कर्मकाण्डी काङ्ग्रेस नेता !

आफ्नो सजिलोको लागि स्वार्थ मिलेको हो पार्टीको लागि होइन, देश दुनियाँको लागि होइन । आत्मिय र भावनात्मक एकता बिना टालटुले छाेपछापे एकताले पार्टी बलियो हुन्न । तस्बिरमा जबर्जस्ति मुस्काएर फोटाे खिचेर होइन तक्दिरमा दिलै देखि मन मिलाउनुमा चै एकता हुन्छ । महासमिति उदघाटनकाे दिन नै रामचन्द्र र शेरबहादुरले जुन दरिद्रता प्रकट गरे, हात मिलाउन जुन कन्जुस्याइँ गरे । सबैले देखिने गरि औपचारिक हुन मन खुम्च्याए पक्कै पनि काङ्ग्रेस जनले खिन्न मह्शुस गरे होला ।  पटक-पटक, फरक-फरक ढंगले उठदै बस्दै गरे एक अर्कामा तादम्यता नमिलाएको, मिलाउन नचाहेको देख्दा देख्नेले पनि असहज भएको भान मिल्यो ।

 

 

 

झन्डै दस दिनको सकसपुर्ण रस्साकस्सी पछि काङ्ग्रेसले आफ्नो महासमिति बैठक समापन गर्यो । महासमिति महासंग्राम नै भयो । थोरै दिएर झन्डै झन्डै खाली हात फर्कायो काङ्ग्रेसले आफ्ना महासमितिका सदस्यहरुलाई भन्दा अतिरन्जना हुनेछैन । केवल कर्म कान्डिय  औपचारिकता पूरा गर्यो बस, महासमिति सम्पन्न गरेको जस देउवाले बोके । महासमिति सम्पन्न गरे भनेर देउवाको भासणमा थपिने वाक्य थपियो । सुन्यतामा थोरै हलचल र तरंग आयो तर जुन अपेक्षा जुन जोश र तिव्रताका साथ महासमिति सम्पन्न भएर देश ब्यापी सन्देश प्रवाह हुनुपर्ने हो त्यो सन्देश दिन चुक्यो काङ्ग्रेस ।

 

नयाँ पन नयाँ गति र नयाँ अनि ठुलो तरङ्ग उत्पन्न गर्न ठुलै ढुङ्गा फ्याक्नु पर्छ ठुलै चुनौती सामना गर्नु पर्छ तर काङ्ग्रेसले केवल बिरालो बानेर श्राद्द गर्यो । बिरालो नबाधेर नै या बिरालोको ठाँउमा अरुनै चिज राखेर श्राद्द गर्ने हिम्मत गरेन तसर्थ यो महासमितिको बैठक फगत औपचारिकता भन्दा पर गएन । बिना पुर्वतयारी आयोजना गरिएको महासमिति १० दिन सम्म लम्बिनु र झन्डै आधाजसो प्रतिनिधि पर्यवेक्षक घर फिर्नुले काङ्ग्रेसले दिन खोजेको संदेश त्यसैपनि विधि सम्मत भएन र गतिलो सन्देश पनि दिन सकेन । अधुरो, अपुरो र खल्लो बन्यो । समय सिमा भन्दा त्यति लामो समय खर्चेर पनि काङ्ग्रेसले राजनीतिमा तरङ्ग पैदा गर्न सकेन । हिन्दु धर्मवाला एजेन्डा सामान्य खासखुस र काङ्ग्रेस इतर पक्षको तिव्र रुचि चासोका बिच महासमितिको भिडमा हरायो कतै ।

 

चियापानमा चुस्त देखिएको काङ्ग्रेस महासमितिमा आइपुग्दा सुस्त देखियो । दुरुस्त पहिले जे थियो जस्तो देखिन्थ्यो त्यस्तै देखियो आफू सुध्रिएको कुनै उदाहरण पेश गर्न सकेन फेरि पनि । सकारात्मक परिवर्तन आफ्नो परिवर्तन , नितिगत परिवर्तनमा काङ्ग्रेसले अपेक्षाकृत सुधार चाहेन या गर्न सकेन ? पार्टी सुधारको आन्तरिक कार्यक्रम आम कार्यकर्ताको चाहाना थियो । धेरै बुद्धिजीवी र सरोकारवालाको पनि गहिरो चासो र चर्चा थियो यो पटक काङ्ग्रेसले केही गर्छ नयाँपन ल्याउछ किनकि चियापानको ब्यबस्थापनले सुधारको थोरै भए पनि संकेत गरेको थियो । राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिको बिहंगम विश्लेषण गरेर आफ्नो सामयिक सुधारमा खुट्टा कमाउदैन तर त्यो आशा र विश्वास माथी चिसोपानी खन्यायो । रणनीतिक चातुर्यता, नितिगत स्पष्टता, कार्यकर्ता परिचालनको कौशलता र सांगठनिक प्रविणता काङ्ग्रेसको आजको आवश्यकता हो ।

 

देशको संबिधान बनाउने कर्मको नेतृत्व गरेको काङ्ग्रेस आफ्नो बिधान बनाउन मुस्किल मुश्किलले सफल बन्यो । समावेसी र सात जातीय क्लस्टर  संबैधानिक ब्यबस्था अनुसार बिधान संशोधन र परिमार्जन भनिए पनि आ आफ्नो गुटगत स्वार्थको खेलो फडको भन्दा पर होइन पदाधिकारीको संख्या १४ पुर्याउनु । ३३ प्रतिशत महिलाको सुनिश्चितता , समावेशी लोकतान्त्रिक बिधान नेपालमा त परै जाओस दक्षिण एशियामै छैन भनेर धाक लगाउने रवाफ देखाउने र आफुलाइ दुनियाँकै नम्बरी लोकतान्त्रिक दल दावी गर्ने मौका भने जुरायो । भलै व्यबहार पार्टी पद्धति र आचरणमा लोकतान्त्रको अभाव नै होस ।

 

आफ्नो सजिलोको लागि स्वार्थ मिलेको हो पार्टीको लागि होइन, देश दुनियाँको लागि होइन । आत्मिय र भावनात्मक एकता बिना टालटुले छाेपछापे एकताले पार्टी बलियो हुन्न । तस्बिरमा जबर्जस्ति मुस्काएर फोटाे खिचेर होइन तक्दिरमा दिलै देखि मन मिलाउनुमा चै एकता हुन्छ । महासमिति उदघाटनकाे दिन नै रामचन्द्र र शेरबहादुरले जुन दरिद्रता प्रकट गरे, हात मिलाउन जुन कन्जुस्याइँ गरे । सबैले देखिने गरि औपचारिक हुन मन खुम्च्याए पक्कै पनि काङ्ग्रेस जनले खिन्न मह्शुस गरे होला ।  पटक-पटक, फरक-फरक ढंगले उठदै बस्दै गरे एक अर्कामा तादम्यता नमिलाएको, मिलाउन नचाहेको देख्दा देख्नेले पनि असहज भएको भान मिल्यो । आखिर बिमिलेन्द्र निधीले हात जोराइ दिए पछि मात्रै हात उठाएर अभिवादन गरेबाट प्रष्ट देखिन्थ्यो त्यो एकता भावनात्मक होइन स्वत स्फुर्त होइन कृतिम र बनावटि तत्काल लाज गाल ढाक्नको लागि मात्रै हो । काङ्ग्रेसको  मुख मिलेको हो मन मिलेको छैन । दुर्भाग्यवश भन्नू पर्छ शेर बहादुर र रामचन्द्र मिल्दा काङ्ग्रेस मिल्ने काङ्ग्रेस एक भएको सन्देश जाने स्थिति हो ।

 

ब्यक्ति केही होइन पार्टीको लागि गौण हो तथापि काङ्ग्रेस सिद्धान्तले होइन ब्यक्तिको शैलीले चल्ने पार्टी हो । ब्यक्तिको कुशलता क्षमता र शैलीमा पनि पार्टीको भविष्य र भाग्य निर्धारण हुन्छ हाम्रो जस्तो देशको लागि । सिद्धान्त विचार र धारणा पार्टीले बोक्ने हो तर नेतृत्वको शैलीमा पनि थुप्रै आकर्षण र विकर्शण निर्भर रहन्छ । रामचन्द्र पनि आकर्षण युक्त पात्र त होईन तर शेर बहादुरको जस्तो बेपर्वाह स्वभाव, झनके प्रवृति र आवेसमा आइहाल्ने स्वभाव कम्तिमा पनि सार्वजनिक मन्चमा यिनीबाट देख्न पाइन्न ।

 

काङ्ग्रेसको सबल पक्ष के हो भने काङ्ग्रेसमा बाबू काङ्ग्रेस भएको कारण, काका मामा काङ्ग्रेस भएको कारण, खान्दन पुर्व काङ्ग्रेस भएको कारण भोट दिने मान्छे समर्थन गर्ने मान्छेको कमि छैन । बिना प्रशिक्षण, बिना तालिम बिना सैद्धान्तिक अन्वेषण मान्छेहरु काङ्ग्रेसको पछि लाग्छन् ।बीपी कोइरालाको सम्मोहन आज पर्यन्त पनि उत्तिकै जिवन्त छ काङ्ग्रेसमा । त्यसैले बीपीको छोरा, गिरिजाको छोरी भतिजी भाइलाई काङ्ग्रेस निर्धक्क आफ्नो नेता स्विकार्दै उनीहरुको छातामा पर्न चाह्न्छ्न । उनीहरूको योग्यता क्षमताको पारख गर्दैनन् काङ्ग्रेसजन केवल बीपीसंगको लिगेसी हेर्छन कोइराला खान्दान हेर्छन्।

 

परिवारको लिगेसी दक्षिण एसियायी राष्ट्रमा राजनीति कर्मीको योग्यता नै भएको भान पर्छ त्यसबाट नेपाल अछुतो छैन झन काङ्ग्रेसीहरु छुटने कुरै भएन ? बि पि कोइरालाको विलक्षण प्रतिभा, गणेशमानको अतुलनीय त्याग, सुवर्ण समसेरको फराकिलो मन सहितको धन, कृष्णप्रसाद भट्टराईको सहनशीलता र महेन्द्रनारायण निधिको उन्नत देश प्रेम र अरु हजारौं काङ्ग्रेसको निस्वार्थ निष्ठा र समर्पण अनि बलिदानी अतितको ब्याजले आज सम्म काङ्ग्रेस जेनतेन ऎनप्रकारेण चल्दैछ तर अब सधै गौरवमय अतीतले मात्र काङ्ग्रेस थेगिन सक्तैन । पौरखी बर्तमान पनि चाहिन्छ आशावादी भविस्य पनि देखिनुपर्छ । जर्मन तानाशाह हिटलर भन्थे रे “जीतलाई जसले पनि आत्मसात गर्न सक्छ भने हारलाई बहादुरले मात्रै पचाउन सक्छ ।” हार पचाउन सक्ने बहादुर काङ्ग्रेसको अभाव देखियो । सिद्धान्त हार्नु हुदैन, निष्ठा र इमानले हार्नु हुँदैन तर पार्टीले चुनाव हार्दैमा सबै सखाप हुने पनि हैन । संकट अवसर पनि हो भन्ने चेत काङ्ग्रेसमा नपलाएकै हो त ?

 

आफ्ना बिगतका भुलहरु प्रति काङ्ग्रेसले प्रायस्चित गर्नुपर्छ, माफी माग्नुपर्छ, कमजोरी सच्याउने र कमजोरी पुन नदोहोर्‍याउन व्यबहार फेर्नुपर्छ नेताकार्यकर्ता बदलिनुपर्छ । राष्ट्रिय राजनीतिमा स्थापित काङ्ग्रेसलाई आफ्नो गरिमा र ओझ कायमै राख्न गर्न पर्ने थुप्रै कुरा छन । निभाउन पर्ने अरु गहन भुमिकाहरु छन,  श्रीहिन भएको काङ्ग्रेसले आगामी दिनमा आफू प्रति ध्यान खिच्न, लगाव र आकर्षण भित्र्याउन, जनता र कार्यकर्ताको मोह भंग हुन नदिन, विषम परिस्थिति र जटिल राजनीतिको सामना गर्न निम्न कुराहरूमा हेक्का राख्नु अपरिहार्य छ ।

 

काङ्ग्रेसले आफ्नो जीवनमा सुधार्नु पर्ने थुप्रै आदत र लतहरु छन, त्याग्नु पर्ने थुप्रै कुलत र कुसंगतहरु छन, बिर्सनु पर्ने अनगिन्ती भुलहरुछन, चाल्नुपर्ने थुप्रै सकारात्मक पहल कदमी र पाइलाहरुछन , निर्मम समिक्षा गर्नुपर्ने नीति सिद्धान्त र आदर्शहरुछन, तौलन, जोख्न र उचाल्न थुप्रै गर्हौ भारीहरु छन, मोल्न पर्ने जोखिमहरु छन, चढ्नु पर्ने जोखिम नै जोखिम युक्त टाकुराहरू छन, टेक्न बाकी थुप्रै कांडाहरु छन, फुटाउन बाकी थुप्रै पाइतालाहरु छन, उठाउन बाकी हत्केलामा धेरै ठेलाहरुछन, सोहोरेर मिल्काउन बाकी थुप्रै फोहोरहरु छन, घुम्न बाकि पुरै तराई छ, उक्लन बाकी पहाडका थुप्रै थुम्का थुम्की छन, पुर्न बाकी थुप्रै शहरका खाल्डाखुल्डी छ्न, ब्युझाउन बाकी पुरै देश छ ।

 

चढ्न बाकी पुरै इमानको सगरमाथा छ । चुडाल्न बाकी अनैतिकता र अल्झनका सांग्लाहरु छन । फेर्न बाकी थुप्रै किताबका गाताहरु छन । थप्न र झिक्न  बाकी किताबमा थुप्रै अध्याय र च्याप्टरहरु छन । पर्गेल्न बाकी थुप्रै अप्ठ्यारा र अर्घेल्याइहरु छन । गर्विलो इतिहास बोकेको पार्टी, राष्ट्रिय र अन्तर राष्ट्रिय छवि र चिनारी भएको पार्टी आफ्नो कर्तव्यबाट विचलित नहुने हो भने समयले जुराएको जोखिम बहन गर्न अझै कांध खुइलाएर कर्तव्यको भारी बोक्ने सहास छ भने काङ्ग्रेसको लागि अवसर सकिएको छैन अरु थुप्रै अवसर आउन सक्छन् तर काङ्ग्रेसको यहीँ छांट महासमिति बैठक कै पारा हो भने दिन गन्तिमा ओरालो दौडमा छ काङ्ग्रेस भनेर बुझ्दा असहमति जनाउने ठाँउ कमै रहला ।

 

काङ्ग्रेसको सुकेको वृक्षमा एकदिन तामझाम गरेर पानी हाल्दैमा त्यो रुख पलाइ हाल्दैन । काङ्ग्रेसको वृक्ष हरा भरा हुन, पालुवा हाल्न त रोज रोज काङ्ग्रेसका हजारौं कार्यकर्ता नेताले देशभर नित्य सिन्चन गर्नुपर्छ । मलखाद, गोडमेल, कांटछांट र बारबेर आवश्यक हुन्छ । पुरानोलाई सिंचाइ गरेर मात्र हुदैन नयाँ बिरुवा सार्ने हुर्काउने  नर्शरी राख्ने प्रबन्ध पनि आजको काङ्ग्रेसको आवश्यकता हो जसको लागि गतिलो बगैचे  र मालीको आवश्यकता पर्छ जुन अहिले भइरहेका राम चन्द्र र शेरबहादुरबाट त्यो सम्भावना देखिन्न भलै काङ्ग्रेस नेता कार्यकर्ता अरु विकल्पमा जान नसक्लान । नेताहरूको जतिसुकै अक्षमत र कमजोरीको पनि काँध हालेर ढाकछोप गरेर हिड्ने काङ्ग्रेस कार्यकर्ताको महानता, बाध्यता  भने प्रसंसनिय छ ।

 

इतिहास बोकेको, सबै नेपालीले चिनेको बुझेको पार्टी इतिहास कै गर्तमा भासिनु पक्कै पनि राजनीति बुझ्ने, जान्ने पढनेहरुको लागि सुखद होइन । काङ्ग्रेसको जय पराजय गुण-दोषसंग आज पर्यन्त देश प्रभावित हुन्छ, लोकतन्त्र प्रभावित हुन्छ, पार्टीहरुका नीति र सिद्धान्त प्रभावित हुन्छ तसर्थ काङ्ग्रेस यो महासमिति मार्फत नै बदलिनु पर्थ्यो त्यसको विशेष अर्थ हुन्थ्यो, देखिन्थ्यो तर आशा गरौ आगामी महाधिवेन सम्म यदि काङ्ग्रेस बदलिएन भने समयले काङ्ग्रेसलाई गुमनाम बनाएर इतिहास अध्ययनको विषयको रूपमा किताबको च्याप्टरमा मात्रै पढने विषयमा बद्लिदिन्छ ।