यार्सा संकलन : रहर भित्र कहर

कविराज कार्की / गमगढी‚ मुगु ।

मुगु जिल्लाको पुर्वी क्षेत्र मुगुम कार्मारोङ्ग गाँउ पालिकाका पाटनहरुमा यतिखेर यार्सा संकलन गर्नेहरुको बाक्लो चहल पहलले भरिदै गएको छ ।

यस क्षेत्रको प्रमुख आय श्रोतको रुपमा रहेको बहुमुल्य यार्सागुम्बा संकलन गर्न मुगु जुम्ला लगाएत देशका विभिन्न ठाँउहरुबाट यति खेर मुगुका पाटनहरुमा मानिसहरुको चाप दिन प्रतिदिन थपिदै गएको छ । यहाँका ठुलो कोइजी‚ सानो कोइजी‚ छापाखोला‚ रिमार लगाएतका आधा दर्जन पाटनमा बच्चा देखि तन्नेरीहरु ज्यान जोखिममा राखेर यार्सा संकलन गर्न उत्साहित देखिएका छन् ।

थोरै मेहनतले धेरै कमार्इ हुने भएकाले यार्सा संकलकहरु पाटनको असहज बसार्इलार्इ सहज रुपमा लिने गरेको पाइन्छ । आफ्नो स्वास्थ्य र खानपान भन्दा कसरी बढी यार्सा संकलनगर्ने होडका कारण कैयौ विरामी समेत परेर घर फर्कने गरेका छन् । मुगु र जुम्लाका केहि परिवारहरुको जीवन गुजाराको एकमात्र माध्यम यार्सा संकलन भएकाले घरमा ताला लगाएर दुधे बालक सहित खान पिन र बन्दोबस्तीका सामान बोकेर सिंगो परिवार यतिखेर  पाटनमा पुगेका छन् ।

यार्सा संकलन गरेर परिवारको गुजारा चलाउनकालागि पाटन पुगेका संकलकहरु अत्यधिक चिसो‚ पटक पटक पर्ने हिमपात‚ पाल भित्रको असहज बसार्इ उनिहरुकालागि रहर भित्रको कहर बनेको छ ।

पाटनमा विरामी पर्दा नत औषधि र डाक्टरको व्यवस्था छ नत संचारको समेत सुविधा छ, कसैलार्इ केहि भैहाले पिठ्युमा बोकेर तर झार्नु सिवाए अन्य कुनै विकल्प छैन । विगत बर्षहरुमा संकलन गरेको यार्सा लुटिने र संकलकको हत्या समेत गरिएका दर्जनौ घटनाका कारण गत बर्ष बाट सुरक्षाकर्मीको व्यवस्था सम्म गरिएको पाइन्छ ।

जेष्ठ १८ गते बाट मुगुवासीलाई २२ सय र अन्य जिल्लाकालाई २७ सय वन प्रवेश शुल्क लिएर खुला गरेको यार्सा संकलन कार्य करिव १ महिना सम्म जारी रहने गर्छ ।

यार्सा संकलन कार्य व्यवस्थित र सहज बनाउन हरेक पाटनमा औषधि र डाक्टर सहित अत्यावश्यक संचारको व्यवस्था गरिदिन सरकार तथा सम्बन्धित पक्ष संग संकलकहरुको माग रहेको छ ।