कचिया निल्ने अफ्रिकीबाट सिक्नु पर्ने पाठ

 

केन्या, युगाण्डादेखि नाइजेरिया हुँदै जाम्बियासम्म  नयाँ मालिकका प्रिय पात्र बने, चिनी हालेको  ऋण र अनुदानको घोल पिउनेमा। दश-पन्ध्र वर्ष पहिले कचियारूपी चिनियाँ लगानी भित्र्याएर बहादुरी देखाउनेहरूको अहिले दिसा गर्ने सिजन चलेको छ, अफ्रिकाभर ।

 

 

 

भू-राजनीतिको सवै भन्दा सजिलो परिभाषा होः कुनै स्थान विशेषको यथार्थता सिर्जित मानसिकता  अर्थात कुनै भू-भाग कुनै विशेष स्थानमा भएकैले हाम्रो मानसपटलमा परेको विशेष प्रभाव । त्यही प्रभावको प्रतिकृया हो राजनीति ।

भू-राजनीतिको प्राङ्गारिक सिद्धान्त (अर्ग्यानिक थ्योरी)ले भन्छः  आफू बाँच्नका लागि कुनै पनि मुलुकले कुनै जीवांशको जस्तै व्यवहार गर्छ, उसलाई राजनीतिक शक्ति आर्जन गर्न पोषणतत्त्व वा भूभाग चाहिन्छ । यसको अर्थ कुनै मुलुक फैलनु र खुम्चिनु भनेको त्यसै पनि छिमेकी सङ्ग सम्बन्धित विषय हो। छिमेकी कमजोर भए फैलन सजिलो हुन्छ, कडा भए गाह्रो।

जतिबेलासम्म अहिले भारतमा गाभिएका धेरै क्षेत्र कमजोर थिए र तिब्बतमा बलियो चिनियाँ उपस्थिति थिएन, नेपाल फैलन्थ्यो । जव तीन दिशामा बलियो बृटिश साम्राज्य र उत्तरमा चीन उपस्थित भए नेपाल फैलन छोड्यो, वरू खुम्चिन पुग्यो । नेपालको अहिले पढिएको  इतिहास भन्नु नै फैलिन खोज्दा आएका चुनौती र खुम्च्याइन खोज्दा परेको मानसिक आघातबाट उत्पन्न छटपटिको इतिहास हो ।त्यही छटपटिका कारण हामी कहिले उत्तर कहिले दक्षिण दौडेका छौँ,  जति असंलग्नता र निष्पक्षताका गफ गरे पनि ।

ब्रिटिश इष्ट इण्डिया कम्पनीसङ्ग हार्दै गए पछि चीनको शरणमा पुगेको र चिनियाँहरू आक्रामक भएर आउँदा ब्रिटिशसङ्ग गुहार माग्न पुगेको हाम्रो यथार्थ हो, इतिहास जतिसुकै वीर रसमा लेखिए पनि ।  यता-उता गर्ने रुप फेरिएका होलान, मात्रा फेरिएका होलान  तर हाम्रो बानी फेरिएको छैन।  रुप र मात्रा फेरिनुका पछाडी विश्व व्यवस्थामा आएका फेरवदल, विश्वव्यापीकरण र क्षेत्रीयताका अवधारणामा आएका उतार चढाव आदिको ठूलो प्रभाव छ।

अहिलेको नेपाली यथार्थ भनेको भूगोल र राजनीति बीचको प्रष्ट असङ्गति वा असन्तुलन नै हो। नेपालको भू-भाग नै दक्षिण ढल्केको छ र सबैखाले सम्बन्ध दक्षिण तिरै छन, राजनैतिक सम्बन्ध उत्तर तिर बढ्दैछ । दक्षिणको मित्र आफूलाई दादा मात्रै ठान्दैन दादागिरी समेत देखाउँछ । संबिधान निर्माणसङ्ग जोडिएर आएको उसको दादागिरी जव नाकाबन्दी सम्म पुग्यो, यसले नेपाली मनोविज्ञानलाई धकेलेर उत्तर पुऱ्याईदियो । त्यो यथार्थ हो। अव जति प्रयास गरेपनि त्यो तानेर पहिलेकै ठाउँमा ल्याउन सकिन्न, अझ दक्षिण धकेल्ने त कुरै छोडौँ ।

त्यसैले नेपाल चीनसङ्ग बढि लहस्सिंदैछ, प्रेम बन्धनमा बाँधिएका अन्तरजातीय जोडी जस्तो । चीनसङ्ग नलहस्सियोस भन्ने भारत र पश्चिमाहरूसामु कि यो प्रेम जोडीलाई स्वीकार गरेर घर भित्र ल्याएरै विस्तारै छुटाउने  कि प्रतिकृया स्वरूप घर निकाला गर्ने दुई बिकल्प मात्रै छन ।

नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गरेर आफ्नो अस्थित्व रक्षा गरेँ भन्छ, केही हद सम्म त्यो सत्य पनि होला तर उसले त्यसको ठूलो मूल्य पनि तिरेको छ । कुनै पनि ब्लकमा संलग्न भएको भए अहिले सत्ताधारीले वकालत गरेको बलियो शासक उहिल्यै जन्मि सक्थ्यो, या त सैनिक पृष्ठभूमिको या साम्यवादी । बलियो शासकले मात्रै विकास गर्छ भन्ने जबर्दस्त रूपमा लाद्न खोजिएको अवधारणा उहिल्यै साकार समेत भैसक्थ्यो ।  यति लामो राजनैतिक सङ्क्रमण हुन्नथ्यो ।

 

 

“न यताको न उताको” नीतिलाई कहिले काहिँ “उताको पनि यताको पनि” भनेर अर्थ्याइएको छ । राजा महेन्द्रको शासनकालमा त्यो नीतिले केही अल्पकालका लागि  विकास पूर्वाधार तयार गर्न मद्दत पनि गरेको देखिन्छ । तर असंलग्न नीति आफैँमा सोभियत डिजाइन भएको हुँदा कालान्तरमा ठूलो फाइदा उठाउनबाट नेपाल चुकेको देखिन्छ । अहिले भारत, पश्चिमा र चिनियाँ नीति कहाँ मिल्छन, कहाँ बाझ्छन, उनीहरूका पोजिशन, इन्ट्रेस्ट र बटमलाइन के-के हुन भन्नेमा भरपर्दो विश्लेषण समेत नगरी हामी प्रो-चाइनिज, प्रो-इण्डियन र प्रो-वेस्टर्न भएका छौँ । हाम्रो बुझाईमा एकरुपता छैन ।

अन्तरराष्ट्रिय राजनीतिको मैदान अराजक (अनार्किस्ट) हुन्छ, र शक्ति यसको प्रमुख निर्धारक तत्त्व । नियम, कानून सम्झौता आदिको प्रयोग समेत शक्ति प्रयोगको क्षमतामै निर्भर हुन्छ । त्यसैले साना खेलाडीले मैदानमा पसेर खेल्दा होसियार पूर्वक खेल्नु पर्छ र सकेसम्म आफूलाई दिर्घकालीन क्षति हुनबाट जोगाउनु पर्छ ।

अन्तरराष्ट्रिय सम्बन्ध दया-मायाले होइन राष्ट्रिय स्वार्थ्यले चल्छ। अहिले चीनले नेपाल प्रति धेरै सदाशयता देखाएको छ । राष्ट्रपतिको भ्रमणका क्रममा भएको प्रोटोकल, पाटो र बाटोको पहल (बेल्ट एण्ड रोड इनिसियटिभ)को सम्मेलनमा पारित प्रस्ताव र नेपालमा लगानी गर्न देखाएको उत्सुकता हेर्दा नेपालले आपत- विपत पर्दा बैकल्पिक छिमेकी पाउने आशा जागेको छ।  हो तानातानमा परेन भने यस्तो बैकल्पिक छिमेकीको साथ विकास गर्ने अवसर समेत हो ।

तर न ह्वात्त कसै सङ्ग नजीक हुन सक्ने न कसैसङ्ग शत्रुता मोल्न सक्ने नेपालको यथार्थतालाई वेवास्ता गर्दै बेरोकटोक चिनियाँ प्रभाव बढ्यो भने त्यसले दुर्घटना निम्त्याउन सक्छ भनेर दिमागको कुनामा राख्नै पर्ने र त्यही अनुरूपको सतर्कता शुरु देखि नै अपनाउनु पर्ने हुन्छ ।

अहिलेको हाम्रो सरकार आवधिक सरकार हो र यसको जग भनेको भारतीय नाकाबन्दि सिर्जित भारत बिरोधी जनाक्रोश हो । विकासको गति अघि बढाउन जुनसुकै सर्तमा भएपनि चिनियाँ सहायता लिने कामले यो सरकारका उत्तराधिकारी सरकारलाई असर पार्ने, ति सर्तले भोली सरकारको सार्वभौम अधिकार खुम्चिने र सरकार आफैँले गरेका सर्तनामाबाट बाँधिने अवस्था रोक्न चनाखो हुनु अति आवस्यक छ ।  यस्तो चनाखोपन देखाउन नसकेका कतिपय अफ्रिकी देश र श्रीलङ्काको समेत समाचार आइसकेका छन ति कसरी चिनियाँ सङ्ग गरेका सम्झौताले अहिले चेपुवामा परेका छन भन्ने ।

म जन्मिएको माझ किराँतमा एउटा नीति कथा सुनिन्थ्यो । एउटा बच्चाले कचिया (हँसिया जस्तो तर भित्र पट्टि आराको जस्तो दाँती भएको घाँस काट्ने हतियार) निलेछ । उसले आफ्नो बहादुरी उसकी हजूरआमालाई सुनाएछः बोजू मैले हँसिया निलेँ । बोजूले भनिछनः दिसा गर्दा थाहा पाउँछस् ।

यो कथा अफ्रिका तिर अहिले अति सान्दर्भिक भएको छ तर त्यसको अङ्ग्रेजी र फ्रेन्च उल्था नभएकोले उता प्रचार कम होला। पश्चिमा उपनिवेश भएर सताब्दियौँको चरम शोषण र दासतामा गुज्रिएका अफ्रिकी देशका जनताले १९५०को दशकमा स्वतन्त्रताको शास त फेरे तर कमनवेल्थ होस वा अरू कुनै पनि बहानामा पश्मिमाहरूको दासप्रथा कायमै रह्यो अर्को झण्डै पाँच दशकसम्म। जव नयाँ आर्थिक शक्तिको रुपमा चिनियाँ उदय भयो, पश्चिमा भन्दा दिलदार नयाँ मालिक फेला पर्यो ति अफ्रिकीहरूलाई ।

केन्या, युगाण्डा देखि नाइजेरिया हुँदै जाम्बिया सम्म  नयाँ मालिकका प्रिय पात्र बने, चिनी हालेको  ऋण र अनुदानको घोल पिउनेमा।  दश-पन्ध्र वर्ष पहिले कचियारूपी चिनियाँ लगानी भित्र्याएर बहादुरी देखाउनेहरूको अहिले दिसा गर्ने सिजन चलेको छ, अफ्रिका भर ।

नेपालले पनि कचिया निल्नु अघि भोली दिसा गर्नु पर्ने वाध्यात्मक अवस्थालाई ख्याल गर्नु पर्छ ।