न्याय माग्न होसै वा ज्यानै गुमाउँनु पर्ने !

 

सत्ता सधैं आफ्नो मात्रा पेवा र हामीलाई कसले छुने, कसले हांक दिन सक्छ भन्ने अभिमान बोकेर बसेको काङ्ग्रेसको अहिले स्थिति कहाँ छ, यो उदाहरण कसैले बिर्सन मिल्दैन । जनताले हिसाब किताब राम्रोसँग राख्छ्न । र चुनाव आएपछि हिसाव मिलान गर्छन् ।

 

 

 

 

राज्य वस्त्रविहिन भएको देखेर आफू लजाउँनु पर्ने र मुख छोपेर न्यायको याचना गर्नुपर्ने नियति बोकेर हामी बाँचिरहेका छौँ ।

 

नन्दप्रसाद अधिकारी अनाहकमा मारिएको छोराको न्यायको भिख माग्दामाग्दै भोकभोकै मरे । राज्यको संवेदना दुःखेर ऐया भन्ने कष्ट गरेन । उनी मृत्युपछि गरिने अन्तिम संस्कार, धार्मिक विधिपुर्वक अन्त्येष्टि गर्नबाट बञ्चित भएर आज पनि हस्पिटलको चिसो बाकसमा लम्पसार परेर राज्यले दिएको निचताको हद सहदै छन् ।

 

राज्यलाई मतवलव छैन उनको परम्परागत अन्त्येष्टि गर्ने गराउँनु पर्ने दायित्व’bout । यो दायित्व राज्यको हो कि होइन ? कि परिवारको मात्रै हो ?

 

सरकारहरु फेरिन्छ्न, एउटा अनुहार फेरिएर अर्को अनुहार जान्छ सरकारमा, तर पात्र फेरिदैमा प्रवृति के फेरिन्थ्यो ? चरित्र के बदलिन्थ्यो ? गरिबले न्याय माग्नको लागि लगाएको आवाजमा के विश्वास गरिन्थ्यो ?

 

गरिब निरिह र पहुँचबिहिनको अनुहार कसरी उज्यालो हुन्थ्यो ? जसले सत्ताको भोग गर्छ, उसैको मात्रै अनुहार पोटिलो हुन्छ, देखिन्छ । ख्याउटे अनुहारमा हाँसो हत्तपत्त देखिन्न । दुब्लो र निरिह सरकार फेरिएर तिघ्रे सरकार बन्यो । जनताको आशाको नजर रह्यो, यो सरकारप्रति । अब केही हुन्छ भन्ने आशा जाग्यो, सरकार आफू बलियो भएर आयो पनि, तर आत्मवल बलियो देखिएन । सरकारलाई कसैले हल्लाउँन नसक्ने पाँच वर्ष यसको विस्थापन कसैको हुतिको कुरा भएन ।

 

दुई तिहाइ बहुमतको सरकारले चाँहदा गर्न नसक्ने कुरा के छ र ? दुःखका साथ भन्नु पर्छ सरकारले संख्याको मत, बहुमत र दुई तिहाइ बहुमतको जनमतभन्दा उच्च नैतिक बल इमान र जमानको बल प्राप्त गर्न सकेको भए केही हुन्थ्यो ।

 

नेतृत्वमा इमान, जमान, इमानदारी र नैतिकता भन्ने केहि हुनुपर्ने रहेछ । तर, जे हुनुपर्ने हो त्यो रहेन मात्रै होइन हामीलाई कसैले छुन सक्दैन, कसैले छिर्के हान्न सक्तैन भन्ने अभिमान र घमण्ड मात्रै रह्यो, त्यस्तै देखियो ।

 

तर, बुझ्नुपर्ने कुरा के हो भने सत्य र निष्ठाको रङ्ग कहिल्यै खुइलिदैन, पुरानो र विरानो बन्दैन, तर घमण्ड र अभिमानको रंग खुइलिन धेरै समय लाग्दैन । घमण्डले फुल्नेहरु थुप्रै देखिए, तर घमण्ड र अभिमान बोकेर फैलिएका कतै कसैले देखे भेटेको प्रमाण छैन ।

 

सधैं सत्तालाई आफ्नो मात्रा पेवा र हामीलाई कसले छुने , कसले हांक दिने भन्ने अभिमान बोकेर बस्नाले आज काङ्ग्रेसको स्थिति कहाँ छ यो ताजा उदाहरण कसैले बिर्सन मिल्दैन । जनताले हिसाब किताब त राम्रोसँग राख्छ्न र चुनाव आएपछि चुक्ता गर्छ्न ।

 

मेरो देश त्यस्तो हो जहाँ जनताले सिटामोल खान पाउँनु पर्छ , पखाला लाग्दा सजिलै जीवन जल पाउँनु पर्छ भनेर माग राखेर एउटा प्राध्यापक डाक्टर १५ औ पटकसम्म भोकभोकै बसेर राज्यलाई खबरदारी गरि रहनु पर्छ । सायद सत्याग्रहको १६ औ श्रृङखला पनि शुरूवातको पुर्व संकेत आइ सकेको छ ।

 

राज्य बारम्बार झुक्याई रहन्छ , राज्यको कार्यकारी अधिकार धेरैले लिए र धेरैले झुक्याए । राज्य सत्ताको चरित्र जनता झुक्याउँनु हो भन्ने श्रृङखला डा. गोविन्द केसीको भोकभोकै बस्ने निरंतरतासँगै सधैं देखिन्छ ।

 

जनताको तिव्र दवाब र आक्रोशपछि डा. केसीको स्वास्थ्य जब खतराउन्मुख हुन्छ जीवन मरणको दोसाँधमा जब उनी पर्छन् तब मात्र सरकार सहमति गरेर अनशन तोडाउँछ, तर उसको ध्येय केवल अनशन तोडाउँनु मात्र हुन्छ । आज झुक्याउँन पाए पुग्यो भोलि आउँछ भोलि नैतिक बन्धनमा परिन्छ भन्ने हेक्का उसलाई रहँदैन । सम्झौता कार्यन्वयन उसको जिम्मेवारी बन्दैन । त्यसैले बारम्बार भन्न मन लाग्छ मेरो राज्य निर्वस्त्र हिंड्न् अप्ठ्यारो मान्दैन, वस्त्रविहिन उसको नियमित आचरण हो , व्यबहार हो ।

 

जुनसुकै सिद्धान्त, वाद र आदर्श बोकेर सत्ताको भर्याङ चढे पनि त्यहाँ पुगेपछि देखाउँने व्यबहार फरक छैन, जनवादी हुन या समाजबादी ? पाखण्डवादी हुन या सिद्धान्तवादी ?

 

सत्ताले मान्छेको गिदीमा रहेको गुदी निकालेर लिदी र गोबर भरिदिन्छ कि क्या हो ? नत्र किन भुल्छ्न वाचा र कसमहरु ? किन बिर्सन्छ्न जनताका चित्कार र वेदनाहरु ? किन आँखा चिम्लन्छ्न यत्रतत्र सर्वत्र देखिएका समस्याप्रति ? किन बेखबर बन्छ्न नैतिकता सबै खत्तम बनि सक्दा पनि ?

 

राज्य निस्पृह , निरीह र सम्वेदन शून्य बनेपछि नागरिक बहुलाउनु मर्नु र रोगाउनु विकल्प के हुनसक्छ ? हिनताबोध, नैराश्य, दिक्दारी, अपमान र पिडाको मार कतिन्जेल धान्न सक्छ मानव मस्तिष्कले अनि नबहुलाएर भयो निर्मलाका बालाइ ? आँसु सुकेर शुष्क भएकोे आखाले कतिन्जेल हेर्न सक्छ आफ्नी नाबालक छोरीको बलात्कार र हत्याको दृष्य ? न्याय दे न्याय दे भनेर कतिन्जेल बोलिरहन सक्छ, त्यो निमुखो आवाज ? न्यायको भिख माग्दा राज्यले गरेको चरम उपेक्षा र लापरबाही कतिन्जेल खप्न सक्छन् निर्मला पन्तका आमाले ? बहुलाउँनु, मर्नु र बारम्बार मर्नु राज्यले दिने पुरस्कार हो नेपाली जनता र तिनका पीरमर्का दुःख वेदना र अधिकार प्राप्तिको आवाज बोल्नेलाई ?

 

बालिका निर्मला पन्तको बलात्कारी र हत्यारा पक्रेर हामी कार्यबाही गर्छौ भनेर बिप्लवको पार्टीले उदघोष गर्दा ताली पिट्नु पर्ने र कतै न्याय त्यतातिर बाट पो पाइन्छ कि भनेर आशा गर्नुपर्ने स्थितिमा नेपाली जनता पुग्दा यो देशका गृहमन्त्रीलाई लाज लाग्दैन ।

 

न्यायको लागि सपना देख्नु पनि अभिशाप नै बन्ने भो । न्याय दिन र ढिलो न्याय पाउँने परिस्थिति बन्दा राज्य र त्यो सम्बन्धित निकायले पीडित पक्षलाई आश्वस्त पार्न नसक्नु उल्टो निरुत्साहित हुने गरि प्रधानमन्त्रीसम्मले बोल्नुले हामी कुन अँध्यारो यूगमा छौ ? किन यति अभिशप्त भएर बाँच्न बाध्य छौ हामीहरु ? न्यायको युद्ध लड्दा लड्दै किन भोकभोकै मर्न बाध्य बनाउँछ राज्य ? नन्दप्रसाद राज्यको निगरानी र राज्यले उपलब्ध गराएको सुबिधामा भोक भोकै मरे अब उनकी श्रीमति पनि जीवन मरणको दोसाँधमा छन आखिर उनको लागि पनि शोक धुन बजाउँन किन सौख लाग्छ राज्यलाई ?

 

डा. गोविन्द केसीको सम्भावित मृत्यु किन प्रिय लाग्छ राज्यलाई ? निर्मलाका बाबू बहुलाउँदा किन हाई सन्चो लाग्छ सरकारलाई ? सकिएकै हो त मानवीयता ? अन्त्य भएकै हो त न्यायको आवाज ? लाज घिन सबै समाप्त भएकै हो त राज्यको ? छोरीलाई बलात्कार गरेर, उखुबारीमा फालिनु, छोराको हत्यारालाई कार्यबाही गर भन्दा बाउ भोकै मारिनु, आमालाई मर्ने हालतमा पुर्याउँनु, जनतालाई औषधिमुलो गर भनेर पटकपटक डाक्टर भोको बस्नु ,न्याय नपाएर बाउहरु बहुलाउँनु

 

युद्ध लडेका सिपाहीे कमाण्डरको अगाडी बिस पिउनु क्रान्तिका नाममा सत्र हजार मान्छे मारिनु, सयौं मान्छे बेपत्ता पारिनु हजारौंको अङ्गभङ्ग हुनु शायद सत्तालाई ठट्टा र मनोरञ्जन लाग्छ क्या रे ? यहाँ सत्ता भनेर केपी ओली र अहिले केन्द्रीय राज्य सत्ताको तालुकदार मात्रै भनेर बुझ्नु सर्वथा अन्याय हुन जान्छ , सत्ता त राज्य सत्ता पनि हो पार्टी सत्ता पनि हो, विभिन्न पार्टी तिनका भ्रातृ संगठन र शुभेच्छुक संघ संस्था र तिनका मुखिया जिमुवाल पनि हुन जसले शक्तिको अभ्यास गर्छ तिनीहरू सत्ता धारी हुन सत्तासिन हुन । देशमा जे भद्रगोल हुन्छ जे ज्यादति हुन्छ तिनीहरूको भागिदार तत तत संस्थामा बस्नेले पनि लिनुपर्छ । गाउँमा कहाँ खोज्नु केपी ओली जो जसले जितेका छन त्यहाँका लागि केपी ओली तिनै हुन जसले जनताको गुनासो सुन्नुपर्ने र तदारुकता देखाएर आफ्नो तालुकी अड्डामा सुनाउँनु पर्ने कर्तव्य हुन्छ ।

 

सरकार! निर्मलाहरुको नन्दप्रसादको लासलाई टेकेर होइन आत्मालाई भडकाएर होइन गोविन्द केसीलाई सधै भोकभोकै बस्न लगाएर होइन न्यायको न्यायोचित आवाज सुनेर समृद्धिको पाइल चाल्न सकिन्छ । महिला हिंसा विरुद्ध १६ दिने न्यायको अभियान, लैङ्िगक बिभेद विरुद्धको अभियान भनेर न्यायिक आवाज बोल्ने सरकारी गैरसरकारी संघ सस्था किन निर्मलाको न्यायको लागि निरन्तर खवर्दारी गर्न सक्तैनन् ? कथित महिला वादी र तिनको मुखुण्डो अब खोलिन कुनै अरु समय पर्खनु पर्ला र ? हरियो डलरको खेति कसैलाई रिझाउँन मात्रै हो कि सत्य र न्यायको लागि पनि हो ?

 

निर्मलाको न्यायको लागि बोल्दा कुन मालिक, प्रभु र ख्वामित रिसाउँछ्न ? निर्मलालाई न्याय दिँदा सरकार ढल्छ भन्ने रोहितको आरोप मिथ्या मात्रै हो कि दम छ उनको आरोपमा ? किन प्रमुख बिपक्षी काङ्ग्रेस निर्मलाको न्यायको लागि खरो उत्रदैन ? कर्मकाण्डि बिरोधमा मात्रै किन सिमित काङ्ग्रेस ?

 

आफ्नी छोरीको हत्यारालाई पक्रेर कार्यबाहिको माग राख्दा राख्दै हरेस खाएर मानसिक विचलनमा परेका यज्ञराज पन्तको हृदय विदारक अवस्थामा किन राज्य सञ्चालक मौन बस्न रुचाउँछन् ? राज्य मेरो पनि हो मेरो पिर मर्का सुख दुःख राज्यले हेर्छ भन्ने दिन हाम्रा लागि कहिले आउँने ?

 

सरकार ! न्याय माग्ने जनताको अपेक्षामाथि अझै न्याय दिने सम्भावना सकिएको छैन । ब्युझ उठ जनताको न्यायिक आवाज सुन अन्यथा गोविन्द कार्कीको फेस बूकमा तल उल्लेख गरिएझै भयो भने पनि अचम्म मान्नुपर्ने छैन ।

 

एउटा वकिलले आफ्नी छोरीको सुरक्षा गर्न नसकेको हुनाले निर्मलाको बाउलाई कार्वाही गरि पाँउ भनेर मुद्दा हालोस, छोरीको सुरक्षा ब्यबस्था गर्न नसकेको र आफु कारवाही भागीदार नरहेको भन्ने प्रमाण पेस गर्न नसकेको हुँदा नीजलाई आजीवन कारावासको सजाय ब्यबस्था गर्न फैसला गर्द्छु भनी निर्मलाका बाबुलाई आजिवन कारावास हालिदिने न्यायाधीश भए भने सरकारले शान्तिको श्वास लिन पाउथ्यो कि ? योभन्दा ठुलो र गतिलो व्यंग्य दुई तिहाईको लागि काफी होला अर्को कुनै व्यंग्य अब तीन तिहाईको लागि सुरक्षित बसोस ।