क्रिकेटमा राजनीतिक छाया

कुनै बेला पाकिस्तानका पूर्व तानाशाह परवेज मुसर्रफले भनेका थिए– युद्ध होस् वा खेल मैदान होस्, भारत–पाकिस्तानबीच डटेर मुकाबिला हुने गर्छ। खेल मैदान बाहिर पनि भारतीय पाकिस्तानी खेलाडीहरूमाझ घोचपेच भइरहेको देखिन्छ।


कृष्ण पहाडी

सन् २०१९ को फेब्रुवरी १४ मा कास्मिरको पुलवामामा भएको आत्मघाती आक्रमणमा भारतीय सुरक्षा निकाय सीआरपीएफका ४४ भन्दा बढीको मृत्यु भएपछि भारत–पाकिस्तानबीच तनाव ह्वात्तै बढेको छ। उक्त आत्मघाती आक्रमणको जिम्मा ‘जैस ए महम्मद’ भन्ने आतंकवादी संगठनले लिएको छ, जसको स्थापनामा पाकिस्तानी जासुसी संस्था आईएसआईको भूमिका रहेको भनिन्छ। जैसका संस्थापक तिनै मसुद अजहर हुन्, जसलाई काठमाडौंबाट दिल्लीका लागि २०५६ पुस ९ गते उडेको इन्डियन एयरलाइन्सको जहाज अपहरणपश्चात् सौदाबाजीमा भारत सरकारले रिहा गरेको थियो। जैसको मुख्यालय पाकिस्तानमा छ। आतंकवादी कृत्य सदा सर्वदा निन्दनीय छ तसर्थ पाकिस्तानले जैस र मसुद अजहरमाथि कारबाही तीव्र पार्दै पाकिस्तानमा आतंकवादीहरूलाई कुनै ठाउँ छैन भन्ने सन्देश प्रवाहित गर्नु आवश्यक छ। सन् २०१६ मा भारतको उरीमा भएको आतंकवादी आक्रमणपछि दक्षिण एसियाली सहयोग संगठन ‘सार्क’ आईसीयूमा धकेलियो। पुलवामा आक्रमणपछि सार्क लगभग कोमामा पुगेको छ। सार्क आफैं कोमामा पुग्नु विडम्बना र दक्षिण एसियाली कूटनीतिको असफलता पनि हो।

सन् २००९ मा क्रिकेट खेल्न पाकिस्तान आएको श्रीलंका टोलीमाथि लाहोरमा आतंकवादी आक्रमण भएपछि पाकिस्तानमा एकाध अपवाद छोडेर क्रिकेटको अन्तर्राष्ट्रिय खेल भएको छैन। अहिले पुलवामा आक्रमणपछि भारतीय सत्ताले पाकिस्तानसँगको खेल त्यसमा पनि क्रिकेट बहिष्कार गर्ने रणनीति तीव्र पार्न खोजेको देखिन्छ। सरकारले ठाडै त्यस्तै निर्णय नगरे पनि विभिन्न कोणबाट त्यही आशयको वक्तव्यबाजी भइरहेको छ। भारतीय क्रिकेट टोलीका पूर्वकप्तान सौरव गांगुली र अफ स्पिनर हरभजन सिंह यस्तै पंक्तिमा उभिँदै आगामी मे–जुलाई महिनामा इङल्यान्डमा हुने एकदिवसीय क्रिकेटको बाह्रौं विश्वकपमा भारतले पाकिस्तानसँग हुने लिग चरणको खेल बहिष्कार गर्नुपर्ने वक्तव्यबाजी गर्न पुगे। खेल भावनाले भाइचारा बढाउँछ, दुर्भावनाले शत्रुता बढाउँछ। राजनीति दिग्भ्रमित हुँदा कहिलेकहीं समाजलाई तोड्छ जबकि खेलले समुदायलाई जोड्छ। गांगुलीजस्ता विख्यात खेलाडीहरूको बहिष्कारको कुख्यात विचारलाई क्रिकेटप्रेमीहरूका साथै महान् खेलाडीले पनि खारेज गरेका छन्।

विश्व क्रिकेटका महान् हस्ती सचिन तेन्दुलकार र सुनिल गावस्कर बहिष्कारको विपक्षमा उभिएका छन्। तथापि देश (सरकार) ले गर्ने निर्णयलाई सम्मान गर्ने बताउन बिर्सेका छैनन्। कारण सत्यतथ्य बोल्दा पाकिस्तानविरोधी राष्ट्रवादको लहरमा उग्र र अराजक भीड कतै खनिने होइन भन्ने त्रास जो छ। क्रिकेटको ११ वटा विश्वकप संस्करणमा भारतले सन् १९८३ र २०११ मा दुईपटक र पाकिस्तानले सन् १९९२ मा एकपटक विश्वकप जितेको छ तर आजसम्म विश्वकपमा भएका भारत पाकिस्तान प्रत्यक्ष भिडन्तमा एकपटक पनि पाकिस्तानले भारतलाई हराउन सकेको छैन। सन् १९९२ को लिग चरणमा पनि पाकिस्तान भारतसँग पराजित भएको थियो तर भारतभन्दा बढी खेल जितेर पाकिस्तानले सेमिफाइनल हुँदै फाइनल पनि जित्यो, जसको कप्तान पाकिस्तानका वर्तमान प्रधानमन्त्री इमराख खान थिए।

 

आगामी विश्वकपमा १६ जुनका दिन भारत–पाकिस्तानबीचको लिग म्याचमा इतिहास दोहोरिने हो वा क्रमभंग हुने हो केही महिना पर्खनैपर्छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्डले उक्त खेल बहिष्कार विवादमा सरकारको निर्णय पर्खिने बताएको छ। त्यो बेला भारतमा सत्रौं लोकसभाको निर्वाचन सम्पन्न भइसकेको हुनेछ। आशा गरौं– नयाँ सरकार गठनसँगै बहिष्कारको कूटनीति धराशयी भएर जानेछ। कथंकदाचित भारतले पाकिस्तानसँगको सो खेल बहिष्कार गर्‍यो भने तीनवटा घातक परिणाम देखिनेछ। पहिलो– पाकिस्तानले फोकटमा अर्थात् खेल्दैनखेली दुई अंक पाउनेछ र त्यसैका आधारमा दोस्रो चरण हुँदै अघि बढ्यो र भारत सोही कारण बाहिरियो भने बहिष्कारको निर्णय गर्ने पात्रहरूलाई भारतीय क्रिकेटप्रेमीहरूले कहिल्यै क्षमा गर्ने छैनन्। दोस्रो समकालीन विश्व क्रिकेटमा भारत अब्बल टिम हो। तर पाकिस्तानसँगको खेल बहिष्कार गरेमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल अर्थात् आईसीसीले भारतीय टिममाथि प्रतिबन्ध लगाउन सक्नेछ। त्यसो भएमा बहिष्कारको निर्णय भारतीय क्रिकेटका लागि कलंक हुनेछ र बहिष्कारको निर्णय गर्नेहरू कलंकित हुनेछन्। तसर्थ भारतीय सत्ताले चाहँदैमा बहिष्कारको निर्णय गर्न सक्ने अवस्था छैन। तेस्रो कथंकदाचित बहिष्कार हुन गएमा त्यो विश्वभरिकै क्रिकेटप्रेमीहरूको अपमान हुनेछ र भारत स्वयं खेलजगत्मा अभियुक्त बन्न सक्नेछ।

 

भारतले उक्त खेल अझ मैत्रीपूर्ण तवरमा खेल भावनाको उच्चतम प्रस्तुतिसहित खेल्नु आवश्यक छ। इतिहास दोहोर्‍याउँदै भारतले जितेमा उक्त जित आतंकवादविरुद्ध समर्पण गर्दै मृतकप्रति भावुक श्रद्धाञ्जलीका रूपमा पस्किन सके आतंकवाद अझ तिरस्कृत हुनेछ, सो खेलमा भारत हार्‍यो भने पनि सद्भाव पुरस्कृत हुनेछ।

 

कुनै बेला पाकिस्तानका पूर्व तानाशाह परवेज मुसर्रफले भनेका थिए– युद्ध होस् वा खेल मैदान होस्, भारत–पाकिस्तानबीच डटेर मुकाबिला हुने गर्छ। खेल मैदान बाहिर पनि भारतीय पाकिस्तानी खेलाडीहरूमाझ घोचपेच भइरहेको देखिन्छ। पाकिस्तानी क्रिकेटर सोएव अख्तरलाई विश्वकै सर्वाधिक तेजबलर मानिन्छ। रावलपिन्डी एक्सप्रेस उपनामले समेत चिनिने अख्तरले आफ्नो आत्मकथा ‘कन्ट्रोभर्सिएल योरस’ मा विश्वका महानतम् ब्याट्सम्यान सचिन तेन्दुलकरले (जसका नाममा आज पनि एकदिवसीय र टेस्ट क्रिकेट दुवैमा सर्वाधिक रन र सर्वाधिक शतकको कीर्तिमान कायम छ) कुनै बेला अख्तरको बलिङमा गोडा कमाएको भन्ने टिप्पणीलाई क्रिकेट पण्डितहरूले ढाइ (साढे दुई) रुपैयाँको पुस्तक ढाइ सय (साढे दुई सय) मा बेच्ने उपक्रम भन्दै अख्तरलाई नै फटाहाको संज्ञा दिए।

 

क्रिकेट इङल्यान्डको राष्ट्रिय खेल हो। ब्रिटिस उपनिवेशसँगै भारतमा क्रिकेट भित्रियो, जुन अहिले ‘धर्म’ जस्तो भइसकेको छ। त्यसैले होला क्रिकेटका भारतीय नायकलाई भारतीयहरू ‘देवता’ जस्तो पूजा गर्छन्, तर भारतले हारेमा ‘राक्षस’ जस्तो घृणा गर्न पनि बेर लाउँदैनन्। अझ राजनीति घुसेपछि उन्मादी भीडले कहिले आफ्ना नायकलाई खलनायक ठान्छ। सिने जगत्को कुरा गर्दा हिन्दी चलचित्रका महानायक अमिताभ बच्चनलाई ‘देउता’ जस्तो मान्नेहरूको कमी थिएन÷छैन। तर राजनीतिको सियोमा क्षेत्रीयताको धागो घुसाएपछि तिनै अमिताभलाई ‘उत्तर भारतीयका प्रवक्ता’ र भैया’ भनेर होच्याउने राजनीतिज्ञ पनि देखिए। ‘स्वर साम्राज्ञी’ को संज्ञा पाएकी सरस्वतीपुत्री लता मंगेस्करले सन् २०१३ मा नरेन्द्र मोदीलाई प्रधानमन्त्रीका रूपमा देख्न चाहेको भनाइकै कारण कांग्रेस आईका केही नेताले लताले पाएको ‘भारत रत्न’ सम्मान फिर्ता लिनुपर्छ भनेर ओठे टिप्पणी नगरेका पनि होइनन्।

 

भारत–पाकिस्तान दुवैले राजनीतिमा होस् वा कूटनीतिमा, खेलमा होस् वा चलचित्रमा, बहिष्कारको रणनीति त्याग्नुपर्छ। भारत–पाकिस्तानबीच तीक्तता बढ्नु दक्षिण एसियामा दुर्भाग्यलाई बढावा दिनु हो।

 

सन् २००७ मा वेस्ट इन्डिजमा नवौं विश्वकप क्रिकेट भइरहँदा एउटा मानव अधिकार सम्मेलनमा भाग लिने सिलसिलामा म पाकिस्तानको लाहोरमा थिएँ। भारतका पूर्वप्रधानमन्त्री आईके गुजराल सहअध्यक्ष रहेको सो संस्थाको संस्थापक सदस्यका रूपमा डा. देवेन्द्रराज पाण्डे, मसहित २२ जना नेपाली थियौं। गुजराल आफैंले नेतृत्व गरेको सो संस्थाले आयोजना र निमन्त्रणा गरेको पाकिस्तानमा सम्पन्न सम्मेलनमा गुजराल भने आएनन्। भारतका नेता÷अभिनेता वा जोसुकै हुन्, अन्तर्राष्ट्रिय सम्बन्धमा आफ्नो विवेकभन्दा भारतीय सत्ताको प्रभाव र दबाबमा चल्छन् भन्ने अनेकौं उदाहरण छन्। त्यसबेला भारत र पाकिस्तान दुवै बंगलादेश र आयरल्यान्डजस्ता कमजोर प्रतिद्वन्द्वीहरूसँग पराजित भएर अपमानजनक तवरले पहिलो चरणबाटै बाहिरिनुपरेको थियो। लाहोरको गल्लीमा एउटा पसलमा पाकिस्तान हारेका कारण एकजना पसले मेरो अगाडि झन्डै रोएका थिए। फर्कंदा नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका केही कर्मचारीमा भारत पराजयको पीडा स्पष्ट झल्किन्थ्यो। विषाद यता पनि थियो उता पनि। खेलमा जित र हार हुन्छ, तर खेल भावना कहिले हार्नु हुर्दैन।

 

मुख्य भूमि चीनमा आज पनि क्रिकेटको कुनै रौनक छैन तर क्रिकेटलाई धर्मजस्तो ठान्ने भारतमा हुने क्रिकेट प्रतियोगिताको प्रायोजन चिनियाँ कम्पनीहरूले गर्न थालेका छन्। क्रिकेट मेला इन्डियन प्रिमियर लिग (आईपीएल) को सन् २०१८ देखि २२ सम्म मुख्य प्रायोजकका रूपमा भिभो टेक्नोलोजी कम्पनीले २१ अर्ब ९९ करोड खर्चेको छ भने अर्को पाँच वर्षका लागि भारतीय क्रिकेट टिमको प्रायोजकका रूपमा ओप्पोले १० अर्ब ७९ करोड खर्चेको छ। यी दुवै चाइनिज कम्पनी हुन्, जसको माउ बीबीके इलेक्ट्रोनिक्स कर्पोरेसन चाइनिज बहुराष्ट्रिय कम्पनी हो। सन् २०१७ मा डोक्लाममा चिनियाँ र भारतीय सेना आमनेसामने भए पनि भारतीय क्रिकेटमा चिनियाँ कम्पनीहरूको प्रायोजन न बहिष्कार भयो न स्थगन।

 

क्रिकेटमा नेपालले हासिल गरेको केही उपलब्धि उल्लेख्य छ। अक्टोबर २०१८ मा सम्पन्न २० ओभरको २०/२० क्रिकेट खेलमा नेपालले भीमकाय चीनलाई २६ रनमा आउट गर्दै ११ बलमै सो लक्ष्य पूरा गरी अभूतपूर्व जित हासिल गरेको थियो। यसैगरी भर्खरै नेपाली महिला क्रिकेट टोलीले चिनियाँ टोलीलाई पाँच रनले हराएको छ।

 

खेल र राजनीति दुई फरक धार हुन्। राजनीतिमा यदाकदा बहिष्कारको नारा चल्छ तर खेलमा सबैलाई स्वीकार गरिन्छ। राजनीति विषाक्त हुन्छ, खेल संग्लो हुन्छ, खेलको संग्लो पानीलाई राजनीतिले धमिल्याउनु हुँदैन। परिणामलाई अत्यधिक प्रतिष्ठाको विषय बनाउँदा राजनीति होस् वा खेल दुवै विषाक्त हुन्छ। उग्र धारामा वान्ता गर्ने राजनीतिज्ञहरूले बुझ्नुपर्छ खेलाडीलाई खेल नखेल भन्नु राजनीतिज्ञलाई राजनीति नगर भनेजस्तै हो। खेल बहिष्कार गर भन्नु निर्वाचन बहिष्कार गर भन्नुजस्तै हो। भारतमा होस् वा पाकिस्तानमा, दुई देशबीचको क्रिकेट खेल बहिष्कारको निर्णय गर्नेहरूलाई दुवै देशका साढे एक अर्ब नागरिकले बहिष्कार गर्न सक्छन् भन्ने हेक्का राख्न सके बेस।

 

भारत–पाकिस्तान दुवैले राजनीतिमा होस् वा कूटनीतिमा, खेलमा होस् वा चलचित्रमा, बहिष्कारको रणनीति त्याग्नुपर्छ। भारत–पाकिस्तानबीच तीक्तता बढ्नु दक्षिण एसियामा दुर्भाग्यलाई बढावा दिनु हो। यो पंक्ति लेखिँदै गर्दा भारतीय वायु सेनाले लाइन अफ कन्ट्रोल पार गरी बमबारी गरेको समाचार छ। बमबारीमा तीनचार सय आतंकवादी मारिएको दाबा भारतको छ, जसलाई पाकिस्तानले खारेज गरेको छ। लोकसभा निर्वाचनको सँघारमा पाकिस्तानलाई तह लगाएको देखाउने धुनमा मोदी सरकारले युद्धको भूमिका नखेलोस्। कुनै बेला क्रिकेटका विख्यात अल आउन्डर इमरान खान नेतृत्वको पाकिस्तानी सरकारले भारतसँग बदला भावले आतंकवादको लौरो नटेकोस्।

-कृष्ण पहाडीको पच्चीस आलेख बाट साभार