‘क्राइम सिन’ क्लीयर हुनुपर्छ

कसैले अपराध कबुल गर्दैमा उ अपराधि मानिदैन । उसले कबुल गरे अनुसार उसको बयान अनुसारको अपराध दृश्य (क्राइम सिन क्लीयर हुनुपर्छ । जस्तै, यो स्पष्ट हुनुपर्छ कि बेलौतीको रुख रातारात किन काटियो ?

निर्मला पन्तको बलात्कार र हत्याको कसुरमा पक्राउ गरिएका कथित ‘अभियुक्त’ले ‘अपराध स्वीकारे’ भनेर मिडियामा हल्ला चल्न या चलाइन थालेको पनि तिन चार दिन भइसक्यो । रक्षामन्त्रीले पनि बलात्कारी र हत्यारा पक्राउ परिसकेको बताएका छन्

 

अन्नपूर्ण पोष्ट र नयाँ पत्रिकाजस्ता प्रेस काउन्सिलको ‘क’ बर्गको भत्ता खाइरहेका पत्रिका र रक्षामन्त्रीजस्तो जिम्मेवार व्यक्तिले पक्राउ परेका दुई व्यक्तिले अपराध स्वीकारेको’ जानकारी जनतालाई दिइसक्दा प्रहरी किन मौन ? यसले जनतामा अन्यौल खडा गरेको छ । या त प्रहरीले भन्नुपर्यो यो कि मिडिया र रक्षा मन्त्रीले प्रवाह गरेको सूचना गलत हो, या अपराधी सार्वजनिक गरेर सत्थतथ्य जनतामाझ ल्याउनुपर्यो । कतै, फेरी पनि प्रायोजित अपराधी खडा गर्ने अनि एकाध मिडियामार्फत जनताको रुझान बुझ्ने दाउ हो भने त्यो अक्षम्य भुल हुनेछ ।

 

निर्मला पन्तको न्यायको सवालमा दुईवटा पक्षमा राज्यले जनतालाई आश्वस्त पार्नैैपर्छ । पहिलो त, निर्मलालाई बलात्कारपछि हत्या गर्ने वास्तविक अपराधी पक्राउ पार्नुपर्छ । दोस्रो , अपराधी पक्राउ परेर मात्र हुदैन , यतिका दिनसम्म प्रहरीले प्रमाण नष्ट गर्ने काम किन गरे ? प्रहरीले मानसिक सन्तुलन ठिक नभएका दिलिप बिष्टको डिएनए टेष्ट नगरी कसको इशारामा उनलाई फँसाउने गरी पक्राउ गरियो ?प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले किन पिडककै पक्षपोषण गर्नेखालका अभिव्यक्ति दिए ? आधादर्जनभन्दा बढी प्रहरीका जिम्मेवार मानिसहरुलाई कसले प्रमाण नष्ट गर्ने इशारा गर्यो ? यो सबै परिघटनाको पछाडीको एक एकपक्षको ‘क्राइम सिन’ स्पष्ट हुनुपर्छ ।

 

यो पँक्तिकार यसखालको प्रश्न किन उठाइरहेको छ भने जनताको तीब्र विरोध र सरकारमाथिको अवगाल मेटन राज्यले चाहेमा नक्कली अपराधी खडा गर्न नसक्ने हैन । बलात्कारीलाई दिइने सजाय हेर्दा पचास साठी लाख रुपैयाँ पाएमा गाउँको अशिक्षित, बेरोजगार या लागु पदार्थ दुर्व्यसनीलाई विभिन्न प्रलोभन दिएर या धम्क्याएर अपराध स्वीकार गर्न लगाउन सकिन्छ । भारतको बिहारमा कुनैबेला (अचेलहैन) अपराधिक कर्ममा लागेको नेता या साँसदले आफुउपरको अपराध अन्य कुनै व्यक्तिलाई कबुल गर्न लगाउँथे र सफाई पाएर राजनीतिमा होमिन्थे । नक्कली अपराधी किन्नसमेत पाइन्छ, आजको युगमा । यसअघि दिलिप सिंह बिष्टले पनि ‘अपराध स्वीकारे’ भन्ने खबर स्वयं प्रहरी शुत्रबाट आएको थियो । सामान्य मानिसलाई समातेर जेलमा बेस्मारी हप्काउने हो र चरम यातनाको डर देखाउने हो भने आत्तिएर उसले अपराध कबुल गर्नसक्छ ।

 

तर, कसैले अपराध कबुल गर्दैमा उ अपराधि मानिदैन । उसले कबुल गरे अनुसार र उसको बयान अनुसारको अपराध दृश्य (क्राइम सिन) म्याच हुनुसपर्छ । जस्तै, अपराधि मार्फत स्पष्ट हुनुपर्छ कि बेलौतीको रुख किन काटियो ? अपराधिमार्फत स्पष्ट हुनुपर्छ कि दिलिप सिंह बिष्टको खल्तीको टुक्रा लगेर किन त्यहाँ राखियो ७तिस निर्मलाको बलात्कार र हत्यासँग जोडिएका हरेक पक्षसँग अपराधीको बयान म्याच हुनुपर्छ । र, सबैभन्दा ठुलो कुरा त अपराधि यति शक्तिशाली परिवार, घराना या राजनीतिक पहुँच भएको हुनुपर्छ कि जसले यतिका दिनसम्म यत्रो राज्यसत्तालाई नै अपराध ढाकछोप गर्नसक्ने हैसियत राख्छ ।

 

यसपाली ‘फेक’ नहोस । अपराध कबुल गरे भनिएका प्रदीप रावल र विशाल चौधरीका ’boutमा पनि विरोधाभाषपुर्ण तथ्यहरु बाहिर आइरहेका छन् । जस्तै, निर्मलाको बलात्कार भएको साउन १० गते विहान १० बजेतिर प्रदीप रावललाई प्रहरीले कुखुरा चोरेको आरोपमा पक्राउ गरेर वडा कार्यालयमा राखेको उनका परिवारले बताइरहेको छ । विशाल चौधरीलाई पनि सोहीसाँझ ४ बजे कुखुरा चोरेकै आरोपमा पक्राउ गरिएको देखिन्छ । स्थानिय पसले पाले चौधरीले आफ्नो पसलबाट रावल र चौधरीले कुखुरा चोरेको उजुरीका आधारमा दुवैलाई प्रहरीले भ्यानमा हालेर लगेको थियो । जबकी, पोष्टमार्टमा रिपोर्टले निर्मलाको हत्या सोही दिन दिउँसो ३ बजेपछि भएको देखाउँछ ।

 

वडा प्रहरी कार्यालय, महेन्द्रनगरको हिरासतमा रहेका रावल र चौधरीले कसरी निर्मलाको बलात्कारपछि हत्या गरे ? यो प्रश्नको चित्तबुझ्दो जवाफसहित प्रहरीले ‘क्राइम सिन’ क्लीयर गर्नुपर्छ । आइजी साबको प्रतिष्ठा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल इमानदार, साहसी र सक्षम प्रहरी अधिकारीका रुपमा चिनिन्छन् । केही वर्षपहिले यो पँक्तिकार पर्सालगायतका तराइका जिल्लाहरुमा भ्रमण गर्न जाँदा त्यहाँ क्रस बोर्डर क्राइम, दाइजो प्रथा र अन्य सामाजिक बेथिति र अपराध नियन्त्रण गर्न त्यसबेला त्यहाँ खटिएका खनालले निकै प्रभावकारी भूमिका निर्वाह गरेको पाएको थियो । खासगरी क्रस बोर्डर क्राइम नियन्त्रण गर्ने मामिलामा सिमा पारीका प्रहरी अधिकारी र मिडियाले समेत उनको प्रशँसा गरेका थिए ।

 

काठमाडौं आएपछि गुण्डा तह लगाउने मामिलामा खनालले आफ्नो प्रभावकारीता साबित गरेकै हुन् । ब्याड लक भन्ने कि नियतीको खेल, उनी आइजी भएकै बेला निर्मला पन्तको बलात्कार र अपराधको मुद्दा पेचिलो बनिदियो । सायद परिस्थितिले आइजी साबको पनि परिक्षा लिएको हुन सक्छ । त्यसैले यतिबेला उनी बढी गम्भीर र चिन्तीत पनि देखिन्छन् । प्रहरी सँगठनमाथि बदनामीको कालो धब्बा मेटने ऐतिहासिक चुनौती पनि उनकै काँधमा छ । यही भएर प्रदीप र विशालसँग आइजीसाब स्वयंले बयान लिइरहेका छन् भन्ने खबर पनि हामीले सुन्यौ । यदि यो प्रकरणमा उच्च राजनीतिक दबाब परेको हो भने भबिष्यमा सेवा निवृत्त भएपछि आइजी साबले लेख्ने (सम्भवत)आत्मवृत्तान्तमा त्यस’boutमा खुलासा होला नै, हामी सबैले महशुश गर्न सक्छौं कि उनी पनि यतिबेला तनावमा छन् ।

 

आम जनता प्रहरीको छानविनको निष्कर्ष पर्खिरहेका छन् । यहाँ सवाल अब सरकारको छबिको या प्रधानमन्त्री र गृहमन्त्रीको रहेन । यो नेकपा( नेकपा)को सरकार त त्यसै पनि नालायक छ । सामाजिक सुरक्षा र न्यायको प्रश्नलाई यसले बिजुलीको पोलमै सिमित राखिदिएको छ । सवाल प्रहरी सँगठनको हो । सरकार भनेको आउँछ जान्छ । प्रधानमन्त्री र गृहमन्त्रीका अनुहारहरु भनेका पानीका फोका हुन् ,कतिबेला उडछन् र कतिबेला फुट्छन त्यसको ठेगान हुँदैन । तर, प्रहरी सँगठन भनेको गैर राजनीतिक, तटस्थ र निष्पक्ष संगठन हो । नेताहरु बदनाम हुँदा केही फरक पर्दैन । जनताले एउटा दललाई फालेर अर्को दललाई सरकारमा ल्याउन सक्छन् । तर, राज्यको गरिमामय सँगठन प्रहरी बदनाम हुनु हुँदैन । यो सँगठनलाई साधन स्रोत सम्पन्न, चुस्त विश्वसनिय र भरपर्दो बनाउनुपर्छ र यसको छबि जनतामाझ राम्रो हुनुपर्छ ।

 

अतः आइजीसाबसँग पनि यो पँक्तिकार आग्रहगर्न चाहन्छ कि यदि फेरी पनि निर्मला प्रकरणमा राजनीतिक दबाब भइरहेको हो, फेरी पनि प्रायोजित अपराधि समात्न प्रहरीलाई दबाब दिइएको हो र फेरी पनि प्रहरी सँगठनलाई जनताको नजरमा गिराउने चलखेल भइरहेको हो भने यो सँगठनको नेताका हैसियतले आइजीसाबले त्यसको प्रतिकार पनि गर्नुपर्छ । क्राइम सिन क्लीयर भएर जनताको मुखबाट ‘हो त रहेछ, मुर्दार यसैले बलात्कार गरेको रहेछ निर्मलालाई’ भन्ने विश्वस्त बाणी निस्कने ढँगको छानविनको निष्कर्ष आउनुपर्छ ।

 

कसैले अपराध कबुल गरिहाल्यो, यसले यसरी लागु पदार्थ खाएर बलात्कार गरेको रहेछ भन्दै सत्र अठार वर्षका केटाहरुलाई उभ्याउँदैमा यो केस ‘सल्भ’ भएको मानिदैन । यो मुद्दामा बलात्कार र हत्या मात्र छैन, प्रमाण नष्ट गर्नेदेखि प्रधानमन्त्री र गृहमन्त्रीसम्मले पिडकको पृष्ठपोषण गरेका अनेक पक्षहरु जोडिएका छन्, ति सबैको कारण र यथार्थ स्पष्ट हुनुपर्छ । एउटा गम्भीर प्रश्न प्रहरीसँग कि केही मिडिया र खुद रक्षामन्त्रीले अपराधी पत्ता लागिसक्यो भनेर भनिरहँदा प्रहरीले उनीहरुलाई ‘यो मामिलामा अनावश्यक रुपमा नबोल्न या नलेख्न’ भन्दै विज्ञप्ती किन जारी गरीरहेको छैन ?

 

आइजी साब आफै बयानमा सँलग्न भएको मुद्दामा प्रहरी स्रोतको हवाला दिदै समाचारहरु आइरहेका छन्, के यो सूचना आइजी साब आफैले चुहाउनु भएको हो त ? हैन भने यति संबेदनशील विषयमा मिडिया र रक्षामन्त्रीजस्तो व्यक्तिले हचुवाका भरमा जे पायो त्यही फलाक्दै हिँडने र प्रहरीले उनीहरुलाई त्यसो नगर भनेर नभन्ने कुरा युक्ति सँगत देखिएन । यसले जनतामा अन्यौलमाथि अन्यौल खडा गरेको छ ।

 

हेक्का रहोस्, यसपाली पनि प्रहरीले प्रायोजित अपराधि खडा गरेको पुष्टि भएमा प्रहरी सँगठनमाथि जनताको बचेखुचेको विश्वास पनि गुम्नेछ । एउटा हिन्दी गित छ नी, मझधारमा नाउ डुब्यो भने माझीले पार लगाउँछ, तर माझीले नै नाउ डुबाउन थाल्यो भने कसले पार लगाउने ? आइजी साब, निर्मलालाई न्याय दिनुस्, बिन्ती ।