गणतान्त्रिक क्षुद्रता र द्वन्द्वको पुनरावृत्ति

हाम्रा धेरै “सफल”राजनीतिक शक्तिको कुनै न कुनै बेला हिँसा प्रति झुकाव थियो। हिजो झापामा शिरच्छेदन आन्दोलन चल्यो, काङ्ग्रेसले पनि बन्दूक उठायो, माओवादिले बन्दूक चलायो । तिनले जिते ति देवता भए, हारेका भए अझै राक्षस-कोटीमै रहन्थे।  हिजो पृथ्वीनारायणले राष्ट्र एकिकरण गरे, उनकै पुर्ख्यौली थलो छेऊमा उनको शालीक ढल्यो । वर्तमान सरकारको जस्तै  “अव राजनैतिक ऱ्याइँ-ऱ्याइँ बन्द गर” भन्दै राजा महेन्द्रले समृद्धिको नारा घन्काए, उनको दरवार छेऊमै पुगेर युवाहरूले उनको शालीकमा जुत्ताको माला लगाए । देवता र राक्षस, त्यसैले, स्थीर अवधारणा होइन। 

 

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा मैले एकजना मन्त्रिलाई सोधेको थिएँः तपाइँहरूको अनौठो मौनता छ, बोल्नु हुन्न । जसलाई बोल्न लगाउनु हुन्छ तिनले जे भन्छन जनताले उल्टो बुझ्छन ।  किन होला? उनको उत्तर थियोःहालै थपिएका एउटा सहायक मन्त्रिको पहिला नाम सुन्नु भा’थ्यो? मैले बुझिनँ । मैले खोजेको उत्तर पाइनँ, फेरि थपेँ “तपाइँको मौनता’boutको प्रश्नमा नयाँ मन्त्रि थप सम्बन्धी उत्तर आयो, मैले यि दुई चिज जोड्नै सकिनँ।”

 

कुरा लम्बिँदै जाँदा उनले सुनाए ज्ञानेन्द्रको सुन्ने बानी थिएन रे। शुरु शुरुमा मन्त्रिले केही सुझाव दिन खोजेका रैछन पछि सबैलाई “बुझें”  मात्रै भन्दै हावामा उडाए रे।  बोल्दा दश-बीस जनाले पत्याउने मन्त्रिलाई बोल्नै दिएनन रे, जसलाई दिनै पिच्छे टेलिभिजनमा मुख देखाउन लगाए तिनलाई हेर्दै जनतालाई भुँडी हुँडलेर आउने, वाकवाकी लाग्ने र आन्दोलनमा  अहिल्यै जाउँ-जाउँ लाग्ने ।  “उनलाई यसो गरे सकिन्छौँ  भनेर आफ्नो विष्लेषण सुनाउने सोँच त बनाइयो तर आँट गरिएन, राजाको बानी देखेरै”, उनले थपेका थिए । “भीर जाने गाईलाई राम भन्न सकिने तर काँध हाल्न  नसकिने” निष्कर्षमै पुगेर मौनता साँधेका रैछन ति शाही शासन- कालीन मन्त्रिले।

 

दुई-चार महिना भयो क्याबिनेटका दुई चारजना भद्र मान्छे बोलेको म देख्दिनँ। ति बोल्दा तिनको सौम्यता, शालीनता, भद्रता तथा अध्ययनशीलताले दुई-चार सय मान्छेलाई सरकारले इमान्दारसाथ देश अगाडी बढाउँदैछ भन्ने आशा जगाउँछ ।  जानी बुझिकनै तिनलाई बोल्न दिइन्न कि? मलाई थाहा छैन।

 

कुनै सैद्धान्तिक ज्ञान नभए पनि र द्वन्द्व अध्येता नभएपनि करीव दुई दशक देखि नेपालको द्वन्द्वलाई नजीकबाट हेरिरहेको हुँदा मलाई कता कता सफल भैसकेको नेपालको शान्ति प्रकृयालाई फेरि फर्काउन खोजिँदैछ कि भन्ने शंका भने लागिरहेको छ। जब म द्वन्द्वका अवशेषहरू विभिन्न बहानामा सतहमा आइरहेको देख्छु, शान्ति प्रकृयाका बाँकि काम गर्न राजनैतिक नेतृत्वलाई मरेका कान्छा बालाई घाट लैजान जत्तिकै गाह्रो भएको अवस्था देख्छु र सबै भन्दा ठूलो कुरा उनीहरूमा “नेपालमा पनि द्वन्द्व थियो र?’ भन्ने प्रकारका सोच, अभिव्यक्ति र व्यवहार पाउँछु, मेरो शंकाको मात्रा ह्वात्तै बढ्छ।

 

राष्ट्रसङ्घ र विश्वबैङ्कको संयुक्त आर्थिक सहायतामा अक्सफोर्ड विश्वविद्यालयले संसारभरका ७४ द्वन्द्व भएका देशको अध्ययन गरेर निकालेको निष्कर्षले भन्छ संसारका ४० प्रतिशत द्वन्द्व १० वर्षपछि पुनारावृत्त भएका छन(http://web.worldbank.org/archive/website01241/WEB/IMAGES/PCP3797C.PDF)। भन्नुको अर्थ द्वन्द्वको समाधान निस्किएपछि पनि झण्डै आधा-उधि द्वन्द्व तिरै फर्किने गरेका छन।

 

द्वन्द्वोत्तर अवस्थाका देशमा अवलम्बन गरिएका राजनीतिक ढाँचा र द्वन्द्व रुपान्तरणका तरिकामा राम्रोसङ्ग विचार नपुर्याइँदा चुनावले द्वन्द्वको जोखिम केही समय टार्न त टार्छ नै तर चुनाव पछि त्यस्तो जोखिमलाई ह्वात्तै बढाउँछ, अध्ययनले देखाउँछ।

 

मलाई चाहिँ यस्तो अध्ययन-प्रतिवेदनमा धेरै रुमल्लिनु छैन, मेरो नेपाली पारामै गफ गर्छु द्वन्द्व ’boutमा, मेरा आफ्नै मानक छन, आफ्नै शंकेतक छन र आफ्नै चेतक छन ।

 

मेरो सबैभन्दा ठूलो मानक भनेको द्वन्द्वको लगत्तै देश चलाउने तेतृत्वको शालीनता, सौम्यता, भद्रता, सुझ-बुझ र द्वन्द्व समाधानकालागि अवलम्बन गरिएका उपायहरू प्रति त्यो नेतृत्वको अपनत्व हो।  जहाँ जहाँ द्वन्द्व वास्तविक रुपमै रुपान्तरित भएका छन त्यहाँ राजनैतिक नेतृत्वमा यि गुणको प्रचुरता देखिन्छन।

 

दक्षिण अफ्रिकामा हेर्नुस, मण्डेलाको उपराष्ट्रपति नै हराइएका गोरा समूहका एफ.डब्ल्यू डेक्लार्क थिए र गृहमन्त्रि जुलु इन्काथा फ्रिडम पार्टीका बुथोलोजी थिए।  इष्ट टिमोरमा पनि स्थायित्व छ किन? इतिहास पढे हुन्छ, क्यारेवियन मुलुक र पूर्वी यूरोपेका केही उदाहरण हेरे हुन्छ। तिनले चुनावमार्फत सत्ता कब्जा भन्दा चुनाव मार्फत राज्य व्यवस्थापनमा सबैको सहभागीता जुटाउने प्रयत्न गरेका छन।

 

प्राकृतिक रुपमै हो कि मानव योजना अन्तर्गत नै हो द्वन्द्व पछिको राजनैतिक मामलामा धेरै देशमा असहिष्णु, जातीय अहंकारवादी र क्षुद्र राजनैतिक नेतृत्व स्थापित  भएका छन र विस्तारै मुलुकलाई द्वन्द्वतिर धेकेलेका छन । श्री लंका  हेर्नुस, सुडान हेर्नुस त्यस्तै देखिन्छ।

 

द्वन्द्व आजै फर्किहाल्छ भन्ने होइन तर खन्यूको दाउराको अगुल्टो खरानीले छोपेर राखिएपछि उपयुक्त समयमा आगो सल्किन्छ, यो साश्वत कुरा हो, शास्त्रीय व्याख्या चाहिन्न।

 

त्यसैले मेरो मानकले भन्छ पुलिसको गोलीले भन्दा नेताको बोलीले मान्छेलाई बढि पोल्छ । गोलीको अल्पकालीन प्रभाव हुन्छ बोलीको दीर्घकालीन । हाम्रो जस्तो बहु-जातीय, बहु-भाषिक, बहु-धार्मिक, बहु-विचारधारीय जस्ता धेरै “बहु” भएको देशमा नेता बहु-गुणीय हुनु पर्छ ता कि सबैले आफ्नो अनुहार ति नेतामा देख्न सकून, तिनमा आस्था, विश्वास र भरोसा होस। ति मध्ये सबै भन्दा ठूलो गुण भनेको अर्का प्रतिको सम्मान, अर्काको अस्थित्वको सम्मान, अर्काको योगदानको सम्मान र अर्काको विचारको सम्मान हो।

 

हाम्रा धेरै “सफल”राजनीतिक शक्तिको कुनै न कुनै बेला हिँसा प्रति झुकाव थियो। हिजो झापामा शिरच्छेदन आन्दोलन चल्यो, काङ्ग्रेसले पनि बन्दूक उठायो, माओवादिले बन्दूक चलायो । तिनले जिते ति देवता भए, हारेका भए अझै राक्षस-कोटीमै रहन्थे।  हिजो पृथ्वीनारायणले राष्ट्र एकिकरण गरे, उनकै पुर्ख्यौली थलो छेऊमा उनको शालिक ढल्यो । वर्तमान सरकारको जस्तै “अव राजनैतिक ऱ्याइँ-ऱ्याइँ बन्द गर” भन्दै राजा महेन्द्रले समृद्धिको नारा घन्काए, उनको दरवार छेऊमै पुगेर युवाहरूले उनको शालिकमा जुत्ताको माला लगाए । देवता र राक्षस, त्यसैले, स्थीर अवधारणा होइनन् ।

 

इमान्दार भएर कर्म गर्ने हो भने इतिहासमा यत्तिको अनुकूल देशी-विदेशी परिस्थिति भेट्ने सरकार कहिल्यै थिएनन, न निकट भविष्यमा आउने सम्भावना छ।  इतिहासले यत्रो अनुकूल वातावरण बनाइदियो भने आफूले पनि आफ्ना सोच-बानी-व्यवहारलाई थोरै अनुकूलन गर्न मात्रै प्रयास गरेपनि नेपालमा द्वन्द्वको अवस्था टर्न सक्छ । ५०-६० वर्षको अभ्यास पछि बनेको दिमाग त तुरुन्तै फेर्न सकिन्न तर जिब्रोलाई अनुकूलन गर्न धेरै प्रयत्न चाहिन्न।

 

अरू केही गर्न नसके पनि यही क्याबिनेट भित्र केही यस्ता सदस्य छन तिनको बोलीको सौम्यता, भद्रता र शालीनताले आम जनता मात्रै होइन विपक्षीदल समेत सम्मानित महसूस गर्छन, दैनिक टेलिभिजनमा तिनलाई देखाए हुने, तिनका स्वरहरू रेडियोबाट सुनाए हुने, पुराणमा तिनलाई पठाए हुने, रिवन ति मार्फत कटाए हुने।  व्यवहार जस्तो भए पनि वचनले त मान्छे चिढिन्न थे नि।

 

बिप्लवको आन्दोलनमा उनकै कार्यकर्ताको विश्वास छैन, न उनको नेतृत्वमा उनीहरूको भरोसा छ, न कार्यशैलीमा सहमति । प्रचण्डसङ्गको असन्तुष्टी व्यक्त गर्न विद्रोह रोजे तर यति छिटो त्यसैको चङ्गूलमा फसे कि निस्कन गाह्रो छ। गोलीले छेडिएका एका-दुई छन, ति देखिँदैनन र तिनको प्रभाव थोरै छ । तर तिनकै आफ्ना पूर्व नेता, देशका अहिलेका नेताहरूका बोलीको प्रभाव व्यापक छ, अहिले उनीहरूको वृत्तमा गोलीको भन्दा बोलीको बढि चर्चा छ, त्यसैलाई विद्रोहको आधार बलियो बनाउन प्रयोग गरेका छन ।

 

विप्लव विद्रोह द्वन्द्वको ढोका खोल्ने खिड्की मात्रै हो, बुझ्नुस यो अव एक वर्ष लम्बियो भने हिजो साम्य भएका अरू-अरू विद्रोहहरू अर्कै रुपमा आउनेछन । खरानीमुनि छोपिएका छन, विस्तारै सौम्य बोली र शालीन व्यवहारले तिनमा पानी हालेर निभाउने हो, चर्को-चर्को सङ्ग तिनलाई ठोस्ने होइन।

 

मलाई कता कता लाग्छ यो गणतान्त्रिक क्षुद्रता पनि जबर्जस्ती दल भित्र विभाजन, दलहरूबीच विभाजन, समाजमा विभाजन ल्याएर मुलूकलाई पुनः द्वन्द्व तिर धकेल्न जानाजान बनेको योजना अन्तर्गत आएको पो हो कि?