नेपाल आन्दोलनको प्रयोगशााला हो ?

चिनी धेरै भयो भने तितो हुन्छ । त्यसैले आन्दोलन पनि धेरै नगरौं, जनतालाई तितो भइसक्यो । चन्दा, आतंक, हत्या, हिंसा होइन देश बनाउने राम्रो कार्यक्रम ल्याउनुहोस् । राजनीति गर्ने भनेको रातारात धनी हुन वा पहिलो चुनावबाटै सत्तामापुग्ने खेल अवश्य पनि होइन ।

 

 

राणाहरुले एकसय चार वर्ष सम्म एकलौटी जहानियाँ शासन गरे । जसको बिरुद्ध केही व्यक्तिहरुले आवाज निकाले, उनीहरुलाई साथ दिन जनताहरु तयार भए । गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्री सहित अन्य धेरै जना सहिद भए । त्यस्तो कालो, डरलाग्दो मध्य युगमा पनि आन्दोलन सफल भयो र दुई हजार सात साल फागुन सात गते नेपालमा प्रथम पटक प्रजातन्त्र स्थापना भयो ।

 

जम्मा जम्मी दश वर्ष, त्यो पनि अनेक किचलोको बिचमा चलेको प्रजातन्त्र अन्ततः दुईहजार सत्र सालमा राजा महेन्द्रले खोसिदिए । यदि राजाले त्यतीबेला प्रजातन्त्र नखोसिदिएका भए सायद नेपालमा आजको जस्तो कम्युनिष्ट पार्टीहरुको बहुमत हुने थिएन । ’cause त्यती बेला संसदमा नेकपाको अति झिनो मत थियो । सत्र साल देखि पैंतालिस साल सम्ममा काँग्रेस भन्दा कम्युनिष्टहरुले आफूलाई संगठन बढाउन गाउँगाउँमा बाक्लो उपस्थिती जनाए । विशेष गरेर उनीहरु शिक्षालयहरुमा केन्द्रित भए । जहाँ शिक्षक र विद्यार्थी जस्ता चेतनशिल वर्गलाई हात लिन सफल भए । विद्यालयहरुमा साँस्कृतिक पर्वहरुको अवसरमा हुने समारोहहरुमा कम्युनिष्टहरुको जुरुक जुरक उचाल्ने गितले कुनचाहिँ दर्शक बामपन्थी धारबाट भाग्न सक्थ्यो र ?

 

त्यतीबेला नेताहरुले कुर्सि पाएका थिएनन् । उनीहरु इमानदार थिए । बि.पि. कोइराला लगायत काँग्रेसका प्रायजसो नेताहरु भारत प्रवासमा थिए । नेकपाका केही नेताहरु प्रवासमा रहेपनि अधिकांश नेपालभित्रै अर्ध भुमिगत शैलिले बसिरहेका थिए । यी दुवैको लक्ष्य एउटै थियो, पञ्चायत व्यवस्था फाल्ने र जनताको व्यवस्था लागु गर्ने तर दुवैको बाटो फरक थियो । यसरी फरक तवरले हिंड्दा लक्ष्य प्राप्तगर्न सकिंदैन भनेर दुवैले संयुक्त आन्दोलन गरे जसमा जनताहरुले दिलो ज्यान दिएर सहयोग गरे । अन्तत्वगत्वा, छयालिस सालको जनआन्दोलन पनि सफल भयो । यसरी दोस्रो पटक नेपालमा प्रजातन्त्र स्थापना भयो ।

 

छयालिस पछि नयाँ संविधान बन्यो । संघिय संसद देखि स्थानिय निकाय सम्ममा निर्वाचन भयो । नेपालमा बेलायती मोडलको संसदिय अभ्यास भइरहेको थियो । त्यसमा पनि असन्तुष्टी हुँदै दुईहजार बाउन्न सालमा फेरि अर्को आन्दोलन शुरु भयो । यो आन्दोलनले चाहिँ पहिलेको जस्तो राज्यका सुरक्षाफौज र प्रशासन सँग भाग्ने भन्दापनि आमने सामने भएर उनीहरुलाई भगाउने क्रम शुरु गर्यो ।

 

शुरुमा कुनै दुर्गम स्थानका प्रहरी चौकी माथी आक्रमण शुरु गर्यो । राज्यका सबै अंगहरुले यो पार्टी माथी खिसिटिउरी गर्न थाले । केही पनि हुँदैन भन्दै ढुक्क भएर मस्त निदाए । तर, नेताहरुको अदुरदर्शिता, अपरिपक्वता र कुर्सिको छिनाझपटका बिच उक्त आन्दोलनको राप र ताप ह्वात्तै बढ्न थाल्यो । राज्यको उपस्थिती सदरमुकामको काँडेतार भित्र र काठमाण्डौ उपत्यकामा मात्रै सिमित हुन पुग्यो, त्यो पनि आंशिकमात्रै । दशैंमा घर जानुको सट्टा शहर बजार र राजधानीमै आफन्तहरु बोलाउनु पर्ने बाध्यता आइपर्यो । राजधानी लगायत सदरमुकामहरुमा घर, जग्गाको भाउ ह्वात्तै बढ्यो भने दशैंमा भने जती पैसा तिर्छु भन्दापनि खसी पाउन छाड्यो ।

 

यस्तो जटिल अवस्थाको अन्त्य गर्नको लागि मानिसहरु छटपटिन थाले । दुईहजार बैसट्ठी, त्रिसट्ठी सालमा उन्नाइस दिन सम्म विशाल आन्दोलन भयो । नेपाली जनताहरुले नेताहरुलाई शान्तिपुर्वक साथ दिए । देशमा कसैले नसोचेको गणतन्त्र आयो । हुनत गणतन्त्र आउनुमा पार्टीहरुको भन्दापनि ज्ञानेन्द्रको आफ्नै ठूलो देन छ । उनमा कुन शक्तिले काम गर्यो की दलहरुलाई लत्याएर बाबुकै पथमा लम्कन थाले ।

 

सत्र साल धेरै अगाडीको समय हो भन्ने हेक्का नै राखेनन् । बिर्सिसकेका तुलसी गिरीहरुलाई विदेशबाट झिकाएर तत्कालिन नेताहरु तह लगाउन शुरु गरे । पार्टीहरुलाई पाखा लगाएर शासन गर्न सकिंदैन भन्ने कुरा गोकर्ण फरेष्ट रिसोर्टमा लाम लगाएर दर्शन भेट दिएका नागरिक समाजका अगुवाहरुले कानमा भनेकै थिए । तर उनले त्यसलाई सुने मात्र, मनन गरेनन् । जनता जनार्दन हुन् जसलाई लत्याउँदा आफ्नो के हविगत हुन्छ भन्ने कुरा उनले धेरै पछि मात्र चाल पाए परिणाम स्वरुप नारायणहिटीमा पत्रकार सम्मेलन गरेर सदाको लागि विदा भए ।

 

जनताले साथ दिएपछि मात्र सत्र हजार मानिसको जिवन समाप्त भएको त्यो हिंसात्मक आन्दोलनले सेफल्याण्ङि गर्ने मौका पायो । एकदलिय साम्यवाद, माओवाद, प्रचण्डपथ भन्दै उर्लेका नेताहरु जनताको अगाडी झुक्न कर लाग्यो र जताबाट घुमाएर र नाम फेरेर भने पनि सिधा भाषामा भन्ने हो भने बहुदलिय व्यवस्थामै आउन कर लाग्यो । र, फेरि तेस्रो पटक नेपालमा प्रजातन्त्र स्थापना भयो ।

 

हामीले देख्दा देख्दै देशमा आन्दोलन सिवाय केही भएकै छैन । विकास हुन, काम गर्न कुनै बादले पनि हुँदैन भन्ने प्रमाणित भइसक्यो । अमेरिकालाई पुँजीवादले विकास गर्न कहाँ रोक्यो, चिनलाई साम्यवादले विकास गर्न कहाँ रोक्यो, अरबलाई निरंकुश राजतन्त्रे विकास गर्न कहाँ रोक्यो, भारतलाई प्रजातन्त्रले विकास गर्न कहाँ रोक्यो ? त्यसैले अब नेपाली जनताले बुझि सके । नेतालहरुले जस्तो भन्यो त्यस्तै व्यवस्थाको लागि उनीहरुले धेरै लँडाइमा साथ दिईसके । उनीहरुको अगाडी देश होइन, नेता, नेताका सन्तान तथा नातेदारहरु र आसेपासेहरुको विकास भएको राम्रै सँग देखिईरहेको छ ।

 

अबचाहे सिके राउतको होस्, विप्लवको होस्, बैद्य वा राप्रपाकै आन्दोलन होस्, कुनै पनि आन्दोलनमा जनताहरुले साथदिने छैनन् । उनीहरुलाई प्रष्ट थाहा छ, यो व्यवस्था भन्दा राम्रो व्यवस्था संसारको कुनै कुनामा पनि छैन । यत्रो भाषा, धर्म, संस्कृती, भेष, भुषा, जात, जाती, र भौगोलिक जटिलता भएको देशलाई मिलाएर राख्न सक्ने हैसियत अहिलेको व्यवस्थामा प्रशस्तै छ । यसै व्यवस्थामा जोडिएर देश बनाउन तपाईँहरुलाई के ले रोकेको छ ? कतै केही अप्ठ्यारो भए आपसी छलफल गरेर सल्टाउने कोशिष गरौं । अठसट्ठी वर्षमा तीन–तीन पटक प्रजातन्त्र प्राप्त गरेको मुलुकलाई थप आन्दोलनको प्रयोगशाला बनाएर देशलाई जर्जर बनाउन बन्द गरौं । एउटा आन्दोलनले राम्ररी बिश्राम लिन पाएको हुँदैन अर्को आन्दोलनको तयारी शुरु भइसकेको हुन्छ ।

 

चिनी धेरै भयो भने तितो हुन्छ । त्यसैले आन्दोलन पनि धेरै नगरौं, जनतालाई तितो भइसक्यो । चन्दा, आतंक, हत्या, हिंसा होइन देश बनाउने राम्रो कार्यक्रम ल्याउनुहोस् । राजनीति गर्ने भनेको रातारात धनी हुन वा पहिलो चुनावबाटै सत्तामापुग्ने खेल अवश्य पनि होइन । यदि लामोयात्राको घोडा बन्न आउनु भएको हो भने प्रत्येक चुनावमा आफूलाई जाँच्नुहोस् । पाकिस्तानमा इमरान खान प्रधानमन्त्री बन्छन् भन्ने कसैले पनि सोचेको थिएन । यो उनको रहर मात्रै हो भनेर मजाक उडाइन्थ्यो । तर, अथक प्रयास पछि अन्ततः उनी प्रधानमन्त्रीको कुर्सिमा बस्न सफल भए । जनताको मनमा बस्न सिक, आन्दोलनको चक्रब्युहमा नफस ।