विवेकहिन राजनैतिक नेतृत्व र संयमहिन कर्मचारी तन्त्र

 

श्रम कार्यालय, बिराटनगरका उपसचिव प्रेम प्रसाद सञ्जेलले त सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र प्रधानमन्त्री केपी ओलीलाई समेत हाक्काहाक्की ललकारे । एउटा सरकारको नुन खाने कर्मचारीले सरकारलाईनै “च्यालेन्ज” गर्ने आँट कसरी आयो होला ? ज्यान र जागिर दुईटैलाई धरापमा राखेर किन उनले यस्तो आरोप लगाए होलान् ? यी उदाहरणहरुनै काफी छन् राजनैतिक नेतृत्व र कर्मचारी बिचको मतभिन्नता कहाँ सम्म पुगिरहेको छ भन्ने ।

 

 

पौष २९ गते आईतबार दुई नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले सोही प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण सचिव विद्यानाथ झालाई मन्त्रालयभित्रै कुटे । सचिव पनि के कम मुखबाट तथानाम गाली गर्दै बाहिर निस्किए, उनको मुखबाट मधेशी भाषामा अश्लील शब्द “नन स्टप” निस्किरहेको थियो । हुनत एक्सनको रियाक्सन हुने नै भयो, यो सामान्य नियमनै हो । एउटाले कुटेपछि अर्को अवश्यपनि लुरुक्क परेर जाँदैन । यो कुनै शिक्षकले विद्यार्थीलाई कुटेको त होइन । अथवा प्रहरी वा सेनाका हाकिमहरुले आफ्ना तल्लो तहका कर्मचारी पनि कुटेको होइन, मन्त्रीले सचिव कुटेको विषय थियो ।

 

यो घटनापछि यस्तै प्रकारका बिर्सिसकेका पुराना घटनाहरु फेरि एकपटक सतहमा आउन थालिरहेका छन् । नराम्रो कुराको उदाहरण नराम्रै घटनाहरुनै हुन्छन् । आफू मन्त्री हुँदा मातृका यादवले स्थानिय विकास अधिकारीलाई शौचालयमा थुनेको घटना र करिमा बेगमले सिडियोलाई झापड हानेको घटना । दुवैजनाले यो घटनालाई स्वीकारेका थिए । करिमाले पुरानो गाडी पठाईदिएको भनेर तत्कालिन पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गा प्रसाद भण्डारीलाई गालामा झापड हानेकी थिइन् । उता मातृका यादवले स्थानिय विकास अधिकारी डण्डुराज घिमिरेलाई ढुंगाा खानीको निहुँमा शौचालयमै थुनिदिएका थिए ।

 

यी घटनामा दोषीको हो भनेर पत्ता लगाउनु वा दोषीले माफी माग्नु वा नटेर्नेलाई ठिकै गर्यो भन्नु वा दुवैजना उस्तै हुन् भन्नु भन्दा पनि सभ्य समाजमा पटक्कै नरुचाइने यस्ता कुकर्महरु देशका गन्यमान्ने व्यक्तिहरुले नै गर्छन् भने उनीहरु जस्तो चेतना स्तर भएको व्यक्तिहरुबाट शासित हुनु हामी जस्तो सर्वसाधारण जनताहरुको लागी कती लज्जाको विषय होला ?

 

अहिले सम्मका मन्त्रीहरु, बिभिन्न समयमा राज्यको विभेदको बिरोध गरेर वा व्यवस्थाकै विरोध गरेर आएकाहरु मध्येबाट बनिरहेका छन् । उनीहरु कहिं न कहिं र कहिले न कहिले सडक आन्दोलनमा सहभागीता जनाएरै आएका हुन् । बिगतमा ढुंगा, मुढा गर्ने, तोडफोड गर्ने, चन्दा उठाउने, विपक्षीहरु सँग भौतिक रुपमै हातापाई गर्ने, प्रहरी खोरमा बन्दीको रुपमा सँजाय भोग्नेआदी गरेकै हुन् । त्यसैले राज्यको जतीनै माथिल्लो पदमा पुगेपनि उनीहरुले पुरानो धङधङीलाई बिर्सन सकिरहेका छैनन् । जसको परिणाम स्वरुप पदको गरिमा जोगाउन सक्षमनै हुँदैनन् । उनीहरुले अहिले आफू बिलकुलै नयाँ रुपमा छु भन्नेनै बिर्सिन्छन् । भनिन्छ नानीदेखि लागेको बानी छुटाउन गाह्रो हुन्छ ।

 

सरकारी कर्मचारीहरुले महिना सकिएपछि थाप्ने तलव जनताले तिरेको करबाट प्राप्तभएको हो भन्नेनै बिर्सिन्छन् । त्यसैले काम लिएर कार्यालय जाने सेवाग्राही प्रति उनीहरुले कहिल्यै पनि सहयोगको भावनाले काम गरिदिंदैनन् । टाउको उठाएर जवाफै नदिने, आजको काम भोली आउ भन्ने, हाँस्न पटक्कै नजान्ने, कुर्सिमा भेट्टाउनै नसकिने, आदी कार्यहरु उनीहरुको चिनारी जस्तै भइसक्यो । घुस नखाई कामै नगर्ने “ट्याग” लागेको छ । एक किसिमको अहम् छ उनीहरुमा । अवश्यपनि सबै त्यस्ता छैनन् तर एउटा मरेको माछाले पुरै पोखरी गन्हाउँछ भने जस्तै हो । सर्वसाधारणको आँखामा कर्मचारीहरु प्रतीको हेराई पटक्कै सकारात्मक छैन । त्यसको मतलव यो होइन की यी दुई एक आपसमा भिडन्त गरुन् ।

 

मन्त्रीहरुले कर्मचारीहरु कुट्दा वा दुर्व्यवहार गर्दा राज्यले कसरी आफ्नो नीति वा योजनाहरु सञ्चालन गर्न सक्छ ? कसरी जनताहरुलाई विकास वा परिवर्तनको मिठो स्वाद चखाउन सक्छ ? यसरी त्यो तहमा बसेर हातपातमा उत्रनु भनेको गैरकानूनी हो, अक्षम्य अपराध हो । दोषीले हदैसम्मको सँजाय पाउनै पर्छ । यसमा दुविधा छैन । बिगतमा जे जे कारणले हातपात भएपनि अहिलेको हातपात चाहिं मन्त्रीले भनेको एनजीओलाई सचिवले काम नदिएको भन्ने नै छ । यसमा प्रष्टै छ, यी दुई हस्तिहरुको बिचमा आफूले चाहेको एनजीओलाई उक्तकाम दिनु पर्छ भन्ने कुरामा मतभेद भएको हुनुपर्छ, परिणामस्वरुप माथि भनिएका आ–आफ्ना अतितले काम गर्यो, र कुटाकुटको स्थिती आइपुग्यो ।

 

एनजिओप्रति किन मन्त्रीहरुको यस्तो लगाव भइरहेको होला नेपालमा ? एकनाथ ढकालले ल्याएको कोरियन आमाको आइएनजिओको चमकदमकमा उच्च ओहोदाका विदेशी देखि हाम्रै देशका प्रधानमन्त्री सहित सम्पूर्ण सरकारनै रमाउन पुग्यो । उता एनजिओको कारणले हातापाई भएको प्रदेश नम्बर दुईका मूख्यमन्त्री सहित नौ जना मन्त्रीहरु, एउटा एनजिओकै कार्यक्रममा, एउटै मञ्चमा सयपत्रीफुलको माला पहिरिएर लहरै बसेको देख्दा यसले कतिसम्म गाँजेको रहेछ हाम्रो सरकारी निकायमा भन्ने प्रष्टै देखिन्छ । ती, नौ जना मन्त्रीहरुको त्यो दिन त्यही मञ्चमा सामूहिक रुपमा उपस्थिती हुनैपर्ने अनिवार्यता के थियो ? त्यतीबेला सो प्रदेशमा उनीहरुलाई अन्य कामहरुले पनि कुरेर बसिरहेको थियो होला ? यसो गएर गरिदिएको भए कामको गतीले अगाडी जाने मौका पाउँथ्यो होला, जनताहरुलाई दिएको वाचा पुरा गर्न सकिन्थ्यो होला?

 

डिम्पल झाले दक्षिण भारतीय सिनेमा बिर्साउने गरेर आफ्नो गृहनगर रौतहट जाँदा कैयौं किलोमिटर सम्मको गाडीको क्याराभानको मोहले देखाउँछ जनताले यस्ता नेताबाट केही होला भनेर आशा गर्नुनै त्यो मुर्खता हो । उनीहरु सिर्फ जनताहरुलाई शासन गरिरहेछन्, सेवा होइन । केन्द्रले कामगर्न अवरोध गर्यो भनेर चिच्याइ रहँदा आफूले सकेको काम मात्रै गरिदिएपनि जनताहरुले सकारात्मक दृष्टिले हेर्थे होलान् । केन्द्र र प्रदेश बिचको बिबाद तत्काल सकिंदै सकिंदैन । यो निरन्तर चलिरहने विषय हो । भारतमा यत्रो वर्ष भइसक्दा त बेला बेलामा केन्द्र र राज्यका बिचमा खिचातानी भइरहेको हुन्छ । बिभिन्न राज्यमा बिभिन्न समयमा राष्ट्रपती शासन चलिरहेको हुन्छ भने हाम्रो त भरखरै देश संघियतामा गएको छ । धेरै अनुभव र कानुनको अभ्यास भएपछि मात्रै यी दुईबिचको द्वन्द्व कम हुँदै जान्छ । सिण्डिकेट बन्दमा प्रमूख भुमिका खेलिरहेका रुपनारायण भट्टराईलाई यातायात मन्त्री रघुबिर महासेठ सँग विवाद भएपछि त्यहाँबाट रुपानान्तरण गरियो ।

 

श्रम कार्यालय, बिराटनगरका उपसचिव प्रेम प्रसाद सञ्जेलले त सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र प्रधानमन्त्री केपी ओलीलाई समेत हाक्काहाक्की ललकारे । एउटा सरकारको नुन खाने कर्मचारीले सरकारलाईनै “च्यालेन्ज” गर्ने आँट कसरी आयो होला ? ज्यान र जागिर दुईटैलाई धरापमा राखेर किन उनले यस्तो आरोप लगाए होलान् ? यी उदाहरणहरुनै काफी छन् राजनैतिक नेतृत्व र कर्मचारी बिचको मतभिन्नता कहाँ सम्म पुगिरहेको छ भन्ने ।

 

नेता र कर्मचारी भनेको एक अर्काका परिपुरक हुन् । देश विकास गर्न यी दुईको अपरिहार्य अनिवार्यता छ । स्थायी र अस्थायी सरकार अर्थात कर्मचारी र मन्त्रीपरिषद बिचमा चिसोपन फराकिलै छ । तर एउटाले अर्कालाई नटेर्ने र तँभन्दा म के कम भन्ने अहमले ती निकायहरुलाई देशवासीको अगाडी नाङ्गेझार पारिरहेको छ । जनताहरुले मनोरञ्जन लिईरहेका छन् । यिनीनिहरुले देश विकास गर्लान् भनेर सोचेकापनि छैनन् । आफ्नो आसामा तुषारापात भएको महशुस गरिरहेका छन् । त्यसैले जनताहरुको विश्वास जित्न, जनजिवीकालाई सरल र सहज बनाउन, देश र देशवासीप्रतिको कर्तव्य पूरा गर्न दुवै पक्ष लाग्नु पर्दछ । दुवैले कुममा कुमजोडेर कामगर्नु पर्दछ । एकले अर्काको भनाई सुनिदिनु पर्दछ, एकले अर्काको मर्यादा राख्नु पर्दछ । नीति, नियम, कानून, बुद्धि, विवेक आदीको प्रयोग गरेर एक अर्कामा समन्वय गरिकन देश विकास गर्ने कार्य गर्नुपर्दछ ।