छायानाथ शरणं

शब्द/तस्विर : कविराज कार्की / मुगु
मुगु जिल्लाको प्रशिद्द तिर्थस्थल छायानाथमा विस्तारै तिर्थालु बढे पनि भौतिक पुर्वाधारको विकास नहुँदा भक्तजनलाई भने तिर्थयात्रा निकै कठिन र सकसपुर्ण बन्ने गरेको छ ।
विकास र प्रचार प्रसारको अभावले पछि परे पनि निकै ठुलो धार्मीक महत्व बोकेको छायानाथ तिर्थस्थल समुन्द्र सतह देखि करीव ५ हजार मिटरको उचाईंमा अवस्थित छ । अरु बेला हिउ जम्ने र अत्यन्तै चिसो हुने भएकाले जनै पुर्णिमाको अवसरमा यहाँ मेला लाग्ने गर्छ ।
भगवान शिवले सतीदेवीको मृत शरीर संसार घुमाउने क्रममा छायानाथमा अन्तिम अंग खसेको धार्मिक किम्बदन्ती रहेको छ । फरक खाले भु–बनोट‚ भुइँमा फुल्ने अनौठा फुल तथा पथ्थरहरु‚ आफै बनेको सुमेरु पर्वत लगाएत छायानाथमा देखिने थुप्रै अनौठा वस्तु तथा दृश्यले त्यहाँ पुग्ने जो कोहि पनि साँच्चै भगवान भएको विश्वास गरेर फर्किने गर्छन ।
आफ्नो कुल देवता शुद्द पार्न र परिवारको भलो होस् भनेर सुर्खेत‚ बाँके‚ बर्दिया‚ दैलेख‚ जाजरकोट लगाएत कर्णालीका सबै जिल्लाहरुबाट थुप्रै भक्तजनहरु छायानाथ दर्शनका लागि आउने गर्छन् ।
छायानाथ पुग्ने विभिन्न देवी देवताका धामी डाङ्ग्री र भक्तजनहरु सर्व प्रथम नुहाएर मात्र पुजारीबाट आशिर्वाद लिनु पर्ने हुन्छ । त्यहाँ पुगेर नुहाउने बित्तिकै अधिकाँश तिर्थालुहरुलार्इ शरीरमा देवता चढेर काप्तै बरबराउने र देवताको भाषा बोल्ने गर्छन् ।
कठिन वास‚ विकट बाटो र लेख लाग्ने समस्या जस्ता कठिनाइको पर्वाह नगरी धर्म प्रतिको अगाथ जन विश्वासका कारण महिनौ दिनको यात्रा तय गरेर टाढा टाढा बाट तिर्थयात्रीहरु छायानाथ पुग्न गर्छन् । विगत बर्षको तुलनामा सामान्य बाटो बने पनि व्यवस्थित धर्मशाला नहुदा तिर्थयात्रीलाई रात काट्न निकै मुश्किल हुने गरेको छ ।
धामीलाई देवता चढेकाले सहजै उकालो उक्लिन्छन् भने सर्व साधारणलाई लेक लागेर मन्दिरमा पुग्न पनि निकै ठुलो सास्ति खेप्नु पर्ने हुन्छ । चैन स्थित मुल थानबाट गाथ सहित पुजारीको टोली अष्टमीका दिन छायानाथ तिर प्रस्थान गरेर चतुर्दशीका दिन छायानाथ बाट फर्किने परम्परागत चलन छ ।
प्रचार प्रसारका साथै आवश्यक भौतिक पुर्वाधारको विकास गर्नेहो भने ओझेलमा परेको छायानाथ तिर्थस्थलमा धार्मिक पर्यटकहरुको आगमन बढे पछि कर्णाली प्रदेशकै आर्थिक मेरुडण्ड बन्न सक्ने कुरा बुद्दिजिवीहरुको ठहर छ ।