बन्न लागेको फिल्म सिटीको आकर्षण
दोलखा
नेपाल सरकारले प्राथमिकतामा राखेको नेपालकै पहिलो र एकमात्र प्रस्तावित फिल्म सिटी निर्माणको क्षेत्र घुमफिरको पनि प्राथमिकतामा परेको छ । दोलखा जिल्ला र जिल्ला बाहिरबाट आउने पर्यटकहरुका लागि पनि मुख्यगरी विदा मनाउनका लागि फिल्म सिटी निर्माण क्षेत्र ‘डाङडुङे डाँडा’ रोजाइको क्षेत्र हुन थालेको छ ।
यहाँबाट जुगल हिमाल श्रृङ्खला र रोल्वालिङ हिमश्रृङ्खलाको एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ । बैशाख र जेठ महिनामा विभिन्न जात र रङका गुराँसहरुले यहाँ आउने पर्यटकहरुलाई स्वागत गरिरहेको हुुन्छ । यहाँ विभिन्न जीवजन्तुहरुको नजिकैबाट अवलोकन गर्न सकिने भएकोले आन्तरिक पर्यटकहरुको रोजाइको ठाउँ बनेको हो ।
यो मौसम डाङडुङे क्षेत्रमा गुराँस फुल्ने समय पनि हो । यो क्षेत्रमा ६ प्रजातिका गुराँस फुल्छन् भने र ५० प्रजातिका जीवजन्तुहरु पाइने एक प्रतिवेदनले बताएको छ । राजधानी काठामाडौँबाट करिब ११७ किमीमा पर्ने खरिढुङ्गाबाट डाङडुङे डाँडा जानको लागि साँढे ६ किलोमिटर उत्तरतिरको उकालो चढ्नुपर्छ । खरिढुङ्गाबाट डाङडुङे डाँडासम्म नै गाडी पुग्ने बाटो निर्माण भैसकेको छ । समयले साथ दियो भने बाटो ’round खरायो, रतुवा मृग, झारल, घोरल, बँदेल लगायतको अवलोकन गर्न सकिन्छ । त्यसैगरी यो मौसममा जानेहरुले विभिन्न रङ र प्रजातिका गुराँसहरुको अवलोकन गर्न सक्छन् । डाङडुङे डाँडाको अधिकांश क्षेत्र गुराँसको जंगलले ढाकेको छ।
त्यसो त, २८ सय मिटरदेखि ३४ सय मिटरसम्म पर्ने डाङडुङे डाँडाको यो क्षेत्रमा पुसदेखि चैत महिनासम्म हिउँको मजा लिन सकिन्छ । माथिल्लो क्षेत्रमा समथर मैदान भएकोले असारदेखि असोजसम्म घाँसे हरियालीसँग रमाउन सकिन्छ । फिल्म सिटी निर्माणस्थलको रुपमा यो ठाउँको चर्चा भएपछि मुलुकका विभिन्न ठाउँहरुबाट डाङडुङे डाँडा क्षेत्रमा जाने पर्यटकहरुको संख्या बढ्दै गएको खरिढुङ्गाका समाजसेवी जितबहादुर श्रेष्ठ बताउँछन् ।
के छ फिल्म सिटीको अवस्था
सरकारले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सोकेसमा राखिनुले दोलखा फिल्म सिटी सरकारको प्राथमिकतामा परेको पुष्टि हुन्छ । तर लगानी सम्मेलनमा प्रवेश पाए पनि लगानीकर्ताहरुको मन भने फिल्म सिटीले जित्न सकेन ।
सरकारले फिल्म सिटी निर्माणको लागि २ अर्व ७५ करोड रुपैयाँ लागत प्रस्ताव गरेको छ । त्यसको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) तयार भैसकेको छ । यस क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरू सम्मिलित टोलीले यो डीपीआर तयार गरेको हो । डीपीआर बनाउँदा, वातावरणीय पक्ष, सामाजिक तथा सांस्कृतिक, भौगोलिक अवस्थिति लगायतको क्षेत्रमा सुक्ष्म ढङ्गले अध्ययन र विश्लेषण गरेको छ । यसका आधारमा फिल्म सिटी निर्माणका लागि सबैभन्दा उत्कृष्ट स्थल रहेको ठहर गरेको छ । अब लगानी जुटाएर काम सुरु गर्न ठिक्क भएको फिल्म सिटी निर्माणका अभियन्ता वरिष्ठ कलाकार मदनदास श्रेष्ठले बताउँछन् ।
सो क्षेत्रमा जानको लागि सरकारले सडक पु¥याइसकेको छ भने अहिले सडक चौडा गरी पिच गर्ने तयारी गरिरहेको छ । खानेपानीको व्यवस्था गरिसकेको छ । विजुलीको लाइन तान्ने काम भैरहेको छ ।
डाङडुङे डाँडास्थित फिल्म सिटी निर्माण क्षेत्रको अवलोकन २०७० सालपछिका सबैजसो सञ्चारमन्त्री तथा त्यस बेलादेखिका सबैजसो चलचित्र विकास बोर्ड अध्यक्षहरुले गरिसकेका छन् । ती सबै डाङडुङे डाँडामा फिल्म सिटी निर्माण गर्ने कुरामा सकारात्मक थिए । तर वर्तमान प्रधानमन्त्री केपी शर्माले ‘दुई घण्टा पनि घाम नलाग्ने ठाउँ’, ‘हिरोइन हाम्फाल्ने पोखरी नभएको’ जस्ता प्रतिक्रिया दिएका थिए । त्यही प्रतिक्रियाकै कारण पनि हिजोआज त्यहाँ पुग्नेहरुको संख्या बढ्दै गएको स्थानीय बताउँछन् ।
डाङडुङे डाँडा क्षेत्रको करिब १५ सय रोपनी जग्गा समेत फिल्म सिटीको नाममा हस्तान्तरण भैसकेको छ । हाल भीमेश्वर नगरपालिका ९ र साविक लाकुरीडाँडा गाविस ८ र ९ मा पर्ने फिल्म सिटीका सम्पूर्ण संरचना निर्माणका लागि ७६.२५ हेक्टर जमिन आवश्यक पर्ने डीपीआरमा उल्लेख छ । फिल्म सिटीका सम्पूर्ण संरचना निर्माणका लागि सेतीदेवीदादर सामुदायिक बनको ६४ हेक्टर र सिन्धुपाल्चोकको पिस्कर–६ को १२ हेक्टर जमिनलाई उपयोग गर्ने उल्लेख छ । इन्डोर र आउटडोर सुटिङका लागि यति धेरै जग्गा आवश्यक परे पनि मुख्य संरचना ९.६१ हेक्टरमा मात्र निर्माण हुने डीपीआरमा उल्लेख छ ।
शव्द/तस्विरः शम्भु गौतम