संरचनाहरू कस्तो बनाउने ?

प्रशस्त रकम खर्च गरेर गरिने निर्माण कार्यमा किन यो तह सम्म को लापरवाही ? सकिंदैन भने शुरुवात नै नगरौं । बेक्कारमा जनतामारा बाटो किन अपनाउनु?
पृथ्वीमा भुकम्प, आँधीबेहरी, वर्षा, भुस्खलन, बाढी, पहिरो, आगलागी, चट्यांग , हिमपात जस्ता प्रकृयाहरू निरन्तर चलिरहन्छन् । यी त प्राकृतिक नियम भित्रै पर्छन्, यसलाई चाहेर पनि रोक्न सकिंदैन । तर, जब यसले मानिस, पशुपंक्षीको ज्यान लिन्छ, बालीनाली सखाप पार्छ, बाटोघाटो बगाएर लान्छ तब हामीलाई यो अहिले मात्र भएको हो जस्तो लाग्छ । यस्ता प्राकृतीक बिपत्तीहरुलाई पूर्ण रूपमा रोक्न नसकिएतापनि यसबाट हुने क्षतीलाई भने न्युनिकरण गर्न सकिन्छ ।
२०७२ साल वैशाख १२ गते नेपालमा ठूलो भुकम्प गयो । भुकम्प आफैंले कसैलाई पनि मारेन, घाइते बनाएन । उसले त एकछिन जमिन हल्लाइदियो, गयो । तर, मानिस स्वयंले बनाएको संरचनाले उसको ज्यान लियोे, घाइते बनायो । अघिल्लो आइतबार, २०७५ चैत्र १७ गते, साँझमा देशका बिभिन्न स्थानहरू ठूलो हुरी बतास सहित आँधी चल्यो । विशेष गरी तीन मिनेट चलेको भुमरीमा परेर बारा र पर्सामा ठूलो जन, धनको क्षती भयो । उक्त जन, धनको क्षतीपनि मानिसले बनाएकै संरचनाको कारणले भएको थियो ।
२०७१ साल श्रावण १७ गते सिन्धुपाल्चोकको जुरेमा भिषण पहिरोमा परी सयौंले ज्यान गुमाए । हिमपातले वर्षै पिच्छे स्वदेशी मात्र होइन विदेशीले समेत ज्यान गुमाउँछन्, त्यसैगरी आगलागी त राजधानी लगायत देशैभरी बाह्रै महिना भईनै रहेको हुन्छ, जसमा कयौंले ज्यान गुमाई रहेका छन् ।
माथी उल्लेख गरिएका विभिन्न प्रकारका प्राकृतिक विपत्तीहरूमा कमी ल्याउन शतर्कता अपनाउनु एकदमै जरुरी छ । विशेषगरी तराईका घरहरूमा बाँसको टाटीको गारो, फुसको छाना र काठको झ्यालढोका हुन्छ । जसलाई आगोले टिप्न एकदमै सजिलो हुन्छ । त्यसैले आगलागी हुँदा निभाउनपनि नभ्याईकन एकैछिनमा घर खरानी हुन्छ । झापा, चितवन, बर्दिया लगायत ठाऊँहरूमा वर्षेनी जंगली जनावरहरू, विशेषगरी भारत तथा नेपालबाटैपनि बस्तीमा छिर्ने हात्तीले घर भत्काइदिएको र मानिसहरूको ज्यान लिइरहेको समाचारहरु हेर्न, सुन्न र पढ्न पाइरहेका छौं ।
हरेक वर्षको वर्षातमा यस्ता घरहरू तथा गोठहरु भित्र पानी पसेर लत्ता कपडा मात्र होइन वर्षभरी खाने अन्न समेत माटोमा मिलाई दिन्छ, साथै हरेक वर्ष मानिस लगायत, पशुपंक्षीको समेत ठूलो संख्यामा मृत्यु भइरहेको छ । अहिले सरकारले बारा र पर्साका आँधी पिडितहरूलाई घर बनाईदिने कुरा चलिरहेको छ । जुन काम सरकारको जिम्मेवारी भित्रै पर्छ, विशेष केही होइन । तर, अब बनाउने घर नाम मात्रको नहोस् । हतार हतारमा बनाएको टाउको ढाक्ने मात्रै भन्न पाइँदैन । अबको संरचना बलियो, सुरक्षित र बस्न लायकको हुनु पर्दछ ।
बाढिले डुब्न नसक्ने उचाई, प्रकाश छिर्न सक्ने कोठाहरू, हावा वारपार हुन सक्ने जाली सहितको झ्याल र मूल ढोकामा पनि जाली ढोका हुनु पर्दछ । ’cause तराईमा लामखुट्टे लगायत किरा फट््याङग्रा कोठा भित्र छिरेर बिभिन्न प्रकारका रोगहरू निम्त्याउने देखि टोकेर मानिसहरूको मृत्यु समेत भइरहेको छ ।
सुत्ने र खाने कोठा मात्र होइन, स्नानघर, शौचालय र अन्नहरू राख्ने भकारी पनि घर भित्रै हुनु पर्दछ । यसो हुन सकेमा, रातको समयमा घरबाट बाहिर निस्कँदा, साँपले डस्न सक्ने सम्भावना र अन्य जिवजन्तुले आक्रमण गर्ने अवस्था पनि रहँदैन । अझ हाम्रो ग्रामिण वस्तीहरूमा, रातको समयमा महिलाहरू शौच गर्न जाँदा पनि बलात्कृत भइरहेका छन्, यस्तो अवस्थालाई मध्यनझर गर्दै यो सुविधा घर भित्रै हुनु पर्दछ ।
सफा तथ शुद्ध पानीको सुविधा त पहिलो अनिवार्य शर्तनै बनिनु पर्दछ । यत्ती आधारभुत सुविधा सहितको घर निर्माण गरिदिने हो भने विभिन्न प्रकारका प्राकृतिक प्रकोपबाट हुने हानी नोक्सानीलाई पूर्ण रूपले हटाउन नसकेपनि कम गर्न भने अवश्य पनि सकिन्छ ।
जुरे पहिरो पछाडी भुगर्वशास्त्री लगायतका टोलीहरूले उक्त स्थानको ’boutमा पहिलेनै बस्न लायक छैन भनेर अनुसन्धान गरेको कुरा प्रकाशमा ल्याएका थिए । त्रिभुवन विश्व विद्यालयबाट समेत अनुसन्धान भएको रहेछ । तर, त्यतीबेला सरकारले सो बस्ती सार्ने पहलनै गरेन । त्यसपछि पनि र त्यो भन्दा अगाडी पनि स्वदेशी तथा विदेशी भुगर्व शास्त्रीहरूले विभिन्न ठाउँमा त्यस्ता अनुसन्धान गरेकै होलान् । ती फाइलहरूलाई ध्यानपूर्वक अध्ययन गरेर अत्यधीक जोखिमयुक्त धरातलमा उभिएका त्यस्ता घर वा बस्तीहरूलाई, यदी त्यसमा दखल राख्ने विशेषज्ञहरूले, अन्य विकल्पले काम गर्दैन भन्छन् भने, ती घरहरू र त्यहाँ बसोबास गर्ने मानिसहरूलाई स्थानान्तरण गराउनै पर्दछ ।
पहाडी भेगमा मानिसहरूले जानेर हो वा नजानेर हो आफ्नो ज्यान आफैंले धरापमा पार्न प्रतिस्पर्धा गरिरहेका छन् । यसमा बिमती छैन कि विकाशको मेरुदण्ड भनेको सडक यातायात नै हो । तर, बिना प्राविधिक अध्ययन जताततै मोटर जाने बाटो खन्ने क्रम बढ्दो मात्रामा देख्न सकिन्छ । हरिया पहाडहरूमा पहेंला ड्रोजरहरू किराले माटो खोस्रे जसरी डाँडाहरू खनिरहेका छन् । सडक बन्ने भनेको जमिन वा माटोमा हो ।
बिना प्राविधिक जानकारी त्यो माटो वा जमिनले सडक सञ्चालनमा आइसकेपछि गुड्ने सवारी साधनहरूको भारवहन क्षमतालाई थेग्न सक्छ कि सक्दैन, बाटोको कटाई अर्थात घुम्ती, उकालो, ओरालोको अवस्था, पानी बग्ने कुलो, चौंडाई, मानिस र पशु, पंक्षी हिंड्ने पेटी जस्ता सामान्य कुराहरूको ज्ञान बिना आफ्नै मौखिक रेखांकन तथा नक्शांकनले घरै सम्म गाडी गुडाउने लोभले सडकको निर्माण गर्दा त्यो अती कच्ची सडकमा रूपान्तरित हुन पुग्दछ । सडक बनाउँदा रूख, बोट, बिरूवा काट्नु पर्ने हुन सक्छ । जसले गर्दा निरन्तर पैरो जाने अर्को संभावना प्रवल रूपमा हुन्छ । जसको परिणाम सडक दुर्घटना हो । दुर्घटना हुँदा पर्ने आफू र आफ्ना नै हो । त्यसैले यस्ता सडकहरू निर्माण गर्दा बरू ढिलो गरौं तर सम्पूर्ण रूपले प्राविधिक तथा वातावरणिय पक्षहरूको परिक्षण पश्चात र प्राविधिकहरूको अनुमती पछि मात्रशुरु गरौं । सरकारले यस्ता विषयहरूमा कडाई गर्नै पर्दछ।
नेपालमा मुख्य गरी तीन प्रकारको भौगोलिक अवस्था छ, हिमाली, पहाडी र समथर । तर, अहिलेको विकाशको संरचनाहरू हेर्दा जहाँ पनि एउटै प्रकारका निर्माण सामाग्री र उस्तै प्रकारका घरहरू निर्माण भएको देख्न सकिन्छ । हामीलाई रड र सिमेन्टको घर मात्र बलियो हुन्छ भन्ने भ्रम छ । तराईमा बाढी, पहाडमा पहिरो र हिमालमा हिमपातको प्रकोप बढी छ । यी मध्ये भुकम्प, आँधी र आगजनी प्रायः सबै तिर भइरहेको हुन्छ । त्यसैले घरहरू निर्माण गर्दा यस्ता प्राथमिकतामा परेका प्रकोपहरूबाट जोगिने प्रकारको बनाउनुनै आफू र आफ्ना सन्ततीलाई अकाल मृत्यु हुनबाट जोगाउनु हो ।
विश्वका धेरै विकसित मुलुकहरूलाई हेरौं, त्यहाँको संरचना भौगोलिक अवस्था अनुसारको निर्माण भइरहेको देखिन्छ । जापान, अमेरिका, युरोप लगायत मुलुकहरूका सम्म ठाउँ, पहाडी भेग र हिमाली क्षेत्रमा निर्माण भएका घरहरूको डिजाइन र प्रयोग भएका निर्माण सामाग्रीहरू हेर्ने हो भने त्यसमा विविधता पाइन्छ ।
हाम्रै देशमा पनि सम्बन्धीत क्षेत्रका बिज्ञ वा इन्जीनियरको कमी छैन तर उनीहरूको सल्लाह बमोजिम काम हुँदैन वा सल्लाहनै सुनिंदैन वा गलत सल्लाह दिन्छन् ? उदाहरणको लागि, राजधानीको कालिमाटी पुल, जो निर्माण सम्पन्न भएर उद्घाटनको पर्खाइमा थियो तर भत्काउन पो टेण्डर खुल्न तयार भएर बसेको रहेछ । यो त सयौं गल्तीहरूको एउटा प्रतिनिधी रूप मात्रै हो । देशका अन्य भुभागमा यस्ता कच्चा काम र कमजोर धरातल त कती बने र बनिरहेका छन् ।
प्रशस्त रकम खर्च गरेर गरिने निर्माण कार्यमा किन यो तह सम्म को लापरवाही ? यदि यस्ता प्रकारका संरचनाहरूलाई ध्यान दिएर बनायौं भने आफू मात्र होइन भावी पिंढीलाई पनि जोगाउन सक्षम हुनेछौं । त्यसैले अब बन्ने प्रत्येक संरचनाहरू बलियो, टिकाउ, भरपर्दो र विश्वासिलो होस् त्यसको शुरुवात आँधीपिडितको लागि बन्ने घर बाट नै गरौं । यदि सकिंदैन भने शुरुवात नै नगरौं । बेक्कारमा किन नयाँ जनतामारा बाटो अपनाउनु ?
यसको लागि सर्व प्रथम सबैको अभिभावक सरकारनै जिम्मेवार हुनुपर्दछ । सरकार भनेको मन्त्री वा प्रधानमन्त्री मात्र होइन, वडा सदस्य देखि प्रधानमन्त्री सम्म र सरकारी निकायमा बसेर सरकारी ढुकुटीबाट सेवा, सुविधा, तलब, भत्ता लिनेहरू सबै हुन् । यदि ती ब्यक्तिहरू सजग हुने हो भने, वर्षै भरी देशका बिभिन्न ठाउँहरुमा हुने मानव निर्मित मात्र होइन प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई समेत न्युनिकरण गर्दै लैजान सकिन्छ ।