समय कटाउने मेसो मात्र हो हाम्रो शिक्षा ?

 

आफूले पाएको ज्ञान वा सिप वा शिक्षा लाई स्वदेशमै उपयोग गर्न सक्षम भएर आय आर्जनको अभाव नहुने भएको भए अभिभावकहरुले अवश्य पनि आफ्ना सन्ततीहरुको भाग्य आफ्नै देशमै देख्थे होलान् । तर, एक दुई जना सम्भ्रान्तवर्ग, केही चाटुकारहरु, नेताका आसेपासेहरु बाहेक अरुले आफ्नो भविष्य यहाँ भेट्टाउन सक्दैनन् र विदेश पलायन हुनु रहर मात्र होइन, बाध्य पनि हुन पुग्छन् ।

 

 

 

 

विद्यालय वा शिक्षालयहरुमा गएर प्ले ग्रुप देखि पि.एच.डि. सम्म अध्ययन गर्नुनै शिक्षा हो भन्ने हाम्रो बुझाई छ । शिक्षाले दुईवटा कुराहरु प्राप्त गर्नु पर्दछ । एउटा ज्ञान र अर्को रोजगारी । तर अहिले भइरहेको शिक्षाले प्रमाणपत्र मात्र बाँडिरहेको छ, ज्ञान र रोजगारी होइन । ज्ञान बिनाको शिक्षा भनेको चामल बिनाको धान हो, जहाँ केही हुँदैन, केवल खाली ठाउँमात्र हुन्छ भने रोजगार बिनाको शिक्षा समय कटाउने मेसो बाहेक केही होइन, भोली बेरोजगारनै बस्नु पर्छ भने आज किन मेहनत गरेर शिक्षा आर्जन गर्नु ?

हामी कसैले नराम्रो काम गर्यो भने वा गैर कानूनी काम गर्यो भने ‘पढेलेखेको मान्छेले पनि यस्तो गर्छ’, भनेर प्रश्नवाचक चिन्ह तेस्र्याउँछौं । तर, व्यवहारमा आजको शिक्षालयबाट लिइएको शिक्षाले त्यस्तै जनशक्ति तयार पारिरहेका छ । उदाहरणका लागि, हाम्रा शैक्षिक संस्थाहरुले बि.ए., एम.ए. त पास गराउँछ तर उनीहरुलाई फगत कितावी ज्ञान बाहेक व्यावहारिक ज्ञान दिन चुकिरहेको छ ।

खुल्ला स्थान, सडक बाटोमा फोहोर फाल्नु हुँदैन, अर्काको घर अगाडी तथा फुटपाथमा जथाभावी पार्किंग गर्नु हुँदैन, सडक पेटीमा पैदलयात्रुलाई सहज हिंड्ने वातावरण बनाई दिनु पर्छ, जेब्रा क्रसिङमा बटुवालाई प्राथमिकता दिनु पर्छ, मन्दिर गएपछि लाईनमा बसिदिनु पर्छ, जागिर खाएपछि आउने सेवा ग्राहीलाई सहज रुपमा सेवा गर्नु पर्छ, कुकूर पालेपछि जथाभावी दिसापिसाव गराउनु हुँदैन, रात बिरात भुक्नाले छरछिमेकीलाई डिस्टर्व गर्नु हुँदैन, ढल वा खानेपानीको खाल्डो खनेपछि त्यसै छाड्नु हुँदैन, बिजुलीका पोलहरुमा नांगो तार झुण्ड्याउनु हुँदैन, खाद्य सामग्रीमा अखाद्य वस्तु मिसाउनु हुँदैन, सार्वजनिक सवारी साधनले लागेको भाडा भन्दा बढ्ता लिनु हुँदैन, सार्वजनिक स्थानमा धुम्रपान गर्नु हुँदैन, कुनै पनि प्रकारको बन्द हड्ताल गर्नु हुँदैन, भन्ने जस्ता असंख्य तमाम साना वा झिना मसिना कुराहरुमा पनि ध्यान दिंदैनौं भने कसरी शिक्षीत भएको मान्ने ?

जब मानिसले आफू बाहेक अरुको पनि मानव अधिकार हुन्छ र त्यसलाई हरण गर्नु हुँदैन भन्ने समेत बुझ्दैन भने पशु अधिकारको ’boutमा बुझ्ने त कहिले हो कहिले ? यो नै हो ज्ञानको अभाव, फगत औपचारीक शिक्षा मात्र ।
केहि कुरा अरुबाट सिक्नु वा असल कुराहरुको अनुसरण गर्नु पनि शिक्षा लिनुनै हो । भनिन्छ, सबैभन्दा ठूलो शिक्षा समयले दिन्छ । तिन वर्ष अगाडी त्यती ठूलो भुकम्प गयो, बेला बेलामा अझै पनि त्यसको पराकम्प आइरहेको छ । ती सबै घटनाहरुलाई हामीले पलपल बिर्संदै गइरहेका छौं । त्यती बेला मानिसहरु आफ्ना घरका तल्लाहरु घटाउँदै थिए, अहिले फेरि बढाउँदै छन् । त्यतीबेला एक्कासी भागाभाग हुँदा सडक बाटोमा भएको अवरोधले गर्दा कती जनाले बाटैमा मृत्यु वरण गरे भने कयौं सख्त घाइते भए ।

उदाहरणस्वरुप, गोरखापत्रका खेल पत्रकार मकवानपुरका सुमन बोमजमले काठमाण्डौको निवासबाट भाग्ने क्रममा बाटोको अवरोधले गर्दा भाग्न नभ्याई थिचिएर दिवंगत हुनु पर्यो । अहिले फेरि त्यही अवस्था फर्किरहेको छ, बाटोभरी निर्माण सामग्री वा सवारी साधन तेर्साएर राखिदिएको हुन्छ, ढल वा खाने पानीको लागी खाल्डाखुल्डी खनेर त्यसै छाडिएको हुन्छ । भुकम्प मात्र होईन अन्य घटनाहरु प्नि त हुन सक्छ, टाढा देखि नजिकै घर घरसम्म पनि दमकल, एम्बुलेन्स जस्ता अतवश्यक साधनहरु ओहोर दोहोर गर्नु पर्ला तर त्यसमा ध्यानै दिएको देखिंदैन । यस्ता सबैलाई पर्न सक्ने कुराहरुबाट त शिक्षालिन सकिंदैन भने कसरी शिक्षा प्राप्त गरेको भन्न सकिन्छ ? विश्वका हरेक शिक्षालय बाट प्राप्त गर्ने ज्ञान सहितको शिक्षालाई मात्र शिक्षा मान्न सकिन्छ, ज्ञान बिनाको शिक्षा, शिक्षा मान्न सकिंदैन ।

हामीलाई जागिरमुखी शिक्षा चाहिएको होइन, स्वआर्जन मुखी शिक्षाको खाँचो छ । यहाँ प्रत्येक वर्ष लाखौं युवायुवती श्रम बजारमा आउँछन् तर उनीहरु खाली हात फर्कनु परिरहेको छ । त्यसैले हरेक दिन हजारौं बेरोजगारहरु भारत लगायत मलेशिया, खाडी राष्ट्रहरु र अन्य तेस्रो मुलुकहरु गइरहेछन् । परिणाम, स्वरुप देशले योग्य युवायुवतीको सेवा लिन पाइरहेको छैन, ब्रेन ड्रेनको समस्या भोगिरहेको छ, योग्य र सक्षम युवायुवतीको अभावमा देश कसरी समृद्ध होला, कसरी सुखी होला ?

शिक्षा भनेको देश वा माटो सुहाउँदो हुनु पर्दछ । कृषि वा पशुपालन पेशामा लाग्ने व्यक्तिले त्यसमा अत्यधिक उत्पादन लिन सक्ने बनाउनु, मोटर साइकल मेकानिक्सले त्यसैमा आफ्नो भविष्य बिताउन सक्ने बनाउनु, त्यस्तै कपडा सिलाउने, मोबाइल मर्मत गर्ने, सिकर्मी, डकर्मी, सवारी चालक, प्राविधिक, कुक, विभिन्न प्रकारका अप्रेटरहरु जस्ता अनगिन्ती पेशा अपनाउन चाहने वा अपनाइरहेका व्यक्तिहरुलाई उनीहरुको पेशा व्यवसाय सँग सम्बन्धीत प्राविधिक शिक्षा दिएर अब्बल बनाउनुनै अहिलेको युगमा सच्चा शिक्षा हो ।जसलाई प्राविधिक तथा व्यावसायीक शिक्षा पनि भन्न सकिन्छ । जसले रोजगार खोज्दै भौंतारिंदैन, बरु अरुलाई रोजगारी दिन सक्छ ।

अहिले पनि साधारण चिया, खाजा पसलेले महिनामा तिस, चालिस हजार कमाइरहेका छन् भने त्यहाँ आउने नजिकैका कार्यालयका कर्मचारीहरुले साधारणतया पन्ध्र बिस हजार रुपैयाँ कमाईरहेका हुन्छन् । एउटा एसईई वा एसएलसि पढेको मोटरसाईकल ग्यारेजका मालिकले अरु दुई, तिन जना व्यक्तिहरुलाई काम दिईरहेका छन् । जबकी स्नातक वा स्नातकोत्तर पढेको व्यक्ति अरु कसैकोमा गएर जागिर खाइरहेको हुन्छ । भने, यस्ता जनशक्तिहरुलाई खड्केको औपचारिक तालिम वा सहयोग प्रदान गर्नुनै उसलाई आफ्नो पेशा प्रति ढुक्क र विश्वस्त बनाउनु हो ।

हाम्रो जस्तो देश, जहाँ ठूलाठूला उद्योग, कलकारखानाको अभाव छ । जसको अर्थतन्त्र आयातमुखी छ, निर्यात नगण्य मात्रको छ भने त्यस्तो देशले अवश्यपनि आफ्ना सबै जनताहरुलाई रोजगार दिन असम्भव छ । त्यसैले यदि सबैलाई रोजगारी पाउने गरी शिक्षा दिने हो भने औपचारिक शिक्षा भन्दा प्राविधिक शिक्षामा जोड दिनै पर्दछ ।

वर्षौं देखि हामी हाम्रा छोराछोरीलाई ठूलो भएपछि डाक्टर इन्जिनियर बन्नु पर्छ भनेर घोकाएर आइरहेका छौं तर अहिले त्यो बाहेक अर्को एउटा विषय घुसाएका छौं त्यो हो, विदेश गएर पढ्ने । विदेशमा अध्ययन त एउटा वहानानै हो, आफ्ना सन्ततीलाई अमेरिका, अष्ट्रेलिया, न्युजील्याण्ड, क्यानाडा, बेलायत, युरोप, जापान लगायतका विकसित देशहरु पठाएर उनीहरुलाई आफ्नो भविष्य सुरक्षित गराउनेनै हो । यो किनभइरहेको छ भने, देशमा आफ्नो भविष्य नदेख्नु । त्यसैले यसमा अभिभावकको मात्र के दोष छ र ? यसको प्रमूख भागीदार त देश चलाउनेहरु नै हुन् ।

यदि उनीहरुले देशलाई उपयोगी शिक्षा नीति लिइदिएको भए, देशको भविष्य कस्तो बनाउने भनेर सोचिदिएको भए, आफूले पाएको ज्ञान वा सिप वा शिक्षा लाई स्वदेशमै उपयोग गर्न सक्षम भएर आय आर्जनको अभाव नहुने भएको भए अभिभावकहरुले अवश्य पनि आफ्ना सन्ततीहरुको भाग्य आफ्नै देशमै देख्थे होलान् । तर, एक दुई जना सम्भ्रान्तवर्ग, केही चाटुकारहरु, नेताका आसेपासेहरु बाहेक अरुले आफ्नो भविष्य यहाँ भेट्टाउन सक्दैनन् र विदेश पलायन हुनु रहर मात्र होइन, बाध्यता पनि हुन पुगेकोछ ।

यदि राज्यले शिक्षा दिवस मनाउने हो भने, तक्मा बाँड्ने, प्र्रमाणपत्र बाँड्ने, फुलमाला, खदा लगाउने, भाषण गर्ने मात्र होइन, देशबासी वा देशले कस्तो प्रकारको शिक्षा खोजी रहेछ त्यसमा ध्यान दिनु अत्यन्तै जरुरी छ । देशलाई एउटा सिस्टम वा प्रणाली मार्फत चलाउनु उत्तीकै अपरिहार्य छ । केही पर्यो भने आफ्नो मान्छे खोज्नु पर्ने, सोर्सफोर्स लाउनुपर्ने, घुस खुवाउनु पर्ने, अनैतिक बाटोबाटै जानुपर्ने जस्ता कार्यहरुले गर्दा अहिलेका युवा पिँढीहरु देशमा बस्नै चाहँदैनन् । बेलैमा सोचेर यस्ता जनशक्तिलाई पलायन हुन बाट रोक्ने शिक्षा दिनु अति आवश्यक छ, नत्र पश्चिमा देशहरु भन्दा दुई सय वर्ष पछाडि परिरहेका हामीहरु अब अझ ठूलो ग्यापका साथ पछाडी पर्ने निश्चित छ ।