राजनैतिक पद, भागबण्डामा जालझेल

 

 

निलाम्बर आचार्यको जैविक जन्म जसको कोखमा भएको र जोसुकैको काखमा लालनपालन भए पनि उनको राजनीतिक जन्म र लालनपालन चाँही कम्युनिष्ट कोख र  काखमा नै  भएको हो।

 

 

 

 

यो हप्ता एउटा पद र दुई व्यक्तिको नामले देशको सञ्चार माध्यममा प्राथमिकता पाएको छ । बिषय हुन, राजदुत पद र व्यक्ति निलाम्बर आचार्य र अन्जान शाक्य हुन् ।

 

नेपालका शासकहरु यसोउसो गरेर राजनैतिक पदमा आफ्ना मान्छे भर्ति गर्न पाए र भ्याएसम्म कतै पनि छाड्दैनन् । तर, यसपाली यो बिषयले त्यति काम गर्यो जस्तो लागेन ।

 

निलाम्बर आचार्य के सत्ताले रुचाइएका निर्बिकल्प व्यक्ति थिए त ? करिब एक वर्षसम्म उनी जस्ता उपयुक्त व्यक्ति नभेटिएरै राजदुत पद खाली भएको हो त ?

 

निलाम्बर आचार्यको जैविक जन्म जहिले र जसको कोखमा भएर र जोसुकैको काखमा लालनपालन भएपनि उनको राजनीतिक जन्म र लालनपालन चाँही कम्युनिष्ट कोखमै भएको हो । तर, उनले आफु जन्मेको कोख र हुर्केको काख काम नलाग्ने भन्ठानेर विपक्षीको काखमा हामफालेका थिए ।

 

त्यसवापत उनले श्रीलंकाको राजदुत पद पड्काए । त्यसको अतिरिक्त प्रथम संबिधानसभामा संबैधानिक समितिको सभापतिसमेत भए ।

 

आज अचम्मको कुरा त के हो भने भित्रभित्र के खिचडी यसरी पाक्यो कि फेरि उनी त्यहि भुतपुर्व सगोत्री भाइको सरकारले पत्याएर भारतका लागि नेपाली राजदुत सिफारिश हुन पुगे ।

 

तर, के पचहत्तर बर्ष पुगि सकेका व्यक्तिको ठाऊँमा अरु कसैलाई त्यो पद दिनु उपयुक्त हुँदैन थियो र ? राजनीतिमा समेत युवाले स्थान पाउँन नसकेर पार्टी भित्र उमेरहदको कुरा बारम्बार उठिरहेको छ । तर, अत्यधिक सक्रिय भएर राजदुतको जिम्मेवारी निभाउँने बेलामा फेरि एक बृद्ध र बारम्बार अवसर पाइसकेका व्यक्तिलाई अर्को अवसर ?

 

भारतको राजदुत नियुक्ति भनेको अरु देशको भन्दा फरक छ । यहाँ जनस्तरका समस्या, पार्टिका समस्या, बिरामीका समस्या, विद्यार्थीका समस्या, ब्यापारीको समस्या, स्वयं दुतावास भवनको समस्या, सरकार बिचको समस्या, अनि बिभिन्न खुफिया संस्था जस्तै ‘रअ’ र ‘आइएसआइ’को समस्या जस्ता सबै बुझ्न र जुझ्न सक्ने अनि त्यसलाई कुटनीतिक तरिकाले समाधान गर्न सक्ने मानिसको जरुरत पर्दछ ।

 

उनी कति योग्य वा अयोग्य आदि इत्यादि भनेर समय खेर नफालौं । उनी अवश्य पनि त्यो पदको लागि बुझेका, खारिएका व्यक्ति नै होलान, तर काम गर्नलाई शारीरिक सक्रियताको पनि जरुरत पर्दछ ।

 

उनी जस्ता व्यक्तिलाई विज्ञ वा सल्लाहकार समूहमा उपयोग गरेर क्षमता भएर पनि देखाउँन नपाएका, सडक, एफ.एम., रेडियो, अखवार, टेलिभिजन तथा सामाजिक सञ्जालमा अवसरको भिख मागिरहेका व्यक्तिमध्येबाट उपयुक्त व्यक्तिलाई यो मौका दिएको भए अझै राम्रो हुन्थ्यो की ?

 

भनिन्छ भारतले पहिले सुरेन्द्र कार्कीलाई अस्विकार गरेकोले अहिले उसले स्विकार गर्ने व्यक्तिको खोजीमा आचार्य परेका हुन् । पहिले पहिले हाम्रो देशका सरकार भारतकै इशारामा ढल्थ्यो र बन्थ्यो । सरकार मात्रै होइन, प्रधानमन्त्री र मन्त्रीसम्मको लिष्ट पनि उतैबाट आउँथ्यो ।

 

यसमा कति प्रतिशतको सत्यता छ भनेर मापन गर्ने उपयुक्त मापदण्ड छैन, तर त्यतिबेलाका नेताको दिल्ली र लैनचौर दौडले हामी नेपाली जनताको शिर कति निहुरेको छ, त्यो हामीले बिर्सेका छैनौं । त्यस्तो अवसरको अभाव भारतले महसुस गर्यो, ऊ न्यास्रयो होला भनेर अहिले उसलाई नै छनौट गर्न दिएको पो हो कि ?

 

प्रधानमन्त्री केपि ओली राजनीतिका चतुर खेलाडी हुन्, यसमा दुई मत छैन । माओवादीले आफ्नो सरकार ढालेर काँग्रेसको बुई चढेर प्रचण्ड प्रधानमन्त्री बनेपनि उनले अनेक कुटनीतिक अस्त्र प्रयोग गर्दै कांग्रेससँग माओवादीलाई छुटाएर एमालेसँग सहकार्य मात्र होइन पार्टी नै एक गराए ।

 

जसबाट नेपालको संसदमा सदा देखा पर्ने त्रिशंकु पार्टीबिचको तानातान अहिले समाप्त भएको छ । एमाले त्यसमा पनि ओली खेमा त्यसमा पनि स्वयं ओली र माओबादी त्यसमा पनि प्रचण्डको बिचमा पानी बाराबारको स्थिति थियो, कुनै बेला ।

 

बरु माधव नेपाल र प्रचण्डको बिचमा केहि हदसम्म भए पनि सौहार्दपूर्ण सम्वन्ध थियो । तर, आज केपी ओली र प्रचण्ड एउटै पार्टीका दुई अध्यक्ष बनेर बसेका छन् । आफू शक्तिशाली प्रधानमन्त्री, आफ्नै पार्टीका सांसदबाहेक कसैले पनि चाहेर पनि ढल्न नसक्ने सरकार छ, ओलीको साथमा ।

 

हामी सबैले अनुभव गरेअनुसार, संसदमा प्रमुख प्रतिपक्षदल नै छैन । काँग्रेस वा शेरवहादुर देउवाको पार्टीभन्दा त माधव नेपालले बेला बेलामा संसद तताउँछन् । सायद त्यसैको पुरस्कार स्वरुप काँग्रेसलाई राजदुत पद दिइएको त हैन ? यो राजनीति हो ।

 

प्रधानमन्त्री पत्नि राधिका शाक्यसँग थर मिलेर हो वा साँच्चीकै हो, अञ्जान शाक्यलाई ओलीको साली भनिदो रहेछ, बिद्याशुन्दर शाक्यलाई साला भनिदोरहेछ । अष्टलक्ष्मी शाक्य चाहिं कोहि पनि नपर्ने रहिछिन् कि क्या हो?

 

उनी तीन नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने एक नम्बरमा चर्चा चलेको थियो, पछि डोरमणी पौडेलले त्यो डोरी डोर्याउँन सफल भए।

 

जानकारीमा आएअनुसार अञ्जान शाक्य शिक्षित, पढेलेखेकि नै हुन्, पढाउँने पनि गर्छिन । गित पनि गाउँछिन् । तर, के उनी साँच्चीकै राजदुत पद प्राप्त गर्ने योग्य व्यक्तिको मापदण्ड भित्र पर्छिन् कि पर्दिनन् ?

 

यो पदमा कुनै दिन ‘म्यानपावरवाली’ भनेर बिजयकुमार गच्छदारको कोटामा आएकी पात्रले उपनाम पाइसकेकी छिन् । फेरि पनि त्यहि भाखा दोहोरिन बेर लाग्दैन ।

 

उपयुक्त पात्र हो भने त साली नै भएपनि के फरक पर्छ र ? पुरुषको वर्चस्व भएको भिडमा एउटी महिला पात्र भए पनि उक्त पदमा पत्याउँन योग्य त भेटियो भनेर खुशी हुनु पर्दछ । आफ्नो योग्यता भिनाजुको पदको अगाडी बली दिन किन पर्यो र ?

 

तर, बिना मापदण्ड नातागोता नै भर्ना गर्न थालियो भने चाहिँ एउटा व्यक्तिको कारण देश चाँही धेरै पछाडी पर्छ । उसै पनि देश विकाशको गति अन्य विकाशिल मुलुकभन्दा धेरै वर्ष पछाडी परेको सबैलाई जानकारी छँदैछ ।

 

राजनीतिक भर्ति भनेको सरकार सञ्चालन गर्ने पार्टीलाई सजिलो होस् भनेर आफूलाई उपयुक्त लाग्ने व्यक्तिलाई उक्त पदमा पुर्याएर सरकारको लक्ष्य प्राप्तिमा सहयोग गरोस् भन्ने हेतुले नै हो ।

 

यसमा व्यक्तिले आफ्नै पार्टीको सदस्यता लिनु हुनु जरुरी छैन । हाम्रो जस्तो देशमा जताततै राजनीतिले छोएको भएर होला कुनै पनि व्यक्ति स्वतन्त्र रहेको पाउनै मुश्किल छ ।

 

विद्यार्थी, खेलाडी, पत्रकार, समाजसेवी, मानव अधिकारकर्मी, शिक्षक, संघ, संस्थादेखि सरकारी कर्मचारी, हुँदाहुँदा स्वतन्त्र नागरिक समुह भनेर नाम राख्ने अनि त्यसमा पनि पार्टीकै अनुहार देखिने परम्परा जस्तै भएको छ।

 

अब यो रोग आर्मी र पुलिसमा मात्रै देखिन बाँकी छ । यदि यस्तै चालाहो भने त्यो सौभाग्य पनि कुनै दिन नपाइएला भन्न सकिन्न । जब सरकारी कर्मचारीले युनियन राख्न पाउँछन भने हामी किन नपाउँने भन्न के बेर ।

 

हामीलाई विदेशी भुमिमा रहेका हजारौं लाखौं नेपाली नागरिकको सुख दुःखको उचित सुनुवाई गर्न सक्ने, उनीहरुलाई अप्ठेरो परेको बेलामा रात, बिरात नभन्ने, बिदा, पर्व नभन्ने, बिरामी वा घाइते हुँदा, जेल पर्दा, मृत्यु हुँदा, बाकसमा लाश पठाउँदा जस्ता हर समय आफूसँगै छु भन्ने आभाष दिन सक्ने व्यक्तिको जरुरत छ ।

 

त्यति मात्र होइन, विदेशी भुमिमा परेको हरेक प्रकारका क्षतिपूर्तिदेखि त्यहाँका सरकारका नीति नियम’bout जानकारी दिन सक्ने योग्य व्यक्तिको चयन हुनु पनि अत्यन्तै जरुरी छ ।