकी पत्नी, छोरी, सहयोगी, निजी चिकित्सक…. सबै सहयात्री हुन यस मानेमा । गृहमन्त्री, उनकी श्रीमति, उनकी बैनी, बैनीका श्रीमान त्यसैले सहयात्री नै भए ।
तर, राजाले, पञ्चले, काङ्ग्रेसले, एमालेले देखाएको नाङ्गोपनको बिरोधका जगमा जनयुद्ध सफल पारी सत्तामा आएका नेताहरूको नाङ्गोपन चाहिँ समाजले देख्यो, महसूस गर्यो।
नुहाउने बेला पनि छेऊमा आएर चाकरी गर्ने कार्यकर्ता र नाङ्गो देख्ने बित्तिकै बैज्जत गर्ने गरी समाचार र सामाजिक सञ्जालका भित्ता रङ्ग्याउने कलाकारको विवेक देखेर मलाई दया पलायो । स्वास्थ्य उपचारका क्रममा नाङ्गो हुने वा बिषेश लुगा लगाउने चलन कुनै नौलो होइन । यो ब्यङ्गबाणको बिषय होइन। ब्यङ्गबाणको बिषय नेता नाङ्गै हुँदा पनि छेउमा उभिएर चाकरी बजाउने र नाङ्गै हुनेपरी सरकारी स्रोतको दुरुपयोग गर्ने चलन चाहिँ हुन । आफूलाई आलोचनात्मक चेतका ठेकेदारहरू किन प्रश्न उठाउँदैनन कुण्ड जाने हेलिकप्टर नेताको गोजीको पैसोले चल्छ कि जनताले तिरेको पैसोले?
राष्ट्रिय सेनाको हेलिकप्टरमा चढेर सपरिवार तातोपानीमा चोबलिन जाँदा शरीर जे जति नाङ्गियो त्यसको सयौँ गुणा उनीहरूको चरीत्र नाङ्गियो । सरकारी सेनाको हेलिकप्टरमा बैनी-ज्वाइँसहितको सवारीको खर्च कसले ब्यहोर्यो मलाई थाहा छैन । भोली गृहमन्त्रीर पूर्व प्रधानमन्त्रीले कुनै माध्यमबाट प्रष्ट पार्लान । बैनी ज्वाइँले आफ्नो गोजीबाट भाडा तिरेका पनि हुन सक्छन । तर, जनताले देख्दा त्योभन्दा नाङ्गो नाच केही हुन्न सरकारी स्रोतमाथि । आपतकालीन उद्दार, ढुवानी, महत्वपूर्न व्यक्तिको यात्रामा सेनाको हेलिकप्टर प्रयोग होला, कुनै तरीकाले भाडा असूल्ला सेनाले ।
तर, तातोपानी कुण्ड स्नानले एउटा गम्भिर प्रश्न उठाएको छ । सेनाको हेलिकप्टर प्रयोग कस्ले, कस्तो अवस्थामा, कुन प्रयोजनका लागि प्रयोग गर्ने ? पैसो तिरेर कुनै धनीमानीले घर जान्छु भन्ला, पार्क घुम्छु भन्ला, तातोपानी जान्छु भन्ला र सेनाको हेलिप्याडमा ससम्मन उत्रन्छु भन्ला, सेनाले त्यो सुबिधा दिन्छ ?
अरू त के नै गर्न सकिन्छ, तर असान्दर्भिक तरीकाले नाङ्गिएको यो घटनाको जबाफको प्रतिक्षा गरौँ ।