आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको जरो

हामीले अत्यन्त आदर गरेका मनमोहन अधिकारी र कृष्ण प्रसाद भट्टराई समेत रुँदै निस्किएका छन, गिरिजा प्रसाद र सुशिलले पदका लागि ऱ्याल चुहाएको आरोप खेपेका छन, प्रचण्डले धेकेल्दा तपाइँले आँशु कसरी रोक्नु भयो र देउबाले धकेल्दा प्रचण्डले कसरी आँशु दबाए सबै हामीले देखेका छौँ ।
जनताले गाँस कटाएर तिरेको करले टोल-टोलमा ढ्वाङ्ग थापेर चुनाव गरेर ल्याइएका प्रतिनिधि मेशिन होइन नि अपरेटरको स्वीचको भरमा चल्ने । पार्टीले जे भन्छ त्यही मत राख्ने, हुन्छ भन भने हुन्छ भन्दिने , हुन्न भन भने हुन्न भन्दिने, नीति कार्यक्रममा बोल्न नपाउने, बोलेपनि संशोधन हाल्न नपाउने अभ्यासले लोकतन्त्रको मात्रै होइन मानवजातीको विवेकशीलताकै खिल्लि उडाउँछ । नत्र संसदका टेबलमा मेशिन जडान गरे भैहाल्थ्यो नि; ओली बोल्दा दाहिले तिरको स्वीच दबाउने त्यता टेबल ढ्वाङ्ग-ढ्वाङ्ग बज्ने, देउबा बोल्दा देव्रेतिर स्विच दबाउने त्यतै ढ्वाङ्ग-ढ्वाङ्ग बज्ने, मान्छे किन चाहियो?
हाम्रा प्रधानमन्त्रीसङ्ग मेरो बानी मिल्ने रैछ । उनी जस्तै म पनि आक्रोशित, कुन्ठाग्रस्त र निम्छरो अभिव्यक्ति दिने व्यक्तिको आलोचना गर्दिनँ। आलोचनाको अर्थै छैन भने आफ्ना अमूल्य शब्द किन खर्चिने?
मैले आलोचना नगर्ने कारण छन। आक्रोशमा आएको मान्छेको “सोच्ने तन्तु”लाई “व्यक्त गर्ने तन्तु”ले निष्कृय पारिदिएको हुन्छ, तिनको आलोचना व्यर्थ छ। कुणठा आफैँमा कुनै उचित विषयप्रतिको अनुचित वा नकारात्मक अव्यक्त धारणा हो । जानी बुझिकन सचेत दिमागले नै उत्पन्न गर्ने धारणा भएकाले आलोचनाले यसमा केही फरक पार्दैन, त्यसैले आलोचना गर्दिनँ । निम्छरो भनेको समूहमा हेपिएको, कमजोर भन्ने बुझेको थिएँ त्यसको प्रधानमन्त्रीय अर्थ अलग्गै रैछ । त्यस्तो निम्छरो अभिव्यक्ति भन्नाले पक्कै घटिया अभिव्यक्ति होला। आफैँ त्यो भन्दा तल गिर्ने वा घट्ने ठाउँ नै नभएकोले त्यसलाई आलोचना गर्न म उचित ठान्दिनँ ।
म आज दुई महान व्यक्तित्वहरूको व्यवहारको मात्र चर्चा गर्छु। एक जना महान व्यक्ति जसले चरम निराशामा पुगेको नेपाली मनोविज्ञानलाई आशामा परिणत गराए, निहुरेको शिरलाई उठाए र दुःस्वप्नाको शृङ्खला रोकी उज्ज्वल भविष्यको सपना देखाए. तिनको व्यवहारको चर्चा गर्छु।
अर्को, अहिलेको संसदमा रहेका सिमित परिपक्व व्यक्तित्व मध्ये एक जसले २०४८को संसदमै गम्भीर बौद्धिक सांसदको ख्याती कमाए, फेरि संसदमा आउने निश्चित भए पनि संसदीय पद्दतिकै विकल्पमा हतियार उठाए , आफ्नो जीवन जोखिममा राखेर युद्धको नेतृत्व नै गरे, युद्ध हुँदा हुँदै जोखिम मोलेर लोकतान्त्रिक दलहरूसङ्ग मित्रता बढाए प्रमुख सम्पर्क व्यक्तिको रुपमा, आफ्नो पार्टीलाई सफलतापूर्वक शान्तिपूर्ण राजनीतिमा अवतरण गराउन सफल वार्ताको नेतृत्व गरे, देशी मिलाए, विदेशी मिलाए र सवैको कुरा सुन्न सक्ने शालीन व्यक्तिको छवि बनाए।
आज यि दुई व्यक्तिको हातमा देशको नीति निर्माणको मात्रै होइन संस्कृति निर्माणको समेत कार्यभार छ।
जातीय द्वन्द्वकै नजीक पुगेको मुलुकमा “आम नेपाली राष्ट्रवाद” (Pan-Nepali Nationalism) को अवधारणाको सफल परीक्षण थियो पोहोर सालको चुनाव। कसैले पहाडे राष्ट्रवादको पुनरुत्थान पनि भने म यस विवादमा फस्न चाहन्न । ति व्यक्ति यस्ता हुन जसले जातीय मुद्दा भनेको वर्गीय मुद्दाका अंशमात्र हो, एउटा बलियो कम्युनिष्ट सरकार बन्यो भने त्यसले सवैखाले विभेद अन्त गर्छ, त्यसमा जातीय, क्षेत्रीय, लैङ्गिक सबै विभेद सबै पर्छन भन्ने कुरा जनतालाई बुझाए, र “हामी कम्युनिष्ट एक भयौँ” भन्ने सन्देश मार्फत दुई तिहाइँ भन्दा बढि जनमत ल्याए, केन्द्र देखि तल सम्म ।
इतिहासमा जङ्गबहादुर पछि सबै भन्दा शक्तिशाली प्रधानमन्त्रिको प्रमुख कार्यभार विकासको मूल फुटाउनु त छँदै थियो तर सङ्ग-सङ्गै जातीय, क्षेत्रीय, लैङ्गिक, धार्मिक जस्ता जुन जुन विभाजनका रेखाहरू थिए ति सबै मेटाउनु पनि थियो। चुनाव अघि मधेश बिरोधी, समावेशी लोकतन्त्र बिरोधी, नेपालको बहुलता बिरोधी भन्ने आरोप लागे पनि त्यसलाई व्यवहारले खण्डन गर्नु पर्ने दायित्व थियो। त्यसका लागि पार्टी भित्र पनि र बाहिर पनि परामर्शमा आधारित निर्णय पद्दति, सबैका कुरा सुन्ने अभ्यासको थालनी, अरूका आलोचना सुन्ने बानीको विकास, पार्टी राजनीतिमा गूटतन्त्रको अन्त्य, प्रशासनमा लूततन्त्रको अन्त्य, र राष्ट्रिय मुद्दामा क्षुद्र, दलीय राजनीतिको अन्त्य गर्न वर्तमान प्रधानमन्त्रि जत्तिको सामर्थ्य, हैसियत र शक्ति भएको मान्छे न इतिहासमा थियो, न निकट भविष्यमा देखिने लक्षण नै छ।
तर माफ गर्नुस प्रधानमन्त्री ज्यू, यि सबैको उल्टो काम तपाइँबाट भएको छ भन्ने गुनासो छ; म सबै जनताको यस्तै भनाई छ भनेर अरूको ठेक्का लिन्न तर चिया पसलमा, तपाइँकै पार्टी भित्र, अन्य दल भित्र र साना तिना सामाजिक जमघटमा मैले त्यही धारणा धेरै सुनेको छु। तपाइँका अन्धभक्तले यस्ता कुरा गर्नेलाई काँग्रेसी, पञ्च वा बिप्लवी देख्न सक्छन तर म राजनीतिमा चासो राख्ने तर कतै झुकाव नभएको ब्यक्ति हुँ । २०४९-५०पछि म राजनीति गर्दिनँ भनेर घोषणा गरेरै हिँडेको मान्छे हुँ र कुनै दलको भातृ सङ्गठान त के पत्रकार महासङ्घ बाहेक यूनियन, चौतारी, मञ्च आदि आदि कुनैको सदस्यता लिइनँ। छाती खोलेर देखाउन सक्दिनँ तर मेरो इमान्दारितामा विश्वास गर्नु हुन्छ भने म भन्छु तपाइँको पतनमा कसैको उत्थान मेरो एजेन्डामा छैन, र तपाइँको उत्थानमा मेरो ्कुनै स्वार्थ्य समेत जोडिएको छैन।
भनिन्छ मान्छेको व्यवहारमा उसको भावनाको १० प्रतिशत मात्रै देखिएको हुन्छ, हिमशीला (Iceberg)को टुप्पो जस्तो। जसरी त्यो दश प्रतिशत टुप्पो हेरेर जहाजको क्याप्टेनले ९० प्रतिशत सतहमुनिको हिमशीलाको अनुमान लगाएर जहाजको बाटो तय गर्छन, मान्छेको पनि अलि कति व्यवहार हेरेर उसको Attitude अर्थात सोँच, धारणा, भावनाको अनुमान लगाउने हो।
रातो दिन चुनावमा खटेर तपाइँलाई यत्रो जनमत ल्याउन दिलोज्यान दिनेहरूसङ्ग म दैनिक जसो गफिन्छु, अहिले तपाइँको व्यवहार रुचाइरहेका छैनन। थाहा छैन तपाइँ त्यो पङ्तिसङ्ग कहिले काहीँ आफैं` सम्पर्कमा हुनुहुन्छ कि बिचौलिया मार्फत मात्रै सम्पर्क गर्नु हुन्छ। तपाइँको प्रचण्डसङ्गकै सम्बन्ध “अत्यन्त सुमधुर र औपचारिक” मात्र छ रे । बहस मार्फत निर्णय लिने होइन अर्कालाई मन पर्दैन कि जस्तो कुरा बरू उठाउँदै नउठाउने । प्रचण्ड तपाइँकै भाषामा झाडीमा सिङ्ग अड्केको जरायो जस्तो परे, विवाद गरेर पनि जाने ठाउँ छैन।
तपाइँमा दम्भ हुनु स्वाभाभिक हो तर नेपालको भूगोल, जनसङ्ख्या बनोट, संस्कृति कुनै पनि एकल व्यक्तीय दम्भको अनुकूल छैन। भित्र भित्रै पाकेका “कुण्ठा”ले तपाइँलाई सत्ताच्युत गर्ने हैसियत त राख्दैन तर अरू प्रधानमन्त्रीको कोटीमै पुर्याउँछन जसले कहिल्यै शिर ठाडो पारेर बालुवाटार छोडेका छैनन। अरूमा उब्जिने त्यस्ता कुण्ठालाई तपाइँको व्यवहारले झन बढाइरहेको छ, र तपाइँले देशलाई सिङ्गापुर बनाएरै निस्कनु भयो भने पनि “राष्ट्रपिता”जस्तो सम्मानित बहिर्गमन हुने अवसर गुमाई सक्नु भएको छ ।
इतिहास हेरेर एकछिन घोत्लिनुस त। एकाध अर्कैले थपना राखेका बाहेक नेपालका प्रधानमन्त्रि कोही पनि ठाडो शिर गरेर निवृत्त भएका र अत्यन्त सम्मानित भएर मरेका छैनन । भिमसेन थापा देखि अहिले सम्म हेर्दै जानुस। भिमसेन थापा आत्महत्या गरेर मरे, राणाकाल शुरु हुनु अघिका उनका प्रायः उत्तराधिकारी काटिए, मारिए ।
जङ्गबहादुर पदमै हुँदा कालगतीले मरे रौटहटमा रगत छादेर । मर्ने बेला उनले कसैलाई सम्बोधन गर्न पाएनन । काठ खोपेको डुँडमा कपूर, अत्तर मिसिएको तेलमा डुबाएर तीन दिन राखेपछि उनका भाई र छोरा काठमाण्डुबाट पत्थरघट्टा पुगे त तीन जिउँदा रानी सहित उनलाई जलाइयो। सति जानु अघि उनकी रानी हिरण्यगर्भ कुमारीले जङ्गबहादुरको तर्फबाट कुनै गल्ती भएको भए माफ मागिन उपस्थित ६,००० जतिको जमातलाई सम्बोधन गर्दै।
जङ्गबहादुरका भई रणोदिपलाई भतीजले मारे, वीर शम्शेर रातै पिच्छे कोठा फेर्दै सुतेर जीवन विताए, देव शम्शेरलाई घोक्र्याएर धनकुटा खेदियो, चन्द्र शम्शेर चाहिँ इज्जतिलो सङ्गै मरे, जुद्ध शम्शेर बैराग्यले जोगी भए, पद्मशम्शेर गलहत्याइए, मोहन शम्शेरले त राणा शासनको अन्त नै गरिदिए ।
राणा शासनको अन्त पछि कार्यकाल सफलता पूर्वक सकेर हाँस्दै निस्केका एउटै छैनन। कसैलाई राजाले राती नै धपाएका छन, कसैलाई आफ्नै दलले, कतिलाई विपक्षी दलले घोक्र्याएर निकालेका छन। मैले मेरै आँखाले १० वटा जति बहिर्गमन देखेको छु, ४-५ वटा बहिर्गमन आँशु मिश्रित थिए र अरू आक्रोश मिश्रित । आँशु र आक्रोश दुवैले चित्त फटाएको हुन्छ जसको असर संसदको मत बिभाजन भन्दा धेरै गहिरो हुन्छ ।
हामीले अत्यन्त आदर गरेका मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराई समेत रुँदै निस्किएका छन, गिरिजाप्रसाद र सुशिलले पदका लागि ऱ्याल चुहाएको आरोप खेपेका छन, प्रचण्डले धेकेल्दा तपाइँले आँशु कसरी रोक्नु भयो र देउबाले धकेल्दा प्रचण्डले कसरी आँशु दबाए सबै हामीले देखेका छौँ ।
आँशु सहित निस्किएका राणाका सन्तानहरू राणा शासनको पतनका मुख्य कारण थिए, आँशु सहित निस्किएका पञ्च पञ्चायतको पतनका प्रमुख कारण थिए र आँशु सहित निस्किएका काँग्रेसी काँग्रेसको अहिलेको अवस्थाका प्रमुख कारक छन। काँग्रेसका कार्यकर्ता अहिले यति सम्म ह्युमिलिएटेड छन कि तिनलाई “तिम्रो अध्यक्ष फलानो होइन?” भनेर बिहानै कसैले भन्दियो भने तिनको शीर दिनभर ठाडो हुँदैन।
तपाइँकै नजीक भएर सत्ताको वरिपरि घुमेका बाहेक नेकपाका कार्यकर्ताको ठूलो पङ्ति पार्टीको भविष्य प्रति चिन्तित छ, दुई कारणले । एउटा पार्टी पद्दति मार्फत होइन दलालका स्वार्थ-प्रभावित नीति-निर्णयले भोली “तिमि यो पार्टीको कार्यकर्ता होइन?” भन्दा शिर निहुराउनु पर्ने होकि भन्ने डरले र अर्को अर्को दश-पन्ध्र वर्ष लगाएर निर्माण गरिएको सहिष्णुताको राजनीति समाप्त हुने डरले । तपाइँ गणतन्त्रको आन्दोलनलाई बालकोटमा बसेर खिसिट्युरीमा ब्यस्त हुँदा ति काङ्ग्रेसी, साना कम्युनिष्ट पार्टीका कार्यकर्ता, केही मधेशी दलका कार्यकर्ता र छद्मभेषमे भए पनि सहभागी माओवादी कार्यकर्ता सङ्गै सडकमा शाही शासन बिरुद्ध लड्दै थिए, पुलिस हिरासतमा एउटै प्लेटमा मःमः खाँदैथिए, एउटै लाठीको मारमा टाउको फुटाउँदै थिए ।
तिनको उत्साहको ठूलो स्रोत भनेको कम्युनिष्ट एकताको नाममा तपाइँले गत साल जगाउनु भए जस्तै सबै दलको सहकार्य र एकताबाट सदाका लागि अधिनायकवादको अन्त गर्ने सपना थियो, जनताको गणतन्त्र थियो। स्वस्थ प्रतिस्पर्धा गर्ने तर दलीय क्षुद्रता विरुद्धको अभिव्यक्ति थियो ६२-६३को आन्दोलन। त्यो आन्दोलनमा तपाइँको भौतिक उपस्थिति देखिएन, कोही सङ्ग फोटो छ कि मलाई थाहा छैन । तर पनि बामपन्थि-लोकतान्त्रिक आन्दोलनमा तपाइँको योगदान अहिले देखिएका कुनै नेताको भन्दा कम थिएन। बालकोटमै बसे पनि तपाइँ सडकका आन्दोलनकारीका दिमागमा हुनुहुन्थ्यो, कतिपयका प्रेरणाका स्रोत नै हुनुहुन्थ्यो । त्यसैले सहिष्णुताको सन्देश दिने त्यो आन्दोलनको मर्म बमोजिम बोली र व्यवहार दुवै देखाउनु तपाइँको महानता हुन्थ्यो। संसदमै पनि “क्षुद्र” प्रश्नको शालीन जबाफ दिन नसक्ने मान्छे तपाइँ होइन। तर मैले कता कता त्यो अभाव देखेँ। अन्धभक्तले त भन्लान तपाइँले “देखाइ दिनु भयो” तर त्यसरी देखाइ दिनेले धेरै चिज गुमाएको हुन्छ, सबैभन्दा ठूलो अर्काको सम्मान गुमाएको हुन्छ।
अव अर्का व्यक्तित्व, सभामुख ज्यू, त झन शालीनताको पर्याय नै। द्वन्द्व समाधानका/रुपान्तरणका हरेक वार्तामा वहाँको उपस्थितिले नै कति सकारात्मक प्रभाव पार्थ्यो, हामीलाई थाहा छ। सँधै अर्को दलसङ्ग राम्रो सम्बन्ध राख्ने, कहिल्यै अपशब्द, होच्याउने शन्द, कडा शब्द नबोल्ने । अरू दलसङ्ग सँधै पुलको काम गर्ने, सँधै समाधानका उपायहरू साथ उपस्थित हुने, सबै विकल्पका लागि खुला, देशी-विदेशी सबैलाई आफ्नो कार्यनीति, गन्तव्यवारे मज्जाले बुझाउन सक्ने व्यक्तित्वको हड्बडिपन देख्दा अचम्म लाग्यो, कुन बिमारले तपाइँका शरीरका ति तन्तु मार्यो? केले पहिलेका सबै क्षमता कमजोर पार्यो?
मान्छेको बोली दुईवटा समयमा लर्वरिन्छ, कि भित्र भएको भन्दा अलग कुरा निकाल्नु पर्दा, कि भयंकर डरको प्रभावमा परेका बेला। सभामुख जस्तो मान्छे डर त पक्कै थिएन होला तर तपाइँको व्यक्तित्व नसुहाउने व्यवहार गर्नु परेकोले त्यस्तो हड्बडि र लर्बराहट आयो भन्नेमा म विश्वस्त छु ।
हो, संसदलाई खशीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो भन्दै संसदीय अभ्यास छोडेर युद्दमा जानु भएको हो। अहिले १५ सालका सांसद कोही छैनन ४८ का थोरै मध्ये तपाइँ पनि हो । तपाइँको परिपक्वताले त्यही कुकुरको मासु बेच्ने ठाउँलाई समेत जनताका वास्तविक समस्याहरू माथि जनप्रतिनिधिले निर्धक्क छलफल गरेर जनपक्षीय निर्णय लिने थलोको रुपमा परिणत गराउन सक्थ्यो।
संबिधानले हाम्रो मुलुक समाजवादोन्मुख बनाएको छ तर व्यवहारमा दलाल पूँजीवादी छ भन्ने सत्तारुढ दलकै ठूलो पङ्तिले आरोप लगाइरहँदा तपाइँको नेतृत्वको संसदले नीति र कार्यक्रममा अझै केही दिन, गम्भीर, खुला र घनिभूत छलफल गर्दिएको भए के बिग्रन्थ्यो?
प्रमुख प्रतिपक्षी उभिइरहेका बेला, कुनै सांसदले संसोधन फिर्ता लिने कि नलिने भन्ने आफ्नो राय नै दिन नमानेका बेला, होहल्ला विच “माने स्द्स अव यो प्रस्ताव निर्नयार्थ पेशगर्छु, ….. हुन्न भन्नुस” भन्दै लर्वराउनु पर्ने कारण के थियो? सार्वभौम संसदको तपाइँ नेता हो, देउवा देखि लक्ष्मण कर्ण सम्मको, ओली देखि राजेन्द्र लिङ्देन सम्मको अधिकारको रक्षा तपाइँको काँधमा छ, ओलीको होइन ।
संसदीय गणित स्थायी होइन, यसबाट सिर्जित शक्ति त झन दुई दिनको घाम छायाँ। संसारभरका इतिहास हेर्नुस, अकालमा मृत्यू हुने धेरै संसद कि दुई तिहाइका छन कि प्रचण्ड बहुमतका। तर संसदले काम गर्ने राम्रो संस्कार बसाल्नु भयो भने अल्पमतको सरकारले पाँच वर्ष खान्छ, हङ्ग पार्लियामेण्ट पूरा अवधी जान्छ। संस्कार बसाल्ने भनेको शुरुमा आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्ति दिनै पनि मजाले समय दिने हो, दोस्रो पल्ट पनि यस्तै अभिव्यक्ति दिनेलाई तेस्रो पल्टपनि ठाउँ दिनुस त ऊ आफैँ सुध्रिन्छ । शालीनतालाई दमन गरे आक्रोश जन्मिन्छ, लागेको कुरा व्यक्त गर्न नदिए त्यो कुण्ठा बनेर भित्र भित्रै पाक्छ र समुन्नत विचारहरू राख्ने अवस्था नै सिर्जना नगरे निम्छरा अभिव्यक्ति जन्मन्छन।
जनताले गाँस कटाएर तिरेको करले टोल-टोलमा ढ्वाङ्ग थापेर चुनाव गरेर ल्याइएका प्रतिनिधि मेशिन होइन नि अपरेटरको स्वीचको भरमा चल्ने । तिनको आफ्नो निर्वाचन क्षेत्र र निर्वाचक (Constituency) छन । पार्टीले जे भन्छ त्यही मत राख्ने, हुन्छ भन भने हुन्छ भन्दिने , हुन्न भन भने हुन्न भन्दिने, नीति कार्यक्रममा बोल्न नपाउने, बोलेपनि संशोधन हाल्न नपाउने अभ्यासले लोकतन्त्रको मात्रै होइन मानवजातीको विवेकशीलताकै खिल्लि उडाउँछ । नत्र संसदका टेबलमा मेशिन जडान गरे भैहाल्थ्यो नि; ओली बोल्दा दाहिले तिरको स्वीच दबाउने त्यता टेबल ढ्वाङ्ग-ढ्वाङ्ग बज्छन, देउबा बोल्दा देव्रेतिर स्विच दबाउने त्यतैका टेबुल ढ्वाङ्ग-ढ्वाङ्ग बज्छन, मान्छे किन चाहियो?
यस्तो प्रचण्ड बहुमतलाई रवाफ देखाउन होइन संस्कार निर्माण गर्न प्रयोग गर्नुस । तपाइँले अहिले बनाएको संस्कारले तपाईँको छोरा संसदमा आउँदा संसद आक्रोस, कुण्ठा र निम्छारा अभिव्यक्ति सुनिने होइन जनताको भविष्य बनाउने एउटा बौद्धिक वहसको थलोको रुपमा विकसित भैसकेको हुनेछ ।