शंकर र योगेश सुन्दरीतिर, गगन निर्मलातिर

शंकर र योगेश विश्व सुन्दरी प्रतियोगितामा भाग लिइरहेकी आफ्ना सहयात्री कमरेड विरोध खतिवडाकी पुत्रीलाई जिताउँन सामाजिक सञ्जालमार्फत भोट मागिरहेका छन् । मानौं, नेकपाको यो नै अहिलेको मुख्य क्रान्तिकारी कार्यभार हो ।
निर्मला पन्तका मातापिता यतिबेला न्यायका लागि अनिश्चितकालीन धर्नामा बसिरहेका छन् । उनीहरुलाई यतिबेला दोहोरो पिडा छ । कलकलाउँदी छोरीमाथि बलात्कार र हत्याको खबर सुनेदेखि मुटुमा गडेको किला अझै निस्कन सकेको छैन । राज्य नै अपराधी लुकाउँन उद्यत भएको कुराले मुटुमा अर्को किला पनि गडेको छ ।
मुटुमा गडेका यी किला झिकिदिने कसले ? निर्मलाको परिवारलाई न्याय कसले दिने ? हिन्दीमा एउटा चर्चित गीतको भावार्थ छ, नदि तर्दै गर्दा मझधारमा डुँगा डुब्न लागेमा माझीले पार लगाउँछन्, यात्रुलाई बचाउँछन्, तर यदि माझीले नै डुँगा डुबाएको खण्डमा कसले बचाउँने ?
आज निर्मलाका मातापिताको अवस्था ठयाक्कै यस्तै छ । जुन राज्यले उनीहरुलाई न्याय दिनु पर्ने हो, त्यही राज्यसत्ता अहिले अन्यायको विम्ब बनेको छ । राज्यसत्ता स्वयं अपराधीको कित्तामा उभिएको छ । र, छानविनको ढोंग रचिरहेको छ । यस्तो बेला उनीहरुको मन विक्षिप्त हुनु स्वाभाविकै हो ।
कञ्चनपुरका केही साथीले यो पंक्तिकारलाई फोनमा जानकारी दिएअनुसार निर्मलाका पिताको मानसिक अवस्थासमेतमा असर देखिन थालेको छ । विक्षिप्तताले उनलाई निकै गाँजेको छ । छोरीका अपराधी खुलेयाम घुमिरहेका छन्, तर राज्य उसकै संरक्षक भइरहेको देख्दा पिडित परिवारको मनोबल टुक्राटुक्रा हुनु स्वभाविक हो।
ठिक यसैबेला जनताको पार्टी दाबी गर्ने नेकपाका केही नेतालाई भने विश्व सुन्दरी प्रतियोगितामा माननीय विरोध खतिवडाकी सुपुत्रीलाई जिताउँने अभियानमा जुटेका खबर पनि आइरहेका छन् ।
योगेश भटराई र शंकर पोखरेल नेकपाका नयाँ पुस्ताका प्रभावशाली नेता हुन् । २०४८ सालतिरको दृष्य यो पंक्तिकारलाई स्मरण हुन्छ । गिरिजाप्रसाद कोइरालाको सरकारविरुद्ध तत्कालिन नेकपा एमालेले नेपाल बन्दलगायतका कार्यक्रमको आवहान गर्न थाल्यो । शेरबहादुर देउवा गृहमन्त्री थिए र काठमाडौंका सडकमा दिनहुँ वितण्डा मच्चाउँने काम भइरहन्थ्यो ।
तिनताका शंकर पोखरेल र योगेश भट्टराई युवा विद्यार्थीलाई सडकमा टायर बाल्न, टेलिफोन बुथ भत्काउँन र रेलिङ भाँच्न उक्साउँथे । बडा आक्रामक र जोशिला देखिन्थे, यी दुई नेता ।
भाषण चर्को हुन्थ्यो र ति भाषणमा साम्राज्यबाद र एकाधिकारबादी दलाल नोकरशाह पुँजीबादको चर्को विरोध हुन्थ्यो । कम्युनिष्टको युवा झुण्डले एकखालको गुण्डागर्दी सुरु गर्न थाल्यो ।
संसदमा गोल्चे सार्कीले रामचन्द्र पौडेलमाथि हातपात गरे । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सिडियोमाथि हातपात गरियो । यस्ता अनेक उपद्रव सुरु गरेपछि बाध्य भएर नेपाली काँग्रेसका नेताले भने, ‘यस्तै पारा हो भने युवाको शान्ति सेना गठन गर्ने छौं ।’
अब के थियो, कम्युनिष्टहरु झन उग्र भए । शंकर पोखरेलको नेतृत्वमा पुतलीसडकमा एउटा जुलुस निस्कियो । त्यो जुलुसमा नारा लगाइयो, ‘शान्ति सेना कहाँ छ ? लाल सेना यहाँ छ ।’
सशस्त्र संघर्ष, लालसेना, कम्युनिष्ट, सर्वहारा बर्ग आदि शब्दहरु तिनताका शंकर पोखरेल र योगेश भट्टराईका मुखारविन्दुबाट निकै निस्कन्थे । उनीहरु भन्थे, भारतीय विस्तारबाद मुर्दाबाद, अमेरीकी साम्राज्यबाद मुर्दावाद र देशीय सामन्तवाद मुर्दावाद । तिनका नेताहरु ‘भारतीय विस्तारवाद’विरुद्ध संसदमा आठ घन्टासम्म नाराबाजी गर्थे र सदन चल्न दिदैनथे ।
तर, एक दिन यस्तो दृश्य पनि देखियो कि अमेरीकी राजदूत बल्खुस्थित तत्कालीन एमालेको कार्यालयमा आउँदा माधव नेपाल केपी ओलीहरुले वैठक हलबाट माक्र्स, लेनिन, एगेंल्सका तस्विर हटाए र कम्युनिष्ट भनेको ट्रेडमार्क मात्रै हो भने । साम्राज्यबादविरोधी बेलुन त्यसै दिन फुटयो ।
उता, कम्युनिष्ट महिला संगठन चाहिँ मिस नेपाल प्रतियोगिताको विरोधमा तत्कालीन अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा नाराबाजी गर्थे । अनेमसँघ र अनेमसँघ क्रान्तिकारीहरु त्यसबेला गाउँ गाउँका महिलालाई ‘चुरा र बाला भनेका महिलाका लागि हतकडी हुन, पोते जँजीर हो’ भन्दै प्रशिक्षिण दिन्थे ।
महिलाले मेकअप गर्न नहुने, लामो कपाल पाल्न नहुने, साडी र सुन्दर वस्त्र परिधान लगाउँन नहुने प्रशिक्षणमा हुर्किएका बाम महिलाले थाइ कट कपाल काटेर पाइन्ट र सर्ट लगाउँन थालेका थिए ।
कानमा झुम्का र नाकमा नत्थी पनि लगाउँदैनथे । लिपस्टिक पाउडरलगायत नारी सौन्दर्य झल्कने कुनै पनि चिज लगाउँन हुन्न भन्ने मान्यता बोकेका कम्युनिष्ट महिलाले सुन्दरी प्रतियोगितालाई ‘महिलालाई उपभोगको साधन बनाउँने पुँजीबादीको चाल’ ठान्थे । महिलालाई नंग्याएर शोषण गरिएको दाबीसमेत गर्थे ।
यही कारण कम्युनिष्ट महिला संगठनहरुले एकाध पटक हिडन ट्रेजरलाई धम्क्याएर मिस नेपाल प्रतियोगिता ठप्पै पारे । माओवादी जनयुद्ध प्रारम्भ भएपछि त झन् सुन्दरी प्रतियोगितामाथि थ्रेट चर्कै हुन्थ्यो ।
शान्ति प्रकृया प्रारम्भ भएपछि क्रान्तिकारीहरु शहरको चमकधमकमा आए । शासन सत्ताको स्वाद चाख्न थाले । पद, पैसा र प्रतिष्ठा प्राप्तीपछि शौन्दर्यको उनीहरुको पूर्व परिभाषामा बदलाव आयो । क्रान्तिको योग हैन, सत्ताको भोगतिर लागे । कठोर तप हैन, विलाशिताको जप गर्न थाले ।
संघर्ष र क्रान्तिलाई नै नारीको असली श्रृंगार ठान्ने कम्युनिष्ट नेतृ पनि ब्युटी पार्लर जान थाले । आँखी भौमा थ्रेडिङ गर्न थाले । परेला चिटिक्क पार्न थाले । हेयर रिमुभर लगाएर सफाचट बन्न थाले । फेसप्याक लगाएर मुहारलाई चम्किलो बनाउँन थाले । कपालमा मेहन्दी लगाउँनु पर्दोरहेछ भन्ने कुरा पनि उनीहरुले बुझे ।
सुति र खद्दरको साडीको ठाउँमा बैंककबाट ‘सपिङ’ गरेर ल्याएको महँगो कुर्ता सरवाल या साडी लगाउँन थाले । ब्रान्ड कन्सियस बढदै गयो । जंगलमा चिउरा र चाउचाउ चबाएका दाँतले अमेरिकन चप्सी, चिकन सिजलर चपाउँन थाले । रेड वाइनको चुस्कि पनि लिन थाले ।
अहो, भडकिलो जीवन बिताउँदा प्रेसर बढदो रहेछ, हर्ट अटयाक हुँदो रहेछ भन्ने पनि बुझे । हेल्थ कन्सियस पनि बढदै गयो । उनीहरु हेल्थ क्लबमा जाने बानी बस्यो । साउना, स्टिम बाथ, ज्याकुजी, होल बडी मसाजको महत्व कमरेड नेतृले बुझ्न थाले । साइकल चढेर जनताको घर दैलोमा जानु मुर्खता रहेछ, करोडौंको विलासी गाडी चढनु पो बुद्धिमानी हो भन्ने बुझ्दै गए ।
तब न उनीहरुलाई जीवनको असली सौन्दर्यबोध भो । मोजमस्ति, रवाफ, शान, मान, पद, पैसा र प्रतिष्ठा पो जीवनको असली सौन्दर्य हो भन्ने बुझे । तब न आर्मी अफीसर्स क्लबमा ज्यानभरी सुन ढल्काएर विहे भोज दिनु क्रान्तिकारी हुनु हो भन्ने तत्वबोध भो ।
तब न भडकिलो जीवनशैली नै असली मुक्ति हो भन्ने दिव्य ज्ञान भो । तब न आफ्ना पतिलाई भ्रष्टाचारतिर प्रेरणा गर्नुपर्छ भन्ने परम ज्ञान भो । अनि तब न सुन्दरी प्रतियोगिताको विरोध पनि बेकार रहेछ भन्ने अलौकिक बोध हो ।
सुन्दरी प्रतियोगिताको विरोध सत्ता प्राप्तिका लागि शक्ति संचय गर्न पो गरिएको रहेछ । महिलाको आवेग जगाएर संगठन विस्तार गर्ने कम्युनिष्टको रणनीति पो रहेछ । युगौदेखि शोषण उत्पिडनमा परेका नेपाली नारीको संबेदना भडकाउँने र उनीहरुलाई कम्युनिष्ट पार्टीको झोला बोकाउँने दाउपेचअनुसार सुन्दरी प्रतियोगिताको विरोध गरिएको रहेछ ।
यही भएर त अचेल, रत्नपार्कका रेलिङ र टेलिफोन बुथ भत्काउँन युवालाई उक्साउने शंकर पोखरेल र योगेश भट्टराई ‘दलाल नोकरशाह पुँजीबाद’को खासै विरोध गर्दैनन् । साम्राज्यबादको विरोध गर्न छाडेको त धेरै भयो ।
विश्व सुन्दरी प्रतियोगितामा आफ्ना सहयात्री माननीय विरोध खतिवडाकी पुत्रीलाई जिताउँन सामाजिक सञ्जालमार्फत भोट मागिरहेका छन् । मानौं, यो नै उनीहरुको अहिलेको मुख्य क्रान्तिकारी कार्यभार हो । सामाजिक सञ्जालमा यसबाहेक अन्य प्राथमिकताका विषय अरु केही थिएनन् त ?
निर्मला पन्तका हत्यारालाई राज्यसत्ताको आडमा जोगाउनेविरुद्ध शंकर र योगेशजस्ता नेतालाई सुन्दरी प्रतियोगितामा भोट माग्ने कत्रो हतारो ? बिगतमा पनि त विश्व सुन्दरी प्रतियोगितामा नेपाली चेलीहरु सहभागी हुन जान्थे ।
तिनका पक्षमा त शंकर र योगेशले भोट मागेको देखिएन । यतिबेला कम्युनिष्ट नेताकै छोरी भएका नाताले भोट मागिएको हो भने अब विश्वसुन्दरी प्रतियोगितालाई हेर्ने कम्युनिष्ट सोचमा परिवर्तन आएकै मान्नुपर्छ । अब यो ‘बुर्जुवा पुँजीबादीको चेली नंग्याउँने हर्कत’ रहेन ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले त झन् आफ्नो प्रदेश नजिकैको समस्यातर्फ जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने हो । तर, शंकरजी कहिले कोमल वलीलाई सांसद बनाउन जाँगर झिक्छन्, कहिले विश्व सुन्दरी जिताउँने अभियानमा जुट्छन् । तर, निर्मला पन्त पनि त यही देशकी चेली हुन् । उनलाई न्याय दिलाउँने दायित्व शंकर जस्ता युवा नेताको हैन र ?
शंकर र योगेश सुन्दरी जिताउँने अभियानमा लागिरहेको बेला काँग्रेसका युवा नेता गगन थापाले भने निर्मला पन्तका मातापितालाई भेटेर सान्त्वना दिएका छन् । गगनले देशको प्राथमिक मुद्दाका पक्षमा आफुलाई उभ्याएका छन् ।
नेपाली नारीको शसक्तिकरण, रक्षा र न्यायको मुद्दा आजको ज्वलन्त मुद्दा हो, जुन निर्मलालाई न्याय दिलाउने पक्षसँग जोडिएको छ । निर्मला पन्तलाई न्याय दिलाउँने मुद्दा नेपाली नारीको आजको नम्बर एक प्रतिनिधि एजेन्डा हो र यसमै महिला हिँसाविरुद्धको अभियान पनि केन्द्रित हुनुपर्छ ।
जुन देशमा नारीको सुरक्षा हुँदैन, जुन देशमा दिनहुँ चेलीको बलात्कार भइरहको छ, जुन देशमा बलात्कारी छाति फुकाएर हिँडीरहेको छ र जुन देशमा अपराधीलाई राज्यले नै लुकाइरहेको छ, त्यो देशबाट यदि कोही विश्व सुन्दरी भइहाल्यो भने पनि त्यसले के नै लछारपाटो लगाउँने हो र ? हाम्रो देशका नारीहरुको वास्तविकता त दुइवटा न छन् ।
एकातिर निर्मला पन्तमाथिको अत्याचार र अन्याय अनि उनका मातापिताको धर्ना, अर्कोतिर अठार करोडको गाडीको मोह अनि विश्व सुन्दरी प्रतियोगिता जिताउँन कम्युनिष्टको सामाजिक सञ्जालमा प्रचार अभियान ।
एकातिर विश्व सुन्दरी जिताउँन लागेका शंकर र योगेश, अर्कोतिर निर्मला पन्तका मातापिताको घाउमा मल्हम दल्ने गगन थापा । युवा नेताको यो फरक÷फरक व्यवहारबाटै हामी ठम्याउँन सक्छौं कि आखिर जनताको हितैसी को हो ?
आज उठाउँनु पर्ने मुद्दाको पक्षमा को छ र को चाहिँ फाल्तु विषयतर्फ लागेको छ ? कम्युनिष्ट नेताको क्रान्तिकारीता के कति पाखण्डपूर्ण छ भन्ने त यसबाटै स्पष्ट हुँदैन र ? आजका क्रान्तिकारीहरु कतातिर लाग्ने हो ? विश्वसुन्दरीतफै या निर्मला पन्तलाई न्याय दिलाउँने अभियानको पक्षमा ?
के विश्व सुन्दरीको हौवा चलाएर निर्मला पन्तमाथिको अत्याचारमा पर्दा हाल्न सकिएला ? आफ्नो कुरुप अनुहारलाई हामी फेयर एन्ड लभ्ली लगाएर छोप्न सक्छौं ? नेकपाको नालायक सरकारका असफलतालाई के विश्व सुन्दरीको सौन्दर्यले ढाक्न सक्छ ?
देश र जनताप्रति जो बफादार हुन्छ, उही सुन्दर हो । यस हिसाबले शंकर र योगेश हैन, यो पँक्तिकारका दृष्टिमा गगन नै सुन्दर मान्छे हो, जसले सुन्दर काम गरेको छ । निर्मलाका अपराधी लुकाउँने जस्तो ‘घटिया’ काम गर्नेले शौन्दर्यको पुजा गरेको अलि सुहाएन । सौन्दर्यका पुजारी उनीहरु मात्र हुन सक्छन्, जसले निर्मलाका मातापितालाई न्याय दिलाउँने अति सुन्दर काम गर्छन् । र, गगन थापाले त्यो सुन्दर काम गरेका छन् । गगन, यू आर ग्रेट अगेन ।