दरिद्र सोचले आउँदैन सम्वृद्धि

हामी नयाँ युगमा छौं । नयाँ युगले नयाँ संस्कार र संस्कृतिको माग गर्छ । आनीबानी, जीवनशैली र व्यवहारको अपेक्षा गर्छ । सबै नागरिकले युग परिवर्तनको वोध गर्ने एउटै कडि छ त्यो भनेको सकारात्मक सोच, अभिव्यक्ति, आनीबानी र व्यवहार हो।
आजको आलेख कोहि कसैको चाकडी, चाप्लुसी, स्तुति वा प्रसस्तीमा होईन । यो त नयाँ युगको प्रबर्धन गर्ने एक श्रृंखला हो । साधन हो, साध्य होईन । मध्यम हो, गन्तव्य होईन । मिथ्या प्रशंसा होईन ,वास्तविक जीवन पद्धति हो । नेपालमा युग परिवर्तन भएको छ । नयाँ युगको ’boutमा धेरै अघि देखिनै यसै स्तम्भमा थुप्रै व्याख्या विश्लेषण भएको छ । यो नयाँ युगमा हामीले समृद्ध नेपाल सुखी नेपाली भिजन देखेका छौं । यो भिजनको आधार भनेको सकारात्मक सोच, सोधखोज, आनीवानी र व्यवहार हो भन्ने ठम्याई रहेको छ । आजको आलेखमा यसै सोचका केहि आयामहरुको चर्चा गरिएको छ ।
नयाँ युगको माग
हामी नयाँ युगमा छौं । नयाँ युगले नयाँ संस्कार र संस्कृतिको माग गर्छ । आनीबानी, जीवनशैली र व्यवहारको अपेक्षा गर्छ । सबै नागरिकले युग परिवर्तनको वोध गर्ने एउटै कडि छ त्यो भनेको सकारात्मक सोच, अभिव्यक्ति, आनीबानी र व्यवहार हो । अबको युग भनेको आशावादी, सकारात्मक सोच र व्यवहारको समाज र नयाँ पुस्ताको हो । भविष्य प्रतिको आशा, विश्वास र बर्तमानको क्रियाशिलताले नै हो समाजको सामाजिक रुपान्तरण गर्ने ।
युग परिवर्तन पछि जनताले दिएको मतले झण्डै तीन चौथाई समर्थन प्राप्त सरकारले अब निराशा, नकारात्मकता र अध्यारो हेर्ने, कोट्याउने र अध्यारा पाटाको कुरा गर्ने समय गयो । नयाँ युगमा सबैले जता-ततै उज्यालै उज्यालो, सकारात्मकता र स्पष्टताका साथ अघि बढ्ने हो । त्यसैले हिजोका तुष पालेर होईन भोलिको उज्यालो भविष्य हेरेर अगाडि बढ्ने हो । प्रतिपक्षीले पनि उज्यालो नै हेर्ने हो । तर आँखा चिम्लेर होइन, पाँचै ज्ञानेन्द्रीय सक्रिय गर्दै प्रसंशा सँगसँगै खबरदारी पनि गर्ने हो । सकारात्मक र रचनात्मकनै आलोचनाको सुन्दर पक्ष हो । जसले कार्यकारीलाई सकारात्मकता बढाउन र नकरात्मकता घटाउँन र हटाउन समेत काम गर्छ ।
सकारात्मक सोधखोजको अभ्यासका चार आयाम
सकारात्मक सोधखोज विषयका विज्ञ प्राध्यापक डाक्टर लिन्जी गोड्वीनको भाषामा सकारात्मक सोधखोज आनीबानी र व्यावहारमा रुपान्तरण गर्न चार चरणको कार्य पुरा गर्नु पर्छ । सकारात्मक सोधखोजको अभ्यास गर्दा पहिलो चरणमा आफुमा भएको सवल पक्षहरु पहिचान गर्ने अर्थात डिस्कभरी गर्ने हो । जसले आफ्नो सामर्थ पत्ता लगाउन मद्धत गर्दछ ।दोश्रो चरण भनेको सपना देख्ने अर्थात ड्रिम हो । जसको अर्थ आफ्नो सामर्थ्यको आधारमा हामीले आफ्नो लक्ष किटान गर्ने हो । तेश्रो चरण भनेको डिजाईन अर्थात योजना तय गर्ने हो । आफ्नो लक्ष्य अर्थात गन्तब्यमा पुग्ने मार्ग वा बाटो तय गर्ने हो । योजना बनाउने हो । चौथो चरण भनेको डेलिभरी अर्थात कार्यान्वयन गर्ने हो । समय सिमा भित्रै सबै काम सम्पन्न गर्ने हो । अर्थात योजना मुताविकको कार्यान्वयन हो । नहिँडि गन्तव्यमा पुगिन्न भने झैं हिड्ने हो । क्रियाशिलता हो । निरन्तरता हो । लगनशिलता हो । सकारात्मक उर्जा सहितको योजनाको कार्यान्वयन हो ।
सकारात्मक सोधखोजको उद्गम लुम्बिनी र प्रबर्द्धक बुद्ध
गत मंसिर १८, १९ र २० गते परिकल्पना नेपालको आयोजनामा प्रथम प्रदेश स्तरिय सकारात्मक सोधखोजको सम्मेलन पौवाहोटल, भैरहवा लुम्बिनीमा सम्पन्न भयो । सो सम्मेलनमा प्रदेश सरकारमा मुख्य मन्त्री शंकर पोख्रेलले शान्ति, अहिंसाको सन्देश फैलाउने गौतम बुद्धनै सकारात्मक सोचको प्रबर्द्धक भएको र सकारात्मक सोधखोजको उद्गम लुम्बिनी रहेको उनले दावी गरे । नविन अभ्यासको रुपमा संगठनात्मक व्यवहारमा प्रयोग गर्दै गरिएको सकारात्मक शोधखोजको अभ्यास लाई व्यक्ति, संस्था संगठन र समाज परिवर्तनको माद्यम बनाउन बुद्धको ठूलो योगदान रहेको बताए । सकारात्मक खोज सकारात्मक फैलाउ । उज्यालो खोज, उज्यालो फैल्याउ, अँध्यारो आफैं हटेर जान्छ ।
परिकल्पना नेपाल के हो ?
अंग्रेजीमा इमाजिन अर्थात परिकल्पना नेपाल सन् २००१ देखि सकारात्मक समाज रुपान्तरणको लागि क्रियाशिल सामाजिक अभियन्ताहरुको एक अभियान हो । सकारात्मक सोच, आनीवानी र व्यावहार परिवर्तनको लागि वैज्ञानीका प्रक्रिया, पद्धति र अभ्यासलाई व्यक्ति परिवार, संस्था र समाजमा के कसरी प्रयोगगर्न सकिन्छ भन्ने अभ्यास गर्ने र रणनीतिक योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मुल्यांकन गर्ने व्यवस्थापनका व्यावसायीक सिपहरुको प्रयोगगर्दै समाज रुपान्तरण गर्ने सहजकर्ताहरुको साझा मञ्च हो ।
सकारात्मकता खोज्ने पूर्विय संस्कार र संस्कृति
हामी कोहि व्यक्तिलाई दिनमा पहिलो पटक भेट्दा शुभ आकांक्षा सहितको शोधखोज गर्छौं । भन्छौं, सञ्चै हुनुहुन्छ ? आरामै हुनु हुनुहुन्छ ? खाना खानु भयो ? चिया खानु भयो ? आदि । यो हाम्रो सोधनी सकारात्मता भनौं न प्रशंसनिय सोधखोज संवादको उद्गम हो । यो हाम्रै संस्कार संस्कृतिको संवाद कला हो । यो संवाद जिज्ञासामा सकारात्मक नै जवाफ प्राप्त हुन्छ । अर्थात जे खोज्छौं त्यस्तै पाउँछौं ।
मुख्यमन्त्री शंकर पोख्रेलको विश्वास
मुख्यमन्त्री पोख्रेलले सकारात्मक दृष्टिकोणको आधारमानै प्रदेशको समृद्धि हासिल हुने विश्वास व्यक्त गरेका छन् । सकारात्मक सोधखोजको अभ्यासको चार चरण मध्येमा उक्त प्रदेश अहिले तेश्रो चरण डिजाईन अर्थात योजना तर्जुमाको चरणमा रहेको बताए । प्रदेश नं.५ का मुख्यमन्त्री शंकर पोख्रेल भन्छन् “हाम्रो समाजको विशेषता नै राम्रो खोज्ने र राम्रोको प्रबर्धन गर्ने हो ।” नेपाली समाजको अर्को असाधारण विशेषता भनेको असाधारण सहनशिलता हो । मुख्य मन्त्री पोख्रेलले अगाडि भने “२०७२ बैशाख १२को भुकम्प पछि कोहि नागरिकहरु शिविरमा बस्न चाहेनन् । सबै सबैमा सहयोगिको रुपमा संलग्न भए ।” सकारात्मक सोधखोज बुद्ध कै आनीवानि र व्यावहारको प्रबर्धन हो । सरकारत्मक सोचको प्रबर्धन बुद्धले लुम्बिनीबाटै गरेका हुन् । दुख छ । दुखको कारण छ । दुखको निदान पनि छ । सकारात्मक सोधखोजको अभ्यासले नै समाजमा समृद्धिको आधार तय गर्ने हो । उनले आफ्नो विश्वास व्यक्त गरे ।
प्रदेश ५नं. मिनी नेपाल
प्रदेश ५का मुख्य मन्त्री शंकर पोख्रेलको ठम्याई छ । प्रदेश ५ मिनी नेपाल हो । यसले हिमाल पहाड तराई सबै ओगटेको छ । समग्र विकासको दृष्टिकोणले हेर्दा तुलनात्मक रुपमा प्रदेश नं. ३ र ४ अब्बल रहेता पनि प्रदेश ५ औषत अबस्थामा रहेकाले “समृद्ध प्रदेश सुखी जनता” नाराका साथ प्रदेश स्पष्ट भिजन सहित प्रदेश अगाडि बढेको मुख्य मन्त्री पोख्रेलको दावी छ । पूर्वाधार विकासले मात्रै सामाजिक विकास हुन नसक्ने बताउँदै उनले भने त्रिभुवन राजपथ बन्दा त्याँहाका चेपाङ्गहरुको जीवनस्तर माथी उठ्नु पथ्र्यो । सडकले ल्याएको समृद्धिले चेपाङ्गको समृद्धि सम्भब भएन । हामीले यसबाट पाठ सिक्नु पर्छ । उत्पादन पद्धतिमा जनताको संलग्नता र परिवर्तनले माग गर्ने आधुनिकिकरण सँग जनताको दैनिकी गास्न नसकेमा समृद्धि हासिल हुँदैन । संसारभर वित्तीयसस्थाहरु असफल हुँदा पनि नेपालका वित्तीय संस्थहरु सफल रहेकाले नेपालमा समृद्धि सम्भव छ र वित्तीय संस्थाहरु समृद्धिका संवाहक बन्न सक्छन् भन्ने देखिएको छ । नमुना प्रदेशको रुपमा समृद्ध प्रदेश बनाउन सकेमा सम्पूर्ण नेपालमा नै समृद्धि सम्भव छ भन्ने सन्देश लैजान सकिने मुख्यमन्त्री पोख्रेलको दावी रहेको छ ।
समृद्धि मापनका नौ आयाम
लेगाटुंग फाउन्डेसन लण्डनले समृद्धि मापनको लागि नौ आयामको मापदण्ड तय गरेको छ । जसमा समृद्धि मापनको पहिलो आर्थिक गुणस्तर, दोश्रो व्यवसायिक वातावरण, तेश्रो सुशासन, चौथो व्यक्तिगत स्वतन्त्रता, पाँचौं स्वास्थ्य, छैटौं शिक्षा, सातौं सुरक्षा, आठौं वातावरण र नवौं सामाजिक पूँजी रहेका छन् ।
अभियन्ता डा.गणपति ओझाको योजना
सकारात्मक सोधखोज, आनीवानी र व्यवहारको लागि देशभर सकारात्मक संस्कृति फैलाउनु पर्दछ । त्यो भनेको आफुमा भएको सकारात्मक वा राम्रो वा भनौं न सवल पक्ष बढाउँदै लैजाने । सातै प्रदेश, ७५३ नगर तथा गाउँपालिकाहरु, वडाहरु, गाउँहरु र ५२ लाख परिवारमा सबैले आफ्नो क्षमता र सवलताको अभिबृद्धि गर्ने अभ्यासबाट मात्रै समृद्धि सम्भव हुने दावी गर्छन् सकारात्मक सोधखोजका अभियन्ता डा.गणपति ओझा । उनी भन्छन् “आर्थिक र सामाजिक सम्पन्ताको सन्तुलीत अबस्था नै समृद्धि हो । अब प्रत्येक गाउँ तथा नगरपालिका र प्रत्येक घर परिवारले आफ्नो समृद्धिको योजना तयार गर्नु पर्छ । तब मात्र सम्भव छ समृद्धि । समृद्धिको आधारशिला नै सकारात्मक सोच, सोधखोज, आनीवानी, आचरण र व्यवहार हो ।”
डा.ओझा अगाडी जोड दिन्छन् , उपयुक्त कानुन, नीति, निर्देशन र ढाँचा सहितको सरकारी, नीजि, नागरिक समाज र समुदाय बीचको साझेदारी सहित मानवश्रोतको अधिकतम उपयोग, भौतिक पूँजी, आर्थिक एवं वित्तीय पूँजी, सामाजिक पूँजी, राजनीतिक पूँजी, समृद्ध सोचाई र उपयुक्त वातारण सहितको रणनीति अपनाए नेपालमा समृद्धि सम्भब छ । त्यो पनि हाम्रै पालामा ।
अभियन्ता डा.ध्रुव प्रसाद आचार्यको विचार
सकासात्मक सोच आनीवानी र व्यावहार परिवर्तनका अर्का अभियन्ता डा.ध्रुव प्रसाद आचार्य भन्छन् “नेपालमा युग परिवर्तन भएको नौ महिना पुरा भैसकेको छ । युग परिवर्तन भनेको हामी केन्द्रिकृत शासन व्यवस्थाबाट संघिय शासन व्यवस्थामा गएको चरण हो । संघिय गणतन्त्र नेपालको संविधानले परिकल्पना गरेको व्यवस्था अनुरुप तीनै तहको कार्यपालीका र व्यवस्थापिका बन्यो । जनताले आफ्नो मत जाहेर गरे । यो समाज रुपान्तरणको चरण हो । यो समयमा हामीले देशभर सकारात्मक सोच, सोधखोज, आनीवानी र व्यवहारको संस्कृति मौलाउन सक्यौं भने नयाँ युगले खोजेको समृद्ध नेपाल सुखी नेपाली महाअभियानले सार्थकता पाउँने आधारशिला बन्ने छ । अबको युग भनेको समस्या खोज्ने होइन । जीवन र जगतलाई हेर्ने । क्रियाशिल रहने । स्पष्ट दृष्टिकोण सहितको गन्तव्यमा पुग्ने चाहना हो । समस्या खोज्ने होईन । यो नौ महिनामा के भएन भन्दा पनि के भयो । के-के उपलब्धी हासिल भए भनि समिक्षा गर्ने र थप सफलता हासिल गर्न लागि पर्ने समय हो ।”
बुद्धि तामाङ्गको बुद्धि
सन् २००० देखि नै व्यक्ति परिवार र समाजमा सकारात्मक रुपान्तरण नभई देशमा शान्ति सुख र समृद्धि सम्भव हुँदैन भन्दै आफ्नो व्यक्तिगत जीवन र घरपरिवारबाटै सकारात्मक योजना कार्यक्रम र कार्यान्वयन अभियानमा जुटेका सकारात्मक सोधखोजका अभियन्ता बुद्धि तामाङ्गको विचारमा अरुलाई सकारात्मक दृष्टिकोणको कुरा सिकाउन खोज्नेले पहिले आफैंले व्यक्तिगतरुपमा र परिवारमा सकारात्मक सोच, सोधखोज, आनीवानी र व्यवहार गर्न सकेमा मात्रै सकारात्मकताको प्रबर्धन हुन्छ । अनिमात्र व्यक्ति परिवार र समाज नै रुपान्तरण हुन सक्छ । नेपाल समृद्ध र नेपाली सुखी हुन सक्छन् ।
रमेशकुमार अधिकारीको अभियान
सन् २००५ मा काठमाण्डौमा सकारात्मक सोधखोजका प्रबर्द्धक अमेरिकी प्रा.डा.डेभिड कुपरराईडरले सहजिकरण गरेको समिटमा सहभागी भई निरन्तर यस अभियानमा क्रियाशिल नेपाल सरकारका पूर्व स्थानिय विकास अधिकारी एवं सहसचिव रमेशकुमार अधिकारीे परिकल्पना नेपालका अध्यक्ष हुन् । सकारात्मक सामाजिक रुपान्तरणको लागि सकारात्मक सोच, आनीवानी र व्यवहार नै सकारात्मक हुनुपर्नेमा उनको जोड रहेको छ । प्रदेश नं.५ मा भएको सम्मेलनको सफलता पश्चात उनले भने “यस्ता सम्मेलनबाट शासन, विकास र समृद्धिलाई हेर्ने दृष्टिकोणमा पनि सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । समस्या हेर्ने आम प्रबृत्तिलाई बदलेर सकारात्मक चेतनाबाट, व्यक्ति, संगठन र समाज परिवर्तन गरेर हामी हाम्रो आफ्नो जीवनकालमा नै समृद्ध नेपाल हेर्ने धोको पुरागर्न यो प्रबृत्ति, स्वाभाव, आनीवानी र व्यावहार परिवर्तन गर्ने अभियानमा जुटेका छौं ।”