बैकल्पिक विधि,बेलगाम घोडा

कयौं मानिसहरुका रोगहरु धेरैतिर धाउँदा पनि निको भएको हुँदैन । अझ कति बिरामीहरुको त रोगनै पत्ता लागेको हुँदैन । ऊ कसरी रोग मुक्त हुने होला भनेर चिन्तित भएर बसिरहेको हुन्छ । ती व्यक्तिहरुले जब बिज्ञापनमा कतै निको नभएका असाध्य रोगहरुपनि यहाँ आएपछि निर्मुल हुन्छ भनेर प्रस्तुत गरेकोे देख्छन् तब एकपटक भएपनि जाउँ नत भन्ने भईहाल्छ ।

अहिले देशको राजधानी लगायत ठुला साना शहरहरुमा बिभिन्न प्रकारका रोगहरुको बैकल्पिक उपचार बिधिबाट निर्मुल पार्ने केन्द्रहरु खुल्ने क्रम जारी छ । यस्ता केन्द्रहरुमा कतै बिभिन्न प्रकारका औजारहरु मात्र प्रयोग गरेर गरिन्छ भने कतै अनेक किसिमका आयुर्वेदिक औषधिहरु प्रयोग गर्ने गरिन्छ । कुनैकुनै केन्द्रहरुले भने शारिरीक कसरत, योगार ध्यान पनि गराउने गर्दछन् ।

 

यी केन्द्रहरुको कमाई अवश्य पनि राम्रै हुनुपर्छ ’cause टेलिभिजनमा उनीहरुद्वारा प्रायोजित कार्यक्रमहरु आधा-आधा घण्टा सम्म चलिरहेका छन् । रेडियो, सामाजिक सञ्जाल, पत्रपत्रिका, अनलाइन मिडिया, भित्तेलेखन, साईनबोर्ड, पम्पलेट आदिमा प्रशस्त विज्ञापन देखिन्छ । हजारौं, लाखौैं रुपैयाँ तिरेर कोठा, फ्ल्याट, घर वा जग्गा भाडामालिएर उक्त केन्द्र सञ्चालन गरिएको हुन्छ ।

 

कयौं मानिसहरुका रोगहरु धेरैतिर धाउँदा पनि निको भएको हुँदैन । अझ कति बिरामीहरुको त रोगनै पत्ता लागेको हुँदैन । ऊ कसरी रोग मुक्त हुने होला भनेर चिन्तित भएर बसिरहेको हुन्छ । ती व्यक्तिहरुले जब बिज्ञापनमा कतै निको नभएका असाध्य रोगहरुपनि यहाँ आएपछि निर्मुल हुन्छ भनेर प्रस्तुत गरेकोे देख्छन् तब एकपटक भएपनि जाउँ नत भन्ने भईहाल्छ । त्यसपछि उनीहरु उक्त केन्द्रको सम्पर्कमा आउँदछन् । अनि उनीहरुको उपचार बिधि शुरु हुन्छ । त्यस्ता विधिहरुमा सियो घोच्ने, चुम्बक टाँस्ने, बिभिन्न प्रकारका मेशिनहरुमा राखेर ती मेशिनहरु चलाई दिने, पानीमा शरिरका अङ्गहरु डुबाउने, तेल वा क्रिम दलेर मालिस गर्ने, फिजियोथेरापी गर्ने, लौका, करेला, अमला, जमरा जस्ता वनस्पतीका जुस पिउन दिने, आयुर्वेदिक औषधिहरु खान वा लाउन दिने जस्ता विविध प्रकारका विधिहरुप्रयोग गरिन्छ ।

 

यस प्रकारका उपचारहरु अवश्यपनि वैकल्पिक उपचारको रुपमा सहि नै हो । यसलाई नकारात्मक भन्न खोजिएको होइन । तर,मुख्य प्रश्न उपचार गर्ने विधीमा निहित छ । के यस्ता केन्द्रले गरेको उपचार विधि सहि ढँगले भइरहेको छ त ? जसले उपचार गर्दछ ती व्यक्तिहरुले यो सम्बन्धी पूर्ण अध्ययन गरेर आएकाहुन्छन ? यदि अध्ययन गरेर आएकै हुन्छन भने कहाँबाट अध्ययन गरेर आएका हुन्छन । कत्तिले त नामको अगाडी डा. लेख्ने गरेको पाइन्छ । उनीहरुले उक्त डिग्री प्राप्त गरेको वा अध्ययन गरेर आएका संस्थाहरु चाहे स्वदेशी हुन्न् वा विदेशी, ’emलाई सम्बन्धित देशले मान्यता दिएको छ कि छैन भनेर नियमन हुनु अत्यन्त जरुरी छ । कयौं केन्द्रहरुमा त मात्र केहि दिनका तालिम प्राप्त व्यक्तिहरुनै मुख्य उपचार गर्ने व्यक्ति बनेर सेवा गरिरहेका हुन्छन् ।

 

मानिसको स्वास्थ्य भन्ने कुरा कुनै खेल होइन न कि प्रयोगशाला । स्वास्थ्य यती गम्भिर विषय हो कि व्यक्ति पिच्छे एउटै खानेकुरा पनि सबैलाई उत्तिकै उपर्युक्त नहुन सक्छ । उदाहरणको लागि कसैलाई आलु खाए जत्तिपनि फरकपर्दैन भने चिनीरोग लागेको व्यक्तिले निश्चित मापदण्ड भन्दा बढी खाएमा तुरुन्तै नकारात्मक असर गर्न थालिहाल्छ । त्यसैले सधैं र सबै नेपालीको भान्छामा पाक्ने आलु सेवन गर्न त बिचार पुर्याउनु पर्छ भने कहाँ कहाँ बाट ल्याएको जडिबुटीहरुको अन्जान सेवनले मानिसको स्वास्थ्यमा कस्तो असर गर्ला ? सोही विषयमा अध्ययन अनुसन्धान नगरेको व्यक्तिको निगरानीमा सेवन गरेमा त ठिकै होला अन्यथा त्यसको असर गम्भिर हुने निश्चित छ ।

 

क्यान्सर लगायत अन्य रोगहरु बिना अप्रेशन निको पारिन्छ भनेर बिज्ञापन गरिएको हुन्छ । “मेरो त यहाँ आएपछि कतै निको नभएको रोग पनि निको भयो” भनेर निको भएको भनिएको व्यक्तिले दोहोर्याई तेहर्याई टेलिभिजनको सेटमा बोलिरहेको देखाइन्छ । यस्तो देखेपछि जसलाई पनि आकर्षित गर्न सकिहालिन्छ । हो, यहि कुराहरुको नियमन गर्नुपर्छ कि पर्दैन ? स्याम्पु र चियापत्तीको जस्तो विज्ञापन होइन स्वास्थ्यको विज्ञापन । यो विषयमा त ढाँट्नै पाइँदैन । यो विषय यती गम्भिर हो कि गलत प्रयोगले मानिस जिन्दगीभर अपांग हुन सक्छन्, अन्य रोगहरु लाग्न सक्छन्, ज्यान जान सक्छ । यसको जिम्मेवार कसले लिन्छ?

 

अर्कोतिर ज्योतिष, धामी, झाँक्री, बाबा र माताको पनि उत्तीकै बिगबिगी छ ।जहाँ गएपछि एउटै थलोमा परिवारका सबै सदस्यहरुको समस्याको समाधान हुन्छ । रोग लागेकाहरुको रोग निको हुन्छ, पढ्न नसक्नेले पढ्न मन गर्छ, खान मन नलाग्ने लाई रुचि बढ्छ, जाँड खानेले जाँड खान छाड्छ, विदेश जान नमिल्नेको विदेश जान मिल्छ, जागिर नपाउनेले जागिर पाउँछ, विवाह नहुनेको विवाह हुन्छ , सन्तान नहुने दम्पतीले सन्तान सुख पाउँछन्, चोरी हुनेको चोर पत्ता लाग्छ । च्याउसरी खुलेका यस्ता पसलहरुको नियमन गर्छ कसले ? मानिसहरुको मनोविज्ञान बुझेर उनीहरुको कमजोरी माथी खेल्दै सबै समस्याको समाधान बिभिन्न प्रकारका पूजाआजा, पाठ, तन्त्र, मन्त्र, यन्त्र, रत्न, मुगा , पञ्चधातु , पशुपंक्षी बली लगायतको प्रयोग जस्ता विधिहरु त्यहाँ अपनाइन्छ । यस्तो चलन हिन्दु धर्ममा मात्रसिमित छैन, मुस्लिम, बौद्ध, किराँत लगायत सबै धर्महरुमा देख्न पाइन्छ ।

 

ज्योतिष शास्त्रपनि एक किसिमको विज्ञान नै हो । विशेष गरी यो गणित हो । गणितको हिसाव किताव गरेर नै नेपालको एउटा ज्योतिषले निकालेको चन्द्रग्रहण, सुर्यग्रहण र नासाको अर्को बैज्ञानिकले निकालेको चन्द्रग्रहण, सुर्य ग्रहणपर्ने दिन, समय र दिसा ठ्याक्कै मिल्छ । त्यसैले भन्न सकिन्छ, यस विषयमा गहन अध्ययन गरेको व्यक्तिले धेरै कुराहरु मिलाउन सक्छन् । तर, अहिले देशभरीका कुना काप्चामा साइनबोर्ड झुन्ड्याएर बसेका,फुटपाथमा कालोपाटीमा चकले लेखेर बसेका देखि, झोला बोकेर घरघरमा जाने सम्मकाहरुको अनुगमन कसले गरिदिने ? अझ कहिलेकाहीँ त मित्र राष्ट्रबाट समेत फलानो होटलको यती नम्बर कोठामा फलानो महाराज आउनु भएको छ भेट्न आउनुहोला भनेर बिज्ञापन गरेको देखिन्छ ।

 

जहाँबाट उनीहरुले लाखौं करोडौं रुपैयाँ विदेश लगिरहेका छन् । यसको अनुगमन मात्र होइन, उनीहरु मार्फत विदेशिने रकमको अडिट गर्ने कसले?अनुगमन, नियमन र कार्वाही गर्ने भनेको अवश्यपनि सरकारलेनै हो । सरकार भनेको प्रधानमन्त्री मात्रै होइन । सरकारले खडा गरेको हरेक संरचना सरकार हो । स्वास्थ्य, शिक्षा, गृह मन्त्रालय, नगरपालिका, गाऊँपालिका ती संरचनाहरु मध्ये मुख्य निकायमा पर्दछन्, यसका अलावा अन्य सहायक संरचनाहरु पनि छन् । उनीहरु एउटै छातामुनि गोलबन्द भएर असक्षम, अदक्ष र नक्कलीकार्य गर्नेहरुलाई कार्वाहि अगाडी बढाउनु पर्दछ, यस्ता संस्थाहरु तुरुन्त बन्द गर्नु पर्छ र सहि व्यक्ति तथा संस्थाहरुलाई भने प्रोत्साहन गर्दै अगाडी बढ्न प्रेरित गर्नुपर्दछ । नबिर्सौं “स्वास्थ्य नै धन हो ।