लगानी गर्नेले भौतिक मात्रै होइन मनोवैज्ञानिक पक्ष पनि हेर्छ

पोहोरको कबोल अङ्कको कति आयो, किन आयो, किन आएन, शर्त के थिए, कति पूरा भए, कति बाँकि छन ? यसको कुनै लेखा जोखा छैन। यसको स्वतन्त्र विश्लेषण नगरी यो श्राद्ध गर्नै हुन्नथ्यो । स्वतन्त्र विष्लेषण चाहिने किन हो भने बिभागीय विष्लेषणले आफू जोगिने बहाना र लगाउने आरोपको आधारमात्रै खोज्छन, कारण खोज्दैनन ।
सरकारको निर्णयलाई कतै लगानीकर्ताले “कर लिँदैनौ भन्नुको अर्थ घुस र कमिशन चाहिँ छोड्दैनौँ” भन्ने अर्थमा बुझेका त छैनन? किनकि जायज कर समस्या नै होइन यहाँ त नाजायज करको समस्याले लगानीकर्ता चिन्तित छन ।
मधेशमा अझै पशुहाट लाग्छन । बेच्नेले पुछ-पाछ गरेर आफ्ना पशु-वस्तु हाट लैजान्छन, खरितेहरू गोजीमा पैसा लिएर आउँछन, किन्ने पशुको रुप-रङ्ग, स्वास्थ्य, उमेर हेर्छन र तत्काल किन्छन, लिएर जान्छन । कृषिमा आधारित अर्थतन्त्र भएको एउटा समाजमा लामो समय देखि चलेको चलन नै त्यही हो । तरकारी पनि साप्ताहित हाटमै विक्रि हुन्छन, किन्नेले छानी-छानी किन्छन।
नेपालमा वार्षिक हाट लाग्छ, विकास आयोजना बेच्न । “यसमा पैसो हाल हामी यति छुट दिन्छौँ, यो यो शिर्षकमा” त्यो हाटको सन्देश नै त्यही हो । त्यो हाटको नाम “लगानी सम्मेलन” र लाग्ने सिजन यस्तै चैत-वैशाख । थाहा छैन कताको ज्योतिषीले साइत हेर्छ तर यस्तै यस्तै बेलामा पर्छ, बसन्त ऋतुमा । पोहोर साल भर्खरै नयाँ सरकारको जन्म भएकोले सुतक पर्यो, सम्मेलन भएन, र नेपालले बिजुलीमा लगानी सम्मेलनमै चित्त बुझायो, ८० अर्ब डलर भित्र्याउने उच्च मनोवलका साथ । यसपाली फेरि हुन लागेछ भन्ने सडकका स्वागत द्वारले देखाए।
दुई वर्ष अघिको प्रतिवद्धता हेर्ने हो भने नेपालको वार्षिक बजेट भन्दा बढि थियो, १३.५१ बिलियन डलर वा १४ खर्ब चानचुन । श्राद्धको अन्तमा दक्षिणा दिए जस्तै सम्मेलनको अन्तमा बोल-कबोल भए, कस्ले कुन दूनामा कि टपरीमा कति पैसो हाल्ने भनेर ठुलै दौड-धूप भए, पण्डित पोखरेलको पुरान बाचनमा पैसो कबोल्ने शैलीमै ।
त्यति बेला भारत, बेलायत, जर्मनी, फ्रान्स, फिन्ल्याण्ड र मौरिशस सङ्ग त लगानी प्रबर्द्धन तथा सुरक्षा सम्बन्धी द्विपक्षीय सम्झौता समेत भै सकेका थिए । बैङ्किङ्ग तथा वित्तीय संस्थाका लागि नयाँ नियम आउँदै थियो, वाहिरबाट आउने पैसा सिसाको पाइपबाट छिराउने गरी । सिसाको पाइपबाट आउँदा के आयो देखिन्छ पनि, अड्किँदैन पनि । आशा थियो अव चुनाव मात्रै भएर स्थिर सरकार हुने हो भने लगानी त ओइरिन्छ ।
सहरका मूख्य सडकमा पाहुनालाई द्वारले स्वागत गर्छन, धनमन्त्रि, बाह्य-मामला मन्त्रि र उद्योग मन्त्रिको कार्यालयमै ओच्छ्यान लाग्छ, ठूलै महाभारतको लडाइँ जित्नु छ जस्तै गरी । सहरका स्वागत द्वारले ठ्याक्कै दुई साल अघिको सम्झना दिलाए। मैले यसो हेरेँ त्यो श्राद्धमा हाल्ने भनिएको पैसो कुन कुन जजमानले हाले? को को ठग निस्किए? कसले के के अप्ठ्यारा देखाए? अघिल्लो सम्मेलनमा गर्छु भनेकाले कतिले लगानी गरेनन? कतिले गरे? किन गरेनन? किन गरे? उत्तर कतै भेटिनँ । मात्रै प्रतिबद्धताको थोरै प्रतिशतमात्रै आयो भन्ने सतही समाचार बाहेक ।
दान दिनेले सम्मान खोज्छ, लगानी गर्नेले नाफा । काँग्रेस, पञ्च, कम्युनिष्ट सबैले बुझेको यही हो । ति नाफाका निम्ति लगानी गर्नेहरूले हेर्ने भनेको बजार, नाफाको सुनिश्चितता र निस्किएको नाफा लैजान पाउने सहज बाटो र प्रकृया त हुन । त्यही भएर तिनले अघिल्लो सम्मेलनमा केही ठोस सरोकार देखाएका थिए ।
संभाव्य लगानीकर्ताहरूले शब्दमा व्यक्त नगरेपनि अप्रत्यक्षरुपमा पटक-पटक प्रकट गरेको मूख्य कुरा सरकारी लालफिताशाही, कर्मचारीको घुसखोरी चरीत्र, नेताहरूको कमिशनखोरी बानी र जटील लगानी प्रकृया थिए । तर ति सबै भन्दा माथिको तर महत्वपूर्ण कुरा थियो लगानीबाट आर्जित सम्पत्ति लैजान पाउने सरल व्यवस्थाको सुनिश्चितता ।
नयाँ सरकारले उपचार त गर्न खोज्यो तर रोगको डाइग्नोस नै नगरी। उपचार गर्दा शुरुको रोग भन्दा त्यसका साइड इफेक्ट कडा भएर निस्केका छन । नियम-कानूनमा सुधार त भनियो तर नेता-कर्मचारी र जनताको चरीत्रमै सुधारका लागि केही काम भएन, एकाध आयोजना-स्तरमा बाहेक । त्यो भन्दा ठूलो कुरा त हाम्रो खराब चरित्र कर्मचारी, नेता हुँदै अहिले जनस्तरमा पुगेको छ । कुनै आयोजना शुरु हुने भयो भने त्यहाँ काम नगर्ने तर धेरै पैसा कमाउने दलालको सङ्ख्या ह्वात्तै बढ्छ ।
नेताले कमिशन मागेर, कर्मचारीले घुस मागेर हैरान भएको लगानीकर्ता प्रोजेक्ट साइटमा जनताले क्षतिपूर्ति मागेर हैरान पारिन्छ, जग्गाको क्षतिपूर्ति मात्रै होइन डोजर चल्दा ओथारा बसेको कुखुराले अण्डा खोल्याएको र भीमसेनलाई चढाएको भाले तर्सेर भागेको सम्मका क्षतिपूर्तिका माग मैले सुनेको छु । यि सबै काम स्थानीय दलाल-नेताको मिलेमतोमा हुन्छन ।
हाम्रो चरित्रमा सुधार भए कानून ठूलो बाधक होइन । हाम्रो चरित्रलाई लगानीकर्ताले राम्रो सङ्ग बुझेका छन । हाम्रो भित्री नियत र त्यस प्रतिको उनीहरूको बुझाईले लगानीको “मनोविज्ञान” बनाउने हो । वातावरण भन्दा “मनोविज्ञान” ठूलो कुरो हो यो वार्षिक श्राद्ध सफल बनाउन ।
मनोविज्ञानको कुरा गर्दा पहिले सम्झिने कुरा भनेकै यि शासकको ’boutमा लगानी कर्ताको बुझाई हो । सोल्टी जाँदा चीयर्स गर्दै वाइन गिलास टस गरेपनि लगानीकर्ताले पार्टीका दश जना देख्नासाथ उठ्ने मुट्ठिलाई नियालेका छन । त्यो झन कसिलो हुँदै जाँदैछ कि खुकुलो भनेर अनेक संयन्त्र मार्फत नाडी छामिराखेका छन । उनीहरूलाई उद्योगमन्त्रिको पृष्ठभूमि थाहा छ, अर्थमन्त्रिको कार्यशैली थाहा छ र प्रधानमन्त्रिका मूख्य मान्छेको बिगत थाहा छ । मजदूर उचालेर उद्योगी/व्यापारी सङ्ग बार्गेनिङ्ग गर्ने प्रमुख पेशा बनाएका मान्छे राजनीतिमा कति हाबी छन भन्ने छर्लङ्गै देखेकाहरूले हजार मुसा खाएपछि हज गर्न निस्केको बिरालोको कथा विभिन्न भर्सनमा सुनेका छन ।
शक्ति सन्तुलनमा आएको फेरवदलले भूमिकामा परिवर्तन त ल्याएकै छ तर चरित्रमा त ल्याउँदैन नि । अर्थमन्त्रिको व्यवहार उनीहरूले नजीकबाट नियालेका छन । यि कति उदार हुन, आफू भन्दा जान्ने भनेर कसैलाई यिनले मानेको देखेका छन कि छैनन । अहिले कति फेयर ढङ्गले अर्थतन्त्र चलाइरहेका छन सबै उनीहरूलाई थाहा छ । छर्लङ्गै छ नि।
लगानीकर्ताले सोझै भन्न पो सक्दैनन इतिहास त खोतल्छन नि, तिनले यहीँका व्यापारी, उद्योगीलाई त सोध्छन नि कस्तो छ तिम्रोमा लगानीको वातावरण? कहाँछ हाम्रो उत्पादनको बजार? कस्तो छ उद्योगीमाथि गरिने सरकारी व्यावहार? यति नसोधी सडकमा ठड्याएका स्वागत द्वारका भरमा त लगानीकर्ता हाम्फाल्दैनन नि।
पार्टी पिच्छेका मजदूर सङ्गठनले आन्दोलन गरेर हैरान पारेपछि भागेकाले बाहिर राम्रै व्यवसाय गरेका छन । नेपालीको नियतमाथि उनीहरूको गहिरो अविश्वास छ । आज फकाएर लगानी गर्न लगाए पनि भोली सरकारले सौता हाल्ने डर छ, प्रगति गरे रिस गर्ने डर छ, सरकारी आडमा आफ्नो व्यावसाय डुबाउने गरी अर्कै प्रतिष्ठान खोल्ने डर छ, सत्ताको आडमा ब्ल्याकमेलिङ गरी ठूलो सङ्ख्यामा शेयर ट्रान्स्फर गर्न दवाव दिन सक्ने डर छ र फेरि मजदूरको ज्यादती दोहोरिने डर छ ।
नेपालमा भर नभएकैले कति नेपाली लगानीकर्ताले लुकाएर पैसा विदेशमा लगानी गरेका छन । कतिले सिमित मात्रै लगानी गरेर अरू घर-घडेरी जस्ता अनुत्पादक क्षेत्रमा सुरक्षित मात्रै गरेका छन । तिनलाई उत्पादक र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गराउने कुनै योजना छैन । ति सबैलाई सरकारले चोर देख्छ, सरकारका कर्मचारीले कर-ठग ।
दुई साल अघि पनि सम्मेलन भयो, देशी-विदेशी आए, १४ खर्बको प्रतिबद्धता देखाए, केही आए, केही हराए। तर पोहोरको कबोल अङ्कको कति आयो, किन आयो, किन आएन, शर्त के थिए, कति पूरा भए, कति बाँकि छन? यसको कुनै लेखा जोखा छैन। यसको स्वतन्त्र विश्लेषण नगरी यो श्राद्ध गर्नै हुन्नथ्यो । स्वतन्त्र विष्लेषण चाहिने किन हो भने विभागीय विष्लेषणले आफू जोगिने बहाना र लगाउने आरोपको आधारमात्रै खोज्छन, कारण खोज्दैनन ।
दुई नम्बर सरकारले २० वर्ष कर छुट दिने घोषणा गरेको छ । भौगोलिक अवस्थिति, स्रोतसम्मको पहूँच र बजारका हिसाबले उद्योगको राम्रै सम्भावना बोकेको क्षेत्र पनि हो त्यो । काठमाण्डु सम्म पुग्ने सबै भन्दा छोटो बाटो बन्दै छ, रेलका कुरा छन, तेलका कुरा छन । तर त्यति गर्दा पनि रेस्पोन्स चाहिँ किन कम छ भन्ने यथार्थलाई हामीले हेर्नै पर्छ । सरकारको निर्णयलाई कतै लगानीकर्ताले “कर लिँदैनौ भन्नुको अर्थ घुस र कमिशन चाहिँ छोड्दैनौँ” भन्ने अर्थमा बुझेका त छैनन? किनकि जायज कर समस्या नै होइन यहाँ त नाजायज करको समस्याले लगानीकर्ता चिन्तित छन । अर्वौँ जोगाउन केही अरब घुस खुवायो, त्यो घुसको पैसोले आफैँ फसादमा, यस्ता भोगाई छन कि कुनै ठूला लगानीकर्ता का? यता हेरेको देखिएन ।
दिगो विकासका लागि लगानी नीतिको खाका, अन्तराष्ट्रिय लगानी प्रशासन सुधारका प्याकेज, लगानी सहजीकरणका लागि विश्वव्यापी पहलका कार्यसूची, उद्यमशीलता नीतिको खाका तथा लगानी तथा नयाँ औद्योगिक नीति लगायतका विषय समेटिएको विश्व लगानी प्रतिवेदन समेत हेरेर एउता विस्तृत दस्तावेज बनाउन सकेको भए सम्मेलन पशुहाट भन्दा फरक हुन सक्थ्यो ।
विश्व लगानी प्रतिवेदन २०१८ले नेपालमा विदेशी प्रत्यक्ष लगानी २०१६को १०६ मिलियन डलर बाट बढेर १९८ मिलियन डलर पुगेको देखाउँछ । तर त्यो पूर्वाधार, सिमेण्ट र खनीमा भएको चिनिया लगानीले गर्दा हो भन्छ । लगानी वातावरणवारे त्यो प्रतिवेदन सकारात्मक छ तर लगानी मनोविज्ञान ’bout बोल्दैन । “लगानीको वातावरण”को मात्रै ठूलो गफ चुटिन्छ । ऐन-कानून, विजुली, बजार, मजदूर आदिले लगानीको वातावरण बनाउनाल,तर त्यो वातावरणको लुकेको महत्वपूर्ण पाटो, लगानीको मनोविज्ञान, बनाउन सक्दैनन । मैले माथि भने झैँ लगानीकर्ताले राख्ने यहाँका अधिकारीहरू प्रतिको धारणा र अधिकारीहरूले पाल्ने लगानीकर्ता प्रतिको धारणाबाट सिर्जना हुने वातावरण “लगानीको मनोविज्ञान” हो । त्यसका लागि भौतिक संरचना सुधारमा ख्याल त गर्नु पर्छ नै तर मानसिक संरचना पनि ठूलो परिवर्तनको खाँचो छ ।
यो देशमा गर्वसाथ हिँड्ने शासकको एउटा ठूलो पङ्ति काम गर्दैन, गराइदिन्छ । जिन्दगी भर जागीर, उद्योग, व्यापार, लगानी नगरेको जमात सबै भन्दा धनीको सूचिमा पर्छ र काम गर्ने सबैलाई अपवित्र देख्छ । उसको काम नै नहुने काममा कसैको साथ दिएर काम गराइदिए बापत प्राप्तहुने अबैध सम्पत्ति हो । कर्मचारीको एउटा ठूलो पङ्ति चुडामणीको किताव छ महिना घोकेर तीन घण्टा लेखेर लोकसेवा पास गर्नुलाई सबै भन्दा ठूलो बौद्धिक परीक्षा उतीर्ण गरेको ठान्छ र अरू सबैलाई बुद्धिविहीन देख्छ।
न नेता न कर्मचारी एक जना सम्म गएर नेपाल उद्योग वाणिज्य महासङ्घमा गम्भीर गफ गरेको छैन लगानीका समस्या ’bout, रोजगारी बढाउने उपाय ’bout । आफूलाई एडम स्मिथ ठान्ने राजनीतिक गुरुले गलाभरि माला लगाएर व्यापारी, लगानीकर्ता सबैलाई अर्ति दिँदै भन्छन “लगानी गर्नूस, सरकारले सबै प्रकारका सहुलियत दिन्छ”। तर उद्योगी व्यापारीहरूको वुझाई भने फरक छ । “पार्टीलाई सहयोग गर्दिनु पर्यो भनेर आउने बाहेक नीतिमा छलफल गर्न कुनै नेता र ठूलो कर्मचारी हामीसङ्ग आएको थाहा छैन” भन्छन महासङ्घका पदाधिकारीहरू ।
द्वैध चरित्र हुनेहरू सँधै आफूलाई स्मार्ट ठान्छन। तर हरेकले तिनको चरित्र नियालीरहेको हुन्छ । सार्वजनिक स्थलमा निजी क्षेत्रको भूमिका अपरिहार्य भनेर भाषण छाँटछन, पर्तिर पार्टीको भेलामा गएर जुत्ता देखि कपडा सम्म यो समाजवादी सरकारले उत्पादन गर्छ भनेर मुड्कि उठाएर सलाम ठोक्छन । दुई डुङ्गामा एक एक खुट्टामा राखेर सयर गरिरहेको वर्तमान सरकारले लगानीको चाहिँ भन्न सकिएन द्विपक्षीय सहायताको भने वातावरण बनाइरहेको हुनसक्छ । यत्तिक्कै सन्तुलन कायम राख्न सक्यो भने नेपालको भू-राजनीतिले त्यो अवसर सिर्जना गरेको छ । चीन, भारत र अमेरिकी चासो दिनहूँ बढ्दो छ र प्रयोग हुन सबै भन्दा सजिलो भनेर ऐतिहासिक रुपमा प्रमाणित दलहरू शासनमा छन । त्यसैले द्विपक्षीय सहायत बढ्न सक्छ तर लगानी बढ्न भने लगानीको मनोविज्ञान सुध्रिनै पर्छ ।
पशुहाट शैलीमा आयोजना गरिए पनि बजारको मनोविज्ञान पशुहाट भन्दा बिलकूल फरक छ । पशुहाटमा जाने पशुपालकले अघिल्लो हप्ता नबिकेका पशुलाई घर फिर्ता ल्याउँछ, सेक-ताप गर्छ, राम्रो खुवाउँछ र चिल्लो बनाएर ग्राहकको मन तान्न हात लिएर जान्छ, तर लगानी सम्मेलनमा भने मालिक आफूलाई पोषिलो खुवाएर, सेक-ताप गरी नयाँ नाना लगाएर आकर्षक बनेर सम्मेलनमा जान्छ । अव बिक्रि गर्ने सेल्सम्यान प्रधान कि बिक्रि गरिने माल-बस्तु प्रधान भन्ने मै दोधारे विचार उत्पन्न गराइदिने गरी ।