मझधारमा बैकल्पिक शक्ति

 

हुनत विवेकशील साझा पार्टीले अहिलेनै आफूलाई बैकल्पिक शक्ति बनाउन अवश्यपनि सक्दैन थियो । तरपनि, काँग्रेसको बदलामा कम्युनिष्ट र कम्युनिष्टको बदलामा काँग्रेस भन्ने स्थितीको केहि हदसम्म परिपुर्ति गर्ने स्थिती चाहिँ देखापर्दै थियो ।

 

 

 

नेपालका सेलिब्रेटीहरुको बिश्वाशनै गर्न नसकिने गरि एकपछि अर्को पारापाचुके एक्कासी बाहिर आइरहेको बेलामा विवेकशील साझा पार्टीको पनि सोही प्रकारले पारापाचुकेको खबर बाहिर आयो । विवेकशील साझाबाट एकजना संयोजक उज्वल थापाले आफ्ना सोह्रजना सहयोगी सहित नयाँ दल दर्ताको लागि पौष २६ बिहीबारको दिन निर्वाचन आयोग गए ।

 

पहिले पहिले पार्टीहरु फुट्दा देशी -बिदेशी शक्तिहरुलाई दोष लगाइन्थ्यो, दरबार, माफिया, पैसाको चलखेल आदी इत्यादी कारणहरु देखाइन्थ्यो । नेपालको नम्बर एक भ्रष्टाचारी भन्दै आफ्नै पुराना सहकर्मीलाई नङ्ग्याइन्थ्यो । अब हेर्नु छ, जम्मा सत्र महिनाको सहयात्रापछि बैकल्पिक शक्ती भनेर आफूलाई अरु पार्टीभन्दा अलग्गै देखाउने अथक परिश्रम र कसरत गर्दा गर्दै, पुरानै पार्टीहरुकै इतिहास दोहोर्याउँदै फुटि छाडेका दलहरु बीचको बादबिबाद कहाँ सम्म पुग्छ ? त्यसको शुरुवात त भइसक्यो, रवीन्द्र मिश्रको विज्ञप्ती, सूर्यराज शर्मा तथा उज्वल थापाहरुको अन्तवार्ता, अन्य नेताहरुको लेख आदीबाट ।

 

नेपाली काँग्रेस धेरैचोटी चोइटियो । तर फुट्न चाहिँ एक चोटी नराम्ररी फुट्यो । राजा ज्ञानेन्द्रको शासनमा प्रधानमन्त्रीको लोभले गिरिजा प्रसाद कोइराला र शेर वहादुर देउवाको तानातान हुँदा देउवा प्रधानमन्त्री बन्न गएपछि यो पार्टी फुटेको थियो । नेपालमा कम्युनिष्ट पार्टीहरु त कति फुटे, कति चोइटिए, गनि साध्य छैन । तर, सम्झन लायक चाहिँ महाकाली सन्धीको समर्थन र बिरोधमा लागेका मनमोहन अधिकारी र सहाना प्रधान, भिनाजु र सालीको अध्यक्षतामा एमाले र मालेको स्थापनानै प्रमूख थियो ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टीको हालत सबैको सामुन्ने छर्लंगै छ । जन्मँदै चन्द र थापा को पुच्छर जोडिएर जन्मेका पार्टीहरु पछि अनेक फुर्काहरु झुण्ड्याएर आए । भर्खरै एकीकरण भएर एउटै पार्टी भएको थियो तर त्यसले लामो समय टिक्न सकेन र अहिले तीनवटा भएका छन् ।

 

मधेशबादी दलहरुको हालत त पछिल्ला केहि वर्षहरुमा टुटफुटको मामलामा सायद एक नम्बर नै भयो । एकताका त यति सम्म हुन्थ्यो कि आज एउटा मञ्चमा चढेर अवीर माला पहिरिएको नेता भोली फेरि अर्कै दलको कार्यक्रममा पुगेर अर्कैको हातबाट अबिर माला पहिरिन्थ्यो । सद्भावना पार्टी कतिवटा भयो र यसको पुच्छर जोडेर कतिजना अध्यक्ष भए, कसैले हिसाव गर्नै सक्दैन । फोरम टुक्रा भएर सदावहार उपप्रधानमन्त्री बिजय गच्छदार सायद अब च्याँखे दाउ थाप्ने ठाऊँ नदेखेर काँग्रेसमै फर्किए । तमलोपा टुक्रिँदा टुक्रिँदा हृदयश त्रिपाठी एमालेको सूर्य चिन्हमा चुनाव जितेर स्वतन्त्र सांसद बनेर बसेका छन् ।

 

मोहन बैद्यबाट बिप्लव समुह छुट्टिएर गयो । माओवादीबाट चोइटिएर गएका बाबुराम भट्टराई काँग्रेसको समर्थनमा आफ्नो पार्टीको एक्ला सांसद बनेर बसेका छन् । यस्ता उदाहरणहरु धेरै छन् । शुरुमा विवेकशील नेपाली भनेर सन् २०१२ मा गठन भएको यो पार्टी सन् २०१३ मा संविधान सभाको दोश्रो निर्वाचनमा, यसका अध्यक्ष उज्वल थापाले कुकुर चिन्ह लिएर चुनाव लडेका थिए । त्यसपछि मात्र यो राजनैतिक पार्टीको रुपमा निर्वाचन आयोगमा गएको थियो ।

 

जतिबेला नेपालमा नेपाल बन्द फेशन जस्तै बनेको थियो । राजनैतीक दल, उसका भातृ संगठन, बिभिन्न संघ संस्था हुँदै कुखुरा किचेको निहुँ देखि लोग्ने स्वास्नीको घर झगडा सम्मले नेपाल बन्द गर्दा आक्रान्त बनेका जनताहरुको भावना बुझेर विवेकशील नेपालीले ‘नेपाल खुला’ छ भन्दै त्यसको बिरोध गर्ने साहस गरेको थियो । त्यसैगरी लोकमान सिंह कार्कीको बिरोधमा प्रदर्शन तथा डा. गोबिन्द के.सी.के पक्षमा माईतिघर, महाराजगञ्ज, बानेश्वर तिर समर्थनका झण्डाहरु हल्लाउन थालेको थियो । काठमाण्डौमा अन्य पार्टीहरुका गतिविधिबाट वाक्क भएका युवाहरुमाझ आफूलाई उभ्याउन सफल हुँदै थियो, एक प्रकारले भन्ने हो भने, एउटा एनजिओबाट उन्मुक्त भएर बाहिर निस्कँदै थियो ।

 

विवेकशील नेपालीकी एक्काईस वर्षिया उम्मेदवार रञ्जु दर्शनाले गएको स्थानिय निर्वाचनमा २३,४३९ मत ल्याएर तेस्रो भइन् भने उता किशोर थापा, जो साझा पार्टीका उम्मेदवार भएता पनि स्वतन्त्रबाट उम्मेदवार थिए, उनले १८,४९६ मत ल्याएर चौथो हुन पुगे । त्यसपछि बैकल्पिक शक्ति भनेर दावा गर्ने दुवैले आफ्नो मुद्दा मिल्छ भनेर एकिकरण गर्न हतारो गरे, र बन्यो विवेकशील साझा पार्टी । दुईजना संयोजकहरु ।

 

सायद अहिले सजिलोको लागि जुन पार्टीहरु एकीकरण हुँदापनि पहिलेको शीर्षस्थ नेताहरुको पद यथास्थितीमै राखिने प्रचलन बढिरहेको छ । बिबाद नआओस् र यसको सामना गर्न नपरोस् भनेर होला । अहिले नेकपामा पनि दुई जना अध्यक्ष छन्, राजपामा त झन छ जनाको अध्यक्ष मण्डलनै छ ।

 

दुई पार्टीहरु मिलेर एकिकृत भएपछि देशैभरीबाट समानुपातिकमामा छैठौं स्थान पाएको हो । प्रदेश तिनमा त तिन जना प्रदेश सभा सदस्य पठाउन सफल भयो । तर, खै के नपचेर हो यसले आफूलाई एकिकृत रुपमा राख्न सकेन । सत्य तथ्य बाहिर आउँछ भनेर नसोचे पनि हुन्छ । ’cause जगजाहेर छ दुनियाँमा पार्टीहरु नमिल्ने भनेको कि सिद्धान्त नमिलेर हो, कि पद नपाएर हो, कि आर्थिक पक्षमा आफूले हात हाल्न नपाएर हो । दुवै पक्षमा जसको कुरा सुनेपनि ऊ आफूलाई पानी माथिको ओभानो बनाइ हाल्छ । त्यसैले अहिलेलाई दुवै पक्षलाई उत्तीकै सहि वा उत्तीकै गलत रुपमा राखेर केहि समय यिनीहरुको कार्यपद्धती हेर्नु नै ठिक होला ।

 

साँच्चै भन्ने हो भने हेर्दा खेरीनै उज्जवल थापा कम बोल्ने, सुस्त गतीकोे, निरन्तर काम गरिरहने, युवाजमातमा बढि रमाउने देखिन्छन् भने रवीन्द्र मिश्र चलाख, धेरै बोल्ने, देशका कुना काप्चामा घुमिरहने, प्रौढ तथा व्यवसायीक व्यक्तहरुसँग बढी हेलमेल गर्ने खालका देखिन्छन् । त्यसैले उनीहरुबिच ‘केमिस्ट्री’नै मिलेन । तर, दुई बिपरित ध्रुबहरुले आफूलाई एक अर्का सँग समाहित गराउँदै मिलेर काम गर्न सकेको भए, रिजल्ट राम्रै आउन सक्थ्यो ।

 

हुनत यहाँ सरोकारवालाहरुले मान्दैन, तर सत्य के हे भने, नयाँ दिल्लीमा जब अरबिन्द केजरीवालले आम आदमी पार्टी खोले त्यसको असर स्वरुप नेपालमा बाबुराम भट्टराईले पुरानो शक्तिले काम गर्न सक्दैन भनेर नयाँ शक्तिको निर्माण गर्न पुगे । रवीन्द्र मिश्रले हतार हतारमा राजनीतिमा हाम फाले । अन्ना हजारेको अनुशरण गरे जस्तै डा. गोबिन्द के.सी.को अनुशरण गर्दै विवेकशील नेपाली अगाडी बढ्यो । समय, काल, परिस्थिती, स्थान देखि त्यहाँको चेतना स्तर, शिक्षा, इतिहास जस्ता कुराहरुले राजनीतिलाई प्रत्यक्ष असर पारिरहेको हुन्छ ।

 

माथि भनेका कुराहरु हुँदो हो त ज्यान मार्ने उद्योगमा सफाई पाएका मेयरले दायाँ बायाँ सांसदनै सांसदहरु राखेर, अबिरले मुख कान टाउको राताम्मे पार्दै, मालाले घाँटीदेखि टुप्पि सम्म पुरिएर, हेलिकप्टर चार्टर गरेर, आफ्नो नगरपालिकाका विद्यालयहरु बन्द गर्न लगाउने रमिता देखाउँदैन थिए होला । जनताहरुपनि त्यो किसिमको तामझाम हेर्न पक्कै पनि जाँदैन थिए होला ।

 

हुनत विवेकशील साझा पार्टीले अहिलेनै आफूलाई बैकल्पिक शक्ति बनाउन अवश्यपनि सक्दैन थियो । तरपनि, काँग्रेसको बदलामा कम्युनिष्ट र कम्युनिष्टको बदलामा काँग्रेस भन्ने स्थितीको केहि हदसम्म परिपुर्ति गर्ने स्थिती चाहिँ देखापर्दै थियो । उसलाई एउटा शक्तिको रुपमा उभिएको हेर्न चाहने शहरी इलाकाहरुमा एउटा तप्का छ, जुन देशको राजधानी शहरमा अलि बढी छ, ’cause रवीन्द्र मिश्र जम्मा ८१८ भोटले पराजित भएको उदाहरण काठमाण्डौ–१ को हो, प्रकाश मान सिंहको झण्डै होश हवास गुम भइसकेको थियो । रञ्जु दर्शना र किशोर थापाले सम्मानजनक मत प्राप्त गर्दै देश्रो र चौथो स्थान हासिल गरेको पनि यहि काठमाण्डौ महानगरपालिकामै हो । गाऊँघरमा त त्यो समय आउन अझ धेरै समय लाग्ने निश्चित छ । अबत झन यो पार्टीलाई सकारात्मक दृष्टिले हेर्ने व्यक्तिहरुमाझ पनि गहिरो दुविधा हुनु स्वाभाविकनै भयो, उनीहरु अलमलिने भए, कतातिर लाग्ने, रवीन्द्र मिश्र कि उज्वल थापा ?