मुड्की,बुट र फोहोरा हान्ने पुलिसलाई फूल उपहार !

निरीह जनतामाथि प्रहरी दमन, लात्ती ,मुक्की र फोहोराको प्रहारले अरु नेपालीको मन झै प्रसिद्ध गायक योगेश्वर अमात्यको मन दुख्यो त्यसैले उनले राक्षसीपन देखाउने सम्पुर्ण प्रहरी अधिकृतदेखि जवान सम्मलाई मुक्का, लाठि बुट र फोहोराको निर्मम प्रहारको बदला फूल दिएर आन्दोलनको स्वरुपमा नविनता दिए नयाँ शैलीको प्रादुर्भाव गरे ।भोकै प्यासै बसेको प्रहरीलाई पानी खुवाएर सद्भाव प्रकट गरे । 

नेपालमा आन्दोलन , प्रतिरोध र बिरोध प्रतिकात्मक, सिर्जनात्मक र रचनात्मक अनि सुसंगत , सुसंकृत हुनुपर्छ भनेर अभियान चलाएर अस्तित्वमा देखा परेको दल विवेकशील नेपाली हो । जसले नेपाल बन्द भएको बेला पनि नेपाल खुल्ला छ भन्दै बन्दको बिरोध नेपाल खोलेर , आ-आफ्ना कल कारखाना, पसलका सटर खोलेर खोल्न सहयोग गरेर, स्कुल, कलेज खोलौ भनेर शहर परिक्रमा गर्दै रिक्सा चलाएर प्रतिरोध आन्दोलन चलाएको थियो।

पार्टीहरुको बिरोध कार्यक्रम भन्ने बित्तिकै जन मानसमा यस्तो अराजक चित्र र चरित्र बिम्बित हुन्थ्यो जसले बिरोध कार्यक्रम भएको दिन आफ्ना बाल बच्चा स्कुल पठाउन असुरक्षित महसुस गरेर त्रासमा रहनु पर्थ्यो । तोडफोड, चक्काजाम, आग्जनी, हिंसा र बल प्रयोगका घटना आँखा अघिल्तिर झल्झली आउथ्यो र झस्काउथ्यो । सार्वजनिक सम्पत्तिको ध्वस्त र ध्वंस गरेको देख्दा मन दुखाउथ्यो नमिठाे गरेर । टायर बालेर सडक अस्त ब्यस्त बनाएर वातावणिय प्रदुषणले श्वास फेर्न पनि मुस्किल बन्थ्यो ।

टेलिफोन बुथ र सडक पेटिका रेलिङ तोडेर सडकभरी असरल्ल हुन्थ्यो जुन दृश्यले नेपाली सर्वसाधारणको मन धुरु धुरु रोएको हुन्थ्यो तर हृदयहिन नेता र राजनीतिक पार्टीका कार्यकर्ता आफ्नो बहादुरी ठान्दै सार्वजनिक सम्पत्ति बिनास गरेर सरकरको बिरोधमा सशक्तता आएको दावी गर्थे । बिरोध सफल भएको र आन्दोलन शान्तिपुर्ण रहेको अनि बन्द अपार समर्थनका साथ जनताले अनुमोदन गरेको बकतव्य जारी गर्थे राजनीतिक पार्टीहरु । जुनसुकै पार्टी सत्ता बाहिर हुँदा पनि बिरोधको निशाना सडकको निर्जीव सरकारी सम्पत्ति हुन्थ्यो ।

सरकारको बिरोधमा आफुले खाइ नखाइ तिरेको कर बाट बनेको आफ्नै सम्पत्ति र लगानी ढुटाे पार्न पार्टी कार्यकर्ता मुर्खता प्रकट गर्थे मानौ सरकारको बिरोध गर्न सरकारी सम्पत्ति नास गर्नु नै संस्कृति हो राजनीतिक धर्म हो । जुन धर्म पूरा गर्दा कुनै खत बात लाग्दैन र कुनै सजाय भोग्नु पर्दैन । हुन पनि आज सम्म राजनीतिक आन्दोलन , प्रतिकार र बिरोधका नाममा जे जति ज्यादती भए जति अत्याचार र बेइमानी भए , जति ज्यान गए ती प्रायः सबै क्षम्य र अपराध कर्मको परिभाषा भन्दा पर राजनीतिको अपराधीकरणमा परिवर्तन भए ।

तब राजनीतिको नाममा जे गरेपनि हुन्छ जसो गरे पनि सुख पाइन्छ वस राजनीतिक पार्टीको झन्डा बोके उन्मुक्ति पाइन्छ भन्ने गलत मनोवृत्तिको धारणा बिकसित भयो र अपारदर्शी राजनीति आपराधिक मान्छेको मनोबल उकास्ने भर्याङ बन्यो त्यो बेला देखि राजनीति मैलो धमिलो सडेगलेको बन्यो । अपराध राजनिति राजनीति अपराध बन्यो यी दुईको भेद छुट्टाउनु गाह्रो भयो । अपराध ,ध्वंस र हिंसा सत्तालाई गलाउने घुडा टेकाउने, आफ्ना माग पूरा गर्न बाध्य पार्ने उस्तै परे कुर्सीबाट घोक्र्याउने उत्तम उपाय र विकल्पको रूपमा फैलियो ।

सरकार र सत्ताहरु पनि यस्ता भैदिए कि शान्तिपुर्ण बिरोध अहिंसात्मक आन्दोलनले उनीहरू गल्दैनन थाक्दैनन र शान्तिपुर्ण आन्दोलन सुन्ने अधिकारी उनिहरु होइनन् । शान्तिपुर्ण आन्दोलन सरकार हरुको सिमा र क्षेत्र होइन भन्ने कुराको प्रमाण गोविन्द केसीको १६औं पटक सम्म्को सत्याग्रहलाइ हेरेर भन्न सकिन्छ । अनैतिक सरकार नैतिक तागतमा भन्दा अराजक तागतसंग छिटो गल्ने गर्छ । यद्यपि नैतिक तागत अकाट्य हुन्छ । सत्यको विजय ढिलो हुने सामाजिक रित रहेको छ ।

बिरोधमा उत्रनु भनेकै ध्वंस गर्नु, अराजकता फैलाउनु र सरकारी सम्पतिको नस्ट गर्नु हो भन्ने उदन्ड मानसिकता बन्यो । सामान्य बिरोध र शान्तिपुर्ण प्रदर्शनले सरकार कान सुन्दैन,आँखा देख्दैन,टेरपुच्छर लगाउदैन। बिरोध पर्दर्शन गरेको दिन एम्बुलेन्स र रेडक्रसको गाडी समेत रोकेर मानवताविरोधी जुन हर्कत दलहरू र उनीहरूका कार्यकर्ताले गरे त्यो जति निन्दा गरे पनि कमै हुन्छ । त्यो कर्म थिएन दुस्कर्म थियो ।

यस्तो दुश्कर्म पछी मात्रै माग सम्बोधन गर्न तयार रहने सरकारहरु गैर जिम्मेवारको पराकाष्ठा हुन । देशमा यस्तै उत्शृखल बिरोध चलेको बेला विवेकशील नेपाली भन्ने सानो झुन्ड सिर्जनात्मक बिरोधको नयाँ शैली र संस्कार लिएर काठमाडौं उपत्यकामा आफ्नो गतिविधि गर्न थाल्यो । बिरोध र समर्थनको र्याली जुलुस, सभा सम्मेलन गर्दा अराजकताको बाटोबाट हैन अनुशासनको मार्ग अपनाएर सभ्यताको पाठ सिकाउदै अरु भन्दा फरक र बेग्लै शैलीमा आफ्नो उपस्तिथिले जनताको ध्यान केहिहद सम्म खिच्न सफल बन्यो ।

चुनाव प्रचारको शैली पनि अरुभन्दा विल्कुल फरक र बेखर्चिलो अपनायो अनावश्यक तडक भडक गरेन । उम्मेद्बारहरु आफै रिक्सा चलाएर प्रचारप्रसारमा गए । पार्टी लिडर क्याडर सबैलाई सुसन्स्कृत बन्ने स्कुलिङ दिएर बौद्धिक जमातलाई आफ्नो राजनीतिक व्यबहारले निधार खुम्च्याउन बाध्य पार्यो र आफुलाइ वैकल्पिक राजनीतिक शक्तिको रूपमा अर्थ्याउन जनता माझ पुग्यो ।

आन्दोलनको स्वरुपमा परिवर्तन गरेर अरुभन्दा भिन्न प्रस्तुतिमा आफूलाई ढालेकाे कारण युवा बर्गको आकर्षण र प्रौढको आशावादी नजर यतातर्फ मोडन छोटाे समयमा नै सफल बन्यो । जसको प्रतिफल विवेकशील पार्टीले नेपाली राजनीतिमा आफ्नो स्थान बनायो । काठमाडौं महानगरमा मेयर प्रत्यासी रन्जुले चुनाव हारेर पनि राजनीति जितिन । पछिल्लो चुनावमा काठमाडौं जिल्लामा विवेकशील साझाले तेस्रो राजनीति दलको हैसियत बनाए जुन सु संस्कृत राजनिती प्रतिको विश्वासमा जनताको आकर्षणको अभिव्यक्ति थियो ।

राजनितिक दल रचनात्मक र सिर्जनात्मक भएको देखेर जनता अरु पार्टीको शैलीमा पनि रुपान्तरण हुन्छ भनेर आसावादी देखिएका थिए । जुलुस, बिरोधको समयमा सडकको एक भागमा मात्रै बन्द गरेर अर्को भागबाट सडक सुचारु गरेर सडक आवागमन रोक्ने राजनीतिक पार्टीको कार्यक्रममा परिवर्तन भएको थियो । आन्दोलनकारीले गर्ने फोहोर, पर्चा, पम्प्लेट, पानीका बोतल आदि आफैले उठाएर सडक सफा राख्ने सुसंन्कृत नमुना पेश गरेको थियो ।

बगैंचा जथाभावी खुद्ने कुल्चने अव्यवस्थित कार्यक्रम गर्ने परिपाटीमा फेरबदल भएको थियो जसले गर्दा अरु पुराना र हिजो ध्वंसमा, धमास मच्चाउनेहरुलाई थोरै भए पनि नैतिक दबाब पुगेको कुरा जनताले अनुभुति गरेका हुन । थोरैमान्छेमा मात्र पनि नैतिक हतियार धारिलो र गर्विलो भएमा अरुलाई पनि सोच्न र आफ्नो पुरातन शैली चेन्ज गर्न बल पुर्याउन सक्छ भन्ने कुरा विवेकशील नेपाली दलले स्थापित गरेको मान्यता भन्न धकाउनु पर्ने स्थिति छैन ।

बिरोध, सभा जुलुस गर्दा विगतमा भन्दा उल्लेख्य परिवर्तन अहिले देखिएको सत्य हो बायस नभएर बोल्दा ,भन्दा अपवाद बाहेक राजनीतिमा देखिएको सकारात्मक परिवर्तन हो जसको लागि प्रत्यक्ष अप्रत्यक्ष विवेकशील दरी बोकाइदिदा अनुपयुक्त पक्कै हुनेछैन । भलै उनीहरू आज जहाँ र जुन संस्कार लिएर पुग्नुपर्ने हो त्यहाँ पुग्न सकेका छैनन् र चुलका मुखिया उज्ज्वल थापाको भागमा जसको भाकेका छन । जे होस असल शुरूवातको जस तिनको पोल्टामा पर्नुपर्छ । जसले यसको शुरुआत गर्यो ।

राम्रो र असल कर्म जसको जसले अनुकरण गरे पनि पछ्याए पनि फरक पर्दैन, राम्रो कुराको सिको नराम्रो नै मान्छेको गरे पनि त्यो सकारात्मक सोच हो शैली हो । केही दिन अघि सरकारले गूठी बिधेयक राष्ट्रिय सभामा पेश गरेर एउटा तरङ्ग पैदा गर्यो उक्त बिधेयकको तिव्र र उग्र बिरोध काठमाडौं उपत्यकाको नेवारी समुदायले गर्यो जसको विरुद्धमा जनता सडकमा उत्रिए तर सरकारले बिरोधलाई साम्य पार्न बल प्रयोग गर्यो निर्ममता पुर्वक लाठिचार्ज गर्यो पानीको फोहोराले हानेर जथाभावी पेलपाल ठाेकठाक गर्यो ।

निहत्था नागरिक प्रति प्रहरी दमन सबैतिर रोषकाे विषय भयो सबैले आक्रोशित भएर निन्दा गरे । नागरिकको बिरोध प्रदर्शन गरेर असन्तोस पोख्ने हक कुन्ठित गर्यो । निरीह जनता माथि प्रहरी दमन, लात्ती मुक्की, कुन्दाको प्रहार फोहोराको प्रहारले अरु नेपालीको मन झै प्रसिद्ध गायक योगेश्वर अमात्यको मन दुख्यो त्यसैले उनले राक्षसीपन देखाउने सम्पुर्ण प्रहरी अधिकृत देखि जवान सम्मलाई मुक्का, लाठि बुट र फोहोराको निर्मम प्रहारको बद्ला फूल दिएर आन्दोलनको स्वरुपमा नविनता दिए नयाँ शैलीको प्रादुर्भाव गरे ।

भोकै प्यासै बसेको प्रहरीलाई पानी खुवाएर सद्भाव प्रकट गरे । योगेश्वर अमात्यले लठ्ठी हान्ने प्रहरीलाई फूल दिएर सकारात्मक उर्जाको लागि बल दिए जुन नितान्त नौलो र आन्दोलनको शैलीगत परिवर्तन थियो । आन्दोलनकारी र आन्दोलनको प्रतिकार गर्ने प्रहरी स्वयं पनि नवीनता अनुभव गरेर मुस्काउदै फूल ग्रहण गरेको देखिन्थ्यो । आपसी सौहाद्रता कायम गर्न फूल कुटनिति सफल नै भयो । संयोग जुन दिन देखि योगेश्वरले प्रहरीलाई फूल बाडे त्यो दिनदेखि जनताले लाठी खानु परेन , प्रहरी ज्यादती सहनु परेन । जनता सागर हैन महासागर बनेर बिरोधमा उत्रे । जेष्ठ ३२ को महासागरले सरकार पछि हटन बाध्य भयो र गूठी सम्बन्धि बिधेयक हाललाई फिर्ता लिएको घोषणा मन्त्री पद्मा अर्यालले गरिन ।

आजको प्रसङ्ग गूठी बिधेयकको समर्थन र बिरोधको नभएर बिरोध प्रदर्शनको अनुपम नमुनाको चर्चा हो । अनुकरणीय आन्दोलनको शैलीको प्रसंशा र तारिफ हो । जनताले राष्ट्रिय झन्डा बोकेर पर्दर्शन गर्दाको एकता हो । काठमाडौं जुरुक्क उठेर आफ्नो अस्तित्व देखाउदाको शक्तिसाली अभिव्यक्ति हो । धर्म , संस्कृति नासियो भने देश नासिन्छ धर्म संस्कृति नास्न पनि दिदैनौ ,देशको सम्पदा र वैभव माथिको आक्रमण पनि सहन्नौ भन्ने शान्तिपुर्ण र शालिन बिरोधले उत्पन्न गराएको बहस सोचनिय र गम्भीरतापुर्वक शासकहरुले लिनु जरुरी छ यो एउटा सबक पनि हो जनताको शक्ति नजरअन्दाज गर्ने र सरोकारवालालाई बाल नदिइ आफ्नो दुनो मात्रै हेर्ने स्वार्थमा लिप्तहरुको लागि ।

खुशी र सुखद कुरा के हो भने आन्दोलन बिरोध र समर्थनको स्वरुपमा परिवर्तन । सुसंगत प्रथा र प्रणालीको अभ्युदय । लाठिकाे भाषामा विश्वास गर्नेलाई सुकोमल फूल द्वारा स्वागत र अभिवादन । कठाेर मनोभावना र व्यबहार देखाउने प्रहरीलाई ज्यादती गरे भने फूलले श्राप दिन्छ भन्ने मनोबैज्ञानिक प्रभाव र त्राशको सिर्जना । आन्दोलन र बिरोध गर्दा शालिनता प्रदर्शन गर्ने व्यबहार । आ फ्नो संस्कृति , बाजागाजा सहित बिरोध गर्न सकिन्छ भन्ने नुतन संस्कृतिको तागतमा विश्वास । जनता रैती हैनन सम्मानित राज्यका नागरिक हुन , राज्यका नागरिक बिरोध गर्दा धैर्य र शालिन अनि अनुशासनमा रह्न्छ्न । आफ्नो कारणले कुनै असर नपारी सडकमा गतिविधि गर्छ्न ।

एम्बुलेन्सलाई कुनैपनि हालतमा रोकेर बिरामीको बाच्ने अधिकारलाई संकुचित बनाउदैनन । यात्रु आवागमनलाई कम भन्दा कम असर गरेर बाटो छोडि दिन्छ्न । आफुले गरेको फोहोर आफै र स्वयंसेवक मार्फत सफा गरेर राज्यलाई सघाउछन । आन्दोलन गर्छन तर राज्यलाई सहयोग गरेर । रचनात्मक र सिर्जनात्मक प्रयोगका साथ । योगेश्वर अमात्यको फूल दिएर आन्दोलन गर्ने शैली देशमा सबैले अनुकरण गर्ने पक्ष हो । राजनीतिक दलहरू ध्वंस बाट सिर्जनामा फर्कनु पर्छ देशको कुनै पनि सार्वजनिक सम्पत्तिमा क्षति पुग्नु भनेको प्रकारान्तरले आफ्नै सम्पत्तिको क्षति र हानी नोक्सानी हुनु हो भन्ने भाव पैदा गर्नु पर्छ ।

रुख बिरुवा उखेलेर होइन रोपेर राज्यलाई सहयोग गर्दै रचनात्मक ढंगले जनता उत्सवमय राजनितिक गतिविधि गरून्रा । नकि भिडन्त र बर्बादी । राजनीति विकृत र असंगत हुनबाट बचाउन अब यी र यस्तै रचनात्मक, सिर्जनात्मक अभियान र सन्दर्भलाई आत्मसात गर्नुपर्छ । सुधारात्मक बनेर राजनीतिको रंग सङ्लो र सफेद बनाउन आ -आफ्नो ठाँउ बाट योगदान गरौ । विगत देखि नै बौद्धिक, प्राज्ञिक र धार्मिक ब्यक्तिहरुले पटकपटक भनेको सुझाएको र परामर्श दिएको कुरा हो । धर्म , संस्कृति अति संवेदनशील विषय हुन । यस्ता विषयमा सम्बद्ध पक्षको परामर्श लिनुपर्छ ।

जथाभावी निर्णय गर्नु हुँदैन, उपेक्षाको भाव देखाउनु हुँदैन तर सुनुवाइ भएन र सुनुवाइ गर्ने चलन रहेन । देश पनि कुन तत्व र अरुकै इशारामा धर्म निरपेक्ष घोषणा गरियो जुन कुरा ९० प्रतिशत जनताको चाहना र रोजाइ भित्रको कुरा होइन । जनताले हिन्दु राष्ट्रको पक्षमा ठेली का ठेली सुझाव पठाए तर फोहिर झै फालियो यो जनताप्रतिको अपमान र बेइमान हो तर जनताले सहे र धैर्य गरे अब जनता आफ्नो आस्था माथि प्रहार भएको सहन सक्तैनन् भन्ने उदाहरण पनि हो काठमाडौंमा भएको प्रदर्शनको संकेत र सुझाव अनि खबरदारी ।

राजनीतिक समाजशास्त्रका धेरै पक्षहरु मध्ये राजनीतिक संस्कृति महत्त्वपूर्ण पक्ष हो । जसले राजनीतिक ब्यबस्था भित्रका नागरिक राजनीति प्रतिको आस्था,विश्वास, धारणा , मुल्य र मान्यतालाई तौलने र मुल्यांकन गर्ने प्रयास गर्दछन । उन्नत राजनीतिक संकारले जनसहभागितामा उल्लेख्य वृद्धि हुन्छ । गतिशील राजनिति हावी बन्छ । अधिकार माग्ने पाउने सबाल संगसगै कर्तव्यबोध पनि सुसंगत राजनतिको आधार बन्नुपर्छ ।